इतिहासप्रति नयाँ पुस्ताको उदासीनता
वर्तमान प्राज्ञिक बहस र सामाजिक सरोकारका सन्दर्भहरूमा इतिहास अतीतको दर्पण र भविष्यको द्रष्टा हो भन्ने शाश्वत सत्यलाई बिर्सिएको अवस्था छ । अझ इतिहास र संस्कृति किन पढ्ने ? इतिहास पनि पढ्ने विषय हो र ? भन्ने ढिट प्रश्नले प्राज्ञिक जगत्मा डेरा जमाएको छ । आमा ! म त्यो स्कुल जान्नँ जहाँ मरेको इतिहास पढाइन्छ भन्ने कुनै कविको यस कवितांशमा पक्कै पनि क्रान्तिकारी चेत पोखिएको छ तर कविले भनेझैं इतिहासको अध्ययन सामन्तवादको पुनःस्मरण हो भन्ने गलत बुझाइले प्राज्ञिक जगत्मा इतिहासको महत्ववलाई अवमूल्यांकन गर्नेछ ।
राज्यको परिभाषामा राज्य हुनका लागि देशको एउटा निश्चित भूगोल र त्यसको सीमा, जनता, ती जनताको भाषा र संस्कृति अनि इतिहास हुनुपर्छ । कुनै पनि राज्य कति सम्पन्न र गौरवशाली छ भन्ने तथ्यलाई त्यो देशको इतिहासले अभिव्यक्त गरिरहेको हुन्छ । हामी को हौं ? हाम्रो पहिचानको आधार के हो ? हाम्रो सामाजिक विकासक्रमको ऐतिहासिक शृंखलाको प्रवाह कस्तो छ र आज हाम्रो देश कुन दिशातिर जाँदैछ भन्ने सत्यको बोधार्थ इतिहासले गरिरहेको हुन्छ ।
इतिहास, संस्कृति र सभ्यताको अध्ययन, अनुसन्धान र संरक्षणबिना कुनै पनि राष्ट्रको परिकल्पना गर्न सकिँदैन । इतिहासको अध्ययन र त्यसको तटस्थ मूल्यांकनले वर्तमान राष्ट्रिय राजनीतिलाई ठोस आकार दिँदै राष्ट्रको भविष्यलाई सही दिशामा डोर्याउनेछ । यस सत्यलाई नबुझ्दासम्म प्राज्ञिक जगत्मा इतिहासको विधाले स्थान प्राप्त गर्ला भन्नेमा पर्याप्त प्रश्नहरू रहिरहनेछन् ।
आज त्रिभुवन विश्वविद्यालयको मानविकी संकायमा अत्यन्त ओझेल परेको यस विषयले नेपालमा इतिहासको अध्ययन, अनुसन्धान र अध्यापनको गति कता जाँदैछ भन्ने तथ्यलाई छर्लंग पारेको छ । केही सातापहिले प्रकाशित समाचारअनुसार त्रिविको इतिहास विभागमा इतिहास पढ्ने विद्यार्थी जम्मा एकजना र ती एकजनालाई इतिहास पढाउने दर्जनौं प्राध्यापकहरू लगानी गरेको त्रिविले ती एकल विद्यार्थीबाट कस्तो नतिजाको अपेक्षा गर्ला भन्ने डरलाग्दो प्रश्नले पाका इतिहासकारहरूको मनमा ढ्यांग्रो ठोकेको छ ।
इतिहासशिरोमणि बाबुराम आचार्य, नयनराज पन्त, दिनेशराज पन्त, महेशराज पन्त, धनबज्र बज्राचार्य र ज्ञानमणि नेपालहरूले सुरु गरेको नेपाली इतिहासको अध्ययनको शृंखलालाई उहाँहरूपछिको दोस्रो पुस्ताले निरन्तरता दिन सकेको छैन । कर्कपेट्रिक, हेमिल्टन, शिल्भालेभी, डेनियल राइट्स, ओल्डफिल्ड, स्टिलरजस्ता विदेशी इतिहासकारले नै नेपालमा इतिहास लेखनको सुरुआत गरिदिएका थिए । उनीहरूले लेखेको नेपालको इतिहास गलत र भ्रमपूर्ण भए पनि नेपालमा इतिहास लेखनमा उनीहरूको योगदानलाई नकार्न भने कदापि मिल्दैन । तथ्य र सत्य इतिहास लेखनका लागि माथि उल्लिखित व्यक्तिहरूबाट २००९ सालमा संशोधन मण्डलको स्थापना भएको थियो । यस संस्थाको नेपालको इतिहास लेखनमा महत्ववपूर्ण योगदान छ । पछि २०२२ सालदेखि प्रकाशित हुन थालेको पूर्णिमा पत्रिकाले अहिलेसम्म निरन्तरता प्राप्त गरिरहेको छ । तर, उहाँहरूको शारीरिक अशक्ततापछि उक्त ऐतिहासिक पत्रिका पूर्णिमालाई निरन्तरता दिनसक्ने कुनै दोस्रो पुस्ता अहिलेसम्म देखिएको छैन ।
प्राज्ञ हरिराम जोशीले आफ्नो एकल प्रयासमा ३० वर्ष अघिदेखि प्रकाशन गर्दै आइरहनुभएको रोलम्ब पत्रिका पाँच वर्ष अगाडिदेखि बन्दप्रायः भएको छ । व्यक्तिगत प्रयासबाट इतिहास लेखनको गति अगाडि बढिरहेको भए पनि उहाँहरूको सेखपछि यसको गति ठप्प नहोला भन्न सकिन्न । सरकारी अनुसन्धान केन्द्रहरूमा हुने राजनीतिक नियुक्तिले कथित प्राज्ञ पुरस्कृत र सच्चा साधक बहिष्कृत हुने तीतो सत्य स्थापित छ ।
नयाँ पुस्तामा इतिहास र संस्कृतिप्रतिको उदासीनताले इतिहासको अध्ययन र अनुसन्धानको गतिविधि बन्द हुने निश्चितप्रायः छ । त्रिविबाट बहिष्कृत प्राज्ञहरूको इतिहास पढेर जागिर खाएका जागिरेहरूले इतिहास र संस्कृतिको सम्बन्धमा सिन्को पनि भाँच्न नसकेको सन्दर्भ एकातिर छ भने अर्कोतिर तिनै पाका प्राज्ञहरूले आफू अपमानित भएको महसुुस गरेका छन् । सच्चा साधक र स्रष्टालाई सम्मान गर्ने संस्कार र संस्कृति नै नभएको परिवेशमा यो आशा राख्नु पनि मिथ्या हुनेछ ।
इतिहासशिरोमणि बाबुराम आचार्य, नयनराज पन्त, दिनेशराज पन्त, महेशराज पन्त, धनबज्र बज्राचार्य र ज्ञानमणि नेपालहरूले सुरु गरेको नेपाली इतिहासको अध्ययनको शृंखलालाई उहाँहरू पछिको दोस्रो पुस्ताले निरन्तरता दिन सकेको छैन ।
कुनै पनि सभ्य नागरिकले आफ्नो देशको इतिहास, संस्कृति र भूगोलप्रतिको विषयमा जानकारी राख्नु उसको नैसर्गिक दायित्व हो । इतिहास र संस्कृतिको ज्ञानले नै उसको प्राज्ञिक व्याक्तित्व अझ खँदिलो हुन्छ । मातृभूमिप्रतिको सद्भाव र पुर्खाप्रतिको श्रद्धापूर्ण स्मरणले व्यक्तिको आत्मिक÷आध्यात्मिक उन्नति हुनुका साथै राज्यको भौतिक उन्नतिमा समेत यसले प्रभावकारी भूमिका खेल्नेछ । इतिहास र संस्कृतिको विहंगम महत्वव रहँदारहँदै पनि आज हामी यसको अध्ययनमा पछि परेका छौँ । हामी अरू कुनै पनि विषयमा स्नातकोत्तर गरेका शिक्षित र प्रज्ञिक भए पनि हामीमा हाम्रो इतिहासप्रतिको ज्ञान छैन भने प्राज्ञिकता ओझेल पर्नेछ । पाठ्यक्रमहरूमा केही मात्रामा भए पनि इतिहासको विषयलाई समावेश गरिनु उपयुक्त हुन्छ ।
बदलिँदो परिवेशमा नेपालकोे वर्तमान राजनीतिले नयाँ मोड लिँदैछ । देश संघीय राज्यमा जाँदै गरेको क्षण अर्थात् शून्य समयमै हामी इतिहासको सिर्जना गरिरहेका छौं तर वर्तमान घटित राजनीतिक विकासक्रमलाई भविष्यका पुस्ताले लिपिबद्ध गर्लान् तर भविष्यको आधार निर्माण गरिरहेको यस समयमा हामीले हिजोको इतिहासलाई बिर्सिरहेका छांै अर्थात् हाम्रो इतिहास बिर्सिएको ‘बित्तिहास' भएको छ । बिर्सिएको बित्तिहासले कदापि देशको भलो गर्दैन । हामीले हाम्रो इतिहासको सम्झना गर्नैपर्छ । इतिहासबाट पाठ सिकेर भविष्य निमार्ण गर्ने स्वर्णिम समय हामीलाई प्राप्त भएको छ । हामी अहिले जातीय इतिहास र स्वसंस्कृतिको पहिचानको खोजी गरिरहेका छौं । पहिचानको मागलाई सम्बोधन गर्न संघीय राज्यको संरचना हुने पूर्ण तयारीमा छौं । तर बिर्सनै नहुने र स्वीकार गर्नैपर्ने सत्य भनेको भविष्यको इतिहास तयार गर्दा पुरानो इतिहासको अध्ययन नै गरिरहेका छैनौं र इतिहासलाई बेवास्ता गरिरहेका छौं ।
हामीले आज खोजिरहेको र प्रयोग गर्न गइरहेको गणतन्त्रात्मक र प्रजातान्त्रिक पद्धतिको शासनप्रणाली लिच्छवीकालमै लागू गरिएको थियो भन्ने तथ्य इतिहासको अध्ययनबाट थाहा हुन्छ । राजा महाराजाहरूको गुणगानमात्र इतिहासको अध्ययन होइन । इतिहासको निर्माण जनताले गरेका हुन् । तसर्थ जनताको इतिहास लेखिनुपर्छ भन्ने विषय नै आजको आवश्यकता र माग हो । विडम्बना ! राजनीतिक नाराको भाषा र भाषणहरूमा मात्र हामी आफ्नो इतिहासको सन्दर्भ उठाउँछौं तर इतिहासको अध्ययनमा भने हामी उदासीन भएका छौं ।
करिब सयभन्दा बढी जातजाति र भाषाभाषी भएको हामी सांस्कृतिक विविधताले युक्त र सम्पन्न छौं भने विविधतामा एकता नै हाम्रो साझा विशेषता हो । यही ऐतिहासिक सत्यलाई पुनःस्थापित गर्नु नै हाम्रो आजको आवश्यकता र समयको माग हो । एकातिर हाम्रो देशको प्रत्येक जातजातिको मूर्त र अमूर्त सांस्कृतिक इतिहासको संरक्षण र लिपिबद्ध गर्दै जानु परेको छ भने अर्कोतिर वाह्य शक्तिले हाम्रो सांस्कृतिक समन्वय र एकताको बलियो सम्बन्धलाई ध्वस्त बनाउने चलखेल र प्रयास गरिरहेका छन् । यस्ता वाह्य शक्तिको सांस्कृतिक र भाषिक आक्रमणलाई एकताबद्ध भएर परास्त गर्नु परेको छ भने अर्कोतिर नवीन इतिहास लेख्ने प्राप्त भएको यस अवसरलाई समेत सदुपयोग गर्नु परेको छ । यसका लागि इतिहास र संस्कृति पढ्नैपर्ने आजको आवश्यकता हो ।
इतिहासको लेखन र अध्ययन अत्यन्त जटिल कार्य हो । इतिहासको अध्ययनका लागि प्राचीन लिपि, भाषा, साहित्य र संस्कृतिको ज्ञान हुनुपर्छ । प्राचीन लिपिहरूको लिप्यन्तर र भाषान्तरण गरेर तुलनात्मक, विश्लेषणात्मक र वैज्ञानिक अध्ययनका लागि पर्याप्त अध्ययन, साधना र धैर्य चाहिन्छ । व्यक्तिको एकल प्रयासले मात्र यो सम्भव छैन । इतिहासको अध्ययन र अन्वेषणमा लाग्नेलाई राज्यले उचित सहयोग गर्नैपर्छ । इतिहास र संस्कृतिको अध्ययनका लागि अभिप्रेरणा दिनैपर्छ । पढ्ने जाँगर नभइरहेको आजको सन्दर्भमा इतिहास लेखनजस्तो कठिन कार्यमा लाग्ने नयाँ पुस्ताहरू तयार नै भइरहेका छैनन् । विभिन्न जातजाति र भाषाभाषीको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनका लागि इतिहासले प्रभावकारी भूमिका खेल्छ ।
वर्तमान राजनीतिक समस्यालाई समेत ऐतिहासिक प्रमाण र नजिरहरू अध्ययन गरी समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ भन्ने तथ्यलाई आज प्रज्ञिकवृत्तले बिर्सिएको छ । त्रिविको इतिहास विभागमा भर्ना भएको एकजना विद्यार्थीले पाका प्राज्ञहरूको बिँडो थाम्लान् भन्नेमा आशा गर्नसक्ने सम्भावना कम छ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ‘प्रज्ञा' पुरातत्वव विभागबाट प्रकाशित हुने प्राचीन नेपाल, त्रिवि सिनासबाट प्रकाशित हुने जर्नल, साझा प्रकाशनबाट प्रकाशित हुने गरिमा र गोरखापत्रबाट प्रकाशित हुने मधुपर्कजस्ता पत्रिका र अनुसन्धान केन्द्रहरूले अनुसन्धानमूलक र प्राज्ञिक लेखको अपेक्षा गरिरहेका छन् । तर, प्राज्ञिक अनुसन्धानको खडेरी परिरहेको यो अवस्थामा उल्लिखित पत्रिका र जर्नलहरूको मागलाई हाम्रा पाका प्राज्ञहरूले कहिलेसम्म पूरा गरिरहलान् ? त्यो समयले बताउला ।
इतिहासको अध्ययन किन पछि पर्यो ? त्रिवि र अन्य विश्वविद्यालयहरूले किन इतिहासको महत्ववलाई नकारे भन्ने विषयमा गहन मूल्यांकन गर्न आवश्यक छ । नेपालको रोजगार बजारमा इतिहास विषय पढेर रोजगार पाउने सम्भावना कम छ तर इतिहास पढाउने गुरुहरूले आफ्ना विद्यार्थीलाई कसरी रोजगार प्राप्त गर्न सकिन्छ भन्ने विषयमा बाटो देखाउनैपर्छ । विभिन्न अनुसन्धान केन्द्रहरूमा आफ्ना विद्यार्थीलाई सहभागी गराएर इतिहासको अनुसन्धानप्रति रुचि जगाइदिनुपर्छ । विशेष गरी परराष्ट्र मामिला, अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन, द्वन्द्व व्यवस्थापन, कूटनीतिक नियोग लगायतका संस्थामा इतिहास विषय पढेका प्राज्ञहरूको आवश्यकता हुन्छ । यस्ता संस्थामा रहेर पनि आफूले पढेको विषयको माध्यमबाट देश र समाजको सेवा गर्न सकिन्छ । इतिहास कुनै निरस र अनुत्पादक विषय होइन । यो विषयमा शिक्षित र दीक्षित बन्ने हो भने रोजगार पनि सुनिश्चित छ ।