ज्ञान र वैराग्यका पर्याय
०७२ फागुनको एक साँझ महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाटमा पुगेको थिएँ। आ श्रमका संस्थापक पीठाधीश डा. स्वामी रामानन्द गिरिलाई त्यसअघि कतिपय सार्वजनिक समारोहमा धेरैपटक देखेको भए पनि प्रत्यक्ष भेट्ने मौका भने त्यसको एक महिनाजति अगाडि मात्र मिलेको थियो।
पहिलो भेट र भलाकुसारीबाट उहाँप्रतिका मेरा अनेकौँ पूर्वानुमान गलत सिद्ध भएका थिए। त्यो भेटमै उहाँले भन्नुभएको थियो, 'म जोगी हुँ तर माला जपेर बस्ने जोगी होइन, ज्यूँदा मान्छेहरूको साथ लिएर समाज बदल्न सक्दो प्रयत्न गरिरहेको छु।'
दोस्रोपटकको भेटमा आख्यानकार अमर न्यौपाने र म सँगै थियौँ। आ श्रमको नियमित तालिकाबमोजिम त्यो साँझ गुरुकुलका विद्यार्थीले कविता, गीत, गजलजस्ता साहित्यिक अभिव्यक्ति प्रस्तुत गर्ने पालो परेको रहेछ। हामीलाई देखेपछि स्वामीजीले विद्यार्थीबाहेकका स्थानीयलाई पनि साँझको साहित्य समारोहमा भेला हुन खबर पठाउनुभयो। ठीक ७ बजे करिब २ सय जनाको उपस्थितिमा साहित्य सन्ध्या सुरु भयो।
मित्र अमरजीलाई रामानन्द गुरुले भन्नुभयो, 'आज तिमीले हाम्रा विद्यार्थीलाई साहित्य रचनासम्बन्धी मार्गदर्शन गर्नुपर्छ।' अमरजीले मतिर देखाउँदै एउटा सर्त राख्नुभयो, 'उहाँलाई पनि १० मिनेट समय दिनुहोला।' गुरुको जवाफ आयो, 'समय बढी लिन पाइन्न तिमीले भनेपछि १० मिनेट यिनलाई पनि दिएँ।'
दर्जनभन्दा बढी विद्यार्थीले वेदान्तको बुझाइलाई व्यावहारिक जीवनसँग जोडेर लेखेका साहित्यिक रचना सुनाइसक्दा आठ बज्नै लागेको थियो। त्यसपछि मैले पाएको १० मिनेटको समय आयो। मसँग भन्ने भन्दा पनि देखाउने तस्बिरहरू र तीसँग जोडिएका केही कथा थिए। त्यसका लागि मेरो आग्रहअनुसार आ श्रमको भव्य हलमा पहिले नै प्रोजेक्टरको व्यवस्था गरिएको थियो।
मैले भित्तामा प्रक्षेपित तस्बिरहरू देखाउँदै तिनका कहानी सुनाउन थालेँ। १० मिनेट बित्यो तर गुरुले मलाई प्रस्तुति नरोकी निरन्तरता दिन संकेत गर्नुभयो। म देखाउँदै र सुनाउँदै गएँ। बेलाबेलामा उहाँ बर्बर खसेका आँसुका ढिक्का रुमालले पुछ्दै रोइरहनुभएको थियो।
उहाँलाई त्यसरी पगाल्ने तस्बिरहरू कुनै मार्मिक नीति कथासँग जोडिएका थिएनन्। चितवनको दुर्गम गाउँमा अभावको जीवनसँग भोकै र नांगै जुधिरहेका सीमान्तकृत चेपाङ बाआमा र तिनका सन्ततिको दुर्दशा देखेर प्रेम र करुणाले भावविह्वल हुँदै पोखिनुभएको थियो गुरु।
एक घन्टाभन्दा लामो प्रस्तुतिपछि भोकले गलेको स्वरमा मानवताको मूल्य थप्दै उहाँले भन्नुभयो, 'साँच्चै भगवान् त ती चेपाङ हुन्, उनीहरूको सेवाभन्दा ठूलो पूजा अरू केही हुँदैन।' उहाँको विशालताले म गद्गद् भएँ। त्यो साँझयता गुरुसँगको आत्मीयताको गाँठो कसिलो हुँदै गयो।
त्यसपछिका भेटमा उहाँ मसँग बारम्बार सोध्नुहुन्थ्यो, 'तस्बिरमा देखिएका अनुहार बदलिए कि बदलिएनन् ? ' अनि थप्नुहुन्थ्यो, 'उनीहरूको तकदिर बदलेपछि तस्बिर आफैं बदलिन्छ।'
मैले पहाडदेखि तराईसम्मका बस्तीबस्तीमा दुःख पाइरहेका गरिब, दलित उपेक्षित र पीडितको अवस्था र तिनको कल्याणमा मिडिया र मानव समुदायले गरिरहेका परोपकारी प्रयत्नबारे बताइरहन थालेँ। रामानन्द गुरु भन्नुहुन्थ्यो, 'अठार पुराणको ठेली जतिसुकै ठूलो भए पनि परोपकारलाई पुण्य र परपीडालाई पाप देख्नु तिनको सार हो।' गुरुको जीवन पनि उहाँले बुझेजस्तै थियो। बेलाबेलामा उहाँले सुनाउने अनुभवहरू मन छुने खालका हुन्थे।
केही वर्षअघि विराटनगर गएका बेला त्यहाँका एक शुभचिन्तकले रामानन्द गुरुलाई भोजनका लागि आमन्त्रण गरेछन्। स्वामी निम्ता मान्न जानुभएछ। उहाँको खानापछि सुत्ने बानी थियो। खुब मानमनितोका साथ भोजन गराएपछि आरामका लागि बैठक कोठामा शयनको व्यवस्था गरिएछ। बिछ्यौनामा पल्टिएर निदाउनै लागेका बेला टेलिभिजनको आवाजले उहाँ ब्यूँझिनुभएछ।
उठेर हेर्दा एक हातमा कुचो र अर्को हातमा टेलिभिजनको रिमोट कन्ट्रोल थिच्दै उभिएका कामदारलाई देख्नुभएछ। खरो मिजासका स्वामीलाई झनक्क रिस उठेछ। आफूलाई गेरुवस्त्रधारी जोगीका रूपमा देखेर ती कामदारले हेपेका हुन् कि जस्तो लागेछ। त्यसरी सोच्दा उहाँमा झन् बढी क्रोध जागेछ। कुचो लिएर उभिँदै टेलिभिजनका च्यानलहरू बदल्दै गरेका ती कामदारले स्वामीलाई आराममा अवरोध पुगेको थाहा पाएका रहेनछन्। उनी आफ्नै सुरमा एकटकले टेलिभिजन हेरिरहेका थिए रे !
त्यसपछि स्वामीले क्रोधको ज्वाला निभाउँदै अर्को तवरबाट यसरी सोच्नुभएछ– यस कामदारले घरमालिकको बैठक कोठामा पसेर टेलिभिजन हेर्ने मौका कहिले पाओस्। आज मेरो आड पाएर डरमुक्त भई सरसफाइ गर्ने निहुँमा ऊ टेलिभिजन हेर्नकै लागि आएको हुनुपर्छ। म निदाएको ठानेर टेलिभिजन हेर्दै ऊ दंग छ। उसको खुसी खोस्नु हुँदैन।
मैले सुत्ने अवसर त बेलुका पनि पाउँछु, यो कामदारले बिचरा टेलिभिजन हेर्ने अवसर सितिमिति नपाउन सक्छ। यति सोचेर उहाँले निदाएजस्तो गर्नुभएछ। ती कामदार निकैबेरसम्म टेलिभिजन हेरेर खुसी हुँदै निस्केछन्। गुरुलाई त्यो दिनको आराम गराइले जति सन्तोष कहिल्यै मिलेन रे !
गरिब र दीनदुःखी मानवलाई नै भगवान् देख्ने उहाँको दृष्टि जातपातका सवालमा कति विभेदरहित थियो भन्ने पुष्टि गर्न एउटै दृष्टान्त पर्याप्त हुन्छ। एक वर्षअघि जावलाखेलको सत्संग भवनमा भेला भएर आफ्नो प्रवचन सुनिरहेको जनसमूहको एउटा कुनामा बसिरहेकी स्थानीय गोपिनी मगरलाई देखाउँदै गुरुले भन्नुभयो, 'जन्मले ब्राह्मण हुँदैमा संस्कारले मानव बनाउँदैन। ब्राह्मण भएकोमा घमण्ड गर्दै अरूलाई मान्छे नगन्नेहरूले यी मगर्नीबाट संस्कार सिक।' गोपिनीको सेवाभावप्रति श्रद्धा प्रकट गर्दै हुनुहुन्थ्यो उहाँ।
पूर्वीय दर्शनको व्यवहारकुशल व्याख्या, संस्कृत वाङ्मयको ज्ञान र वेदान्तको विवेचनामा उहाँको जति दख्खल राख्ने प्रखर विद्वान् सायदै भेटिएलान्। उहाँको श्रीमद्भागवत् महापुराणका सम्पूर्ण स्कन्द, अध्याय र श्लोकहरूको शब्दशब्द अनुवादसहितको रामानन्दी टीका आठ भागमा प्रकाशित छ। त्यसबाहेक उहाँका जनकदर्शनबारेको विद्यावारिधि शोधग्रन्थ (राजर्षि जनकका विदेह सिद्धान्तहरूको समीक्षात्मक अध्ययन), माण्डुक्यकारिका, रामगीता, वेदस्तुति, देवीगीता, दुर्गासप्तशतीलगायत २० भन्दा बढी ग्रन्थ प्रकाशित छन्। उहाँ प्रबल गोरखा दक्षिणबाहुलगायत विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित हुनुहुन्थ्यो।
संस्कृत शिक्षालाई अंग्रेजी भाषामा उच्चारण गर्दा पनि बिटुलो भइन्छ भन्ने पुरातन मान्यता र त्यससँग जोडिएका अनेक चुनौतीलाई चिर्दै ५७ वर्षको उत्तराद्र्ध उमेरमा पुगेपछि आफ्नै आत्मीय शिष्यहरूबाट जंगलजंगल गएर लुकीछिपी अंग्रेजी सिक्ने उहाँको आँट आत्मविश्वासको अद्वितीय उदाहरण हो। संस्कृत भाषामा सीमित गहन ज्ञानलाई आफैंले आत्मसात् गरेको स्वरूपमा पश्चिमा जगत्सम्म बाँड्नु रामानन्द गुरुको सबैभन्दा स्वादको रुचि थियो। गहन वेदान्तमाथि सरल अंग्रेजीमा उहाँको प्रवचन सुन्दै गर्दा उदीयमान कवि नवराज पराजुलीले एकपटक 'रामानन्दी लवजको अंगे्रजी' भनी आदर प्रकट गरेका थिए।
एउटा संन्यस्त योगीको आँटले कति ठूलो प्रगति जन्माउन सक्छ, त्यसको ज्वलन्त प्रमाण महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाटमा देख्न पाइन्छ। त्यहाँ संस्कृत शिक्षाको विकासमा रामानन्द गुरुको जम्मा दुई दशक लामो सिर्जनाले दशकौँ लामो अवसरबाट अयोग्य मात्र सावित भइरहेका शासक वर्गलाई सिकाइका लागि विशाल विश्वविद्यालय नै खडा गरिदिएको छ।
आ श्रममा १ सय ७० जना विद्यार्थी खाना र आवाससहित ६ कक्षादेखि आचार्यसम्मको शिक्षा निःशुल्क पढिरहेका छन्। उनीहरू संस्कृत वेदवेदांग मात्र पढ्दैनन्। अंग्रेजी, गणित, सामाजिक र कम्प्युटर शिक्षाजस्ता अतिरिक्त विषयमा पनि दक्ष बनेर निस्किन्छन्। कक्षा १० को परीक्षामा यहाँका विद्यार्थी सधैं विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदै आएका छन्।
आ श्रमको झन्डै ६० रोपनी जग्गा विद्यालय, क्याम्पस, साधुसन्त निवास, कर्मचारी आवास, अतिथिगृह, शिक्षक निवास, छात्रावास, सभाहल, मन्दिरलगायत ११ वटा भवन, खेलमैदान, कृषि फार्म, बगैंचा, बाटिकाजस्ता रमणीय संरचनाले भरिएका छन्। आ श्रम परिसरभित्रै ११ हजार पुस्तकसहितको सुविधासम्पन्न पुस्तकालय, मल्टिमिडिया र इन्टरनेटको व्यवस्था छ। बाल्यकालमै घरगृहस्थ त्यागेर हिँडेका एकजना योगीको संकल्पबाट यी सब संरचना बनेको सुन्दा नपत्याउनेहरूलाई देखेपछि आफ्नै आँखामाथि समेत अविश्वास लाग्छ।
आ श्रमका संन्यासी, साधुसन्त, शिक्षक, विद्यार्थी र साधकसाधिका तथा बाहिरबाट आउने अतिथिहरूका लागि निःशुल्क आवास तथा भोजनको व्यवस्था छ। यी सब सुविधाहरूको परिकल्पना डा. स्वामी रामानन्द गुरुले २४ वर्षअघि गर्नुभएको थियो। ०५० सालमा दर्ता भएको महेश संस्कृत गुरुकुल विद्यापीठले भौतिक संरचना निर्माणसँगै शैक्षिक कार्यक्रमको थालनी ०५२ देखि गरेको थियो।
खप्तडबाबाको प्रेरणाबाट उहाँले स्थापना गर्नुभएको महेश संस्कृत गुरुकुल आ श्रमलाई यहाँसम्म ल्याउन स्थानीय समाजसेवी माधवप्रसाद पौडेल र संस्थापक प्राचार्य डा. गुरुप्रसाद सुवेदीले निरन्तर साथ दिँदै आउनुभयो। विश्वविद्यालयमा विस्तार हुने आ श्रमको अबको योजना छ। देशभर खुलेका १ सयभन्दा बढी संस्कृत गुरुकुलको स्थापनामा पनि रामानन्द गुरुको अतुलनीय योगदान छ।
उन्नतिको यो प्रशान्त प्राप्तिका महारथी डा. स्वामी रामानन्द गिरिलाई मैले अन्तिमपटक शनिबार राति पशुपति देवपत्तनस्थित शंकराचार्य मठमा समाधि आसनमा देखेँ। उहाँ पलेँटी मारेर प्रवचन दिन तयारजस्तै देखिनुहुन्थ्यो। तर, अनुहार स्थिर र शरीर अचल थियो। मैले देखेको केही घन्टाअगाडि मात्र उहाँको चेतनाले आफ्नो शरीर र स्थुल संसार छाडेको थियो। काठमाडांैको ग्रान्डी अस्पतालमा १० दिन चलेको उपचारको प्रयासबाट निमोनिया र दम नियन्त्रणमा नआएपछि उहाँले शरीर छाड्नुभएको थियो।
२००३ साल भदौ १० गते धादिङको केवलपुरमा रामप्रसाद सुवेदीका रूपमा जन्मनुभएका स्वामी बाल्यकालमै बाबुआमा दुवै गुमाएर टुहुरो भएपछि बालब्रह्मचारी बन्नुभएको थियो। उहाँले ०४७ सालमा स्वामी महामण्डलेश्वर महेशानन्द गिरिबाट संन्यास लिनुभएको थियो। संस्कृत शिक्षा, पूर्वीय दर्शन र वैदिक सनातन धर्मलाई मानव सेवाको पर्याय बनाउन उहाँ आजीवन समर्पित रहनुभयो।
ब्रह्मलीन स्वामीले जीवित छँदा राख्नुभएको इच्छाअनुसार नै उहाँको पार्थिव शरीरलाई आइतबार त्रिशूली र कालीगण्डकीको संगम देवघाटधाममा जलसमाधि गराइयो। उहाँको वैराग्य र निष्ठाबाट मानवताको मोल अनमोल भएको छ। अलबिदा गुरु!