हेटौंडामा नवौं डी सिने अवार्ड वितरण, ‘छक्कापञ्जा’ सर्वोत्कृष्ट चलचित्र
हेटौंडा: ११ विधामा कब्जा जमाउँदै चलचित्र ‘छक्कापञ्जा’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । बिहीबार साँझ छायाँछवी क्रियशनले हेटौंडाको ओम्याक्स हलमा वितरण गरेको नवौं डी सिने अवार्ड–२०७४ मा सर्वोत्कृष्ट चलचित्रसहित सबैभन्दा बढी विधामा छक्कापञ्जाले अवार्ड जितेको हो ।
मनोनयनको विभिन्न २० वटा विधामा समेटिएको छक्कापञ्जाले ११ वटा विधामा सर्वोत्कृष्ट घोषित भएको हो । चलचित्र गाजलु पाँच वटा विधामा सर्वोत्कृष्ट भएको छ । १३ वटा विधामा गाजलु मनोनयनमा परेको थियो । कार्यक्रममा २९ विधामा अवार्ड बितरण गरिएको थियो ।
चलचित्र छक्कापञ्जाबाट सर्वोत्कृष्ट खलपात्र र सर्वोत्कृष्ट संवादमा दीपकराज गिरी, सवोत्कृष्ट हाँस्यकलाकारमा केदार घिमिरे र दीपाश्री निरौलालाई सर्वोत्कृष्ट नवनिर्देशक अवार्ड प्रदान गरियो । छक्कापन्जाकै ‘पूर्वपश्चिम रेल’ गीतबाट कविराज गहतराजलाई सर्वोत्कृष्ट नृत्य निर्देशक, देख न चम्पा गीतको लागि सर्वोत्कृष्ट संगीतकार दीपक शर्मा, पिविन मल्ल सर्वोत्कृष्ट सम्पादक र प्रियंका कार्की सर्वोत्कृष्ट नायिका घोषित हुनुभएको छ ।
सर्वोत्कृृष्ट नायकाको रुपमा जात्रा चलचित्रका विपिन कार्की र सर्वोत्कृष्ट निर्देशकमा गाजलुका हेमराज बीसी चुनिनुभएको छ । म त तिमै्र हुँ की सुस्मिता केसी सर्वोत्कृष्ट सहअभिनेत्री र तीनघुम्ती चलचित्रका सुशान्त कार्कीलाई सवोत्कृष्ट सहअभिनेता घोषित हुँदै अवार्ड हात पार्न सफल हुनुभयो । चलचित्र वीरविक्रमका शिशिर राणालाई सर्वोत्कृष्ट चरित्र अभिनेताको अवार्ड प्रदान गरिएको छ भने भने गाजलुकी गौरी मल्ल सर्वोत्कृष्ट चरित्र अभिनेतृ चयन हुनुभएको छ ।
'के म तिम्रो हैन' र चलचित्रका आर्यन अधिकारी सर्वोत्कृष्ट नवनायक घोषित हुनुभयो भने गाजलुकी सृष्टि श्रेष्ठलाई सर्वोत्कृष्ट नवनायिकाको रुपमा अवार्ड वितरण गरिएको छ । लुट–२ को ठमेल बजार गीतको लागि मीना निरौलालाई सर्वोत्कृष्ट गायिका चुनियो भने चलचित्र के म तिम्रो होइन र को पागल बोलको गीतको लागि सर्वोत्कृष्ट गीतको अवार्ड दिइयो । रामबाबु गुरुङलाई चलचित्र पुरानो डुङ्गाको लागि सर्वोत्कृष्ट कथा लेखनको अवार्ड दिइयो भने गाजलुका हेमराज बीसीलाई सर्वोत्कृष्ट पटकथाको लागि अवार्ड प्रदान गरिएको छ ।
चलचित्र छायाँका साइब्रत आचार्य सवोत्कृष्ट बालकलाकार, निर्भयका हिमाल केसी सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र जात्राका मनोजराज भण्डारी सर्वोत्कृष्ट ध्वनि सम्मिश्रण र द फेमसका मधुकर बलामी सर्वोत्कृष्ट एनिमेशन अवार्डबाट सम्मानित हुनुभयो । चलचित्र लप्पनछप्पनका निश्चल बस्नेत सर्वोत्कृष्ट केमियोको अवार्ड दिइयो भने गाजलुका शैलेश श्रेष्ठलाई सर्वोत्कृष्ट पाश्र्व संगीतको रुपमा छनौट गरियो ।
त्यस्तै चलचित्र जुरी अवार्ड तीनघुम्तीलाई दिइयो भने कालिप्रसाद बास्कोटालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको छ । इन्करेजमेन्ट अवार्ड मिलन चाम्सलाई प्रदान गरिएको छ । वेस्ट क्रिटिक्स अवार्ड निर्देशकतर्फ जात्राका प्रदीप भट्टराई, अभिनेतातर्फ झुम्कीका मनोज आरसी र नायिकातर्फ पुरानो डुङ्गाकी मेनुका प्रधानलाई दिइएको छ ।
२०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्रले यसवर्षका अवार्डका लागि आवेदन दिएका आयोजक छायाँछबी क्रियशनका अध्यक्ष शान्तिप्रियले बताउनुभयो । अवार्ड वितरण कार्यक्रममा करिब डेढ सय कलाकार उपस्थित थिए । कार्यक्रममा अवार्ड बितरणसँगै कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।