उपकरणले निम्त्याएको मनोवैज्ञानिक समस्या

उपकरणले निम्त्याएको मनोवैज्ञानिक समस्या

नवीन कुराका आविष्कार, विज्ञान र प्रविधिको विकासले युवामा चुनौती र समस्या जन्माएको छ । विद्युतीय सामग्रीले स्मार्ट बन्दै गएका युवा सामाजिक एवं भावनात्मक रूपमा रोगी पनि बन्दै गएका छन् । सिक्न र बुझ्न नहुने अथवा मानसिक रूपमा परिपक्व नहुँदै हेर्न हुने र नहुने सबै कुरामा विज्ञता हासिल गरिरहेछन् । कतिपय आउँछन् र भन्छन्, ‘मलाई जीएडी भयो । कोही भन्छन्, ‘मलार्इ बिपो बिच रोग लागेछ । कतिले आफू यौनजन्य समस्याबाट पीडित भएको समस्या पनि सुनाउँछन् । यी कुरा गुगलबाट सिके र बुझेको पनि सुनाउँछन् ।

१२ कक्षामा पढ्दै गरेका एकजना किशोरले मनोपरामर्शदातृसँग आफ्नो स्वभाव र समस्यालाई संयोजन गर्दै भने, ‘म सानै उमेरदेखि मुडी थिएँ, जिद्दी थिएँ, आफ्ना हरेक माग आमाबुवासँग पूरा गराएरै छाड्थेँ । किशोरावस्थामा प्रवेश गर्दा साथीहरूले दार्शनिक उपनाम दिए । धरैले मलाई साइको भन्थे । केटी साथीहरू ‘देवदास' भनेर जिस्क्याउँथे ।' यस्ता उपनाम पाउँदा पनि गौरव ठान्ने ती किशोर आफूमा कुनै मनोवैज्ञानिक समस्या छ कि भन्नेमा अनभिज्ञ नै रहे । भन्छन्, ‘किन म अरूजस्तो छैन ? किन म भिन्न सोच र तर्कले बहस गर्छु ? किन मेरा साथी मसँग लामो समय टिक्न सक्तैनन् ? '

सानो उमेरमा अन्तरमुखी स्वभावका कारण सोचेका र चाहेका धेरै कुरा अभिव्यक्त गर्न नसकेर गुम्सेका भावनाले अति दुःखी बनाउने, उदासीपना, डर र एकोहोरो सोच्दासोच्दै आफ्नै सोचले तर्साउने गरेको गुनासो गर्दै आफूलाई मानसिक रोग लागेको हो कि भनेर बुझ्न एक किशोर मनोपरामर्शका लागि आए । एउटी किशोरी फेसबुक म्यानिया भएको समस्या लिएर आइन् । उनी भन्दै थिइन्, ‘झन्डै म दिनमा १०-१५ घन्टा नेटमा व्यस्त हुन्छ । फेसबुक च्याट गर्छु, जोकोहीसँग पनि मित्रता कायम गर्दा धेरै पुरुष साथीले घुम्न जाने प्रस्ताव राख्छन् । कतिले त यौन सम्पर्कका प्रस्ताव पनि राख्ने गरेका छन् ।'

माथि उल्लिखित प्रतिनिधि समस्यामात्र हुन् । हिजोआजका किशोरकिशोरीले विज्ञान प्रविधिलाई दुरुपयोग गर्दा थुप्रै प्रकारका समस्या झेलिरहेको पाइन्छ । पढाइलेखाइमा सुस्तता देखिनु, एकअर्काबीच अस्वस्थकर प्रतिस्पर्धा गर्ने क्रममा विद्युतीय सामग्रीमाथिको मोह बढाउने, महँगा र नवीन ब्रान्डको खोजीमा दिमाग लगाइनु, आवश्यकभन्दा बढी अनावश्यक रूपमा प्रयोग र दुरुपयोग गर्ने लत लाग्नु, सामाजिक अन्तरक्रियामा कमजोर एवं चिन्तित बन्दै जानु, सञ्चार सीपमा कठिनाइ महसुस गर्नु र एकलकाँटे स्वकेन्द्रित बन्दै जाने समस्या प्रायःमा देखिएको छ ।

-पढाइलेखाइमा सुस्तता देखिनु
- एकअर्काबीच अस्वस्थकर प्रतिस्पर्धा गर्ने
- विद्युतीय सामग्रीमाथिको मोह बढाउने
- महँगा र नवीन ब्रान्डको खोजीमा दिमाग लगाइनु
- आवश्यकताभन्दा बढी अनावश्यक रूपमा प्रयोग र दुरुपयोग गर्ने लत लाग्नु
- सामाजिक अन्तरक्रियामा कमजोर एवं चिन्तित बन्दै जानु
- सञ्चार सीपमा कठिनाइ महसुस गर्नु
- एकलकाँटे स्वकेन्द्रित बन्दै जानु

एक किशोरले त फेसबुकमार्फत नै आफूले लागूपदार्थ सेवन गर्न सिकेको र साथीहरू बनाउँदै जाँदा आफू त्यसको दुव्र्यसनी बनेको समेत बताए । त्यतिमात्र नभई फेसबुकबाट थुप्रै केटी साथी बनाएर गाँजा खाने, हुक्का तान्ने र यौन उत्तेजक वार्तालाप गर्ने, नांगा तस्बिरसमेत खिचेर एकअर्कालाई पठाउने गरेकोसमेत खुलासा गरे । उनले फेसबुक आईडी झूठ हुने, दिएका सूचना गलत हुने, कहिले त केटा नै केटी बनेर यौन वार्तालापमा सहभागी हुने गरेको अनुभव पनि सुनाए ।

यस्ता घटनाले हाम्रो समाजलाई एउटा प्रश्न भने पक्कै गर्छ, ‘के हाम्रा अभिभावकले छोराछोरी हुर्काउन नजानेकै हुन् त ? ' सानै उमेरदेखि सिकाउनुपर्ने अत्यावश्यक कुराहरू सिकाएनौं कि ? बढी महत्ववाकांक्षी पो बन्यौं कि अथवा बढी उदारवादी भयौं कि ? किन भने कुनै केटाकेटी जन्मँदै माथि उल्लिखित समस्या लिएर जन्मेका हुँदैनन् । हुर्काउँदै जाने क्रममा केटाकेटीले सिक्ने त्यस्ता व्यवहार आमाबुवाले दिने वातावरणले नै सिर्जना गराउँछ । वैचारिक शक्ति अत्यन्त बलवान् हुन्छ । यो एउटा दृढ विश्वास हो, जसले सकारात्मक परिवर्तन आउने आश गुमाएकालाई पनि चामत्कारिक परिणाम दिलाउनसक्छ । सकारात्मक सोच, विचार, अथक प्रयास, हौसला, माया, प्रेम र सहयोगी भावनाको सिर्जना र व्यावहारिक प्रयोगले असम्भव केही हुँदैन । तर, हाम्रो धेरैजसो अभिभावकमा यस्ता विचारमा कमीकमजोरी देखिन्छ ।

आफ्ना बालबालिकाका हरेक कार्यमा नकारात्मक टिकाटिप्पणी, अवमूल्यन, निरुत्साहित वचन र व्यवहार आफ्नै इच्छा र सपनालाई लाद्न खोज्ने प्रवृत्तिले अहिलेको पुस्ताले आफ्नो पहिचान खोज्दै जाने क्रममा विविध प्रकारका अस्वस्थकर बानी र व्यवहार देखाउन पुगेका त होइनन् ? हामी अभिभावकले गम्भीर भएर सोच्नुपर्छ । सानो छँदा आफ्ना बालबालिकालाई आइप्याड र मोबाइलमा भुलाउने, टीभी र कार्टुन देखाउँदै फकाउने अनि त्यो आदतले विद्युतीय सामग्रीमा निर्भरता बढाउने र एडिक्सन बनाउने गर्छ । यो सत्यलाई सोच्न नसक्दा र पछि किशोरावस्थामा पुग्दानपुग्दै त्यही विद्युतीय सामग्रीको अधिक प्रयोगले आमाबुवा र बालबालिकाबीच कटुता ल्याइदिन्छ । बालबालिकाको इच्छा र चाहनालाई बुझ्ने र सुन्ने मन धेरै अभिभावकमा कम हुँदै गएका कारण ‘यही विषय पढ्, करिअर यसैमा बनाउनुपर्छ, समाजको अगाडि यस्तो पहिचान बनाउनुपर्छ' भन्ने दबाबले आमाबुवा र समाजप्रति नै प्रतिशोधको भावना जगाउने वातावरण बन्दै गएको छ ।

फेरि पनि दण्ड बालबालिकालाई दिने, उपलब्ध गराइएका विद्युतीय सामग्री खोसिदिने, मोटरसाइकल खोसेर बेचिदिनेजस्ता सजाय प्रत्येक अभिभावकले दिने गरेको पाइन्छ । यस अवस्थामा बलवान् किशोरले शारीरिक शक्तिको प्रदर्शन गर्नसक्छ । आमाबुवा र घरपरिवारभन्दा बढी साथीसंगतप्रतिको विश्वासले घर छोड्न सक्छ । यो पक्षमा अलिकति पनि आकलन गर्न नसक्नु कस्तो अभिभावकत्व होला ? यस्ता व्यवहारले किशोरकिशोरीलाई मनोरोगी बनाउने गर्छ भन्ने सत्यलाई पनि अभिभावक स्वीकार्न तयार छैनन् । जबर्जस्ती र बाध्यात्मक परिस्थितिले मानिसलाई मनोरोगी नबनाउने कुरै भएन ।

एक्लो छोरा, साथी थिएन, आमाबुवाको हरेक अर्तिउपदेश, सपना र व्यवहारबाट आफू जकडिँदै गएको र पछि ल्यापटप साथी बन्यो । बाहिरी संसारबाट एक्लिँदै गए र कोठाको चार भित्तामा आफूलाई कैद गरे । झन्डै चार वर्षसम्म उनको साथी केवल ल्यापटप थियो । हेर्न हुने नहुने सबै कुरा हेरे, अभ्यास गरे, अनुभव बटुले तर पछि यसबाट पनि वाक्क लाग्न थाल्यो र उनी निःसहाय, कमजोर र आत्मग्लानिको सिकार बने । यस बेला अभिभावकले फेरि उनलाई नै दोष दिए ।


सानो छँदा आफ्ना बालबालिकालाई आइप्याड र मोबाइलमा भुलाउने, टीभी र कार्टुन देखाउँदै फकाउने अनि त्यो आदतले विद्युतीय सामग्रीमा निर्भरता बढाउने र एडिक्सन बनाउने गर्छ । यो सत्यलाई सोच्न नसक्दा र पछि किशोरावस्थामा पुग्दानपुग्दै त्यही विद्युतीय सामग्रीको अधिक प्रयोगले आमाबुवा र बालबालिकाबीच कटुता ल्याइदिन्छ ।

पहिला बाहिर नगएर कोठामा ल्यापटप चलाएर बस्दा धन्न अरूको जस्तो दुःख दिएन, नशा खाएन, भनेर खुसी भए पनि सीप सिकेन, आत्मविश्वासी भएन अब भविष्यमा यसले के गरी खान्छ भनेर चिन्ता प्रदर्शन गरे । प्रायः धेरै किशोरकिशोरी अभिभावकका यस्तै दोधारे, अपरिपक्व र अदूरदर्शिताको सिकार बन्ने गरेका छन् ।

यस्तो परिस्थितिसँग जुध्न नसक्दा धेरै युवाले आत्महत्यालाई अन्तिम विकल्पका रूपमा रोज्ने गरेका उदाहरण पनि पाइन्छन् । आफू र आफ्नै भावनालाई कसैले बुझ्न नसकेको पीडासँग जुध्न नसक्दा बाँच्नुभन्दा मर्नु बेस भन्ने सोचले प्र श्रय पाउँछ । यो डिप्रेसनको एक बिन्दु हो, जहाँ मानिसले बाँच्ने पीडा वहन गर्न सक्तैन र आत्महत्या त्योभन्दा सहज ठान्छ ।

तसर्थ अभिभावकले वैज्ञानिक तवरले सोच्नुपर्ने आवश्यकता छ । पुराना विचार परिवर्तन गरी समयसापेक्ष र परिणाममुखी बनी व्यावहारिक बन्न सकेमा युवावर्ग कुण्ठा, आक्रोश र दुव्र्यसनमा फस्नेछैन । यो सत्यलाई स्वीकार्नैपर्छ । आवश्यकताअनुरूप अभिभावकत्व सीप पनि सिकौं र सहयोगी भूमिका निर्वाह गरौं । सबै अभिभावकप्रति शुभकामना !

-लेखक नेसनल इन्स्टिच्युट अफ साइको एडुकेसनल काउन्सेलिङकी प्रमुख मनोविद् हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.