लुगाले हैरान सेलिब्रेटी
फिल्ममा अभिनेता र अभिनेत्रीको पहिरनले जोकसैको ध्यान तान्ने गर्छ । डिजाइनरले सुन्दर पहिरन बनाउन निकै मेहनत गरेको हुन्छ । डिजाइन गर्ने र आकर्षक देखाउने क्रममा कतिपय पहिरन निकै भारी बनिसकेका हुन्छन् ।
भारी भए पनि सुन्दर पहिरन लगाएर अभिनय गर्नु चानचुने कुरा हैन । तर, डिजाइनरले तयार गरेको पहिरनका कारण स्टारहरूले दुःख पाएको कुरा धेरैलाई थाहा हुँदैन किनकि उनीहरू सजिलो र आकर्षक रूपमा प्रस्तुत हुन आवश्यक हुन्छ । बलिउडमा हेभी वर्कका कस्ट्युमहरू निकै प्रयोगमा ल्याइएका छन् ।
फिल्म ‘बम्बे वेलवेट’मा नायिका अनुष्का शर्माले पैंतीस किलोको आउटफिट लगाउनु पर्यो । यो पहिरनको डिजाइन निहारिका खानले गरेकी थिइन् । फिल्म ‘रामलीला’मा दीपिका पादुकोणले पनि ३० किलो तौल भएको पहिरन लगाएकी छन् । उनको अर्को फिल्म ‘बाजिराव मस्तानी'मा दीपिकाले २० किलोको पहिरन लगाएकी छन् । अभिनेत्री माधुरी दीक्षितले पनि फिल्म ‘देवदास’मा ३० किलोको लेहेंगा र गहनाहरू लगाएकी छन् ।
नायक विवेक ओबरायले उनको फिल्म ‘काल’मा २८ किलो तौलको पहिरन लगाएका छन् । हेभी वर्क भएका पहिरन धेरै पहिला नै लगाउने चलन थियो भनेर श्रीदेवीको फिल्म ‘रूपकी रानी चोरोँका राजा’ले साबित गरेको छ । श्रीदेवीले यस फिल्ममा २५ किलोको पहिरन लगाएकी छन् । यो फिल्म सन् १९९३ मा बनेको थियो ।