भारत-चीन द्वन्द्वमा नेपाल

भारत-चीन द्वन्द्वमा नेपाल

यतिबेला हाम्रा दुई छिमेकी मुलुक तथा एसियाली महाशक्ति भारत र चीनबीच सामरिक समस्या उत्पन्न भएको छ । एक महिनाको बीचमा भारतको उत्तरपूर्वी राज्यका सीमा क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच तनावको स्थिति छ । यो घटनाक्रम अन्ततः कूटनीतिक रूपमै समाधानको दिशातर्फ अघि बढ्ला, तर यसबीच दुवै देशका केन्द्रीय सत्ताबाट आआफ्ना खाले गर्मागर्म अभिव्यक्तिसमेत आएका छन् । भारतीय रक्षामन्त्री अरुण जेट्लीले चीनलाई १९६२ कै भारत नसम्झन चेतावनी दिएका छन् भने चीनले समानखाले जवाफ फर्काएको छ । सँगसँगै भारतको कूटनीतिक प्रशासनले चाहिँ संयमपूर्ण तवरमा समाधानको खोजी भइरहेको र त्यो सम्भव हुने भन्दै तनाव शिथिलीकरणको वातावरण बनाउन खोजिरहेको छ ।

Dhurbabahadur-Pradhan३४८८ किमि लामो भारत-चीन सीमा पश्चिममा कास्मिरदेखि पूर्व अरुणाचलसम्म फैलिएको छ । पश्चिम क्षेत्रमा भारतका आफ्नै समस्या छन्, पाकिस्तानसँगको ऐतिहासिक तिक्तता र कास्मिरमा लामो समयदेखि चल्दै आएको द्वन्द्वका कारण । पूर्वतर्फ पनि विशिष्ट समस्या छन् । उत्तरपूर्वी राज्यका आफ्नै खाले विविधिता छन् र त्यहाँ पृथकतावादको समस्या निमिट्यान्न भइसकेको छैन । मेनल्यान्ड भारतले उत्तरपूर्वलाई मनोवैज्ञानिक रूपमा समेट्नुपर्नेमा अनेकौं चुनौती ज्यूँका त्यूँ छन् । त्यसैमा विशाल शक्ति मुलुक चीनसँग सीमा द्वन्द्व बेलाबखत बल्झिँदै आएको छ ।

भारत र चीनबीचको सम्बन्धमा नेपाल निस्पृह, अप्रभावित रहन सक्दैन । नेपाल मात्रै त्यस्तो मुलुक हो, जसले भौगोलिक रूपमा सबैभन्दा बढी भारत र चीनबीच सेतुको रूपमा काम गर्न सक्छ । समस्याको हकमा तटस्थीकरण पनि । हिमालयको देशले दुवैतर्फको दबाबलाई चिस्याउने काम प्राकृतिक रूपले समेत गर्दै आएको छ । भारतीय राजनीतिक मनोविज्ञानले हिमालय शृंखलामा आफ्नो सुरक्षाको प्रतिच्छाया देख्नु अस्वाभाविक पनि होइन । यसैगरी विश्व शक्ति समीकरणमा भारतसँग दिनप्रतिदिन विश्वास र शान्ति मात्रै आवश्यकता पर्ने चीनले नेपाली भूमिलाई त्यो प्रयोजनको लागि सबैभन्दा भरपर्दो माध्यम ठान्नैपर्छ ।


भारत र चीनबीच गजबको मित्रता होस् । उनीहरू दुवै आफ्नो सानो तर सुन्दर छिमेकी नेपालको विषयमा समानान्तर र समझदारपूर्ण ढंगले सरोकारित रहून् ।

चीन, उत्तरपूर्वी भारतीय राज्य सिक्किम र भुटानबीचको जक्सनमा रहेको डोक्लाम उच्च समस्थली भूभागमा चिनियाँ पक्षले सीमा क्षेत्रीय सडक विस्तार गर्न खोजेपछि पछिल्लो चरणको तनाव उत्पन्न भएको हो । त्यो भूभागमा बेइजिङ र थिम्पुको स्वामित्व विवाद छ र भारतले चाहिँ आफ्नो निकटतम मुलुक भुटानको दाबीलाई समर्थन गर्दै आएको छ । त्यहाँ सडक विस्तारको सन्दर्भमा भारतको सरोकार के हो भने त्यस सडकले चीनलाई भारतको रणनीतिक रूपले संवेदनशील मेनल्यान्ड र उत्तरपूर्वी भारतीय राज्य जोड्नमात्रै २० किमि चौडा 'कुखुरेघाँटी' (चिकेन्स नेक) करिडोरतर्फ नजिक्याउनेछ ।

नेपालको निकटता रहने गरी भारत र चीनका भूगोलमा आआफ्ना खाले संवेदनशीलता छन् । सिक्किम केही दशकअघि भारतमा विलय भएको हो भने त्योभन्दा केही समयअघि तिब्बत चीनमा गाभियो । यस्तो नयाँ भूभाग विस्तार एउटा मुलुकको लागि लामो समयसम्म संवेदनशील रहन्छन् । एक्काईसौं शताब्दीको बहुमुखी प्रतिस्पर्धात्मक विश्व परिवेशमा भूराजनीतिक स्वार्थ जोगाउँदै अखण्डतालाई अक्षुण्ण राख्नु मुलुकहरूका लागि सबैभन्दा चुनौतीपूर्ण प्राथमिकता हो ।

समकालीन विश्वको सबैभन्दा माथिल्लो सतहको प्रतिस्पर्धा व्यापार र स्रोतका लागि हो । आफ्नो व्यापार फैलाएर ढुकुटी मजबुत पार्ने एवं व्यापारिक स्वार्थकै लागि स्रोतको पहुँच र दोहननिम्ति सम्बन्ध निर्धारण गर्न होडमा आधुनिक कूटनीति केन्द्रित छ । यस अवस्थामा विकासशील, अल्पविकसित र अविकसित मुलुकहरूको सरोकार भनेको आफ्नो हित संरक्षण कसरी गर्ने भन्ने हो । नेपालकै सन्दर्भमा कुरा गर्दा भारत र चीनबीच भूपरिवेष्ठित मुलुकका रूपमा चेपिनुका आफ्नै विशेषता र समस्या छन् । प्राकृतिक स्रोतको विशालताले यो भूराजनीतिक अवस्थितिलाई आकर्षक देखाए पनि कनेक्टिभिटीको सर्वकालीन चुनौतीलाई कदापि अवमूल्यन गर्न सकिँदैन । नेपालले आफ्नो बुताले केही गर्नको लागि पनि धेरै तौर मिलाउनुपर्ने बाध्यता छ । समुद्रसँगको एउटा धरो निकाससमेत नभएर नेपालले खेप्नुपरेको पाबन्दी जो छँदैछ ।

एउटा परिकल्पनामा नेपाल प्रायः रम्न सक्छ । भारत र चीनबीच गजबको मित्रता होस् । उनीहरू दुवै आफ्नो सानो तर सुन्दर छिमेकी नेपालको विषयमा समानान्तर र समझदारपूर्ण ढंगले सरोकारित रहून् । बेलाबखत प्रसंग उठान हुन्छ, त्रिपक्षीय सहकार्यको । हो, यो प्रसंग ठ्याक्कै यही परिकल्पनासँग जोडिन्छ । यसबाट वास्तवमै तीनै पक्षलाई उत्तिकै लाभ र सन्तोष हुन सक्छ ।

व्यवहारमै हेर्दा भारत र चीनबीच फेरि १९६२ दोहोरिनुपर्ने कुनै तुक देखिँदैन । सीमा-तनाव र विश्व रंगमञ्चको तानातानमाझ पनि यी दुई छिमेकी हरेक वर्ष ७० खर्ब रुपैयाँभन्दा बढीको व्यापार कारोबार गर्छन्, जसमा भारतको व्यापार घाटा झन्डै ७५ प्रतिशत छ । चीनले विशाल भारतीय बजारलाई आफ्नो दूरगामी रणनीतिक कार्यक्रमहरूमा समेट्दै गएको प्रस्ट देखिन्छ । यसको लागि नेपाललाई पुलका रूपमा प्रयोग गर्ने उसको नीति हुँदै हो । वान बेल्ट वान रोडको नीतिबाट चीनको यो दिशा प्रस्ट हुन्छ । उता भारततर्फ उसको आन्तरिक प्रजातन्त्र बलियो भई अर्थतन्त्रमा व्यापक विविधीकरण र सुधार हुने सम्भावना धेरै टाढा छैन । चीनले ३० वर्षमा गरेको व्यापार तरक्की भारतले 'सिमुलेट' गर्न आजको प्रविधिको युगमा धेरै कुर्नुपर्दैन । भारतको यो सम्भाव्य प्रगतिमा नेपाल सबैभन्दा महत्वपूर्ण साझेदार बन्नु नै पर्ने हुन्छ । यसको सबैभन्दा महत्वपूर्ण कारण हुन्, प्राकृतिक स्रोत निर्भरता र भूराजनीतिक वस्तुस्थिति ।

नेपाल भगवान् बुद्व जन्मेको देश हो । सायदै इतिहासमा कसैको पनि कुभलो नगरेको मुलुक हो यो । मध्यमार्ग यसको चरित्रमा छ । इतिहासका कालखण्डमा उत्पन्न केही समस्या र नेतृत्वका केही निरन्तर कमजोरीले यो मुलुक आज स्थिरता र समृद्विको पथमा अडिग हुन नसकेको मात्र हो । यसले आफूलाई प्रकारान्तरमा सम्हाल्ने हो भने भोलिका दिनमा विश्वसनीय छिमेकीको रूपमा भारत र चीनजस्ता विशाल मुलुकलाई समेत दिशानिर्देश गर्ने नैतिक सामथ्र्य कमाउन सक्छ । आफ्नो भूगोल सानो भए पनि परभूमिमा शान्ति, स्थिरता, विकास र मानवअधिकारको वकालत गरी रूपान्तरणमा सहयोगी बन्ने हैसियत राखेका मुलुकका उदाहरण संसारमा छन् ।

केही दशकअघिसम्म केही लाख जनता पाल्न कठिनाइ बेहोरेको नर्वेले प्राकृतिक स्रोतको उपयोग र प्रविधिगत क्रान्तिबाट आज संसारले आफ्नो सल्लाह सुन्नुपर्ने स्थिति बनायो । नेपालले त्यस्तै हैसियत बनाउन सपना देख्न सक्दैन र ? आज त्यो स्थिति बनिसकेको थियो भने काठमाडौंले परेका बखत दिल्ली र बेइजिङसँग कूटनीतिक मध्यस्थताको प्रस्ताव राख्न सक्थ्यो । कल्पना गरौं, त्यस्तो दिन पनि आउनेछ । तर कामना गरौं- दक्षिण एसियामा द्वन्द्व कहिल्यै नहोस् । समभाव र समवृद्विमा यो क्षेत्र सदैव अगाडि बढोस् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.