बढ्दो भ्रष्टाचार र दण्डहीनता !

बढ्दो भ्रष्टाचार र दण्डहीनता !

पैसाको महिमा नेपालमा अपरम्पार छ । तपाईंसँग पैसा छ र खर्च गर्न सक्नु हुन्छ भने तपाईंका वरिपरि 'बत्ती बाल्दै' घुम्नेहरू थुप्रै हुन्छन् । तपार्इं जतिसुकै घुस्याहा भए पनि प्रशस्ति लेख्ने वा चाकडीमा झुम्नेका लाइन पनि लामै हुन्छन् । पैसा चाहिन्छ नै, हाम्रो दैनिक जीवनमा । पैसा नभई के हुन्छ र ? तर अरूलाई दुःख दिएर, झुक्याएर, मारेर तपाईंले पैसा कमाउनुभयो भने आफूले गलत गर्दैछु भन्ने बुझ्नुपर्छ । तर नेपालमा कसैलाई नमारी अथवा घूस नखाई अथवा जनतालाई घूस दिन बाध्य नपारी शुद्ध हिसाबले पैसा कमाउन सक्नु हुन्न । दशा लागेको छ भने कुनै बेला चूडामणि शर्मारूपी खाल्डामा जाकिनु हुन्छ ।

durganath-sharma_2नेपालमा ठूलो भ्रष्टाचार छ र यो भ्रष्टाचार संस्थागत भइसक्यो । सरकारी कार्यालय, अड्डा-अदालत अथवा जनताको सरोकार भएका ठाउँमा र भन्सारमा घूसले महत्वपूर्ण काम गर्छ । अहिले त नेपालमा घूस नखुवाई केही काम हुन्न भन्ने कुरा विदेशीलाई पनि थाहा भइसकेको छ । त्यसैले त मन्त्री, सचिव, निर्देशकलाई भेट्न जाँदा ठूलै चीज अथवा पोको बोकेर जान्छन् मानिसहरू । म सम्झन्छु- गोरखापत्र, टेलिभिजनमा काम गर्दा चाडपर्वमा दूतावासबाट 'स्तरीय ब्रान्डका बोतल आउँथे । अचेल आफू त्यस्तो पदमा नरहेकाले कसैले सम्झदैनन् । सायद अरूकहाँ पुग्नुपर्छ । यस्ता उपहार पनि घूस नै हुन् ।

मेरो भन्नुको अर्थ नेपालमा भ्रष्टाचार संस्थागत भइसकेको छ । नेपालमा कहिलेदेखि भ्रष्टाचार सुरु भयो भन्ने इतिहास त्यति थाहा छैन । तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायणको पालामा पनि घूस दिने चलन थियो भन्ने उनकै उपदेशमा पनि 'घूस लिन्या र दिन्या, दुवै देशका शत्रु हुन्' भन्ने लेखिएकाले स्पष्ट हुन्छ । घूस लिने र दिने दुवैलाई त्यसबेला देशको शत्रु मानिन्थ्यो । तर अहिले त उनीहरूलाई महान् व्यक्ति मानिन्छ ।

माथिमा प्रधानमन्त्रीदेखि तलमा पिउनसम्म मुछिने घूसकाण्डहरू नेपालमा धेरै भएका छन्, तर कारबाही कसले गर्ने ?

सरकारले आफ्ना कर्मचारीलाई खान, बस्न, छोराछोरी पढाउन, बिरामी पर्दा औषधी गर्न र अन्य मनोरञ्जन र लत्ताकपडामा कति लाग्छ भन्ने हिसाब गरेर तलब दिँदैन । अनि त कर्मचारीले चोरेर खाने घूसै हो । जनताले पनि यो कुरा बुझेका छन्, त्यसैले घूस दिन पछि पर्दैनन् । तिनलाई त काम भए भइहाल्यो । त्यसैले घूस हाम्रो संस्कृति, परम्परा र धर्म पनि हो ।

त्यसैले अहिले कुनै पनि सरकारी कार्यालय अड्डा-अदालत होस् या माननीय प्रधानमन्त्रीलगायत मन्त्रीहरू, सचिवहरूलाई केही काम पट्याउन जाँदा खल्तीमा घूसको लागि भनेर काम हेरी लाख र करोडसम्म लिएर जानुपर्छ भन्ने कुरा गर्छन् भुक्तभोगीहरू । घूसको रकमले कसरी फड्को मार्‍यो भन्ने कुरा त हालैको कर फछ्र्योट आयोगका सदस्यसचिव चूडामणि शर्माको भ्रष्टाचार प्रकरणले नै देखाइसक्यो ।

उनले ठूलै मालदार विभाग पाएकाले एकैचोटि २३ अर्ब रुपैयाँको घूस कुम्ल्याइसकेछन् । त्यो पनि १५० वटा फायल हेर्दा, त्यति देखिएको रे ! अझै हजारौं फायलबाट कति खर्ब निस्कने हो । तर एउटा कुरा शर्मा घूस खाएर पनि कांग्रेस, एमाले र माओवादीका जति प्रधानमन्त्री भएका छन्, तिनीसँग अत्यन्तै निकट र प्रिय पात्र थिए भन्छन् । यति धेरै रकमको घूस काण्ड सायद नेपालमा पहिलोपल्ट देखिएको हो ।

धादिङको एउटा सामान्य परिवारमा जन्मिएका चूडामणि सज्जन, आदर्शवान् र कसैलाई 'हुन्न' नभन्ने र कसैसँग पनि नरिसाउने व्यक्ति थिए भन्छन, अहिले । भावीले पनि उनलाई छैटीमा निधारमा 'तँ जहिले पनि कमाउ अथवा मालदार अड्डामा जागिर खाएस् भनेर लेखेका रहेछन् क्यारे । नत्र हामी पनि अर्बौंको घूस खान्थ्यैाँ होला, हाम्रा निधारमा त 'तैले दुःख पाएस्' भनेर लेखिदिएछन् भावीले कहाँ पाउनु २३ अर्ब !

उनको कमाउने अर्को धन्दा पनि रहेछ- उनी पाठ्यपुस्तक पनि लेख्ता रहेछन् । उनी लोकसेवाको परीक्षा तयारी गर्नेहरूलाई तालिम दिँदा रहेछन् । पुस्तक लेखन पनि उनको व्यक्तित्वको अर्को पाटो रहेछ भन्ने उनले २३ करोड त मैले पुस्तक बेचेर पनि कमाएको हुँ भन्ने बयान पढ्न पाउँदा मेरा दाजु डा. तारानाथ शर्माले २५० भन्दा बढी पुस्तक र १७ सयभन्दा बढी लेखहरू लेख्दा पनि एक लाख पनि कमाएका छैनन् ! सायद चूडामणिको पुर्पुरो बलियो भएर होला । नेपालमा ठाउँमा पुगेर शक्ति प्रयोग गर्न सके जे गर्न र भन्न पनि सकिने रहेछ । त्यसैले त ठूलाबडालाई कानुन लाग्दैन नेपालमा भनिन्छ ।

यति ठूलो रकम हात पारेपछि उनकी श्रीमतीले महँगो गाडी हाँक्नु, अत्याधुनिक गाडीबाटै घरको गेट पुगेपछि रिमोटबाटै घरकै दैलो आफैं खोलिने (जुन हल्लामा आएका छन्) मलाई ठूलो कुरा लागेन । भाग्यले अर्बपति पति भेटेपछि कसले गर्दैन होला । हुन त चूडामणि सुरुमा पुरानो बानेश्वर हाइटमा भाडाको घरमा बस्थे रे । अहिले हाम्रो टोलमा हल्ला छ— हाम्रै टोलका मान्छे भ्रष्टाचार बढी गर्दा रहेछन् भन्दै शर्मा र अन्य भ्रष्टाचारीको नाम लिन्छन् । अहिले उनको आलिशान भवन छ रे !

तर मलाई एउटा कुरामा अझै चित्त बुझेको छैन । यतिविघ्न घूस के उनी एक्लैले हसुरेका होलान् त ? यसमा अरूको संलग्नता पनि पक्कै छ र सहयोग पनि छ । त्यसबेलाका अर्थमन्त्री रामशरण महत भागे रे भन्ने हल्ला पनि काठमाडौंमा आयो । उनले आफू संलग्न भएको प्रमाणित गर्न चुनौती पनि दिइसकेका छन् । फाइल स्वीकृत गर्ने त 'मन्त्री' नै हुन् । यो हल्ला मात्र हो कि यसमा केही सत्यता पनि छ, यसको सोधखोज अनुसन्धान हुनुपर्ने होइन र ? चूडामणि एक्लैले त्यत्रो घूस पचाउन सक्छन् र ? अरूको पनि सहयोग पक्का छ । तिनलाई कारबाहीको दायरामा ल्याउनु पर्दैन ? माथिमा प्रधानमन्त्रीदेखि तलमा पिउनसम्म मुछिने यस्ता घूसकाण्ड नेपालमा धेरै भएका छन्, तर कारबाही कसले गर्ने ? खासगरी नेपालमा राजनीतिक भ्रष्टाचार खोतल्ने हो भने धेरै थाहा पाइन्छ । तर गर्ने कसले ?

एनसेलले यति रकम तिर्‍यो भनेर आउनेबित्तिकै हामी त्यस्ता गलत कार्य या त्यो लुकाउनेलाई कारबाही गर्दैनौं । अख्तियार त छ, तर एउटालाई समात्नेबित्तिकै अरू किन खोज्ने ? ठूला माछा खोजे आफैंलाई खाइदिन्छ । अख्तियारका अहिलेको प्रमुख पनि केही समय करमा थिए भन्छन् । उनले कारबाही गर्नुपर्ने हो नि ! एकजनालाई समातेपछि अरू सहायकहरूलाई छोडिदिने 'दण्डहीनता' कै कारण नेपाल संसारका भ्रष्ट मुलुकको सूचीमा माथिल्लै लाइनमा पर्ने गरेको हो । अहिले राजनीतिक दलको हिसाब-किताब राम्ररी खोतल्ने हो पनि कति रकम बाहिरबाट आएका छन् भन्ने स्पष्ट हुन्छ । अहिले नेपालमा आफ्नो पाराको शासनशैली ल्याउन युरोपले नेपालका ठूला नेता, ठूला पत्रपत्रिका र प्रभावशाली व्यक्तिलाई पैसा खुवाउँदैछ भन्ने चर्चा पनि छ ।

नेपालमा जसरी काम भइरहछ, त्यसलाई हेर्दा यो हल्लालाई त्यसै अस्वीकार गर्न पनि मिल्दैन । हामी गरिब छौं, तर हाम्रा आलिसान बंगला छन्, कयौं तले भवन छन्, हामी मर्सिडिज र बीएमडब्लू चढ्छौं । बेलुका ठूला होटेलतिर जाने हो भने यो धन्दा कसरी अघि बढिरहेको छ भन्ने स्पष्ट देख्न सकिन्छ।

सरकार स्वयं भ्रष्टाचारमा लिप्त भएको मुलुकमा भ्रष्टाचार निवारण सरकारबाट या उसले गठित आयोगबाट हुन्छ भन्नु कुकुरलाई मासु पैँचो दिनुजस्तै हुन्छ । त्यसैले जनस्तरबाट कुनै उपाय निकाल्न सक्यो भने हो । होइन भने भ्रष्टाचार निवारण अनुसन्धान आयोगले त ठूलालाई छुनै सक्तैन । ठूलालाई नछोई खाने माछा पत्ता लाग्दैन । बरु एउटा काम गर्न सकिन्छ- चूडामणिलाई फकाएर उहाँबाट भ्रष्ट व्यक्तिका नाम पत्ता लाएर प्रकाशन गर्ने हो भने ठूला माछा अगाडि आउँछन् र तिनलाई उचित दण्ड दिन सक्ने कानुन पनि हुनुपर्छ, होइन भने भ्रष्टाचार नेपालमा घट्तैन, बढ्दै जान्छ- यस प्रकारको राजनीतिक व्यवस्थामा ! किनभने राजनीतिक दललाई पार्टी सञ्चालनमा धेरै खर्च हुन्छ, त्यो कहाँबाट ल्याउने ? घूसबाटै हो आउने ।

नेपालमा राजनीतिक, ठेक्कापट्टामा र ठूला कामको टेन्डरमा कमिसनको रूपमा प्राप्त हुने पैसाले नै त चलेका छन्- राजनीतिक दलहरू र ठूलाबडा भनाउँदा । यसको एक ज्वलन्त उदाहरण चूडामणि हुन् । उनीसित काम गर्नेहरूलाई नंग्याउन नसकी नेपालबाट भ्रष्टाचार उन्मूलन हुन्छ भनेर चिताउनु एउटा हास्यव्यंग्य कार्यक्रम हेरेजस्तै हो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.