सृष्टि एक दृष्टि अनेक
सृष्टि एक-दृष्टि अनेक एक सम्यक दृष्टिमूलक अभिव्यक्ति बन्छ । सृष्टि त एकै हो । दृष्टि अनेक बनेर आउँदो रहेछ । कारक तत्व अनेक हुन्छन् । भौगोलिक अनेकताले स्थानवाचक भिन्नता छाउन थाल्छ । स्थानीय अन्तरताले रहनसहन, सोचविचार, चालाबाला, संस्कार आदिमा भिन्नता छाउन पुग्छ । विभिन्न परिवेश र परिस्थितिले हाम्रो आचार विचारमा फरक संस्कारमूलक संस्कृति नै निर्माण हुन पुग्छ । पृथ्वी त एउटै छ ।
पृथ्वी एकै भएर नि एउटै ग्रहभित्रका स्वरूप एकआपसमा अन्तर छन् । एकै ग्रह- पृथ्वी विभिन्न द्वीप, महाद्वीपका आकार फरक छन् । आकारमात्र होइन भूतल-सतह एक समान छैनन्, रहेका हुन्नन् । सतह समान नभएरै अर्को अन्तर र बेमेलका स्थिति उत्पन्न हुने गर्छन्, भएका छन् । पृथ्वी भनौं हाम्रो यो ग्रहको अवस्थिति अलि अर्कै डिग्रीसम्म कोल्टिएको वास्तविकता खगोलवेत्ता-वैज्ञानिकहरूले युगयुगै अभिज्ञान दिइरहेको यथार्थका भुक्तभोगी हामी नै रहेका छौं । हामी जे जति अभिज्ञानका अनुभूति बटुल्छौं ती यिनै यथार्थपरक बनेर गर्छौं, गरिरहेका हुन्छौं ।
केही समयदेखि सृष्टि एक-दृष्टि अनेक वाचन गर्दै चिन्तन सोच बनाइरहेथेँ । चिन्तन सोच कुनै न कुनै एक वस्तुतत्वकै सेरोफेरो रुमलिएर, रमरम रमाएर गरिरहेका हुन्छौं । नितान्त ध्यानमग्न रहेर कुनै चिन्तन गर्नु एकाग्रता बन्छ । एकाग्रतामात्र एकै विषयवस्तु परक रहन्छ । वस्तुपरक सोचले एकाग्रताको परिधि निर्माण गर्छ । एकाग्रता पश्चिमेली शब्दमा कन्सेन्ट्रेसन ठहर्छ । सम्भवतः द्वितीय युद्धकालमा नाजी हिटलरले कन्सन्ट्रेसन क्याम्प बनाएथे । यिनै सोचकै सेरोफेरो रुमलिएर । युद्धबन्दीहरूका ताँतीलाई त्यस क्याम्पमा उनले नाजीवादको दर्शन र सिद्धान्तका मन्त्र तन्त्र विद्या कोच्ने गरेथे । सामरिक कूटनीति÷कूटनीतिक सामरिक अभ्यास केन्द्रको नामै कन्सेन्ट्रेसन क्याम्प बनाए हुन् । सृष्टि एक-दृष्टि अनेकको एक फाँट यो पनि हुन सक्छ । जे होस्, एकाग्रता भन्नु एकै सोच बोकेर अग्रता लिनु÷दृढसंकल्पित बनेर अगाडि बढ्नु पक्कै पनि हो ।
सृष्टि एक-दृष्टि अनेक चिन्मयता साथ पढ्दै थिएँ । डिल्लीराम गौतम लिखित यो संरचना गहिरो घतलाग्दो बन्यो मनलाई । घतलाग्दो बन्न मनलाई छुँदो हुनुपर्दो रहेछ । सहज तवरले हजयात्रा बन्दो रहेनछ । हजयात्रा मुहम्मदीय अभियान बनेको छ । एक सृष्टि- अनेक दृष्टि मुहम्मदीय हजयात्रा त थिएन । परन्तु, विश्वभ्रातृत्व कामना गर्दो यो युगले मुहम्मदीय संरचनागत अभिव्यक्ति सूचक सूत्रधार वाचक शब्दझैं मानेर प्रयुक्त गर्नु सामञ्जस्य भावधारा कसरी होइन भनौं ? सबैले सबै पक्ष समेट्न नसके पनि केही न केही पक्षलाई मात्र चुम्न सके त भइहाल्छ नि ! हिन्दु जीवन दर्शनजन्य सृष्टि एक-दृष्टि अनेक संरचना चुस्त शीर्षकमा प्रौढ अभिव्यञ्जनको अभिव्यक्ति बनेको छ । सम्भवतः प्रौढ अभिव्यञ्जनामा मोलम्बित भएरै सर्वसाधारणका ग्रहणशीलता भन्दा माथि छ । वैदिक दर्शनमा आधारित प्रस्तुत प्रस्तुति निकै गम्भीर र गहकिलो छ ।
सृष्टि एक - दृष्टि अनेक संरचना चार प्रकरण युक्त छ । यिनै प्रकरण हुन् जसलाई सृष्टि एक - दृष्टि अनेकसित सटिक आयाम भन्न रुचाएछु । सृष्टि एक - दृष्टि अनेक आयामिक अभिव्यक्ति भन्न रुचाउँछ यो मनभरिको सोच र सोचभरिको मन । हाम्रा सिर्जना अलि ललित अभिव्यक्ति बनून्का कामना मात्र हो यो । ललित अभिव्यञ्जनाले आक्षेप-अनर्गल प्रलापलाई प्र श्रय दिओइन । ललित अभिव्यञ्जनाभित्र प्रलाप र आक्षेप अट्दै अट्दैन । आक्षेप र अनर्गल प्रलाप ललित साहित्य कसरी पो बन्ला ? बन्नै भ्याउन्न ! ललित अभिव्यञ्जना त पाठक जगत्लाई मन्त्रमुग्ध पार्ने अनुरागका बुटी बनेको हुन्छ । सबै सृजनाको अन्तर्य अनुरणको अभिवृद्धि गर्नु हुन्छ । अनुरागले वैराग्यलाई बिटुल्छ । वैरागले विभत्सतालाई जन्माउन सक्छ । विभत्सता सृजना विमुख हुन्छ । पूर्वीय वैदिक जीवन दर्शनलाई चिमोट्ने, निमोठ्ने विभत्सता यसको चाहना र सोच बन्नै सकोइन ।
शत्रु र मित्र जन्मजात होइनन् । व्यवहारका उपज हुन् । काम, क्रोध, लोभ र मोहले शत्रु जन्माउँछन् । संसार शत्रु र मित्रको डरलाग्दो चंगुलमा फसेको छ । शत्रु कसलाई मान्नु ? हिजोसम्म पूर्ण मित्र मानिस एकाएक शत्रुमा बदलिइरहेका छन् ।
सृष्टि एक-दृष्टि अनेकका पहिलो आयाम आध्यात्मिक तरंग अन्तरंगसित छचल्किन्छ । छचल्किँदै यस आयामिक छचल्काइ सार्थक जीवन, आध्यात्मिक शिक्षाको आवश्यकता, अध्यात्मको अपरिहार्यता, शान्तिका लागि अध्यात्म, पूर्वीय शास्त्र र अध्यात्म, भौतिक र अध्यात्मको पृथकता र एकता, नेतृत्वका लागि अध्यात्म केही महत्त्वपूर्ण पक्षको विवेचना र विश्लेषण गर्न पुग्छन् । सृष्टि एक-दृष्टि अनेकका सन्दर्भमा डिल्लीरामका गौतम भन्छन्, 'पूर्वीय नीतिहरूले दृष्टि र सृष्टिलाई यसरी अथ्र्याएका छन्, एक हि दुग्धं बहु धेनुवर्णा ! रंगरूपमा गाई फरक भए नि दूध त एकै हुन्छन् ।' उनी भन्दै जान्छन् कि सृष्टिको बीज एकै छ, व्यवहार प्रपञ्च, हेर्ने दृष्टिका कारण त्यो अनेक देखिन सक्छ । तर, देखिनु नै सत्य होइन । सत्यलाई पर्गेल्न सक्नुपर्छ । बाहिरी सत्य अन्तिम होइन ।
आध्यात्मिक शिक्षाको आवश्यकताका बहसमा गौतम भन्छन्, 'शत्रु र मित्र जन्मजात होइनन् । व्यवहारका उपज हुन् । काम, क्रोध, लोभ र मोहले शत्रु जन्माउँछन् । संसार शत्रु र मित्रको डरलाग्दो चंगुलमा फसेको छ । शत्रु कसलाई मान्नु ? हिजोसम्म पूर्ण मित्र, मानिस एकाएक शत्रुमा बदलिरहेका छन् । हिजोसम्म शत्रु बनिरहेकाहरू अनायास मित्र बनिरहेका छन् । दृष्टान्तको रूपमा उनी आदिकवि भानुभक्त आचार्यलाई उद्धरण गर्छन्, 'कसलाई हो शत्रु भनेर जान्नु ? आफ्ना दशै इन्द्रीय मित्र मान्नु ।' यसै सन्दर्भमा अध्यात्मको अपरिहार्यता औंल्याउँदै डिल्लीराम अगाडि बढ्छन् र भन्छन्, 'शरीर पलपल नासिन्छ, सारा भौतिक उपलब्धि या विनाशको रहस्य अध्यात्म ज्ञानको नजिक नपुगेसम्म पत्तो पाइँदैन । शरीर र धन सत्कर्मको लागि आवश्यक छन्, होसियारीपूर्वक रक्षा गर्नुपर्छ ।' गरुड पुराणलाई उद्धरण गर्न पुग्छन् उनी यसरी ः बिना देहेन कस्यापि पुरुयार्थो न विद्यते । तस्माद देह धनं रक्षेत पुण्य कर्माणि साधयेत् । अध्यात्म भनेको अन्तस्करणलाई बुझेर त्यसभन्दा पनि माथिको परम सत्य नित्य आत्मा तत्वतिरको चिन्तन र मनन हो । यस विषयभित्र रहेर क्रियाशील रहने सबै आध्यात्मिक बन्छन् ।
शान्तिका लागि अध्यात्म चिन्तन गर्दै गौतमका अध्यात्म यसरी खुल्छन् ः भौतिक प्रतिस्पर्धामा जुटेका आफूमात्र बाँच्न र ठूलो बन्ने होडमा छ । तत्कालको प्राप्तिलाई मात्र हेरेको छ । अधिकांश भौतिकवादी चिन्तन बोकेकाले चार्वाक दर्शनलाई अँगालेका छन्- यावत् जीवेत् सुख जीवेत् ऋण कृत्वा घृतं पिवेत्; भष्मी भूतस्य देहस्य पुनरागमनं कुत ? जबसम्म जिइन्छ सुखपूर्वक जिऊ; ऋणै काढेर पनि घिउ नै पिऊ; खरानी बन्दो शरीर फेरि पनि आउँछ नै कसरी ? कर्तव्य लोप हुने दायित्व विहीन हक र अधिकारमा संवेदना र हार्दिकता नभएपछि शान्ति रहन सक्दैन । उनका धारणाले पाठक समाजलाई घच्घच्याउन पुग्छ - आध्यात्मिक जीवन पद्धतिलाई अँगालेर अब यस्ता अवरोध हटाउन प्रयत्न गर्नुपर्छ । शत्रुभाव त्याज्य छ । एकता, सद्भाव, सहिष्णुतापूर्ण सेवाका चरित्र विकास गर्न आध्यात्मिक व्यवहार आवश्यक छ । अशान्तिका जरा अरूको अहित सोचाइ र गराइमा छ । ज्ञान र विज्ञान दुवै क्षेत्रमा पूर्वीय अध्यात्म दर्शनले उत्तिकै सबल योगदान पुर्याएको छ । वेद र तिनको अध्ययन अनुसन्धानबिना अध्यात्म ज्ञानका अनुभूति नमिल्ने ठम्याइ ठाउँमै पुर्याउँछन् उनी ।
पश्चिमेली भौतिकवाद वैदिक भौतिकवादमा अन्तर छन् । वैदिक भौतिकवाद चैतन्यको आश्रय मान्छन् उनी । वैदिक भौतिकवादी चिन्तनले दैहिक जीवन निर्वाह निमित्त हुनु र जुट्नुपर्ने साधन सामग्रीमा सन्तृष्टि मिल्ने दर्शन अडेको छ । आवश्यकताभन्दा पारिका साधन सामग्रीले पुँजीवाद जन्माउँछ । संसारका धनाढ्यहरू जन्माउने चेष्टामा मलजल गर्छ । वैदिक भौतिक दर्शनले जीवन निर्वाहमा सन्तुष्टि । यिनै विभेद बताउन सक्षम बनेका छन् सृष्टि एक-दृष्टि अनेकसितका गौतमीय सर्जक डिल्लीराम । सृष्टि एक-दृष्टि अनेक त्यसैले आयामिक बन्छ, बनेका छन् । आयाम बोक्नु सहज बन्दैन । यसका लागि प्रचुर अध्ययन, विश्लेषण र विवेचना नगरी हुन्न ।
डिल्लीरामले त्यसतिर विशद अध्ययन, चिन्तन, मनन गरेका उनकै रचनाकारितामा भेटिन्छन् । पूर्वीय वैदिक दर्शन, अनेक पूर्वीय दर्शनका अध्ययन गरेका ज्वलन्त उदाहरणहरू सृष्टि एक-दृष्टि अनेक पठनका क्रममा छ्यापछ्यापै भेटिन्छ । गौतम संस्कृत वाङ्मयका अध्ययता-ज्ञाता रहेका अनेक वैदिक श्लोक, सुक्ति र ऋचाहरू उद्धरण गरी रचनाभित्र प्रयुक्त गरेकैबाट झल्झलाकार बन्छ, बनेको छ ।
प्रसंगवश डिल्ली गौतम उल्लेख गर्छन् नेतृत्वका लागि अध्यात्म चर्चा गर्दै '..अध्यात्म नैतिक पक्षको जग हो । अध्यात्मले आत्मशुद्धिको ख्याल राख्छ । यसले भौतिक कुरालाई साधनमात्र मान्दछ । पूर्वीय शास्त्रहरूको अनुशीलनले नेतृत्व र विकास चरित्रसँग जोडेर भएको हो भन्ने पुष्टि गर्छ । नेतृत्व विकासको क्रम राजाको निर्माण गरेबाट भएको देखिन्छ । मनुस्मृति ११७३ उद्धरण गर्दै भन्छन् ः
अराजके हि लोको स्मिन सर्वतो विद्रुते भयात् ।
रक्षार्थमस्य सर्वस्व राजानम् सृजत् प्रभु ।
समाजमा सबैतिरबाट भय, त्रास र कठिनाइजस्ता समस्या आउन थाले तब समाजमा अराजकता फैलिन थाल्यो । समाजमा जसलाई जे गर्न मन लाग्यो त्यस्तै कामहरू हुन थाले अनि त्यसलाई संयमित र व्यवस्थित तुल्याएर सुरक्षा दिनका लागि राजाको सृष्टि गरिएको हो । मनुस्मृतिको समय सत्ययुगको अन्तिम चरणको हो । मानिसमा सत्यताको ह्रास हुन थालेपछि सत्यको मर्म बचाउन मनुले संविधानका रूपमा स्मृति निर्माण गरे । यो स्मृति वेदको राज्यनीतिसँग सम्बन्धित छ । यसमा आचार अध्याय पहिलो रहेको छ । आजको सन्दर्भमा संविधान वेद र स्मृतिभन्दा बाह्य छ । भौतिक विकासलाई मात्र केन्द्रमा उभ्याएर निर्माण भएको संविधानले जन्माउने नेतृत्व भौतिकवादी नै हुन्छ ।'
गौतम भन्दै जान्छन्— अहिले वेद र पुराणभित्रका ज्ञान र दर्शन देखेर पश्चिमी देशहरू हुरुक्क भई त्यसलाई प्राप्त गर्न लालायित हुँदै छन् । हामी त्यसैलाई भुल्दैछौं पश्चिमा विद्वान्हरूले भनेका छन् । पूर्वीय दार्शनिकहरूको विलक्षणताका तुलनामा महान् युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् । '...मैले चाल्र्स ल्यानम्यानलाई गुरु थापेर संस्कृत वाङ्मयको अध्ययनार्थ दुई वर्ष अर्पण गरेँ, त्यसैगरी जेम्स उड्सको अभिभावकत्वमा पतञ्जलीको तत्व मीमांसासम्बन्धी जटिल मार्ग पत्ता लगाउन अर्को एक वर्ष अर्पिएँ ।' यो भनाइ अमेरिकी कवि टीएस एलियटको रहेको ओरियन्टल पब्लिकेन्सनको पूर्वीय सभ्यता विश्वविख्यात विद्वान्हरूका दृष्टिबाट उद्धरित छन् ।