क्षतिग्रस्त साझा प्रकाशनगृह
क्षतिग्रस्त शब्दका अनेक आयाम छन् । क्षति जुनसुकै सन्दर्भ र वस्तुतत्वव परक हुन्छन् । भौतिक, मानसिक जे पनि हुन सक्छन् । भौतिक भन्नाले पदार्थहरूलाई बुझाउँछ । घर, जग्गा, आर्थिक सम्पत्ति, मूर्त सांस्कृतिक सम्पदा आदि भौतिक वस्तु-पदार्थहरू भौतिक पक्षमा लिनुपर्छ । मानसिक पक्षका मामला चिन्तन चेष्टा मूलक हुन्छन् ।
चिन्तन चेष्टा दुवै खाले हुन सक्छन्- सकारात्मक, नकारात्मक । सकारात्मक चेष्टालाई हामी गुणकारी भन्छौं; नकारात्मक चेष्टालाई बैगुणी । सकारात्मक चेष्टा निर्माणात्मक र नकारात्मक विध्वंशका बन्छन् । जहाँजहाँ सकारात्मक चेष्टा पलाएका हुन्छन्; त्यहाँ सुधार, विनिर्माणका प्रवृत्तिहरू पलाएका हुन्छन्, पलाइरहन्छन् निरन्तर । अथक, निर्बाध रूपमा अनेक व्यवधान समाधान गरेर ।
सबैका सरोकारी भावधारामा गति लिने, लिइरहने साझा-सहकारिता हो । साझा प्रकाशन हेर्दा लेखक, सर्जकहरूका मात्र सरोकारी संस्थाझैं लाग्दो हुन्छ । सीधासाधा रूपमा यो यस्तै पनि हो । लेखक, सर्जकहरूलाई सिर्जना प्रकाशनगृह रहेर पनि यसले अनेक कार्यसित जोडिएका हातहरूसित पनि हातेमालो गरिरहेको हुन्छ । यस प्रकाशनगृहले आफ्नो गृहमा अनेक शिल्प र क्षमतावान् व्यक्तिहरूलाई समाहित गरिराखेको छ ।
विभिन्न सीप-साधनाका हातहरू विविध रूपमा समाहित गरिरहेको छ, आ-आफ्नो शिल्पकारिता यस अर्थमा शिल्पकारिता क्षमता जनिन्छ । त्यसैले साझा प्रकाशन एक गृह बन्छ, गृह भन्नु सम्पूर्ण परिवारकै आ श्रय बन्छ । घर एक्लो हुन्न, रहन्न- पारिवारिक रहन्छ । साँघुरो दायरामा साझा केही व्यक्तिले चहारेको जस्तो लागे पनि यो हामी सबैकै सरोकारी रहेको छ, रहन्छ । त्यसै हेतुमा रमाई साझा प्रकाशनगृह भन्न रुचाएँ । साझा प्रकाशनगृह पनि सबै खाले नेपाली सबैका सामूहिक गृह हो ।
यथार्थमा उदारमनष्क सर्जकहरूको सेयर लगानीबाट संगठित साझा प्रकाशनगृह हो । सेयर लगानीका साथै साझा प्रकाशन संस्थाका तर्फबाट आफ्नो कृति प्रकाशन गरिएका कृतिकारहरू पनि यसको सेयर-सदस्य हुने गरेका छन् । राज्यबाट निरोपित र शेयर-सदस्यहरूबाट छानिएका निर्वाचित प्रतिनिधि सञ्चालक अनि साझा संस्थाबाट नियुक्त तहगत पदाधिकारी, कर्मचारीहरू साझा प्रकाशनगृहको जिम्मेवार परिवार हुन् । प्रकाशनगृह भन्नुको तात्पर्य पनि यिनै, तिनै जमातका साझा दायित्वधारी धारणा, अवधारणामूलक सोचमा अडेस लगाएको सन्दर्भ रहेको छ ।
यस अवधारणामूलक क्रियाकलापमा कसैको धेरै ठूलो, मझौला र सामान्य जिम्मेदारीपूर्ण कर्तव्य र उत्तरदायित्व त हुन्छन् नै । त्यसअनुसार सेवा सुविधाहरू तहगत रूपमा समानुपातिक सहुलियत सुविधा प्रदान गरिन्छन् । दायित्व र जिम्मेवारी पूरा गर्नु सबैको साझा जिम्मेवारी भनौं कर्तव्य हो । परन्तु अधिकारकै प्रसंगले सर्वोपरि ग्राह्यता पाएको छ । हकहित र अधिकारले बढी प्र श्रय पाई ‘दायित्व'लाई पालना गर्ने कर्तव्य च्यूत हुँदा संस्था धराशयी हुने सत्यले साझा प्रकाशनगृहलाई यस अवस्थामा झारेको रहेछ ।
काम र मामको सन्तुलनमा एकातिर कोल्टिएको बोझले साझा प्रकाशनगृह चरक्क चर्किएको अवस्थामा पुगेको ज्वलन्त अनुभूति बन्न पुगेको छ— प्रायः सबैको । वर्तमान साझा प्रकाशनगृह मर्मतसम्भारको प्रक्रियारत रहेर डुब्नबाट बचाउन राज्यबाट तीस करोडको अर्थराशि उपलब्ध गराउन सक्षम भएको यथार्थ रहेको छ । निकै ठूलो धनराशिको ऋणमा चुर्लुम्मिएको साझा प्रकाशनगृहले जनक शिक्षा सामग्री केन्द्रलाई पनि निकै ठूलो अर्थराशि चुक्ता गर्नुपर्ने रहेको स्थिति बोध त्यसै बेला भयो, जुन बेला राज्यस्तरबाटै पन्ध्र करोड चुक्ता गरिदिएको प्रबन्धकारी कार्य अवगत हुन आयो । राज्यको सन्तुलनात्मक जिम्मेवारी भएको यस आनुपातिक प्रदानले स्पष्ट्याउँछ ।
अनेक विसंगतिलाई संगतिमा ल्याउन भइरहेका प्रयास बीच २०७२ वैशाख, १२, १३, २९ को विनाशकारी भूकम्पले साझा प्रकाशनगृहका एकभन्दा बढी कार्यकक्षहरू विदिर्ण पारिदिएको रहेछ । साझा प्रकाशनगृहको साविक कार्यकक्ष रहेको दक्षिणी मोहडाको लङ् निकै विदिर्ण अवस्थामा पुर्याइदिएको रहेछ । त्यही लङ्को छिँडी÷भुइँतला भासिएर लथालिंग अवस्थामा पुगेको रहेछ । त्यही भुइँतलामा रहेको साझा प्रकाशनगृहमा पुस्तक-भण्डारण कक्ष बनाइएको रहेछ । जमिन नै भासिएर भण्डारण कक्षको ढोका पनि निकै कोल्टिन पुगेको रहेछ ।
विडम्बना ! भासिएको जमिन सबैतिर एकनास भासिएको नभई प्रवेशद्वार निरको जमिनको केही भाग उठेको रहेछ । लाग्छ, जमिन धस्सिएर केही ढोकैनिरको भुइँ उठ्न पुगेजस्तो भएछ । साझा प्रकाशनको त्यति धेरै पुस्तकहरू अन्यत्र सारी सुरक्षित भण्डारण गर्नु आवश्यक थियो । तर, ती पुस्तकहरू अन्यत्र सार्न र सुरक्षित राख्न मिल्ने कक्ष पनि नभएको रहेछ । साझा प्रकाशनगृह परिसरमा एक भव्य भवन उहिल्यै अधकल्चो निर्माण भई बिना उपयोगको अवस्थामा गुज्रिएको रहेछ । बिना उपयोगमा रहेको त्यस भवनलाई पूर्णता दिई उपयोगी बनाउन नसकिने होइन, सकिन्छ । तर, त्यसलाई सफल बनाउन थुप्रै अर्थराशि चाहिँदो अवस्था रहेछ । भुइँतलादेखि नै प्रत्येक तला ठीक बनाउन, झ्याल, ढोकाहरू जडान गर्न, भर्याङमा रेलिङ हाल्न, बिजुली जडान गर्न निकै काम पूरा गर्नुपर्ने अवस्था बोध हुन्छ ।
साझा प्रकाशनगृहको त्यो अधकल्चो भवन कामयाब अवस्थामा परिणत गर्न कम्ती धनराशि पर्याप्त नहुन सक्छ । यसका लागि यसअघि जजसले जे गरेर गए, त्यसको छानबिन अर्को पाटो बन्छ । तर, भएको र पुनरुद्धार गर्ने सरोकार वर्तमानकै रहन्छ । वर्तमान व्यवस्थापन र सञ्चालन चनाखो र उत्साही बनेर अहिले भइरहेको प्रबन्धकारितालाई थप उद्यमशील रहने प्रोत्साही सराहनाको टीकोटालो गर्नु सकारात्मक प्रवृत्ति ठहर्ला नै ठान्छु ।
साझा प्रकाशनगृह मूलतः सेयर सदस्य रहेका लेखक, सर्जकहरूका सीधा सरोकारी संस्था रहे पनि प्रत्यक्ष-अप्रत्यक्ष तवरले आमसर्जक समाजकै चासोको प्रकाशन, बिक्री-वितरण मूलक गृह हो । यस्तो दुर्वल अवस्थामा पनि वर्तमान साझा प्रकाशनले बन्द प्रायः बनेको ‘गरिमा' साहित्यिक पत्रिकालाई नियमितता दिइरहेको पाएँ । सो पत्रिकामा प्रकाशित ‘यौन मूर्तिकलाका पृष्ठभूमि' रचनाको पारि श्रमिक प्राप्त गर्ने सन्दर्भमा हेर्ने देख्ने अवसरमा विहंगम दृष्टि लाउन पाउँदा जान्ने, सिक्ने मौकाले उब्जाएको जानकारीले छचल्काएको चिन्तन चेत रहेको छ, यो प्रसंग !
साझा प्रकाशनगृह व्यवस्थापन र सञ्चालक समितिले नेपाल सरकारबाट प्रदत्त ऋण र अनुदान रकमको स्पष्ट र पारदर्शी लेखांक साथै आम कार्य विवरणका आवधिक प्रतिवेदनहरू नेपाल सरकार र तालुक मन्त्रालयहरूमा प्रस्तुत गरी पारदर्शिता कायम राख्नु उत्तिकै आवश्यक छ जति कि सरकारबाट ऋण अनुदान सहायता प्राप्त गर्ने निरन्तर प्रयास जारी राख्न जरुरी छ । सही सलामत कर्तव्य परायणताले अनुनय विनयका अगाडिका मार्ग प्रशस्तीकरण गर्छ ।
यस जिम्मेवारी पूरा त्यस बेला हुन सक्छ जुन बेला लेखापरीक्षण हुन नसकेका यावत् अवधिहरूका आमूल लेखापरीक्षण विवरणले सज्जित पूर्ण प्रतिवेदन सरकारी तालुकहरूमा प्रस्तुत गरी सकारात्मक सहमति बटुल्न सकिनेछ । यी कर्तव्यमूलक कार्यहरू अलि बेसी नै प्रविधिपूर्ण रहेकाले अनुभव र प्रविधिमूलक सीपले सहायता गर्ने कोटीका पनि छन् । वर्तमान व्यवस्थापन र सञ्चालन निकाय यसमा पूर्ण सचेत र सतर्क छैन भन्ने आशय राख्नु छैन ।
नेपाल राष्ट्र गणतन्त्रात्मक लोकतन्त्रका माहोलमा आँखा चिम्ली कुदिरहेको अवस्था छ । लोकतन्त्रमा आमजनता नै लोक बन्छ, बनेको हुनुपर्छ । आमजनताले लोकको हैसियत गुमराहका भुमरीमा फनफनिएको अवस्थाबाट बल्ल स्थानीय स्वशासनमूलक निर्वाचन भइरहेको छ । स्थानीय स्वशासनको परिवेशमा साझा प्रकाशनको अवस्था र हैसियत कुन हदसम्म कुन निकायको सरोकारको चासो बन्ला हेर्नै बाँकी छ । तथापि साझा प्रकाशन गृहलाई कुन हदसम्म तन्दुरुस्त बनाउन सकिन्छ त्यसको दायित्वपूर्ण सरोकार त वर्तमानमै निहित छ ।
यस परिप्रेक्ष्यमा वर्तमान साझा प्रकाशनगृहलाई वर्तमानकै परिवेश र परिस्थिति अनुकूल र अनुरूप अनुसार समृद्ध बनाउन सबै तख्ताका सबै निकायहले सौहार्द भूमिका निर्वाह नगरी हुन्न, गर्नैपर्ने देखिन्छ ।