अख्तियारद्वारा शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, १० अर्ब बिगो दाबी
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आइतबार बिहान अख्तियारले महानिर्देशक शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्धा दायर गरेको हो।
बिही नै विशेष अदालतमा मुद्दा गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको थियो तर शुक्रबार समय अभाव भएको भन्दै मुद्दा दर्ता हुन सकेन।
व्यापारिक सँगको मिलेमतोमा कर फर्छ्यौटमा १० अर्ब भन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
बिहीबार मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गए पनि फाइल रुजु गर्न समय अभाव भएपछि फर्किएको थियो। शर्मालाई गाडीमै राखेर अख्तियार टोली अपराह्न सवा ४ बजे अदालत पुगेको थियो।
‘उनीहरूविरुद्ध १० अर्ब भन्दा बढी भ्रष्टाचारको अभियोग छ। छानबिनका क्रममा व्यापारिक फर्मसँग मिलेर गैरकानुनी लाभ लिएर राष्ट्रलाई ठूलो नोक्सान पुर्याएको देखिएको छ। सुनियोजित अपराध देखिएको छ,’ स्रोतले भन्यो, ‘यस्ता फाइल मात्रै ४५ छन्।’
विभिन्न व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो।
झन्डै १७ सय निवेदनमध्ये आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो। झन्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो।
आयोगमा रहँदा नाम मात्रको कर उठाएको आरोप उजुरीमा थियो। सोही उजुरीमा छानबिन हुँदा अनियमितता देखिएपछि वयानमा उपस्थित हुनुभएका शर्मालाई हिरासतमा लिइएको थियो। शर्मा जेठ १८ मा पक्राउ पर्नुभएको थियो।
अख्तियारले उक्त प्रकरणमा ठूलो चलखेलको आशंका गरेको छ। आयोगले कानुनको परिधि नाघेर २० अर्बभन्दा बढी बक्यौता मिनाहा गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि शंका गर्दै आएको थियो।
महालेखाले कर फर्छ्यौटका नाममा जबर्जस्ती भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णयसमेत दिएको थियो। अख्तियारले आयोगका सबै कागजात कब्जामा लिएर छानबिन गरेको थियो।