सावधान, जनप्रतिनिधि कर्मचारी बन्लान् !

सावधान, जनप्रतिनिधि कर्मचारी बन्लान् !

दोस्रो चरणको स्थानीय निर्वाचन सकिएपछि २ नम्बर प्रदेशमा मात्र अब निर्वाचन हुन बाँकी छ । देशका ७५ मध्ये ६७ जिल्लाका स्थानीय निकाय जनप्रतिनिधिले भरिएका छन् । यसअघि २० वर्षदेखि चुनाव भएन भनिन्थ्यो, अब जसको मुखमा पनि तिनले के–कस्तो र कसरी काम गर्छन् भन्ने चासो व्याप्त छ ।

krishna-murari-bhandari_5साँच्चै जनप्रतिनिधिले अब सुचारु रूपमा जनताले अपेक्षा गरेअनुसारका काम अगाडि बढाउलान् ? पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम आइ नै सक्यो र दोस्रो चरणको निर्वाचन परिणाम आउने क्रम पनि अन्तिम चरणमा पुगिसकेको छ । तेस्रो चरणको चुनाव हुन अझै दुई महिना बढी लाग्ने भएकाले त्यतिन्जेल चुनाव भइसकेका जनप्रतिनिधिहरू हात बाँधेर बस्ने कुरा भएन । न त पार्टीहरू नै जनतालाई दिएका कार्यक्रम कार्यान्वयन गर्ने योजना नबनाई त्यत्तिकै रहन सक्छन् ।

त्यसो भए गर्ने के त ? पार्टीहरू के गर्दैछन् ? जनप्रतिनिधि के सोच्दैछन् ? आम जनता अर्थात् स्थानीय निकायका जनप्रतिनिधि चुनेर पठाउने मतदाता के अपेक्षा गरिरहेका छन् ? कहींकतैबाट खोजीनीति र चासो राखिएको पाइनु त के देखिएको सम्म पनि छैन ! के यस्तो तरिका र शैलीबाट जनता सन्तुष्ट होलान् ?

नुवाकोट जिल्लाको साविकको पञ्चकन्या गाविसका पूर्व अध्यक्ष राम थापा, त्रिभुवन विश्वविद्यालयमा ट्याक्सेसन पढाउन छोडेर ०५४ सालमा गाविस अध्यक्षका निम्ति चुनाव लडे र जिते पनि । उनले भने, अहिले गाउँ होस् वा नगरमा निर्वाचन जित्नेहरू प्रायः नयाँ छन् । केही पुराना पनि छन्, तर तिनीहरूले राज्य पुनर्संरचनाका नाउँमा गाउँ÷नगरमा भएको हुँडलहाँडलले गर्दा आफूकहाँ छु र मैले कसरी काम गर्ने हो भन्ने मेलोमेसो पाउन पनि गाह्रो भएको देख्छु म !

उनले अलमलको गाँठो फुकाउँदै भन्न थाले, अनुभवी र क्षमता भएकाहरू आफूलाई ठूला ठान्न थाले किनभने विगतको स्थानीय तहको शून्यतामा संविधानसभाको चुनाव लडेर वा केन्द्रीय तहमा पुग्ने महत्वाकांक्षा बोकेर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेनन् । चुनावमा सहभागी नै नबनेपछि गाउँ÷नगरको जिम्मेवार हुने कुरा भएन । उनीहरू अहिले पनि प्रान्तीय र संसदीय चुनावको लागि आफूलाई जगेडा राखिरहेका छन् । चुनाव जित्नेहरू अनुभव र जनतासँग सामना गर्नुपर्ने सवालमा कोरा नै छन् ।

उनीहरूका लागि परिवर्तित सन्दर्भको गाउँ÷नगरपालिका स्टिभ जब्सले बनाएको आइफोन र मार्क जुकरबर्गले बनाएको फेसबुक असाध्यै उपयोगी छ, तर के गर्नु ? हाम्रा बाले त्यो चलाउनै सक्दैनन् । किनभने ती अत्याधुनिक सिर्जनात्मक सूचना प्रविधिलाई उहाँहरूले सञ्चालन गर्न सक्ने गरी सिकाइदिने सिर्जनात्मक मानिस नै छैनन् । अनि जति अत्याधुनिक प्रविधि भए पनि त्यसको के उपयोगिता भनेजस्तै हो अहिले संघीयताको स्थानीय निकाय ।

राम थापाले भनेजस्तै नेपालको संविधानले स्थानीय निकायहरूलाई अधिकारसम्पन्न नै पारेको छ । अझ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शब्द सापटी लिएर भन्ने हो भने, सिंहदरबार नै गाउँमा पुर्‍याएको छ । तर सिंहदरबार सञ्चालन गर्नेहरूको ताल बीबीसीको साझा सवालको अन्तर्वार्ताले उदांग पारि नै सक्यो भने कान्छा मामाको भांग्राको धोती कसले सम्हाल्ने ? त्यो न प्रत्यक्ष प्रसारण हुन्छ न त कसैले थाहै पाउँछ !

संविधानको अनुसूची ८ अन्तर्गतको स्थानीय अधिकारहरूको सूची नै २२ वटा छ, जसमा प्रहरी सञ्चालनदेखि खानेपानी, जलविद्युत्, वैकल्पिक ऊर्जा, भाषा संस्कृति र ललितकला, पशु र कृषि, घरजग्गा रजिस्ट्रेसन, लालपुर्जा वितरण, अभिलेख अदालत, सडक, सिँचाइ, विकास आयोजना सञ्चालन, अनेक खालका ट्याक्स र शुल्क संकलन, शिक्षा, स्थानीय बजार र एफएम रेडियो सञ्चालनसम्म अहिले केन्द्र, क्षेत्र र जिल्लाले गरिरहेका काम पर्छन् ।

तर स्थानीय पुनर्संरचनाले चार हजार पैंतीस सयमा रहेका गाउँ÷नगरपालिकाको संख्यालाई साढे सात सयमा झारेको छ । यसको लागि पहिलेका गाविसलाई एउटा वडा तोकिएको छ । नगरपालिकामा बेपत्ता गाविसहरूलाई जोडेर क्षेत्रफल विस्तार गरिएको छ । संघीय संरचना भनेर कागजमा अनेक थोक गरिएको छ, तर स्थानीय निकायमा त्यसको एउटा दम्सो पनि देखिँदैन । भएकाहरू भत्काइएको छ ।

स्थानीय विकासका सचिवले यिनीहरू खान र कमाउन नै आएका भोगवादी हुन् भन्ने प्रमाणित गर्न खोजे । गाउँ÷नगरपालिका प्रमुख गाडी र अरू सुविधा मर्काउन नै दत्तचित्त रहेको खुलासा कर्मचारीले नै गरेका हुन् ।

पहिला गाविस÷नगरका वडाहरू पायक पर्ने ठाउँमा हुन्थे । गाविस कार्यालय नै पूरै गाउँ वा नगरको बीच पर्ने गरी राखिएका थिए । अब पुरानालाई कायम नगरेर नयाँ राख्ने होडमा उसलाई नजिक र अर्कालाई टाढा भन्ने विवादले गर्दा केन्द्र निश्चित छैन । यसले गर्दा 'माछी काँडे डाँडैमा घर सार' भन्ने गीत झैं भएका छन् गाउँ÷नगरका कार्यालय !

घरमा साँझको दियो बालेर आउँछु वा गाईभैंसी दुहेर आइहाल्छु वडामा काम गर्दै गर भनेर मानिसहरू व्यवहार गरिरहेका गाउँ÷नगरपालिका कार्यालयहरू माछाको डाँडीको काँडैमा जस्तो जताबाट गए पनि उकालो चढ्नुपर्ने अनकन्टार ठाउँमा राख्न लागेपछि कसैको पनि त्यससँग सामीप्यता र आफ्नोपन होलाजस्तो देखिँदैन ।

त्यसबाहेक गाउँ÷नगरपालिका भनेर कर उठाएर कमाउनेदेखि अरू विभिन्न काम थपेर लादिएको छ । तर पूर्वाधार नै नबनीकन राखिएका यी प्रावधानले कसरी काम गर्न सक्छन् ? गम्भीर समस्या नयाँ नेतृत्वमाथि उत्पन्न भएको छ । यो उसको लागि अहिले नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार बन्न पुगेको छ ।

पहिलेका स्थानीय निकाय आफूले गर्नुपर्ने काम 'लाइन एजेन्सी' अर्थात् सरकारी कार्यालयहरूको सहयोग र समन्वयमा गर्ने गर्दथे, तर संघीयताको नाउँमा पाँचवटा कार्यालयबाहेक अब अरू जिल्लामा नरहने छैनन् । त्यो सहयोग र समन्वयबाट गाउँ÷नगरपालिकाका पदाधिकारी वञ्चित हुन सक्छन् ।

जिल्लामा न्यायालय, प्रजिअ, प्रहरी, कोलेनिका र जिल्ला समन्वय समिति मात्र रहने भएकाले हाल जिल्लामा रहेका कार्यालयहरू भविष्यमा रहने छैनन् । अनि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीको अभावमा स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीहरूले कसरी काम अगाडि बढाउन सक्लान् ? यसको लागि ठूलो गृहकार्य र नेतृत्व पनि सक्षम हुनुपर्ने आवश्यकता छ । अक्षम नेतृत्वको आदेश कसले मान्ला ?
भनौं न, पूर्वाधार बनाउन नै अहिले निर्वाचित भएका पदाधिकारीले आफ्नो कार्यकालमा सम्पन्न गर्ने सक्ने देखिँदैन । यसको लागि युद्धस्तरमा काम गर्दा पनि भ्याउनै सम्भव छैन । तर मत दिएर निर्वाचित गराउने जनताका अपेक्षा एकदमै धेरै छ । यसरी हेर्ने हो भने त, यी निर्वाचित पदाधिकारीले सशरीर स्थानीय निकाय बनाउने त के, एउटा जीव बनाउन र त्यसमा सास भर्न पनि सक्दैनन् । यसले जनप्रतिनिधिको योग्यतामाथि प्रश्न उठ्ने मात्र होइन, संघीयताको भविष्य पनि अन्धकारमा पर्ने देखिन्छ ।

स्थानीय निकायका पदाधिकारीहरूको संख्या, चुनिएर आउनेहरूको हैसियत र उनीहरूको भनिएको अधिकारको बाँडफाँट पनि केटाकेटी पाराको देखिन्छ । भनौंन, उपप्रमुख भनेर अधिकांश ठाउँमा महिला त पुगेका छन्, तर त्यहाँ लैंगिक प्रतिनिधि पुगेपछि सम्पन्न गरिनुपर्ने कामकुरा स्वतः पूरा हुन्छन् र ? त्यसको लागि योग्यता, क्षमता र काम गर्न सक्ने, परिचालन र व्यवस्थापन गर्न सक्ने सीपको पनि आवश्यकता पर्छ । अहिले चुनिएका भनिएका प्रत्येक प्रमुख, वडाध्यक्ष, सदस्यहरू तथा उपाध्यक्षले कसरी संविधानले दिएका जिम्मेवारी पूरा गर्न सक्छन् ?

जबकि बिर्सन नहुने यथार्थ के भने प्रान्तीय र संसदीय प्रतिनिधि बन्न अलिकति जान्नेसुन्ने र क्षमता तथा योग्यता भएकाहरू स्थानीय निकायमा उम्मेदवार नै बनेनन्, चुनिने त के कुरा ?काँधमा फुली र पाखुरामा फित्ता भएको हबल्दारलाई मात्र सलाम ठोक्ने र हवस् साहब भन्ने हाम्रो संस्कृतिमा म्यादी प्रहरीलाई कसले सलाम ठोक्छ यहाँ ? स्थानीय निकायबारे अध्ययन गरिरहेका एक अध्येताले अहम् सवाल गरे । हुन पनि जिल्ला सदरमुकाम र गाउँमा जाँदा देखियो, राष्ट्रिय पार्टीहरू कांग्रेस होस् वा एमाले अथवा माओवादी केन्द्र सबैको आन्तरिक केमेस्ट्रीको रसायन यही नै हो ।

कर्मचारीतन्त्र ! पन्ध्र-पन्ध्र वर्ष स्थानीय निकाय एकलौटी रूपमा सुमरेर बसेका कर्मचारीहरू जनप्रतिनिधिलाई आफ्नो भाग खान आएको प्रतिस्पर्धी ठानिरहेका छन् । हिजोसम्म जिल्ला हाँकेर गाडी कुदाएर र अनेक प्रोजेक्ट चलाएर हालीमुहाली गरेका हाकिम सा'बहरूको नजरमा जनप्रतिनिधि भनेका उनका भाग लुट्नेहरू नै हुन् । यिनीहरू चुनिएर आएकाले आफूहरू प्रदेश र केन्द्रका साना कोठामा खुम्चिनुपरेको र स्रोतसाधनहरूमा अर्कैले हालीमुहाली चलाउने भएकोमा भित्रभित्र क्रूद्ध छन् ।

स्थानीय विकासका सचिवले यिनीहरू खान र कमाउन नै आएका भोगवादी हुन् भन्ने प्रमाणित गर्न खोजे । गाउँ÷नगरपालिका प्रमुख गाडी र अरू सुविधा मर्काउन नै दत्तचित्त रहेको खुलासा कर्मचारीले नै गरेका हुन् ।

यस्तो अवस्थामा स्थानीय निकायमा निर्वाचित भएर आउनेहरूले कसरी ती निकायलाई जनअपेक्षाअनुसारको उत्तरदायी बनाउन सक्छन् ? स्थानीय निकाय चलाउने योग्यता र सीप भएकाले उनीहरू चुनिएर आएका पनि होइनन् । सत्य कुरा के भने पार्टीले टिकट दिएकाले उनीहरू पार्टीको जनशक्ति र आफ्नो धनशक्तिको प्रभावले चुनावमा विजयी बनेका हुन् । धेरै कम जनप्रतिनिधिहरू मात्र स्थानीय निकाय सञ्चालन गर्ने योग्यता राख्छन् भन्न अन्कनाउनु पर्दैन, यो जगजाहेर नै छ ।

तर चुनाव जितेका जनप्रतिनिधि पार्टीको तर्फबाट चुनिएका भने पनि खासमा उनीहरूको गलामा पार्टीले पूरै दाम्लो बाँध्न सकेको छैन । चुनाव जित्ने व्यक्तिले अरू विभिन्न कारणले गर्दा पार्टीको टिकट पाएको हो र जित्नको लागि पनि अरू फ्याक्टरहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको सबैसामु छरपस्ट छ ।
ढुंग्रो नलुकाईकन चुनाव जित्ने जनप्रतिनिधिका बारेमा भन्ने हो भने उनीहरूको घाँटीमा पार्टीको जुन दाम्लो झुन्डिएको देखिन्छ । वास्तवमा त्यो दाम्लो चोकेमा बाँध्ने स्थितिमा छैन किनभने दाम्लो चुँडिएको छ । खासमा घाँटीमा बेरिएको तर टुटेको दाम्लो भएकाले पार्टीसँग पनि चुनाव जित्ने जनप्रतिनिधिलाई आफूले चाहेको बेला बाँध्न सक्ने हैसियत छैन ।

यतिको केटालाई छोरी दियो भने रुखमुनि लगेर भए पनि पाल्छ भन्ने विश्वासमा छोरी अन्माएर पठाउँथे । अहिले पार्टीले टिकट दिएको उम्मेदवारमाथि पार्टीलाई नै त्यति विश्वास हुने गर्दैन । किनभने अहिलेका जनप्रतिनिधि अनेक कारणले पार्टीको उम्मेदवार हुने गर्छन् । कतिपय त पैसाको बिटो बुझाएर टिकट हात पारेर जितेका पनि छन् ।

त्यसैले आफूले उम्मेदवार बनाएर चुनाव जिताएका व्यक्तिमाथि पार्टीको पूरा पकड हुन छोडेको छ । किनभने पार्टी नेतृत्व भनेको अहिले संगठनमा त्यस्तो हली मात्र हो, जो गोरुलाई हहहहह मात्र भन्न सक्छ, पुच्छर निमोठ्न र डन्डी हान्न सक्दैन । न त दानापानी नै खुवाउन सक्छ । बरु हली नै गोरुले मासिक दानापानी खुवाउने आशामा रहिरहेको देखिन्छ ।

सिर्जनात्मक सोच दिन सक्ने हली पार्टीमा शिला खोज्नुपर्ने अवस्थामा पुगिसकेका छन् । खरदार हुनलायक व्यक्ति पनि अब पार्टी खोज्दा पनि नभेटिने हुन सक्छ ।नेतृत्वमा हेर्नुस् त, अधिकांश धामी-झाँक्री बनेर फलाक्न सक्ने व्यक्ति मात्र पुगेका छन् । केही योग्य पनि होलान्, तर ती अपवाद मात्र हुन् । झाँक्रीले भगवान् कोइराला, रामकण्ठ मकाजु, उपेन्द्र देवकोटा, अशोक बाँस्कोटाजस्ता लायक डाक्टर पार्टीमा आए भने उसको ढ्यांग्रो नारायणहरि हुन्छ । त्यसैले पार्टीमा जो विद्वान्, योग्य भनेर बसिरहेका छन्, ती पार्टीका झाँक्रीको फ्यांग्लाको फेर समातेर मात्र टिकिरहेका छन् ।

रोपेको तीन महिनामै फल्न त घिरौंलो नै हुनुपर्छ । अर्कालाई बेर्दैबेर्दै लहरो छानोमा गएर पनि घिरौंलो फल्छ । तर सक्षम नेता हुन त ३६ वर्ष नभई गगन थापा, घनश्याम भुषाल, कुलमान घिसिङ, जनार्दन शर्मा, विश्वप्रकाश पनि यो देशमा चिनिएनन् ! सावधान, जनप्रतिनिधि कर्मचारी नबनून् !




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.