सिकार हुनुस्, सिकायत नगर्नुस

 सिकार हुनुस्, सिकायत नगर्नुस

काठमाडौंमा घर भएका तर अमेरिकी नागरिकता लिएर अमेरिकामै बसोवास गरेका एक नेपाली वर्षको एकचोटी नेपाल आउने गर्दथे । उनको घरमा कोही नबस्ने भएकाले आफू आउँदा पनि आफ्नै नाता, कुटुम्बकहाँ बस्ने गर्दथे । त्यसकारण उनको घर खाली रहने गर्दथ्यो र खाली नै देखिन्थ्यो । तर यसपालि नेपाल आउँदा उनले एउटा वीभत्स परिस्थिति सामना गर्नुपर्‍यो । भूकम्पले कुनै नोक्सान गरेको थिएन । उनले खाली उनकै नाउँमा लालपुर्जा रहेको घरको स्वामित्वमा आफ्ना भाइबहिनीलाई पनि सामेल गराउन चाहेका थिए । त्यसको लागि उनलाई सरकारी कार्यालयमा जानुपर्‍यो ।

त्यहाँ जाँदा उनले थाहा पाए- उनको घर अरू कसैले उडाएका रहेछन् । कृत्य गरेर बैंकमा धितो राखेछन् र लाखौं रुपैयाँ ऋण लिएछन् । बैंकले सो घरको किनबेच रोक्का गरेको रहेछ । यो अवस्थामा सो घरको स्वामित्वमा हेरफेर हुन सकेन । यो घटनाको जाँचबुझ गर्दा मालपोत, बैंक आदि कार्यालयमा कृत्य काम भएको पाइएछ । यसको छानबिनमै हप्तौं लागेपछि तीन हप्ताको बिदा लिएर नेपाल आएका मानिसलाई आपत् पर्‍यो । तर यस्तो जालसाजमा परेको आफ्नो घर नबचाई अमेरिका फर्कने कुरा पनि भएन । उनले बिदा लम्ब्याएर आफ्नो घर बचाए । तर यो क्रममा उनले धेरै झमेलाको सामना गर्नुपर्‍यो । यसको लागि वकिलको सेवा लिनुपर्‍यो । अनावश्यक खर्च गर्नुपर्‍यो ।

नेपालमा राम्रो नाउँ कमाएका एक सामाजिक सेवकको देहावसान भयो । उनको अन्तिम काजकिरिया गर्नको लागि अमेरिकामा बसोवास गरेका उनका छोरा आए । उनको पनि तीन हप्ताको बिदा थियो । दुई हप्ता काजकिरियामै बित्यो । त्यसपछि उनले पैत्रिक सम्पत्ति आफ्नो नाउँमा नामसारी गर्न चाहे । उनीसित नेपाली नागरिकतासमेत सबै कागजात थियो । तर नामसारीको काम छिटोछरितो किसिमले भएन । मालपोत कार्यालयले अनेक प्रश्न उठाए र झमेला खडा गरिदिए । काम त हुने नै थियो, तर समयमा हुन सकेन र हुन दिइएन । उनलाई हतारो थियो किनभने उनको बिदा सकिन लागेको थियो । उनले कुरा बुझे र पैसा खर्च गर्न तयार भए । बिचौलियाको सहयोग लिए ।

हजारौं रुपैयाँ घूस खुवाए । काम तुरुन्त भयो । उनी समयमै नेपालबाट उड्न सफल भए । एकजना नेपाली वर्षौं अगाडि विदेशमा बसाइँ सरे । तर उनको हक भोगको सम्पत्ति नेपालमै थियो । उता राम्रो बन्दोबस्त गरिसकेपछि उनी फुर्सदमा नेपालमा आए र आफ्नो सम्पत्ति बेचबिखन गरे । यतिबेलासम्म उनको घरको मूल्य धेरै बढिसकेको थियो र त्यसबापत उनले ठूलै रकम पाए । करोडौं रुपैयाँ पाए । तर प्रश्न रह्यो सो पैसाको प्रयोग कहाँ कसरी गर्ने ? नेपाल बाहिर सो पैसा लिएर जान खोजे । कानुनी रूपले लैजान कठिनाइ पाए ।

गैरकानुनी रूपले लैजान खोज्दा ठूलो खतरा देखे । कानुनीरूपले बाहिर लैजान सरकारले विदेशी मुद्रामा सटही गर्ने सुविधा दिनुपथ्र्यो, जुन उनले पाउन सकेनन् । केही हजार डलरसम्म आफ्ना परिवारका सदस्यहरूलाई बाहिर पठाउन सक्ने सुविधा सरकारले दिने गरेको छ । तर करोडौं रुपैयाँबराबरको विदेशी मुद्राको रकम पठाउने सुविधा प्रदान गरेको छैन ।

यस्तो ठूलो रकमको पैसा विदेशी मुद्रामा हुन्डीद्वारा पठाउन सकिन्छ । यही प्रचलनबाट पठाउने पनि गरिँदैछ । तर त्यसमा ठूलो खतरा हुने गर्छ । यो बाटोबाट पठाउँदा पैसा ठगिन पनि सक्छ । हुन्डीको काम विश्वासमा चल्ने हो । हुन्डीवालाले बेइमानी गर्‍यो भने कानुनी कारबाही हुन सक्दैन । किनभने सो काम गर्ने र गराउने दुवै गैरकानुनी मानिन्छन् र सजायभागी हुन्छन् । नेपालको कुनै कानुनले यो प्रथालाई मान्यता दिएको छैन । यसलाई भारतमा कालोधन्धाको रूपमा लिइन्छ र कालो धन लुकाउने मुख्य साधन रहेको मानिन्छ । त्यसकारण हुन्डीधन्दा प्रचलित भए पनि कानुनको दृष्टिमा गैरकानुनी नै मानिन्छ । यो धन्धाबाट नेपालबाट बाहिर पठाएका मानिसहरूको अनुभव राम्रो नराम्रो दुवै पाइन्छ । जे भए पनि यो भरपर्दो प्रचलन होइन । मानिसहरूले आफ्ना सबै सम्पत्तिलाई यस्तो खतरामा राख्न सक्दैनन् । यसबाट धेरै नेपाली पीडित पाइएका छन् ।

विदेशमा रहेबसेका नेपालीहरूले नेपालका नेपालीको खोट देखाउँदै प्रायः गाली गर्ने गरेको पाइन्छ । वास्तवमा यसो गर्नु उनीहरूलाई सुहाउँदैन ।

यहाँ दिइएका उदाहरण आजभोलि प्रायः सुनिने, देखिने र अनुभव गरिने गरिन्छ । यसको कारण नेपालीहरू स्थायीरूपले अरू मुलुकहरूमा बसाइँ सरेकाले हो । विदेशमा बसाइँ सरेका नेपालीले गैरआवासीय नेपालीहरूको संगठन खोलेर नेपालमा आउन-जान सजिलो पार्ने, दाहोरो नागरिकता दिलाउने, नेपालमा लगानी गर्न पाउने, नेपालमा सम्पत्ति किन्न पाउने र राख्न पाउने सुविधाको लागि आवाज उठाइरहेका छन् । फलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने धारा राखिएको छ ।

सो धारामा लेखिएको छ- विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साविकमा वंशज वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ । यसै सुविधाअनुसार गैरआवासीय नेपालीहरूलाई पाँच सय डलर लिएर सरकारले परिचयपत्र दिने गरेको छ । उनीहरूलाई नेपाल आउन-जान भिसा नलाग्ने सुविधा दिनुका साथै नेपालमा सम्पत्ति खरिद गर्ने र राख्न पाउने सुविधा पनि दिइएको छ । यसबाट गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ । त्यसमा कसैको विरोध देखिँदैन ।

नेपालीहरू आफ्नो उन्नतिको लागि, मजबुरीमा, रिसाएर अथवा नयाँ अवसर पाएर विदेशमा काम गर्न अथवा बसाइँ सरेर गएका हुन्, उनीहरूको केही न केही सम्बन्ध नेपालमा रहिरहन्छ । कसैको सम्पत्तिको कारणले, कसैको परिवारको कारणले या कसैको सामाजिक सम्बन्धको कारणले नेपालको व्यवस्था, कानुन, प्रचलनसित जोडिएको हुन्छ । नेपालको सुव्यवस्था र विकासले जति विदेशमा बसेका नेपालीलाई सुख र शान्ति पुर्‍याउँछ, उति यहाँको अव्यवस्था, अशान्ति र भ्रष्टाचारले दुःख दिन्छ । त्यसकारण उनीहरूले नेपालको अव्यवस्थाको लागि नेपालीलाई गाली गरेर मात्र सुख पाउँदैनन् ।

विदेशमा रहेबसेका नेपालीहरूले नेपालका नेपालीको खोट देखाउँदै प्रायः गाली गर्ने गरेको पाइन्छ । वास्तवमा यसो गर्नु उनीहरूलाई सुहाउँदैन । पहिलो कारण उनीहरू पनि नेपाली हुन् र नेपाल जुन हालतमा छ, त्यसको लागि उनीहरू पनि उत्तरदायी छन् । दोस्रो कारण नेपाललाई सुधार्न, बनाउन र विकास गर्नमा उनीहरूको पनि कर्तव्य हो र यसको लागि जिम्मेवार पनि छन् । एसियाका धेरै देशहरू जस्तो- दक्षिण कोरिया, चीन र भारतको विकासमा त्यहाँका आप्रवासीहरूको ठूलो भूमिका छ । खालि लगानीको कुरा गरेर र लगानी गरेर मात्र सहयोग गर्न सकिने होइन । नेपालमा भइरहेका क्रियाकलापमा रुचि राखेर, त्यसमा आफ्नो विचार दिएर र यहाँ चलिरहेका गतिविधिमा संलग्न भएर पनि उनीहरूले देन दिन सक्छन् र दिनु पनि पर्छ ।

नेपालमा आएको राजनीतिक अस्थिरता, त्यसले उत्पन्न गरेको कुशासन, भ्रष्टाचार र अनैतिक गतिविधि समाप्त गर्न अनेक प्रयत्न भइरहेका छन् । युवकहरू संगठित भइरहेका छन्, बुद्धिजीवीहरू छट्पटाइरहेका छन्, महिला आवाज निकालिरहेछन्, सार्वजनिक रूपमा भइरहेका गतिविधि देखिइँदै छन् । उनीहरूलाई नैतिक, आर्थिक, भौतिक अनेक प्रकारको सहयोगको आवश्यकता परेको हुन्छ । स्रोतको कमीले कतिपय संगठन निस्क्रिय भएको र सेलाएर गएको पनि देखिन्छ । उनीहरूलाई सहयोग गर्नु नेपालका नागरिक मात्र होइन, बाहिर बसेका नेपालीहरूको कर्तव्य हो । होइन भने माथि उल्लेख गरेजस्तो नेपाल आउँदा अथवा नेपालसित कुनै कारबाही गर्दा ढिलासुस्ती, भ्रष्टाचार र झन्झटको सिकार हुनुपर्ने हुन्छ । त्यस्तो बेलामा नेपाललाई गाली गर्नुभन्दा आफैंलाई गाली गर्न सिक्नुपर्छ । केही चासो र सहयोग नगर्नेले सिकायत गर्न पनि छोड्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.