सुदूरको पश्चिम
व्यापक राजनीतिक परिवर्तन हुँदाहुँदै पनि आफ्नो भूगोल सुरक्षित राख्न सफल एक मात्र प्रदेश सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ को स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा यात्राको अवसर मिल्यो । मोफसल र काठमाडौंको भिन्नताको खाडल ठूलै रहेछ । रन्जु दर्शना र किशोर थापाले काठमाडौंको स्थानीय निर्वाचनमा दिएको भन्दा दरिलो टक्कर धनगढी उपमहानगरपालिकाको निर्वाचनमा एक स्वतन्त्र उम्मेदवार गोपाल हमालले दिए ।
त्यस क्षेत्रको विकासमा महत्ववपूर्ण भूमिका निर्वाह गरेका, विकासप्रेमी पृष्ठभूमिका गोपाल मेयर पदमा सम्मानजनक दोस्रो स्थानमा रहे पनि छापा र सामाजिक सञ्जालमा रन्जु र किशोरले पाएजति ठाउँ पाएनन् । पंक्तिकारलाई पनि भेटेजति प्रायजसो सबैले एउटै प्रश्न गरे, ‘दुई दसकसम्म विदेशमा बसेर पनि काठमाडौंमा घर किन नबनाएको ? ' मोफसल र काठमाडौंबीचको खाडल यही प्रश्नमा छ । धुवाँ र धुलोले जनजीवन कष्टकर भए पनि सेतो साबुनको फिँज नै कालो भएर बग्ने अर्थात् धेरै कालोमैलो सफा गर्ने काठमाडौंको स्नानको मज्जा बाहिर छैन । उता मोफसलमा भने राजधानीको अति आवश्यक मुकुन्डोको व्यापार नै छैन।
कतिपय बेथितिहरूको अनुभूति आनन्दपूर्वक गरियो । विमान चढ्ने र ओर्लिने बेलामा अग्रपंक्तिमा रहेका यात्रुहरूले सेल्फी खिचेर पछाडिका यात्रुहरूलाई असहज पारेको सामान्य नै हो । ‘नो पार्किङ' लेखेका ठाउँहरूको उपयोग गर्न मज्जाले मिल्दो रहेछ । पूर्वपश्चिम राजमार्गमा पर्ने सेनाको चेकपोस्ट स्थलमा सुविधाको लागि हो वा सुरक्षाको लागि हो सेनाले दुइटै लेनमा अवरोध गरेर राजमार्गमा वक्राकार रूपले गाडी चलाउनुपर्ने गरी अवरोध गरेको रहेछ ।
उपमहानगरपालिकाजस्तो सहरका सडकमा अवैज्ञानिक गति अवरोधकको निर्माण गरिएको छ । एसी लेखिएको १२ यात्रु क्षमता भएको धनगढी-महेन्द्रनगर रूटमा चल्ने माइक्रोबसमा १७ जना कोच्दा पनि वातानुकुलनको सुविधा पाइएन । बसहरू प्रत्येक स्टपमा निश्चित संख्यामा यात्रुहरू नआउन्जेल आरामले रोकिराख्दा रहेछन् । भारतको उत्तरप्रदेशका मुख्यमन्त्रीले सरकारी कार्यालयमा पान खाएर थुक्नेलाई जरिबानाको घोषणा गरिसक्दा पनि उनीहरूकै सिको गरेर पान चपाएर प्याच्च गर्ने फोहोरीहरूको फोहोरलाई उपमहानगर भइसकेको सहरमा निसंकोच शिरोधार्य गरिएको रहेछ ।
बजारमा एउटै जातका आँपका दुईखाले मूल्य तोकिएको सर्वत्र देखियो । मूल्यको भिन्नता किन भन्ने प्रश्नको उत्तरमा पसलेले भने ‘उ इन्डियन दसरी है, व ई नेपाली दसरी है' भारतीय हुनु नै ब्रान्ड भए झैं गरी बजारमा बेचिने भारतीय दसरी आँपको मूल्य नेपालीको तुलनामा करिब ३३ प्रतिशत बढी छ । स्वदेशी उत्पादन कमसल भएको भन्ने मान्यता सर्वस्वीकार्य देखिन्छ ।
कांग्रेसले उम्मेदवार तय गर्न नसकेकाले निर्वाचनप्रति जनताको उत्साहबीच बुद्धिजीवीहरूमा निर्वाचन नहुनेमा आशंका व्याप्त थियो । सरकारको सुरक्षा व्यवस्था भने प्रशंसनीय थियो । पुराना मित्रहरूले स्थानीय निर्वाचनमा प्रत्यक्ष रूपले सहभागी हुनुपर्ने अनुरोधमा पंक्तिकारले आफू दुई दसकदेखि भूराजनीतिमा अज्ञान रहेको एक स्वतन्त्र नागरिक भएको भन्ने जवाफमा एकजना मित्रले भने, स्थानीय निर्वाचन पनि दुई दसकपछि नै हुँदैछ । यसबीचमा स्थानीय निकायको मतदानको अवसर नपाएका उनी र पंक्तिकारबीच कुनै भिन्नता नभएको उनको व्यंग्यात्मक तर्क यथार्थ नै हो ।
डोटी-डडेल्धुरा राजमार्गमा पर्ने आफ्नो पैत्रिक स्थल पूर्णरूपले परिवर्तित भइसकेको रहेछ । वातानुकूलित बसको आनन्दमय यात्रामा सडकका ठाउँठाउँमा भएका खाल्डाखुल्डीले काउकुती लगाइरहेको जस्तो लाग्थ्यो । बिजुली, कालोपत्रे सडक, इन्टरनेट पुगेको पैत्रिक गाउँमा एकजना दाइका घरमा पुग्नेबित्तिकै दाइले भाउजूलाई पकाएको पानी ल्याउन अह्राएर पिउनयोग्य हुने गाउँको कन्चन पानी विकाससँगै पिउनको लागि अयोग्य भइसकेछ । उमालेको पानीलाई पकाएको पानी भनिँदो रहेछ । पकाएको पानी पिएपछि आतिथ्यको लागि चिया पिउनुपर्ने बाध्यात्मक परिस्थिति भने आएन ।
निर्वाचनमा मत माग्नैनपर्ने गरी प्रत्येक घरमा दलका झन्डा गाडिएका रहेछन् । एउटा घरमा कांग्रेस र माओवादी दुवैको झन्डा देखियो । के यो तालमेल भएको क्षेत्र हो भन्ने जिज्ञासाको उत्तरमा एउटा स्थानीयले भने, होइन । उनले अर्को घर देखाए जहाँ चारवटा दलका झन्डा गाडिएको रहेछ । कतिपय घरका ती झन्डाको खासै अर्थ नरहने उनले बताए । २०४८ सालको आमनिर्वाचनको प्रचारमा सँगै हिँडेका एकजना दाइको घरमा पुगियो । सूर्यअंकित झन्डा छानामा गाडेका उनलाई पंक्तिकारले आफू स्वतन्त्र नागरिक भएको स्पष्ट पारेपछि उनले भने, ‘भाइको शिक्षाले भाइलाई स्वतन्त्र नागरिक बनायो, अज्ञानताले गर्दा हामी घरघरमा झन्डा गाड्न बाध्य छौं ।'
झन्डा नगाड्नेको घरमा प्रत्येक दिन दबाब हुने र झन्डा गाडेपछि त्यो झन्झटबाट मुक्ति मिल्ने उनको तर्क थियो । छिमेकी गाउँमा एकजना वृद्धाको घरमा निर्वाचनमा भोट माग्न एक हुल मान्छे आएको विषयमा उनले आफ्नो कथा आफैं सुनाइन्, ‘आफ्नो घरमा त जो भोट माग्न आए पनि सातवटै भोट रुखमा हालिन्छ ।' पंक्तिकारले आफ्ना एकजना असल मित्र अर्कै दलबाट उम्मेदवार भएको कुरा राखेपछि उनले भनिन्, ‘भोट यताउता गरे बदर हुन्छ रे ।' भोट माग्न आउने सबै दललाई आफ्नो घरमा स्वागत भएको तर आफूले भने सातवटै भोट रुखमा हाल्ने उनले पुनः दोहोर्याइन् ।
रुख छापवाला कुनै उम्मेदवारको नाम भने उनले भन्न सकिनन्, हाँसिन् मात्र । गाउँपालिकाको भौगोलिक आकार ठूलो भएकाले स्थानीय निर्वाचन स्थानीयजस्तो नभएर यसो भएको हो । मतदाता शिक्षामा समेत भाग लिएका कतिपयको सात पदको लागि आठ चिन्ह किन भन्ने जिज्ञासा जतासुकै देखियो । धेरैलाई यसको जवाफ चित्त बुझेन ।
सानो सहयोग गर्ने उद्देश्यले आफूले अध्ययन गरेको विद्यालय भ्रमण गर्ने अवसर मिल्यो । हजारौं विद्यार्थीको मार्गदर्शक विद्यालयको अवस्था भने परिवर्तन नभएको रहेछ । प्रधानाध्यापकले त्यहाँ सुधारका विभिन्न कार्यक्रम लागू गरेको बताए, तर पनि समयको गतिभन्दा निकै पछि परेको विद्यालयको स्थिति यो गीतभन्दा फरक छैन ।
माझी दाइले जुनी भरी डुंगा तारिरहे ।
अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे ।
अवसरको खोजीमा शिक्षित जनशक्ति पलायन हुने परम्परा र उचित सरकारी नीतिको अभावमा सामुदायिक विद्यालयको स्तरोन्नति हुन सकेको छैन । आर्थिक क्रान्तिको लागि चाहिने जनशक्तिको माग सम्भ्रान्त परिवारबाट मात्रै परिपूर्ति गर्ने हो भने समावेशीको नारा सार्थक हुँदैन । समावेशीलाई आरक्षणसँग जोडेर राजनीति गरिएको छ, तर समावेश गर्नुपर्ने वर्ग पूरै उपेक्षित भएको ग्रामीण विद्यालयको हालतबाट स्पष्टै देखिन्छ ।
उपमहानगरपालिका बनाउनुपर्ने बाध्यताले जनसंख्याको खोजीमा सीमारेखा तलमाथि गर्दा भौगोलिक रेखाहरू अवैज्ञानिक ढंगले कोरिएको धनगढी उपमहानगरपालिकामा स्पष्टै देखिन्छ । उपमहानगरपालिकामा जोडिएका ११ वटा (पूर्णरूपले ग्रामीण) वडाका बासिन्दाहरूले सहरसरह कर तिर्नुपर्नेछ, तर उनीहरूले पिउने पानी, ढल निकास, विद्यालय र स्वास्थ्यको सहजता र बाटोजस्ता सुविधा भने पाएका छैनन् । त्यहाँका बाँकी ६ वटा वडा पनि आंशिक रूपले ग्रामीण नै छन् । ६ वटा पूर्व गाउँ विकास समितिहरू मिलाएर बनाइएको डोटीको जोरायल गाउँपालिकामा एक कुनाबाट अर्को कुनासम्म पुग्न दुई दिनको पैदल यात्राको दूरी तय गर्नुपर्छ ।
उक्त गाउँपालिकाको नियमित बैठकको व्यवस्था भौगोलिक रूपले बीचमा पर्ने स्थानमा राखे पनि एक दिनको पैदल यात्राबिना त्यो सम्भव छैन । सरकारले अनुमति नदिएका कच्ची सडक त्यहाँ चल्तीमा भए पनि भरपर्दो यातायात भने पैदल नै हो । एकातिर देशलाई ससाना राज्यहरूमा विभाजित गरेर सामान्य जनताको अधिकार सुनिश्चित हुने भनिएको छ भने अर्कोतिर ससाना पहिलेका गाविसलाई एकीकृत गरेर ठूलो बनाएर अधिकार सम्पन्न गराउने भनिएको छ ।
उपमहानगरपालिकालाई महानगरपालिका बनाइदिने आश्वासन दिएर धनगढीमा पुष्पकमल दाहालले मत मागे । स्मरण रहोस्, महानगरपालिका हुन तीन लाख जनसंख्या चाहिनेमा कैलाली जिल्लाको जनसंख्या करिब पौने आठ लाख मात्र छ । महानगरपालिकामा बनाउनैपर्ने भए कैलाली जिल्लामा दुइटा महानगरपालिका हुनेछन्, के त्यो उपयुक्त होला ?
आर्थिक क्रान्तिको लागि चाहिने जनशक्तिको माग सम्भ्रान्त परिवारबाट मात्रै परिपूर्ति गर्ने हो भने समावेशीको नारा सार्थक हुँदैन । समावेशीलाई आरक्षणसँग जोडेर राजनीति गरिएको छ, तर समावेश गर्नुपर्ने वर्ग पूरै उपेक्षित भएको ग्रामीण विद्यालयको हालतबाट स्पष्टै देखिन्छ ।
विकासको दृष्टिकोणले सुदूरपश्चिम पछि नै परेको छ । भारतसँगका धनगढी र महेन्द्रनगरका सीमा नाकाहरू देशका अन्य नाकाजस्तै सुलभ छैनन् । चीनसँग पनि यसको सुलभता छैन । भौगोलिक हिसाबले लगभग एउटै देशान्तरमा पर्ने चीनको मानसरोवर जाने भारतीय तीर्थालुलाई आकर्षित गर्ने यातायातको विकास र पर्याप्त सुविधाको अभावले त्यो पर्यटन क्षेत्र ओझेलमा परेको छ । भारतको बनबासादेखि नेपालको गड्डाचौकीसम्मको यातायात असुविधाका कारणले भारतमा काम गर्न जाने नेपाली पैदल यात्रा गरेका देखिन्छन् । पंक्तिकारले भारु एक सय प्रतिव्यक्तिको दरले गरेको बनबासा-महेन्द्रनगर यात्रामा एउटा पाँचसिटे मोटरमा दसजना कोचिए ।
एकछिनपछि ड्राइभरले सीमा सुरक्षा बललाई दिन प्रत्येक यात्रुबाट दस रुपैयाँको हिसाबले उठाउने कुरामा पंक्तिकारले प्रतिवाद गर्यो र अन्त्यमा केही यात्रुबाट उनले पचास रुपैयाँ उठाए । त्यसपछि भारतीय पुलिसलाई दिन उनले फेरि त्यसरी नै पचास रुपैयाँ उठाए । भारतीय भन्सारमा त्यसरी नै गरे । पंक्तिकारले आफ्नो समान विधिवत् जाँच गराएर लैजान गरेको प्रयासको यात्रुहरूकै बीचमा विवाद भयो । पंक्तिकार मोटरबाट ओर्लेर आफ्नो सामान जँचाएर सीमावारि पुग्दा पनि घूस दिएर आएको मोटरभन्दा छिटो भयो । ड्राइभरले फेरि पचास रुपैयाँ उठाएर नेपाली पुलिसलाई यात्रुले नै घूस दिनुपर्ने तर्क राख्यो ।
‘नेपाली पुलिस से डरते हो क्या ? ' भन्ने पंक्तिकारको प्रश्नमा उनले भने, ‘नेपाली पुलिस से पंगा नही लेनेका' दुइटा अरू जाँचहरू भए । कतिपय यी जाँचहरूमा मोटर छिटो जाँच गराउन उनले पैसा उठाएको यात्रुहरूलाई थाहा भएकै हुनुपर्छ । सम्पूर्ण जाँच पूरा गरेर हिँड्नै लाग्दा एउटा सामान्य नागरिकले मोटरको ड्राइभरलाई झम्ट्यो । ड्राइभरले उसको गोजीमा हात हाल्यो । पछि थाहा भयो ऊ गड्डाचौकी-महेन्द्रनगर रुटमा चल्ने विक्रम टेम्पो सिन्डिकेटको मानिस रहेछ । पंक्तिकारले घूसको सहारा नलिएरै गरेको यात्रामा उपभोक्ताको चेतनाको अभाव हो वा सरकारी बेवास्ताले हो, यात्रीहरू लुटिएका छन् । भारतबाट आउने कामदार प्रत्येकपटकको जाँचमा कुनै वर्जित समान नहुँदा पनि दस भारु दिने हिसाबले खल्तीमा तयारी अवस्थामा नै हुँदा रहेछन् ।
पंक्तिकारले भ्रमण गरेको बुथमा बिहान सात बजे करिब दुई हजार मतदाताको उपस्थिति हुँदाहुँदै निर्वाचनको व्यवस्थापन प्रशंसनीय थियो । दलहरूबीच निर्वाचनप्रति उत्साहबाहेक कुनै किसिमको मनमुटाव देखिएन । प्रदेश नम्बर ७ मा वैशाखको निर्वाचन स्थगित गर्नुको कुनै औचित्य पुष्टि गर्न सकिँदैन । कैलालीमै जन्मेर जीवनको महत्ववपूर्ण समय कैलालीमा बिताएको पंक्तिकार जस्तालाई मधेसी भनिँदैन । त्यसैले ‘तराई' र ‘मधेस' शब्दको भिन्नताको व्याख्या हुनु आवश्यक भइसकेको छ । अल्पसंख्यक कुनै समुदायका नागरिकहरू छन् भने निर्वाचन स्थगन गरेर बहुसंख्यकको अपमान गर्नु हुँदैन । पूर्वीमधेसमा उब्जेको राजनीतिक समस्याको परिणाम सम्पूर्ण तराईका जनताले भोग्नु न्यायोचित हुन्छ ?
अन्त्यमा, एक व्यक्तिगत प्रसंग, डोटी भ्रमणमा सँगै भएको छोरालाई ‘स्यानो भात खाने ? ' भनेर धेरैले हैरान गरे । छोरा असमन्जसमा परेको पर्यै भयो । पहाडतिर केटाकेटीलाई स्वागत गर्न भात दिने चलन छ । भातलाई पनि स्यानो भनिनुको कारण भने आदरणीय पाठकहरूकै जिम्मामा । फर्किंदा धनगढी-काठमाडौंको यात्रामा प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहयात्राको प्रसंग भने यो आलेखमा अटाएन ।
—भट्ट अमेरिकास्थित टेनिसी स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसर छन् ।