अस्पतालको बेथिति : भगवान पुकारेर बिरामीलाई एनेस्थेसियाको सुई

अस्पतालको बेथिति : भगवान पुकारेर बिरामीलाई एनेस्थेसियाको सुई

भक्तपुर : बिरामीको जीवन बचाएर भगवानको दर्जा पाउने चिकित्सकहरु नै भगवान भाकेरको बिरामीलाई उपचार गर्छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । हुन त मृत्यु कसैको बसमा हुँदैन । चिकित्सकहरुले पनि मृत्युलाई पूर्णतः टार्न सक्दैनन् ।
तर मृत्युको मुखसम्म पुग्न केही विलम्ब गर्न सक्छन् । जसको लागि अहिले विज्ञानले धेरै प्रविधि विकास पनि गरिसकेको छ । जुन प्रविधिको सही उपयोगले चिकित्सकहरु भगवानको दर्जामा पुगेका छन् ।
यही भगवानको दर्जामा पुग्ने भक्तपुर अस्पतालका एनेस्थेसिया चिकित्सक भने भगवानकै भरमा अहिलेसम्म काम गर्दै आएका छन् ।
सरकारबाट केन्द्रीय अस्पतालको मान्यता पाएको भक्तपुर अस्पतालमा आईसीयू सेवा उपलब्ध नहुँदा कुनै बिरामीको अप्रेसन गर्नलाई बेहोस बनाउने चिकित्सकहरुले भगवान पुकारेर सुई दिँदै आएका हुन् ।
अस्पतालको अप्रेसन कक्षमा बिरामीलाई बेहोस बनाइसकेपछि सुताउने तथा अब्जरभेसन गर्ने उपकरणयुक्त कक्ष छैन । त्यस्तै बेहोसीको अवस्थामा रहेका बिरामीको प्रगति (रिकभर) भए नभएको हेर्ने कक्षसमेत छैन ।
‘अस्पतालमा अप्रेसन गर्न बिरामीलाई बेहोस गरेर सुताउने र अब्जरभेसनमा राख्ने उपकरणयुक्त कक्ष छैन’, कन्सल्टेन्ट एनेस्थेसियन डा. सरिता श्रेष्ठले भन्नुभयो, ‘बेहोस भएका बिरामीको प्रगति भए नभएको हेर्ने रिकभरी कक्षसमेत छैन । जसले गर्दा भगवान पुकारेर बिरामीलाई बेहोस पार्ने सुई दिनुपर्ने बाध्यता छ । धन्न अहिलेसम्म कुनै बिरामीलाई नराम्रो भएको छैन ।’
उहाँका अनुसार अस्पताल प्रशासन तथा व्यवस्थापनबाट कुनै सुनुवाइ नभए पनि भगवानले आफूहरुको पुकार सुन्दै आएकाले अहिलेसम्म कुनै बिरामीलाई तलमाथि भएको छै ।
उहाँले अस्पतालले आईसीयू सञ्चालनको लागि ल्याएको उपकरणबाट हाललाई रिकभरी रुममात्रै सञ्चालनमा ल्याउन पटकपटक प्रशासन र व्यवस्थापनको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
अस्पतालले करिब एक वर्षअघि आईसीयू सञ्चालन गर्न भनी करिब दुई करोड रुपैयाँको उपकरण झिकाएको थियो । जुन उपकरण अहिले प्रयोगमा आउन नसकेर स्टोरमा थन्किएर बसेको छ ।
‘आईसीयूको लागि ल्याइएको भेन्टिलेटर, मनिटरलगायतको प्रयोग गरी तत्काललाई रिकभरी रुम सञ्चालन गर्न सकिन्छ’, उहाँले थप्नुभयो, ‘रिकभरी रुम सञ्चालनमा ल्याउन सकिए अस्पताल पुग्ने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता हट्छ । तर हाम्रो कुराको सुनुवाइ भएन । उल्टै हामीमाथि अस्पतालमा काम नै गर्न नदिने वातावरण सिर्जना गरियो ।’
अस्पतालमा आईसीयू नहुँदा जटिल रोगका बिरामीहरुका आफन्त नै भक्तपुरबाट रिफर माग्दै अन्य अस्पताल जाँदै आएका छन् । साथै अस्पतालमा रहेका चिकित्सकहरु पनि जोखिम मोल्न चाहँदैनन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा आईसीयूको उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा आईसीयू सञ्चालन गर्न नसकिने बताउनुहुन्छ । ‘हामीसँग दक्ष जनशक्ति छैन । त्यसैले करिब दुई करोडको आईसीयूका उपकरण स्टोरमा थन्किएर बसेका छन्’, उहाँले भन्नुभयो, ‘मन्त्रालयमा आईसीयूको लागि दक्ष जनशक्ति र बजेट पठाउन पटकपटक माग गरेका छौं तर सुनुवाइ भएको छैन ।’
अस्पतालको मौजुदा जनशक्तिबाट आईसीयू सञ्चालन सम्भव नभएको उहाँको भनाइ छ ।
उहाँका अनुसार मन्त्रालयबाट जनशक्ति र बजेट पाउने आशामा अस्पतालमा आईसीयू कक्ष निर्माण भइरहेको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.