विचारधाराको मृत्यु भएकै हो ?
एकपटक आर्यसमाजी माधवराज जोशीलाई दरबारिया पण्डितहरूसँग शास्त्रार्थ गर्न चन्द्रशमशेरबाट बोलावट भयो । धार्मिक पाखण्डविरुद्ध धारा प्रवाह बोल्ने अर्यसमाजी जोशी र चन्द्रशमशेरका दरबारिया पण्डितहरूबीच तर्क, वितर्क र छलफल भयो । चन्द्रशमशेरका सामुन्नेमा माधवराज जोशीले दरबारिया पण्डितहरूलाई नाजवाफ बनाए, वैदिक तर्क र बहसमा नजवाफ भएपछि कायर दरबारिया पण्डितहरूले माधवराज जोशीको टाउकोमा लट्ठीले हिर्काए, उनको टाउको रगताम्मे भयो । त्यसैको सजायस्वरूप दरबार हाईस्कुलमा पढिरहेका उनका नाबालक छोराहरू अमरराज र शुक्रराजलाई स्कुलबाट निकाला गरियो । राणाशासन विचारको निषेध गरिएको समय थियो।
त्यस्तो निर्मम र क्रूर व्यवस्थामा समेत चन्द्रशमशेरको हृदयको कुनामा कतै विद्वान्हरूबीचको तार्किक बहस, शास्त्रमाथिको विषद विमर्श 'शास्त्रार्थ' गरिनुपर्छ भन्ने अक्कल आउनु नै अनौठो कुरा थियो । यो सन्दर्भ यस अर्थमा उठाइएको छ कि पछिल्लो समय मुलुक सञ्चालन गरिरहेका (सत्ता वा विपक्ष) नेताहरूमा विचारको खडेरी लागिरहेको छ । अझ भनौं उनीहरूमा विद्वान्हरूलाई बोलाएर एकछिन शास्त्रार्थ सुन्ने चन्द्रशमशेरको जति अक्कल र हिम्मत पनि देख्न पाइँदैन वा मुलुकमा त्यस्ता माधवराजहरूको पनि संकट छ, जसले शस्त्रको जवाफ शास्त्रले दिन सकून् । देशमा देखिएको सिद्धान्तको खडेरी र विचारको भ्रष्टीकरणको तथ्यको लागि स्थानीय तह निर्वाचनमा दलहरूबीच देखिएको गठबन्धन नै काफी छ ।
माओवादीदेखि राप्रपा, कांग्रेस, एमालेदेखि फोरम समूहसम्मको तालमेलका पछाडि विचारधारा वा सिद्धान्तको धज्जी उडेको छ । जसले जोसँग मिलेर चुनाव जितिन्छ, त्यसैसँग मिलेर मोर्चाबन्दी गर्ने तहको पाखण्डी कार्यशैलीले राजनीतिक दलहरूमा घनीभूत वैचारिक क्षयीकरण भइरहेको तर्फ हामीले गहिरो विमर्श थाल्नुपर्ने भएको छ । संविधान निर्माणपश्चात् नेपालमा पनि सैद्धान्तिक र वैचारिक इतिहासको अन्त्य भएको टिप्पणी उठ्न थालेको छ ।
फुकोयामा हन्टिङ्टन
पहिल्लो दुई दशक संसारका बुद्धिजीवी र विचारकहरूले सबैभन्दा बढी उद्धृत गर्ने दुई अमेरिकी राजनीनिशास्त्री फुकोयामा र हन्टिङ्टन हुन् । फुकोयामाले सन् १९९२ मा 'दि इन्ड अफ हिस्ट्री एन्ड दि लास्ट मेन' पुस्तक प्रकाशित गरे । त्यसको तीन वर्षअगाडि १९८९ मै उनको विवादास्पद र चर्चित लेख इतिहासको अन्त्य 'दि इन्ड अफ हिस्ट्र' प्रकाशित भइसकेको थियो । यो त्यस्तो समयमा लेखिएको थियो, जहाँ शीतयुद्ध समाप्त हुँदै थियो र सोभियत संघ विघटन । इतिहासको अन्त्यजस्तो कठिन र विवादास्पद प्रश्न उठाएर बौद्धिक बहसमा ओर्लिएका फुकोयामाले उदारवादका सरलताबारे जति हौसिएर इतिहासको अन्त्य भएको घोषणा गरे, त्यो केवल सोभियत संघको विघटन र समाजवादी विचारधाराको अस्तित्वमाथि केही प्रश्नहरू उठ्नुसँग सम्बन्धित थियो ।
उनमा त्यस्तो विचार तत्कालीन विश्वशक्ति राजनीतिको बहुआयामिक अध्ययनपश्चात् आएको थिएन भन्ने टिप्पणीहरू निकै बलिया छन् । त्यसो त फुकोयामा आफैंले इतिहासको मृत्यु उनको आफ्नो 'ओरिजिनल आइडिया' नभई त्यो त माक्र्स एवं हेगेलको इतिहासको द्वन्द्वात्मक प्रक्रिया र हेगेलका फ्रेन्च उत्तराधिकारी कोजेभको विचारधाराबाट प्रभावित भएको तथ्य स्वीकार गरेका छन् ।
अहिल्यै सिद्वान्तको समापन वा विचारधाराको मृत्यु भएको निष्कर्ष निकाल्यौं भने त्यो हतार हुनेछ । जस्तो- फुकोयामा र हन्टिङ्टनले गरे, हामी त्यस्तो हतार नगरौं ।
उदारवाद, फासीवाद र सर्वाहारावादको विचारधारामाथि टिप्पणी गर्दै फुकोयामा दोस्रो विश्वयुद्धले फासीवाद र शीतयुद्धले सर्वाहारावाद समाप्त भएकोले उदारवादी निर्विकल्पताबारे आशावादी हुँदै इतिहासको अन्त्य भएको निष्कर्षमा पुगेका थिए । चीन र जापानको उदारवादी परिवर्तन र रसियामा ग्रोभाचोभकालीन सुधारबाट उत्साही फुकोयामा रसियाका नेताका रूपमा पुटिनको उदय र विश्व राजनीतिमा देखा परिरहेको बहुध्रुवीय वैचारिक विकासलाई अहिले कसरी हेरिरहेका होलान् ? फुकोयामाका आदर्श कोजेवले युरोपको आर्थिक तथा राजनीतिक सुरक्षा छाता युरोपेली युनियनको गठनलाई समेत वैचारिक इतिहासको अन्त्य मान्छन् । त्यसो भए उदार प्रजातन्त्रले शीतयुद्धपछि सबै मानवीय आवश्यकता पूरा गर्यो त ? यो प्रश्नले इतिहासको मृत्यु भएको छैन भन्ने जवाफ बढी बलियो हुन सक्छ ।
अमेरिकी राजनीतिशास्त्री हन्टिङ्टनले ९० को दशकको विश्व व्यवस्थामा देखा परेको शक्ति सन्तुलनलाई आधार मानेर सभ्यताबीचको मतभेदलाई विचारधारात्मक शक्ति संघर्षको समाप्त भएको घोषणा गरे । त्यो दशक शीतयुद्धपछिको विश्व व्यवस्थाको चित्र अनौठो थियो । दोस्रो विश्वयुद्धको निर्णायक लडाइँ लड्ने सोभियत संघ विघटन भएको थियो । असीमित शक्तिसहित अमेरिका एकल ध्रुवीय राजनीतिको शिखरमा थियो । युरोप आफ्नो राजनीतिक तथा आर्थिक सुरक्षाको विकल्प खोजिरहेको थियो । असंलग्न आन्दोलनका एसियाली र अफ्रिकी देशहरू अमेरिकी सुरक्षा छाता ओड्न विवश थिए ।
विश्वका आठवटा सभ्यता र तिनको बढ्दो मतभेदबारे चर्चा गर्दै हन्टिङ्टनले शक्ति संघर्ष र वैचारिक मतभेदको लागि सांस्कृतिक र धार्मिक पक्ष महत्वपूर्ण हुने थेसिस सार्वजनिक गरे । सोभियत संघको विघटनले छिन्नभिन्न भएको वैचारिक मतभेदको खुकुलोपनको अवसरको उठाउँदै हन्टिङ्टनले इस्लाम र क्रिश्चियानिटीलाई सम्भावित संघर्षको कारण ठहर्याए । सन् २००१ म अमेरिकी ट्विन टावरमा अलकायदाले गरेको हमलापछि हन्टिङ्टनका विचारमाथि थप घनीभूत छलफल हुन थाल्यो ।
बीसौं शताब्दीको संघर्ष मूलतः वैचारिक थियो, एक्काईसौं शताब्दीको संघर्ष धार्मिक हुने उनको निष्कर्ष त्यत्तिकै हतार थियो । के इतिहासमा विचारधारात्मक कमीको खाडल धर्मले भर्न सक्छ भन्ने हन्टिङ्टनको निष्कर्ष तात्कालीन अमेरिकी शक्ति राजनीतिको प्रतीत छाया मात्रै थियो । यद्यपि उनी पूर्वी एसियाको आर्थिक सफलता, चीनको सैन्यशक्तिबारे सचेत पनि थिए । उनको आइडेन्टीटी क्रेसिसको स्पष्ट वैचारिक आधारमा डोनाल्ड ट्रम्पको उदय भएको हो कि भन्ने तथ्य थप अध्ययनको लागि एक महत्वपूर्ण परिकल्पना हुन सक्छ । तर फुकोयामा हन्टिङ्टनको थेसिसपश्चात्को साढे दुई दशकमा अन्तर्राष्ट्रिय शक्ति राजनीतिमा शीतयुद्धकालीन विचारधारात्मक टकरावको इतिहास दोहोरिने सम्भावना टड्कारो भएको छ ।
इतिहासको अन्त्य ?
सोभियत संघ ढलेको दुई दशक नहुँदै भ्लादिमिर पुटिनको नेतृत्वमा रसियन विचारधारा फेरि शक्तिशाली भइरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रूसी प्रभाव साम्राज्यवादमाथिको त्यति ठूलो हमला थियो, जुन शीतयुद्धपछिको सबैभन्दा बढी अमेरिकी नालायकी सावित भयो । क्रिमिया रूसमा गाभ्ने निर्णय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र एकलध्रुवीय राजनीतिमा त्यस्तो सम्भावित परिवर्तनको संकेत थियो, जहाँबाट करिब २५ वर्षपश्चात् रूस अमेरिका एकपटक आम्ने-साम्ने आए पनि रसियाले निर्णायक बाजी मार्यो । त्यो अन्तर्राष्ट्रिय शक्ति संघर्षको लागि पहिल्लो दुई दशककै दुर्लभ र रोमाञ्चक क्षण थियो । विश्व राजनीतिको पछिल्लो परिवर्तन खासगरी वैचारिक धारमै छ, तथापि यो रुझान धमिलो छ ।
संकेतहरू सतहमा आउन समय लागे पनि विचारधारात्मक इतिहासको अन्त्य भएको छैन । रसिया, चीन, भेनेजुएला, क्युबा, उत्तरकोरिया जस्ता समाजवादी शक्तिहरू कुनै पनि बेला एउटै सुरक्षा छाताभित्र बस्न सक्छन् र उदाउँदा अर्थतन्त्रहरूको संगठन ब्रिक्स आर्थिक विचारधाराद्वारा थप बलियो हुने सम्भावना मुखरित हुँदैछ । बे्रक्जिटपछि पनि युरोप आफ्नो अर्थ राजनीतिक सुरक्षालाई साझा मुद्दा मानिरहेको छ । सम्भावित खाडीयुद्ध, आईएस नियन्त्रण वा मध्यपूर्व संक्रमणले धेरै हदसम्म रूसको निर्णायक अन्तर्राष्ट्रिय पहलकदमी खोजिरहेका छन्।
फुकोयामा र हन्टिङ्टनले भनेजस्तो वैचारिक टकरावका बाछिटाहरू साँच्चै सुकेका भए ६० वर्षपछि आफ्नो कार्यकालको अन्त्यमा अमेरिकी राष्ट्रपति ओबामा गत वर्ष क्युबाको हवानामा किन ओर्लन्थे ? चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वविद्यालयहरू माक्र्सवादको अध्ययन केन्द्र हुनुपर्नेमा जोड दिएका छन् । युरोपमा चिनियाँ रेल हुइँकिनु चीनको आर्थिक तरक्की मात्रै होइन, त्यो त अन्तर्राष्ट्रिय शक्ति राजनीतिको विचारधारात्मक हस्तक्षेपको नयाँ कडी हो । पछिल्लो दशकको अमेरिकी रक्षात्मक रणनीतिले अन्तर्राष्ट्रिय शक्ति राजनीतिको वैचारिक टकराव सतहमा नदेखिएको मात्रै हो, भित्रभित्रै भुसको आगो झैं विचारधारात्मक द्वन्द्व बलिरहेकै छ, यसको अन्त्य भएको छैन ।
हाम्रो दुर्दशा
५० को दशकभरि पनि नेपालमा वामपन्थीहरू एजेन्डाको राजनीति गर्थे, पार्टी अधिवेशनहरूमा नेतृत्वभन्दा नीतिमाथि बढी छलफल हुन्थ्यो । कांग्रेसको लागि बीपीको समाजवाद गायत्रीमन्त्र हो, त्यो न सबैले बुझेका छन् न कोही उच्चारण गर्न छोड्छन् । सभापति सोसियालिस्ट इन्टरनेसनलका उपाध्यक्ष हुन्, भाष्यकार प्रदिप गिरी छँदैछन् । एउटा बीपी चिन्तन प्रतिष्ठान छ । त्यसले वार्षिक श्राद्धमा गोष्ठी गर्छ । पुष्पलाल र मदन भण्डारीको नामका प्रतिष्ठानहरू छन्, ती पनि विचारधारामाथि भन्दा पनि गैरसरकारी मोडेलमा काम गर्छन् र रिपोर्ट मिलाउँछन् ।
माओवादी केन्द्रमा मोहन वैद्य र बाबुराम भट्टराई नभएपछि फरक मतको झन्झटै छैन, बाबुराम भट्टराईले त भविष्यको पुस्ताले समेत आफ्ना लागि क्रान्ति गर्न पाउँदैनन् भन्ने गरी 'राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक क्रान्ति मात्रै बाँकी रहेको' निष्कर्ष निकाल, उनले भावी पुस्ताले सम्भावित क्रान्ति गर्ने नैर्सगिक हकको समेत बन्ध्याकरण गर्न भ्याए । मूलधारका कांगे्रस, एमाले, माओवादीदेखि राजावादी, मधेसवादी वा फोरमदेखि लिम्बूवानसम्मसँग वैचारिक स्खलन मात्रै छ । प्रत्येक पार्टीका घोषणापत्र उस्तै लाग्छन् । कार्यकर्ता प्रशिक्षण गरिँदैन । पार्टीका स्कुल विभागभन्दा ठेक्का पट्टा (भौतिक योजना) विभाग बलिया छन् । विश्वविद्यालयहरू प्रमाणपत्र वितरण केन्द्रमै सीमित छन्, प्रज्ञाप्रतिष्ठान हल भाडा उठाएर बस्छ । वैचारिक सक्रिएता र विचाराधात्मक बहसहरू कहाँ हुन्छन् ? र हामी कहाँ पुग्दैछौं ।
व्यक्तिमा विचारधारात्मक सक्रियता उत्पन्न गराउने 'सोसल ऐजेन्सीहरू' हावा खाइरहेका छन् । हामीले झेलिरहेको राजनीतिक संक्रमणभन्दा वैचारिक संक्रमण डरलाग्दो छ । यही वैचारिक दिवालियापनले हामी अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रभावकारी उपस्थिति जनाउन चुकेका छौं । आजको नेपाली समाज वैचारिक रूपमा मुर्छित छ, होसहवास गुमाएको छ, तथापि अहिल्यै सिद्वान्तको समापन वा विचारधाराको मृत्यु भएको निष्कर्ष निकाल्यौं भने त्यो हतार हुनेछ, जस्तो फुकोयामा र हन्टिङ्टनले गरे, हामी त्यस्तो हतार नगरौं ।