राजनेता हुने योग्यता
राजनीतिक नेतृत्व वा राजनेताको सफलताको लागि कस्ता गुण आवश्यक पर्छन् भन्नेबारेमा धेरै लेख लेखिएको र विचार व्यक्त भएको पाइन्छ । हुन त यो कुरा ठाउँ र समयअनुसार फरक पर्ने र सोहीअनुसार निर्धारण हुने कुरा पनि हो र महात्मा गान्धी, जर्ज वासिंटन, अब्राहम लिंकन, एडोल्फ हिटलर, नेल्सन मण्डेला, फिडेल क्यास्ट्रो, र विन्स्टन चर्चिल जस्ता संसारका केही स्थापित राजनेताहरूको जीवनी, काम र तिनका गुण र विशेषतालाई एकै ठाउँमा राखेर गहिरोसँग हेर्दा एउटा चाखलाग्दो निष्कर्षमा पुग्न सकिन्छ ।
जसअनुसार, एकमा प्रतिबद्धता र समर्पण, दुईमा साहस र सही योजना गर्ने क्षमता, तीनमा ज्ञान, दूरदृष्टि र स्पष्टता आउने देखिन्छ भने त्यसपछि आउँछ भाषणकला, उत्प्रेरणा क्षमता आदि-आदि यी गुणहरूको महत्वमा कुनै द्विविधा त छैन, तर सँगै देश, काल र परिस्थिति यस्तै अर्को महत्वपूर्ण पक्ष हो, जसले आफ्नो आवश्यकताअनुसार राजनेताको गुण परिभाषित गर्दछ । माथिको कुराको सर्वकालिक वैधता (युनिभर्सल भ्यालिडिटी) हुँदाहुँदै पनि नेपालको वर्तमान सन्दर्भमा राजनेतामा जनताले देख्न चाहेको कुराको छुट्टै लिस्ट तयार गर्न सकिन्छ अथवा नेपालीले सम्भावित राजनेताबाट खोजेको आवश्यक योग्यताको सूची तयार गर्न सकिन्छ ।
नेपालमा राजनेताको लागि सामान्य जनजीवनबाट आएको व्यक्तिभन्दा अलिक भिन्न खालको पृष्ठभूमि र व्यक्तित्व भएको व्यक्तिको खोजी हुने गरेजस्तो देखिन्छ । यसका अतिरिक्त खोजिने कुरा त्याग र उत्सर्ग हो । आफ्नो नाममा छाता र सुराहीबाहेक कुनै सम्पत्ति नभएको, आफ्नो लक्ष्यमा हिँड्दै गर्दा बिहे र घरजम गर्नसमेत नभ्याएको भनेर चिनिएका कृष्णप्रसाद भट्टराई एउटा समय राजनेताको रूपमा स्थापित हुनै थाल्नुभएको थियो ।
तेस्रोमा आजभोलि आएर नेतामा विशिष्ट ज्ञान, पढाइ र अनुभवको पनि खोजी हुन थालेको छ । त्यसपछि भनेको आचरण, संस्कार, प्रस्तुति, दैनिकी, संगत र सहयोगी वृत्त आदि कुरामाथि पनि धेरै विचार गर्न थालिएको छ । यी सबै कुरा उपयुक्त र जाएज त हुन्, तर सबैभन्दा पहिलो र दोस्रो गुण भएको व्यक्ति पाउन निकै कठिन हुने कुरा हो । विगत बीस-तीस वर्षमा राजा ज्ञानेन्द्रदेखि विभिन्न नेताहरू चर्चाको चुलीमा रहे, तर तिनको राजनेता बन्ने बाटो अधुरै टुंगियो ।
धेरैको मुद्दामा श्रीमती, छोराछोरी, परिवार एवं आसेपासेको क्रियाकलाप र ती नेताले तिनको इच्छापूर्तिको लागि आफ्नो पदीय दायित्व बिर्सेर 'फेबर' गरिदिएको घटना सार्वजनिक हुनेबित्तिकै तिनको बनेको इमेज पनि सखाप हुने गरेको देखिन्छ र त्यसो हुनु नाजायज पनि हैन । तर प्रश्न के भने, परिवार नै नभएको वा परिवारको पटक्कै केही 'फेबर' नगर्ने लोभ, पापबाट मुक्त नेता पाउन यो देशले अर्को एक युग कुर्न पनि पर्न सक्छ । प्रस्ट हो, किसुनजीमा देखिएको सम्भावनाले मूर्तरूप लिन पाएन र त्यसले किसुनजीलाई त के भो र तर देशले एउटा सुन्दर सम्भावनालाई आफ्नो हातबाट युगौं पछाडिसम्म धकेल्यो ।
त्याग र उत्सर्गको यस्तो बढी खोजी गर्ने हाम्रो सामाजिक मनोविज्ञान निकै चाख लाग्ने खालको छ । यसो भनिरहँदा कतिको मनमा के प्रश्न उठेको हुन सक्छ भने के त्यसो भए हाम्रो समाजमा त्याग, परोपकार, सदाचारजस्ता गुण स्थापित हुन थालेको हो भन्ने । तर वास्तविकतामा त्यसो हो भन्ने देखिन्न । भ्रष्टाचार, अनियमितता, जथाभावी, अधिकारको दुरुपयोगको शृंखला दैनिक जनजीवनमा तलैसम्म घुसेको देखिन्छ । सानोतिनो अनियमितता सेवा दिने र सेवाग्राही दुवैका लागि सामान्य भइसकेको छ । समाजमा भ्रष्टाचारविरुद्ध खुलेर बोल्नेको जमात धेरै सानो छ । अब प्रश्न उठ्छ- यो समाजको द्वैध मानसिकता कसरी त ?
यो बुझ्नको लागि नेपाली सामाजिक मनोविज्ञानको दुइटा परस्परविरोधी (तात्कालिक र दीर्घकालिक) रणनीतिहरू बुझ्नुपर्छ । ज्यादाजसो मान्छे के चाहन्छन् भने समाजमा न्याय स्थापित होस्, शान्ति होस्, मिलेर बस्न सकियोस् । विद्यमान स्थिति त्यसअनुकूल छैन, दिनदिनका क्रियाकलापमा भ्रष्टाचार, अनियमितता, जथाभावी, अधिकारको दुरुपयोग देख्नु वा भोग्नुपरेको छ । हाम्रो मनोविज्ञानले भनेको हुन्छ, यो सब खराबी म एक्लैले परिवर्तन गर्न सक्ने हैन, त्यसैले समाजमा अरूसरह भएर बाँच्नको लागि अहिलेको लागि यसैभित्र पस्नुबाहेक अर्को उपाय छैन । यसरी र यसकारण दैनिक जीवनमा भ्रष्टाचार, अनियमितता, जथाभावी एवं अधिकारको दुरुपयोग संस्थागत हुँदै गइरहेको छ । हो, यसैको अर्को पाटोमा जोडिन आउँछ त्यागी एवं उदाहरणीय नेताको खोजीको कुरा, जसले माथि भनेजस्तो खराबीको अन्त्य आफैंबाट सुरु गरोस् र गर्ने हिम्मत राखोस् ।
आम मानिस चाहन्छन् त्यो सदाचार, न्याय, शान्ति ल्याउने कामको नेतृत्व राजनेताले गर्नुपर्छ । त्यसको लागि उनी स्वयं त्यागी र उदाहरण दिने खालको हुनुपर्छ । त्यसैकारण परिवारको बारबन्धनबाट मुक्त व्यक्ति भए मात्र त्यस्तो साहस गर्न सक्छन् भन्ने आमधारणा रहेको हो । आम मानिस सोच्छन् कि यसरी जब त्यस्ता राजनेताले परिवर्तनको नेतृत्व गर्छन् र जब समाजमा सदाचार, न्याय र शान्ति स्थापित हुन थाल्छ, त्यसपछि म पनि त्यसै गरौंला । हो, यसरी यस्तो द्वैध मनोविज्ञान नबुझी न समाजलाई न कुनै वर्ग र तप्कालाई मात्र गाली गरेर अहिलेको विकृति र विसंगति समाधान हुने हो । यस अर्थ पनि यो देशमा राजनेताको अत्यन्त खाँचो भइसकेको छ र तिनको नेतृत्वबाट मात्र समाजमा मौलाइरहेको भ्रष्टाचार, हिंसा, हत्या, घृणा जस्ता विकृतिको अन्त्य सम्भव हुने देखिन्छ ।
नेपालमा हाल जीवितै त्यस्ता अन्य केही नेता छन्, जसलाई पनि राजनेता बन्ने अवसर नजिक-नजिक आएको थियो, जो दुर्भाग्यवश तिनले चिनेनन् वा त्यस्तो बन्न चाहेनन् । त्यस अर्थमा भन्ने हो भने, किसुनजीबाट त्यो सामाजिक आवश्यकता पूरा गर्न नसक्नुमा नेपाली समाजको ठूलो कमजोरी भएको हो । यो कुन अर्थमा पनि भने सम्पत्ति नभएका, बिहेबारी नगरेका वा जिन्दगीभर राजनीतिमा लागेका त कति होलान् कति, तर राजनेताको लागि चाहिने गुण त्यति मात्र होइन । अब नेपाली समाजले एकपटक गरेको गल्तीबाट सिकेर नयाँ राजनेताको पहिचान गर्दै तिनलाई स्थापित गर्नु आवश्यक भइसकेको छ ।
सम्पर्क इमेल : [email protected]
Facebook: Lok Bhattarai