भानुभक्त सबैका माली
नदेखिने भगवान्का बारेमा भन्दा देखिने मानिसका बारेमा कुरा गर्नु बेस भन्ने चिन्तनका पक्षधर खलिल जिब्रानले भनेजस्तै नेपाली साहित्य इतिहासका सर्व श्रेष्ठ पुरुष कविवर भानुभक्त आचार्यको लेखकीय ऊर्जा पनि यही भावना र विचारबाट अभिप्रेरित छ । नेपाली साहित्यका वरद्पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तका बारेमा यही भावनाअनुरूपको सम्बोधन गरेका छन् । एक दिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी अध्यात्म रामायणको पहिलो श्लोकले पनि देखिने मानव समाजको हित पक्षलाई नै आत्मसात गरेको छ ।
कुनै पनि स्रष्टालाई देश, काल र परिस्थितिको पीडाजन्य प्रतिकूलताबाट पृथक् रहेर अभिव्यक्ति दिन सहज थिएन । कवि भानुभक्त पनि यसका अपवाद थिएनन् । किनभने नेपाली भाषा साहित्यको माध्यमिककालीन परिस्थितिमा सामाजिक स्वरूपमा केही हदसम्म विचलन रहेको भए पनि भानुभक्तले रामायणको मौलिक अनुवाद भने देश, काल र परिस्थितिसुहाउँदो गरेका थिए । सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्छ, तर भानुभक्तको समयताका त्यो सहजता उनलाई त्यति सम्भव थिएन ।
समयले निर्माण गरेको इतिहासको एक कालखण्डमा ज्यादै थोरै युगपुरुषहरू जन्मिन्छन् र समकालीन युगको सफल प्रतिनिधित्व गर्दै राष्ट्र, समाज र युगयुगान्तरसम्म भावी पुस्ताको लागिसमेत प्रेरणाका अजयस्रोत बन्न पुग्छन् । यिनै महान् युगपुरुषमध्ये आफ्ना युगका सफल क्रान्तिकारी कवि भानुभक्त पनि एक हुन् । नेपाली समाजले उनको योगदानको मूल्यांकन समयनिरपेक्ष होइन, समयसापेक्ष भएर गर्नु बढी न्यायोचित ठहर्छ । कुनै पनि भाषालाई समयले बचाउने हो । आज नेपालका धेरै भाषाहरू अस्तित्वको संकटको अवस्थाबाट गुज्रिरहेका छन्, तर नेपाली भाषाले साझा र सम्पर्कसूत्र भाषाको रूपमा नेपाली समाजमा गरिमामय स्थान प्राप्त गरिरहेको छ ।
यो देन तिनै आदिकवि भानुभक्त आचार्यको देन हो, जुन देन त्रि-शतक प्रवेशसम्म आइपुग्दा पनि झन्झन् विकसित, विस्तार र बलवान् बन्दै गइरहेको छ । आजको नेपाली भाषासाहित्यमा परेको प्रभाव र योगदान पनि यसैको विकसित र विराट् रूपस्वरूप हो । तनहुँ चुँदीरम्घामा १९७१ असार २९ गते जन्मेका भानुभक्त आज २०७४ साल असार २९ गते त्रि-शतकको चौथो वर्षमा प्रवेश गर्दासम्म पनि उनी साहित्यिक लोकमा प्रख्यात छन् । नेपाली भाषा साहित्यका प्रथम कवि भानुभक्तका सरल, सरल र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि नै अल्पावित बनेर यस समग्र भूखण्डकै सभ्यता र संस्कृतिको सर्जन गर्नमा महत्ववपूर्ण योगदान पुगेको छ, जसलाई कालजयी कवि भानुभक्तको सिर्जनाले मलजल गरेको छ ।
भानुभक्त नेपाली भाषासाहित्यका आदिकवि हुन् । किनभने नेपाली भाषा र साहित्यप्रतिको योगदानको प्रसंग उठाउँदा तीनजना वाणीपुत्रका बारेमा भानुभक्तको तुलना गर्न सम्भव छ । संस्कृत साहित्यको विकासमा संस्कृतका आदिकवि वाल्मीकिको जुन स्थान छ, हिन्दी साहित्यमा सन्त तुलसीदासको जो गौरवमय गाथा भएजस्तै नेपाली भाषासाहित्यमा कवि भानुभक्तको पनि त्यही स्थान छ । भारतीय कवि सन्ततुलसीदासले युगको १६ औं शताब्दीमा रामचरितामानसको रचना गरेर पुण्यकार्य गरेका थिए । त्यसैले यस अर्थमा पनि कवि भानुभक्तलाई नेपालका सन्ततुलसीदास भनिएको हो ।
नेपाली भाषासाहित्यका मूर्धन्य व्यक्तित्व भानुभक्तले नेपाली भाषामा अध्यात्म रामायणको मौलिक अनुवादपश्चात् यस क्षेत्रमा नयाँ युगको क्रान्ति प्रारम्भ भएको हो । साहित्यिक श्रेष्ठताको मूल्यांकन जनतामा परेको अनन्त प्रभाव र सर्वकालीन ह्यस्पर्शतामा निर्भर रहन्छ । संस्कृत भाषाको चर्को दबदबा रहेको तत्कालीन अवस्थामा रामायणजस्तो सुन्दर महाकाव्यलाई नेपाली भाषामा मौलिक अनुवाद गरेर साझा भाषाको रूपमा भानुभक्तले गरेको योगदान अतुलनीय रहेको छ ।
कुनै पनि स्रष्टा द्रष्टालाई असल-खराब तथा राम्रो-नराम्रो भनेर परिभाषित गर्ने बलवान् आधार भनेको उसले राष्ट्रपति गरेको समग्र योगदान नै हो । यसकारण भानुभक्तको योगदानको मूल्यांकन समयनिरपेक्ष होइन, समयसापेक्ष भएर गर्नु जरुरी छ ।
नेपाली भाषालाई अत्यन्त सरलीकृत रूपमा नेपालीहरूको जनजिब्रोमा प्रवेश गराउने रचनात्मक कार्य भानुभक्तका समकालीन र पूर्ववर्ती कविहरूबाट सम्भव भएन । यसैकारण पनि उनको महिमागानलाई ध्यानमा राख्दै भानुभक्तलाई नेपाली साहित्यका कालजयी आदिकवि भनिएको हो । भानुभक्तका रामायण, भक्तमाला, रामगीता, वधूशिक्षा, प्रश्नोत्तरीजस्ता काव्यकृतिलगायत कैयन् फुटकर रचनाहरूले नेपाली जनजीवनमा स्पन्दनको सञ्चार प्रवाह आजसम्म पनि गरिरहेका छन् ।
नेपाली साहित्यमा प्रयोग र परम्पराबारे प्रसंग उठाउँदा कुनै व्यक्तिको जीवनमा विश्वास र आशंकाजस्तै कुनै देशको साहित्यको परम्परा र प्रयोगको घनिष्ट सम्बन्ध रहन्छ ।
विश्वका अरु साहित्यमा जस्तै नेपाली साहित्यमा पनि यस्तो कुनै उल्लेखनीय कृति पाइँदैन, जसमा प्रयोग मात्र छ, परम्परा छैन अथवा जसमा प्रयोग छैन, परम्परा मात्र छ । तर संस्कृतलाई मात्र कविताको उचित माध्यम सम्झिने साहित्यिक परम्परा भएको बेलामा कवि भानुभक्तले नेपालीलाई सफलतापूर्वक कविताको माध्यम बनाउनु कम जोखिम, क्रान्तिकारी र प्रयोगको सानो उदाहरण थिएन ।
हिजोको सफल र सार्थक प्रयोग आजको परम्परा बन्छ । भानुभक्तीय चर्चाको प्रसंगमा एउटा महत्ववपूर्ण पक्ष के हो भने सम, देवकोटा र सिद्धिचरणको उदयपश्चात् नेपाली साहित्यमा भानुभक्तीय योगदानको विवेचनामा आधुनिक दृष्टिकोणले प्रवेश गर्यो । यो भानुभक्तमूलक प्रभाव र जागरण क्रमशः साहित्यिक जागरणको रूपमा परिणत भयो । नेपाली साहित्य समालोचना क्षेत्रका विशिष्ट विद्वान् समालोचक प्रोफेसर यदुनाथ खनालको समालोचकीय दृष्टिकोण पनि यस परिभाषामा शाश्वत रहेको छ । यसकारण पनि कवि भानुभक्तको प्रभावकारी व्यक्तित्व नेपाली चेतनाको विकासमा गहनतम् उपलब्धि हो।
संस्कृत भाषाको चर्को दबदबा रहेको तत्कालीन अवस्थामा रामायणजस्तो सुन्दर महाकाव्यलाई नेपाली भाषामा मौलिक अनुवाद गरेर साझा भाषाको रूपमा भानुभक्तले गरेको योगदान अतुलनीय रहेको छ । नेपाली भाषालाई सरलीकृत रूपमा नेपालीहरूको जनजिब्रोमा प्रवेश गराउने रचनात्मक कार्य उनका समकालीन र पूर्ववर्ती कविहरूबाट सम्भव भएन । यसैकारण भानुभक्तलाई नेपाली साहित्यका कालजयी आदिकवि भनिएको हो ।
नेपाली साहित्यको माध्यमिककालीन परिस्थितिमा सामाजिक स्वरूपमा केही हदसम्म विचलन रहेको भए पनि भानुभक्तले रामायणको भावानुवाद देश, काल र परिस्थितिसुहाउँदो गरेका थिए । कुनै पनि स्रष्टालाई देश, काल र परिस्थितिको पीडाजन्य प्रतिकूलताबाट पृथक रहेर अभिव्यक्ति दिन सहज थिएन । कवि भानुभक्त पनि यसका अपवाद थिएनन् । सर्वोत्तम सिर्जनाको विमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्दछ, तर भानुभक्तको समयताका त्यो सहजता सम्भव थिएन ।
कवि भानुभक्तको दार्शनिक अध्ययन, तिखारिएको कलम र महान्प्रतिभाले नेपाली भाषा र साहित्य आज यति धेरै मौलाउन सकेको हो । सगुणस्वरूप रामचन्दको पवित्र चरित्र व्याख्या भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी नेपालीहरूका घरघर र झुपडीझुपडीहरूमा रामचरित्रको गाथा धार्मिक सन्देश गायनको रूपमा भानुभक्तले पुर्याए । नेपाली काव्यवाणीअन्तर्गत रामभक्तिधारा परम्पराका कविमा पाइने युगबोध नै नेपाली काव्यजगतमा भानुभक्तीय अस्तित्व हो । त्यसैले समाजको अति साँधुरो कालखण्डमा भानुभक्तले नेपाली भाषा र साहित्यलाई जुन उच्चकोटिमा पुर्याए त्यति सिर्जनात्मक कार्य उनका समकालीन तथा पूर्ववर्ती कविहरूले कदापि गर्न सकेनन् । उनको एउटा कालजयी कविताको अंश
जिउँदै मर्याको भनी नाम् छ कस्को ?
उद्यम् विना बित्तछ काल जस्को ।
तथापि नेपालको भूराजनीतिक सीमाभन्दा पर नेपालीहरू रहेका स्थानमा पनि नेपाली जातिलाई चिनाउन भानुभक्तले खेलेको भूमिका उल्लेखनीय छ । सबै जातको साझा पूmलबारीको रूपमा रहेका नेपालका धेरै मालीहरूमध्ये एक विशिष्ट माली कवि भानुभक्त नै हुन् । त्यसैले कुनै पनि स्रष्टा द्रष्टालाई असल-खराब तथा राम्रो-नराम्रो भनेर परिभाषित गर्ने बलवान् आधार भनेको उसले राष्ट्रपति गरेको समग्र योगदान नै हो । यसकारण भानुभक्तको योगदानको मूल्यांकन समयनिरपेक्ष होइन, समयसापेक्ष भएर गर्नु जरुरी छ । कवि भानुभक्तमा राष्ट्रिय योगदानको मर्यादा विद्यमान रहेको प्रसंगमा नेपाल र नेपालीको अस्तित्व रहेसम्म नेपाली भाषासाहित्यमा भानुभक्तीय रामायण र उनको योगदानको अमरगाथा पनि कालजयी रहिरहनेछ ।