श्रीकृष्ण, पुरन्डिही र चुँदीरम्घा
आदिकवि भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य हुन् । उनी आफ्नो समयमा पहाडी देश तनहुँतिर खुब नाम चलेका विद्वान् थिए । यस्ता विद्वान् अग्निश्वरोपाध्याका छोरा हुन् । यस समयमा तनहुँमा त्रिविक्रम सेन (विसं १७९८-१८२६) राजा थिए । तनहुँको पूर्वमा पर्ने गोरखा राज्यमा पृथ्वीनारायण शाह राजा थिए । यिनकै शासनकालमा १८१० सालतिर श्रीकृष्ण आचार्यको जन्म भएको थियो । अग्निश्वरका सन्तान हुर्कन सक्दैनथे । श्रीकृष्ण आचार्य पनि हुर्कन्न कि भन्ने पिर थियो । सानो बालक छँदा श्रीकृष्णलाई सुकेनाश भन्ने रोग लाग्यो ।
यस्तो रोग लागेपछि बालक सुक्दै गएर नाश हुने अवस्थामा पुग्छ अर्थात् बालकको मृत्यु हुन्छ । सुकेनाश भएकाले श्रीकृष्ण आचार्यलाई प्रचलित उपचार परम्पराअनुसार गाईको गोबरसँग जोखियो । रोगी श्रीकृष्णको तौलबराबरको गोबर घरको मूल ढोकामाथि टाँसियो । गोबर बिस्तारै सुक्यो, उनको सुकेनाश पनि सन्चो हुँदै गयो । गोबरसँग जोखेर उपचार गरेकाले श्रीकृष्णलाई जोखु पाध्या पनि भनिन्थ्यो । पुराना कागजपत्रमा जोखु पाध्या भन्ने उल्लेखसमेत भेटिन्छ ।जोखु पाध्याको बेँसीघरको पूर्वतिर पानीको कुवा भएको साउने खोल्सो र १२-१२ वर्षमा पूजा गरिने कुलदेवताको स्थान थियो ।
दक्षिणतर्फ टारी खेत, पश्चिमतिर बग्रे खोलो र उत्तरतर्फ पानी खाने अर्को कदमे कुवा र कोल्डाँडो थियो । कोल्डाँडामा तिल र तोरी पेल्ने कोल थिए । कदमे कुवाबाट उत्तरतर्फ रम्घा गाउँ र शिखर कटेरीतिर जाने ठाडो बाटो थियो । यस चौहद्दीमा भएको डिहीलाई पुरन्डिही भन्ने चलन थियो । धनञ्जय आचार्यले पाल्पाबाट नै बन्डापत्र लेखे । बन्डापत्रअनुसार भानुभक्तका ६ भाइ बाबुहरू छुट्टिभिन्न भए । छुट्टिभिन्न हुँदा श्रीकृष्णका ठाहिँला छोरा गंगादत्त आचार्यको भागमा यो मूलघर घर परेको थियो । मूल घर भइन्जेल यसलाई साउनेपारि भनिन्थ्यो ।
गंगादत्तका सन्तानले मूल घर छोडेर बग्ग्रे खोलापारि र रम्घाको डाँडामा घर बनाए । तर तिनीहरूलाई साउनेपारि नै भन्न थालियो । मूलघरभन्दा पूर्वतर्फ क्रमशः श्रीकृष्ण आचार्यका कान्छा छोरा इन्द्रविलास, माहिला छोरा काशीनाथ र जेठा छोरा धनञ्जय आचार्यको भागमा परेको पाखो जमिन थियो । सबैको मूल घर साउनेपारि पर्यो । मूल घरबाट पश्चिमोत्तरपट्टि साहिँला छोरा पद्मनाथ आचार्यको भाग थियो ।
यी साहिँलाका निमित्त मूल घर साउनेपारि थिएन, तर पूर्वतर्फ घर बनाई बस्ने तत्कालीन आचार्य र अन्य थरका पण्डित, ढकालहरूले साउनेपारि भन्ने नाम दिए । काहिँला तुलसीरामका छोरी मात्र जन्मेकाले बन्डापत्र गर्दा भाग लागेको देखिँदैन । गंगादत्त आचार्यका पनाति विधान आचार्य काठमाडौं उपत्यकाभित्र ललितपुर जिल्लामा सातदोबाटोनेर अचेल सहरिया घर बनाई बसेका छन् । अहिले पनि उनको घरले साउनेपारि भन्ने नाम पाएको छ, पुख्र्यौली मूल घरको साउनेपारि बिम्बलाई जीवन्त बनाएको छ ।
बाजेसहित माथिका पुर्खालाई बुझाउँदा बाजेबराजु भन्ने गरिन्छ । भानुभक्तका कुनै एक बराजुले चुँदीखोलाको जलाधार क्षेत्रमा बिर्ता पाएका हुन् । अनि उनले तनहुँको धरम्पानी भन्ने गाउँ छोडेको हुनुपर्छ । छोडेपछि रम्घा डाँडालाई गाउँ र डाँडाको फेदी चुँदीलाई बेँसी बनाएर बसोवास गर्न थालेको बुझिन्छ । बिर्ता पाएपछि भने लामो समयसम्म जीविकाको निम्ति बिर्तावालका वंशजलाई चुँदीरम्घा छोड्नुपरेन । पछि विक्रमको बीसौं शदाब्दीको नबौं दशकतिर श्रीकृष्णका माहिला छोरा काशीनाथका केही सन्तानहरूले नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाका छिमेकी हुन चुँदीरम्घा छोडेर विराटनगर पुगेको देखिन्छ ।
श्रीकृष्ण आचार्यकी सत्यरूपा नाम भएकी जेठी पत्नी थिइन् । यिनबाट सन्तान भएनन् । तिनैताका चुँदीरम्घामा नै बस्ने प्रद्युम्न पण्डितका छोरा गुणानन्द पण्डित थिए । उनकी श्रीकान्ता नामकी छोरी थिइन् । यिनैसँग श्रीकृष्ण आचार्यले सन्तानका निम्ति दोस्रो विवाह गरे । यी कान्छी पत्नीबाट भने धनञ्जय, काशीनाथ, पद्मनाभ, तुलसीराम, गंगादत्त र इन्द्रविलास गरी ६ जना छोरा र रूद्रप्रिया र रमा नामका दुई छोरी गरी जम्मा आठजना सन्तान जन्मिए । पुरन्डिहीमा यी आठजनाले बालक्रीडा गरे ।
श्रीकृष्ण आचार्य र भानुभक्तको प्राचीन विरासत धुमिल हुँदो छ । प्रतिवर्ष गरिने भानु जयन्तीले मात्र त्यो प्राचीन विरासतलाई पुनः सबैको स्मृतिमा ल्याइदिन्छ ।
छुट्टीभिन्न हुनुभन्दा पहिले जन्मेका भानुभक्तसहित श्रीकृष्ण आचार्यका नातिहरूको बालक्रीडा स्थल यही पुरन्डिही थियो । यता गंगादत्त र उनका छोराहरूका सन्तान अन्य भाइका सन्तान झैं फैलिएनन् । पुरन्डिहीको बसोवासलाई सन्तान नफैलिनुको कारण ठानियो । अनि, उनीहरूले मूल घर छोडे । पुरन्डिही खण्डहरमा परिणत भयो । खण्डहरसहित ठूलाठूला डाले घाँसका रूखहरू, भोगटे, ठूलो अर्चल र निबुवा, कागती, सुन्तला, केरा आदि फलपूmल देख्दा पंक्तिकारलाई श्रीकृष्ण आचार्यको स्मृतिले स्वागत गरे झैं लाग्थ्यो ।
बेँसी पुरन्डिहीको घर बाहै्र महिना निश्चित ठाउँमा थियो । तर गाउँको घर भने निश्चित ठाउँमा थिएन । किनभने १९५० सम्म पनि तनहुँतिर कुमाल, दरै र बोटे जाति मात्र होइन, बाहुन र क्षत्री पनि बाह्रै महिना प्रायः बेँसीमा नै बस्थे रे । औलोको प्रकोप बढेर बर्खा महिनाभर बेँसीमा बस्न नसकिने भयो । बाहुन र क्षत्रीहरू औलो छल्न शिखर ठाउँ खोज्दै डाँडातिर लागे । श्रीकृष्ण आचार्य पनि औलो छल्न चुँदीरम्घातिर उक्लिए । उनी बर्खाको ४-५ महिना औलो छल्न डाँडाको विभिन्न भागमा बस्थे । कुनै वर्ष तल्लोरम्घा त कुनै वर्ष उपल्लो रम्घा, कुनै वर्ष तामाकोटतिर डाँडामा औलो छल्ने बसाइ हुन्थ्यो ।
चुँदीरम्घा दुईवटा शब्दले बनेको छ । चुँदी खोलाको नाम हो । यसले तल्लो चुँदी र उपल्लो चुँदी भन्ने दुईवटा ठाउँलाई बुझाउँछ । भानुभक्तका पुर्खा पहिले उपल्लो चुँदी र पछि तल्लो चुँदीमा आएका हुन् भनिन्छ । रम्घा डाँडाको नाम हो । यसले तामाकोट, जारकाटे, मध्यपुर, धर्मशाला, उपल्लो रम्घा र तल्लो रम्घाका ठाउँलाई बुझाउँछ । शिखर कटेरी अर्थात् धर्मशाला भएको अधमरो ठाउँमा धनञ्जय आचार्य आफ्ना पाँच भाइहरूसँग छुट्टीभिन्न भएपछि बसोवास गर्न थालेका हुन् । त्यहाँ बस्दा रम्घा र बेलथुम्कीको पँधेरामा पानी भर्न जाने चलन थियो । २०५५ सालतिर धर्मशालामा उत्खनन गर्दा शिखर कटेरी भेटियो ।
हामी केटाकेटी छँदा त्यहाँ भग्नावशेष रूपमा घरहरू देखिन्थे । अहिले उत्खनन् गरेको ठाउँमा भानुभक्तको घर थियो भन्छन् । शिखर कटेरीको पूर्वीभाग बेलथुम्कीतिर पनि गुल्जार थियो । धर्मशालामा आचार्य, पौडेल र बेलथुम्कीमा ढकाल थरका बाहुनको बसोवास थियो । उपल्लो रम्घाको डाँडामा भने श्रीकृष्ण आचार्यका ससुराली पण्डितहरूको बसोवास थियो । शिखर कटेरीको पूर्वीभागको गहिरोतिर आरन थाप्ने दलितहरूको बसोवस थियो । त्यहाँ घरका भग्नावशेष, पानी खाने कुवा र फलपूmलका बोट र किट (फलामको पोलेपछि आउने ठोस मैल) भेटिन्थे । भनिन्छ, त्यस ठाउँमा महामारी फैलियो ।
वनको डढेलोले पनि घरहरूमा आगलागी हुने डर बढ्यो । अनि शिखरकटेरी, धर्मशाला र बेलथुम्कीका दलितसहितका बासिन्दा उपल्लो रम्घा, मध्यपुर र जार्काकाटेको डाँडातिर घर बनाई बस्न थाले । २०१८ सालपछि औलाको प्रकोप हट्यो । फेरि बाह्रै महिना श्रीकृष्णका सन्तान बेँसीमा बस्न थाले । बेँसी छोडेर पुनः तितरवितर भए । अहिले श्रीकृष्ण आचार्यका पाँच भाइ छोराका नगन्य सन्ततिहरू चुँदीमा बसोवास गर्छन् । श्रीकृष्ण आचार्य र भानुभक्तको प्राचीन विरासत धुमिल हुँदो छ । प्रतिवर्ष गरिने भानु जयन्तीले मात्र त्यो प्राचीन विरासतलाई पुनः सबैको स्मृतिमा ल्याइदिन्छ ।