लोकतन्त्र : अन्तर्घात र दलनिष्ठा

लोकतन्त्र : अन्तर्घात र दलनिष्ठा

काठमाडौं क्षेत्र नम्बर १ मा उपचुनाव हुँदै थियो । प्रमुख टक्कर थियो, भर्खर आफ्ना पति गुमाएकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईबीच । विद्यादेवीका पति नेकपा एमालेका महासचिव मदन भण्डारीले अघिल्लो निर्वाचनमा भट्टराईलाई हराएका थिए । २०५० को यो उपचुनावमा सहानुभूति पक्षले पनि काम गरेमा सन्त नेताले जित्ने सम्भावना कम थियो । त्यसै पनि हारले विचलित हुने नेता थिएनन् भट्टराई । नेपाली कांग्रेसले एकमतले उपचुनावमा उनलाई उम्मेदवार बनाएको थियो । कांग्रेसभित्रको एक घटकका साथै नेपाली समाजको एक वर्गले उपचुनावपछि भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा देख्दै थियो ।

सम्भवतः प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो कुर्सीमा किसुनजीलाई देखे होलान् । त्यसैले निर्वाचनमा जे भयो, त्यो खुलारूपमा पहिले कहिल्यै देखिएको थिएन । एमालेलाई निर्वाचनमा सहायता गर्न विराटनगरबाट प्रशस्त युवा काठमाडौं क्षेत्र नम्बर १ मा ओइरिए, तर ती एमाले थिएनन् । गिरिजा खेमाका ती युवा किसुनजी हराउ अभियानमा लागे, तर तिनीहरूलाई रोक्ने प्रयत्न गिरिजाबाट भएन । अनि नेपाली राजनीतिमा एक नौलो संस्कृतिको आरम्भ भयो, जसलाई नाम दिइयो अन्तर्घात । त्यसबेला यसको परिभाषा लागेको थियो कि आफैंले अगाडि बढाएर पछाडिबाट प्रहार गर्नुलाई अन्तर्घात भनिन्छ । प्रकटमा नै किसुनजीको उम्मेदवारी विरोध भएको भए उनी उम्मेदवार हुने थिएनन् ।

यही अन्तर्घातले कांग्रेसमा रहेको दुई खेमाको विभाजन रेखा चौडा भयो अनि ११० संख्या ३६ से र ७४ रे मा विभाजन भयो । यसले नै पाँच वर्षको निमित्त बलियो बहुमत दिएर जनताले सत्ता सुम्पेको कांग्रेस आफ्नो खेमा बलियो बनाउन संसद् भंग गरेर मध्यावधि निर्वाचनमा होमियो । यसको परिणाम भयो कि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना चलेको सरकार बनाउने मौका पायो । यो मौका एमालेको पहिलो पुँजी बन्यो, बहुलवादमा पनि वामपन्थीले प्रजातान्त्रिक सरकार चलाउन सक्ने रहेछन् भन्ने देखायो । भारतका केही प्रान्तमा वामपन्थीले सरकार चलाएको भए पनि त्यो केन्द्रीय सरकार थिएन अनि तिनीहरूमा कुनै न कुनै रूपको केन्द्रीय नियन्त्रण थियो ।

केवल दलनिष्ठाले मात्र जनताको चित्त बुझाउन सक्ने अवस्था दिनप्रतिदिन समाप्त हुँदै जाँदैछ । 

त्यो बाँसमा चढाएर तलबाट फेद काट्ने अन्तर्घातको नेपाली राजनीतिमा मात्र हैन, सार्कमै असर परेको छ । नेपाली राजनीतिबाट सिद्धान्तलाई व्यक्तिले प्रतिस्थापन गरेको अवस्था त्यसैको परिणाम हो । यो कुराको बेग्लै धेरैवटा चर्चा चलाउन सकिन्छ । अहिलेको अभीष्ट त्यो हैन, हरेक मौकामा विशेष गरेर कुनै पनि निर्वाचनको बेलामा अत्यधिक प्रयोग हुने गरेको अन्तर्घात शब्दको विवेचन भने हो । विस्तारै यो अन्तर्घात शब्दको साहरा लिएर अभद्रताको परकाष्ठा पुग्ने काम आम हुन थालेका छन् । लोकतन्त्रको मान्यता, दलनिष्ठाको सिमाना अनि चुनावको गरिमालाई नै लज्जित बनाउने गरी अन्तर्घातको नयाँ परिभाषा आएको छ । यो परिभाषा सभ्य समाजमा पाच्य छैन ।

आजको परिभाषामा आफ्नो वा आफूले आस्था राखेको दलले खडा गरेको उम्मेदवारको पक्षमा नलाग्नुलाई अन्तर्घात भन्न थालिएको छ । यो कुरा चुनावमा मात्र नभएर दलको कार्यक्रमका समर्थन वा विरोधमा पनि लागू गरिन्छ । कुनै नेताको व्यक्तिगत दोषको विरोध गर्नुलाई पनि अन्तर्घातको रूपमा लिएर भौतिक कारबाही गर्ने कुसंस्कार बस्दैछ । अर्कोतिर नेतृत्वको लोभले विद्रोही भएर आधिकारिक उम्मेदवारलाई पछार्नेलाई सफल भएमा अंगीकार गरेका अनेकौं उदाहरण छन् । अर्थात् जित्ने हमेशा ठीक भन्ने सोच, तर त्यो अवस्थामा आफूले गलत व्यक्तिलाई उम्मेदवार बनाएकोमा स्वदण्ड पाउनुपर्ने हैन र ?

लोकतन्त्रमा स्वतन्त्रताको गुण गाइन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्ने बाटो निर्वाचन हो भनिन्छ । त्यसमा दलनिष्ठा व्यक्त गर्नुपर्ने हो भने कहाँ गयो अधिकार, कता हरायो स्वतन्त्रता भनेर सोच्नुपर्ने हुन्छ । निर्वाचनको यही मानक राख्ने हो भने यत्रो तामझामको कुनै अर्थ छैन । सबै दलहरूले अआफ्नो प्रमाणित सदस्य सूची निर्वाचन आयोगलाई बुझाइदिने अनि ती मत ती दलमा स्वतः जाने बाँकी मतदाता मात्र सामेल गरेर मतदान गराउने गरे भैगो नि । सबैलाई यो तर्क सुन्दै अपच हुन्छ भने मतदान दलनिष्ठा हो भन्ने सही हैन ।

त्यसै पनि कोही कुनै दलको सदस्य बन्दैमा सबै कुरा दललाई जिम्मा लगाएको हुँदैन । दलले पनि उसको आकांक्षा पूरा गरेको हुनुपर्छ । त्यसैले त दल छोड्नु अपराघ हैन, कुनै पनि दलमा । दल बदल्ने कारणले कसैले ठीक या अवसरवादी भन्न सक्ला, हुनसक्ने त्यत्ति हो । कोही म कुनै पनि दलमा आबद्ध हुन्न भन्छ भने त्यो उसको अधिकार हो । दलप्रति निष्ठा नराखेकोमा दलले निष्कासन गर्न सक्छ, आफ्नो विधानको प्रावधानअनुसार । यसो गर्न पनि त्यो कुरा सावित हुनुपर्छ । भोलि देश नै हाँक्न तयार हुने राजनीतिकर्मीको जमातले कसैलाई आरोप लगाएर भौतिक कारबाही गर्नु भनेको अपराध नै हो ।

निर्वाचन सन्दर्भमा आधिकारिक उम्मेदवार तय गर्ने तरिकाले पनि नेतृत्वलाई कसी लगाइरहेको हुन्छ । पारदर्शी शब्द वारपार देखिने भन्ने अर्थमा मात्र प्रयोग भएको हैन । कुन कुरा कसरी भयो र किन भयो भन्ने कुरा थाहा पाउनु संगठनका प्रत्येक सदस्यको अधिकार मात्र हैन कर्तव्य पनि हो । कर्तव्य यसकारणले हो कि संगठनका हरेक काम तथा निर्णयको उसले जनतालाई जवाफ दिनुपर्ने हुन्छ । यसका निमित्त ऊ आफू विश्वस्त हुन जरुरी छ । आफूले प्रचार पर्ने उम्मेदवार आफ्नो नजरमा योग्य छ कि छैन भन्ने कुराले महत्व राख्छ । अझ आफू पनि दाबेदार रहेकोमा किन अर्को भन्ने बुझाउने दायित्वबाट नेतृत्व चुक्न हुन्न ।

हालै सम्पन्न निर्वाचनमा राप्रपाबाट लड्नेले जनताको जवाफ दिन चिटचिट पसिना काढ्नुपरेको अनुभव सुनाउँछन् । केन्द्रीय नेतृत्व र आफूमा फरक देखाउन सकेकाहरूले विजय पनि हासिल गरेका छन् । परम्परागत मतदाता व्यवहार बदलिँदै छ, आज हरेक आफ्ना प्रतिनिधि वा नेतालाई कडा प्रश्न गर्न चाहन्छ । नेताहरूलाई त एकतर्फी कुरा माइकबाट सुनाएर हिँड्ने मौका हुन्छ, तर ती कुराको प्रस्टीकरण कार्यकर्ता मात्र हैन, चिनिएका समर्थक मतदाताले पनि दिनुपर्छ । पसिना नै काढ्नु नपरे पनि कतिपय उम्मेदवार मतदाताको प्रश्नमा नाजवाफ भएका छन् ।

केवल दलनिष्ठाले मात्र जनताको चित्त बुझाउन सक्ने अवस्था दिनप्रतिदिन समाप्त हुँदै जाँदैछ । आज समर्थक भएर मत मागिदिएको विजित प्रतिनिधिको राम्रो कामको जस बरु नपाइएला तर नराम्रो कामको गाली भने सुन्नैपर्ने हुन्छ । त्यसै पनि स्थानीय तहमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन्छन् व्यक्तिगत प्रकृतिका । सांसदसँग सामाजिक विषय हुन्छन्, व्यक्तिगत फाइदाको कुरा राखिन्न । तर स्थानीय तहका प्रतिनिधिसँग कयौं व्यक्तिगत प्रकृतिका कुरा हुन्छन्, कुलो पैनीका कुरा हुन्छन्, सँधियारसँगको झगडाका कुरा हुन्छन् । यस्तोमा नेतृत्वले चुनेको व्यक्ति अयोग्य देखिएमा कि त त्यो व्यक्ति यसरी योग्य छ भन्ने बुझाइनुपर्‍यो कि त्यसको निमित्त मत नमाग्ने स्वतन्त्रता पाउनुपर्‍यो ।

अपारदर्शी तरिकाले हचुवाको भरमा वितरण गरिएको टिकट भनेको त्यही दलको समर्पित अनि योग्य कार्यकर्ताको अपमान हो । कुनै-कुनै अवस्थामा त त्यस्ता कार्यकर्ताको जीवनभरको निष्ठा र योगदानको अवमूल्यन हो । यस्ता कार्यकर्ता दलको निष्ठाले आफूलाई परेको यस्तो अन्याय देख्दैनन् । त्यसैले अरू कार्यकर्ताले यो कथित अन्तर्घातको माध्यमले संघर्षको बिगुल फुक्नैपर्ने हो । यो ती कार्यकर्तालाई न्याय दिलाउने मात्र नभएर भविष्यमा आफूमाथि पनि हुनसक्ने अन्यायको रोकथाम गर्ने टीकाकरण हो । आफूले अनुमोदन नगरेको निर्णय नमान्दा अन्तर्घात हुन्न अन्तरर्संघर्ष हुन्छ । अन्तरर्संघर्ष कुनै पनि दलको उन्नतिको बाटो हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.