जीवन जगतको सेरोफेरोमा
मान्छेको जीवन गति विचित्रको छ । उसले अनायास जन्म लिन्छ, अर्थात् अचानक उसको जन्म हुन्छ, कुनै पत्तो बिना जन्म हुन्छ । जन्मपछि बढ्दै जाँदा ऊ सुख र दुःखरूपी प्रपञ्चमा फस्तै जान्छ, उतारचढावमा पर्दै जान्छ ऊ र कति बेला दुःख आउँछ र कतिबेला सुख आउँछ उसलाई पत्ता पनि हुँदैन । एक दिनभरिका पनि ती सुख र दुःखका क्षण-घडीबारे ऊ अनभिज्ञ हुन्छ र सबै सुख दुःखहरू मनको आयतन भित्र मडारिरहन्छन्, गतिशील भइरहन्छन्।
ऊर्जा र चेतनाको घटबढका कारण गतिहरू बदली रहन्छन् र शरीरले भन्दा मनले ऊर्जा र चेतनालाई घटाउने बढाउने, सफा र विकृत बनाउने काम पनि गरिरहेका हुन्छ । शरीर भने मन र इन्द्रियहरूको अधीनमा ढलपल भइरहने एउटा यन्त्र सरह नै हो । त्यसैले शरीरका महत्वपूर्ण खटनपटनका क्रियाहरूमा पाँच इन्द्रिय र छैटौं इन्द्रियका रूपमा मनलाई भनिएको हो ।
सरसर्ती हेर्दा मानिसको जीवन अप्रत्याशित र आकस्मिक देखिन्छ, तर अध्यात्मले यो जीवनको प्राप्ति, गति र बुद्धिमतिहरूलाई संस्कार र कर्मथलका रूपमा रहेको बताउँछ । साधारणयता के देखिन्छ भने आज स्वास्थ्य देखिएको मानिस तत्क्षण बिरामी पर्छ र मृत्युको अवस्थामा पनि पुग्छ । अकस्मात मानिस दुर्घटनामा पर्छ । कतिपय राम्रा देखिएका मानिस पनि लामो समय पृथ्वीमा रहँदैनन् । कतिपय नराम्रा देखिएकाहरू रहिरहन्छन् लामो समयसम्म । खुसीले हास्तै गरेको मान्छे छिनभरमा घटनाक्रम बदलिएर दुःखी हुँदै रुन थाल्छ । सम्पत्ति, मान, पद र मनचाहिँ हुँदा खुसी हुन्छ र त्यसको विपरीत अवस्थामा दुःखी बन्छ ।
जीवनका यिनै उतारचढावबाट मान्छे गुजँ्रदै जीवनरूपी दृश्यवान कायाको स्वरूपमा केहीसमय रही त्यो स्वरूपबाट विसर्जित हुन पुनः ऊ अदृश्य बन्छ, अदृश्य जगततर्फ जान्छ । अर्थात् शून्यबाट सिर्जना भएको स्वरूप शून्यमा नै विलीन हुन्छ । यो एउटा चक्र छ जीवनको र अधिकांशले यो चक्रको रहस्य बुझ्न चाहँदैनन्, त्यो झन्झट उठाउने जरुरत पनि देख्तैनन् । चुपचाप खान्छन् पिउँछन्, हाँस्नु परे हाँस्छन् र रुने अवस्थामा रोइदिन्छ । बिस्तारै विगत सबै बिर्संदै जान्छन् नबिर्सिएका जति भ्याएसम्म अरूलाई सुनाउँदै पनि जान्छन् । स्मृति र विस्मृतिका दुवै पाटो बोकेर बाँचेको हुन्छ मान्छे । स्मृतिले भ्याए जति अर्ती उपदेश पनि गर्छ मान्छेले । अधिकांश मानिस आफ्नो जीवनकालमा भ्याए जति आफू, आफ्नो परिवार र प्रियजनका लागि कार्य गर्छन्।
तृष्णा, कामना र वासनाहरूका बोझ थप्दै शरीर र मनलाई झन्झन् बोझिलो बनाई पृथ्वीबाट बिदा हुन्छन् । अगाडिको जन्मको जे जस्तो संस्कार भए पनि जन्मँदा भने मान्छे स्वच्छ र निष्कंलक नै हुन्छ तर बालकबाट युवा र वयस्क हुँदै प्रौढ र वृद्ध अवस्थामा पुग्दा ऊ रुग्ण हुन्छ मन र शरीर दुवै दिशाबाट । अन्त्यमा मृत्यु हुँदा ऊ त्यो मृत्यु खप्न सक्तैन र मृत्युअगावै बेहोस हुन्छ, मृत्यु देख्ने सामथ्र्य नै हुँदैन, किनकि तृष्णा र कामनाले मृत्यु सहन गर्नै सक्तैन । उसको मृत्यु हुँदा छेउछाउमा बाँच्नेहरूले परलोकवासी भयो भनिदिन्छन्, मृत्युको अवस्था घटना र जीवनका कृत्यहरूलाई हेरेर मुक्त भएको र स्वर्गवासी भएको कल्पना गर्छन्, अर्थ लगाउँछन् ।
अधिकांश मानिस आफ्नो जीवनकालमा भ्याए जति आफू, आफ्नो परिवार र प्रियजनका लागि कार्य गर्छन् । तृष्णा, कामना र वासनाहरूका बोझ थप्दै शरीर र मनलाई झन्झन् बोझिलो बनाई पृथ्वीबाट बिदा हुन्छन् ।
यही नै हो मानिसका सामान्य जीवनधारा जुन अधिकांश मानिसमा लागू हुन्छ । तर योभन्दा पृथक् जीवन जिउने र निश्चित ध्येयले पृथ्वीमा रहन चाहने, परि श्रम-साधना-कर्म गर्ने र कठिन जीवनलाई पनि सहज रूपमा स्वीकार्ने तथा जीवन र जगत्बारेको रहस्य बुझ्ने अनि जीवनका उच्चतम सम्भावनाहरूलाई उजागर गर्दै बुझ्ने र अनुभव गर्ने सामथ्र्य भएका महापुरुषहरू पनि यो पृथ्वीमा जन्म लिएर आएका देखिन्छन् । तिनीहरूमध्ये कसैको जीवन छोटो, कसैको मध्यम र कसैको अलिक लामो पनि देखिन्छ । यसो हुनमा निश्चित प्रयोजन, संस्कार र अस्तित्वको आयोजनालाई अध्यात्मले मान्छ, स्विकार्छ ।
यी महापुरुषहरूले समाज, राष्ट्र र विश्वलाई प्रभावित पार्छन्, आकर्षित गर्छन् र ध्यान खिच्छन् । यिनीहरूको ज्ञान र प्रज्ञाको भण्डार विशाल र विस्तारित हुँदै जाने हुँदा कर्मक्षेत्र पनि फैलिँदै जान्छ । यी श्रेणीमा ती महापुरुषहरू पर्दछन् जसले भौतिक र आध्यात्मिक दुवै जगत्लाई प्रभावित पार्छन र उनीहरूले अनुभव गरी बताएका विषयहरू, आविष्कार महत्वपूर्ण, ओजपूर्ण र अचम्मका पनि हुन्छन् । मानवसेवा गर्ने परोपकारमा तल्लिन रहने, आविष्कार गर्ने र अन्य बहुविद्यामार्फत मानव कल्याण गर्ने युगपुरुषहरू अनि अध्यात्मको गहन रहस्यलाई अनुभवद्वारा उजागर गर्दै लोकलाई बुझाइदिने व्यक्तित्वहरू यो श्रेणीमा पर्दछन् ।
त्यसैले मानवमानवबीच ज्ञान, विवेक, बुद्धि र प्रज्ञाको स्तरमा भेद विचित्रता छ । यो किन छ ? अवश्य पनि केही गुह्य रहस्य छ, यसको पछाडि । एक जीवनधाराको अध्ययन मात्रले यो भेद विचित्रताको रहस्य र उत्पादनलाई बुझ्न सक्तैन । तर्क-बुद्धिको तह र भौतिक विज्ञानको ज्ञान तथा प्रयोगशालाले पनि यो ठम्याउन सक्तैन । किनकिीयो सूक्ष्म ज्ञानको विषय छ, कार्य-कारणबीचको सम्बन्ध र प्रतिफलको सूक्ष्म विषय छ । यसबारे बहस र तर्क, मान्ने र नमान्ने पक्ष चलिरहन्छन् । किनकि सूक्ष्म साधना अभ्यासबाट मात्र सिद्ध साधन अभ्यासबाट मात्र सिद्ध साधकले ठम्याउने र अनुभव गर्ने विषय छ यो ।
प्रायः मान्छे सधैं अतृप्त छ, खाली छ । त्यसैले ऊ हरपल बेचैन छ । अतृप्तिबाट तृप्ति खोज्दा ऊ थकित र गलित हुन्छ । प्रकृतिले विस्तारै उसलाई थकाउँछ गलाउँछ । हरेक पटक तृप्ति खोज्दा उसले थप अतृप्ति र खालीपन सिर्जना गरिरहेको हुन्छ । त्यसैले लोभ र पापहरू पनि सिर्जना भइरहेको हुन्छ । उसको जन्म नै आफ्ना बाबुआमाको अतृप्तिबाट हुन्छ । यो सृष्टि चक्र यसरी नै चल्छ । प्रकृतिको तथा भौतिक जगत्को निरन्तरता नियम हो यो । जतिसुकै सुन्दर भौतिक संरचना पनि भग्नावशेष हुन्छ सयको अन्तरालमा । प्रकृतिले अर्थात् अस्तित्वले उत्पादन र विनाश अर्थात् उत्पन्न गर्ने र विनष्ट गर्ने कार्य सँगसँगै गरिरहेको हुन्छ । त्यसैले यस जगत्लाई अनित्य भनिएको छ र उत्पादन-व्यय, उत्पादन-व्यय भइरहन्छ ।
मानिसले सम्झन्छ-म केही गरिरहेको छु, भनेर । तर वास्तवमा उसले केही गरिरहेको हुँदैन र प्रकृतिले आफ्ना कार्य ऊमार्फत गराइरहेको हुन्छ । चेतना र ऊर्जा शक्ति नै क्रियाशील भइरहेको हुन्छ र यो शक्ति नै विश्व ब्रह्माण्डको अस्तित्व तथा क्रियाशीलताको आधार शक्ति हो । प्रकृतिले आफ्नो सृष्टिको निरन्तरता दिनका लागि मानवलगायत सबै प्राणी र वनस्पतिमा ऊर्जाको उत्पादन, संग्रह र विस्तार एवं उपयोग गराइरहन्छ, निरन्तर । तर चेतनाशक्ति चाहिँ मानवमा मात्र हो । मानिससँग मन पनि छ र मनभन्दा पर पुग्ने सामथ्र्य पनि छ, त्यसैले मानिसले सोच्ने, विचार गर्ने, आविष्कार गर्ने रचनात्मक कार्य गर्ने अनि जीवन जञ्जालको प्रपञ्चबाट मुक्त हुने सामथ्र्य पनि छ मानिसमा ।
सिद्ध पुरुषहरूले र शास्त्रले पनि भन्छ-हामीले भोग गरिरहेका छैनौं, भोगले नै हामीलाई भोगिरहेको छ । यो गम्भीर र रहस्यमय विषय हो । यसको पछाडि प्रकृतिको तीनवटा गुण धर्मको कार्य छ । प्रकृतिको गुण नै प्रवृत्ति सञ्चालक हो । प्रकृतिको आफ्नो ऋत छ, नियम छ र त्यो एउटा चक्रमा निरन्तरता छ । प्रकृति आफ्नो निश्चित नियमबाट सञ्चालित छ र त्यो ऊर्जाको स्रोत शक्तिबाट सञ्चालित छ । ऊर्जा चाहिँ चेतनाबाट सञ्चालित छ । ऊर्जाका विभिन्न गुण र रूप भए पनि चेतना गुणातित छ, अर्थात् गुण धर्मभन्दा पनि परको अवस्था छ । त्यसैले दिव्य चेतनाको अवस्थामा दिव्य आनन्द छ । चेतनालाई ब्रह्म पनि भनिन्छ ।
भगवान्का गुण र रूप सबै चेतनाका उच्चतम अवस्थाहरू हुन् । ध्यान साधनाबाट चेतनाको दिव्य अवस्थामा पुगेर मानिस नै भगवान् बन्छ । बुद्ध भगवान् कहलाइनु भएको यही अवस्थाको प्राप्तिबाट हो । दृव्यवान जगत्को फैलावटमा पदार्थ, ऊर्जा र चेतना छ र त्यसैले अध्यात्मले स्थुल, सूक्ष्म र कारण शरीरबारे बोलेको छ, अर्थात् पदार्थ, ऊर्जा र चेतना । सबैभन्दा सूक्ष्म सञ्चालक तथा परम सत्य चाहिँ चेतना नै हो । यो ईश्वरीय गुण हो । चेतना नै सबै सृष्टिको आधार हो ।
मनुष्य भएर जन्म लिनु दुर्लभ मानिन्छ । किनकि चेतनायुक्त जीवनधारा पाउनु दुर्लभ छ । ऊर्जा त सबै प्राणी तथा वनस्पतिले प्राप्त गर्छन् र त्यसैबाट उत्पत्ति र सञ्चालित हुन्छन् । यसैकारण बृद्धि र गति सम्भव छ । तर मनसहितको चेतनाले गर्दा प्राणीमा श्रेष्ठ मनुष्य हुन गयो । पाँच इन्द्रिय अरू प्राणीमा पनि छन्, तर छैटौं इन्द्रिय मन मानिसमा मात्र छ र अझ छैटौं इन्द्रियभन्दा परको अवस्थामा पुग्न शक्ति र सामथ्र्य पनि छ मानिसमा । त्यसैले देवताहरूभन्दा मनुष्य जन्म श्रेष्ठ मानिन्छ, किनकि देवताहरू भोगका लागि हुन् र मोक्ष तथा जीवन जगत्बाट पूर्ण स्वतन्त्रता भोगबाट हुँदैन र भोगको छुटकाराबाट मात्र हुन्छ । यो अर्थमा मनुष्य जीवन श्रेष्ठ जीवन हो । तर त्यो चेतनाको धरातल र यथार्थ महत्व गुमाउँदा मानव नै दानव बन्न पुग्छ ।
त्यसैले मनुष्यको जन्म लिनुभन्दा मनुष्यत्व प्राप्त गर्नु महत्वपूर्ण छ । मनुष्यत्वको धर्म निर्वाह गर्नु महत्वपूर्ण छ । सही आचरण र व्यवहारमा बस्न मानिस चाह“दैन, तर धर्म भनेको राम्रो कुरा व्यवहार र विषयहरू धारण गर्नु हो । मानव कल्याण तथा हित गर्नु नै धमै हो । कर्मकाण्ड र सम्प्रदाय धर्म होइन । यो त अहंकार र स्वार्थ हो । एउटा खडा गरिएको चलन हो । अझ उपल्लो स्तरको धर्म निर्वाह गर्नु भनेको आफ्नो लागि नभएर अरूका लागि जिउनु हो, समाज र राष्ट्रका लागि, मानव कल्याणका लािग समर्पित हुनु नै परम कल्याण हो, धर्म हो । त्यही धर्मले राजनीतिले लिनुको कारण समाजको सुव्यवस्था, शान्ति र समृद्धिका लागि हो । तर आज त्यो मूल धर्म नष्ट भयो, भ्रष्ट भयो । वास्तविकता स्वच्छ र स्पष्ट हुन्छ । आहार, निद्रा, भय तथा क्रोध मनुष्य र पशुमा समान नै छ, तर मनुष्यमा चेतनायुक्त धर्मको जुन गुण प्राप्त छ त्यसैले मनुष्यलाई विशिष्ट र उन्नत प्राणीका रूपमा स्थापित गरेको छ ।
यस अन्तर्गतका गुणहरू धर्य, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, बुद्धिमान, विद्या, सत्य र अक्रोध हुन् र यी दस गुण तथा लक्षण मनुष्यका लागि मनुष्यत्व प्राप्त गर्ने प्रमुख आधार पनि हुन् । यी गुण हराउँदा र यिनको प्रवद्र्धन नहुँदा हरक्षेत्रमा अस्तव्यस्तता छ र राजनीति यसैकारण झनै विकृत र बोझमात्र भएको छ । दिनेभन्दा लिने मनोवृत्ति हावी भएका कारण सामूहिक मलाईका विषयहरू गौण बन्दैछन् । जीवन जगत्को रहस्य बुझ्न खोज्ने साना तिना प्रयत्न तथा अभ्यास साधनाले पनि मानव कल्याणको मार्गमा सहायता पुर्याउन सक्छ, सच्चा रूपमा धर्मको अर्थ बुझ्न र बुझाउन मद्दत गर्दछ ।