'नेपाली प्रेस आंशिक स्वतन्त्र'
नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टको नयाँ किताब 'नेपालमा प्रेस स्वतन्त्रता'मा नेपालको पत्रकारिताको विकास, लोकतान्त्रिक आन्दोलन, प्रेस कानुन र अन्तर्राष्ट्रिय मान्यताका साथै नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बारेमा विश्लेषण गरिएको छ । किताबको सन्दर्भमा डा.विष्टसँग रामकला खड्काले गरेको कुराकानी :
किताबको मुख्य उद्देश्य के हो ?
यो किताब पत्रकारिता क्षेत्रलाई नै केन्द्रित गरेर प्रकाशन गरिएको अनुसन्धनात्मक कृति हो । यसमा पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्ड, अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय सन्दर्भलाई उल्लेख गरिएको छ । राष्ट्रिय सन्दर्भअन्तर्गत संवैधानिक कानुनी व्यवस्था के छ र त्यसको व्यवहारमा अभ्यास कस्तो छ भन्ने विषयलाई तुलना गरेर हेरिएको छ । यसरी तुलना गर्दा एउटा विषयवस्तुको विश्लेषण, सर्वेक्षण र विज्ञहरूको धारणालगायतका सबै पक्षलाई समेटेर अनुसन्धानात्मक विधिबाट गरिएको छ । यो पत्रकारिताको क्षेत्रमा अहिलेको अवस्थालाई इंगित गर्ने र त्यसमा पनि प्रेस स्वतन्त्रताको अवस्थालाई मूर्तरूपमा प्रष्ट्याउन सहयोग पुग्छ भन्ने विश्वासले लेखिएको हो।
किताब तयार पार्ने क्रममा कस्तो अनुसन्धानात्मक विधि प्रयोग गर्नुभयो ?
यो कुनै परियोजनाअन्र्तगत वा समूहगत गरिएको काम होइन । यसमा अनुसन्धान सर्वेक्षणका खण्ड र मैले यही मिल्दोजुल्दो विषयमा विद्यावारिधि गर्दा गरिएका अनुसन्धानका अंश परेका छन् । विषयवस्तुका हकमा त्योबेलाका केही र बढीजसो नयाँ सन्दर्भसँग मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संवैधानिक रूपमा त्यसलाई प्रत्याभूत भइसकेको अवस्थालाई हेरेर विश्लेषण गरिएको छ । पहिलेको सर्वेक्षण तीन तहमा गरिएको छ । एउटा पत्रकारिता क्षेत्रका व्यक्तिहरू, अर्को यसका प्रबुद्ध समुदाय अर्थात् पेसागत समूह र सर्वधारण नागरिक।
प्रेस स्वतन्त्रताका विषयका प्रकाशित अन्य पुस्तकभन्दा यसमा फरक के छ ?
प्रेस स्वतन्त्रतालाई नाप्ने अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधिहरू छन् । मैले पत्रकारिताको अवस्थालाई चारवटा क्षेत्रबाट बढी विश्लेषण गरेर अध्ययन गरेको छु । ती चार क्षेत्रहरूमा पत्रकारको पेसागत र भौतिक सुरक्षाको स्थिति, संवैधानिक, कानुनी र नीतिगत व्यवस्था र तीनको कार्यान्वयनको अवस्था, नियमनकारी निकायका अवस्था । समग्रमा यसका आर्थिक अवस्थादेखि अन्य अवस्था कस्तो छ भन्ने विश्लेषण गरिएको छ । समग्रमा भन्नुपर्दा प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय अभ्यासलाई तुलना गरेर हेरिएको र पुस्तककै रूपमा आएको नेपालमा पहिलो हो ।
पत्रकारिता अभ्यासमा लागेका मानिसका लागि यो पुस्तक कत्तिको लाभदायक छ ?
धेरै नै उपयोगी हुन्छ । आचारसंहिताका व्यवस्थाहरू, अन्तर्राष्ट्रिय अभ्यासमा के छन् भन्ने हेरेर पत्रकारिता गर्ने हो भने धेरै प्रभावकारी हुन सक्छ । पत्रकारितामा अहिले हामी घटनाप्रधान बढी भइरहेका छौं । त्यसलाई विषयमा लिएर आउन पनि यसले केही इन्पुट दिन सक्छ भन्ने लाग्छ । किताबमा प्रेस स्वतन्त्रताको मात्रै कुरा गरिएको छैन, प्रेस स्वतन्त्रतामाथि पनि कतिपय सीमा हुन्छन् त्यो सीमालाई पनि उल्लेख गरिएको छ । गाली बेइज्जतिसम्बन्धी कुरा, गोपनीयताका विषय, अश्लीलतालाई अस्वीकार गर्ने विषयलाई पनि उल्लेख गरिएको छ । राष्ट्रियता, सार्वभौमसत्ताको, भौगोलिक अखण्डताको कुरा, राष्ट्रिय सुरक्षाका विषयमा हाम्रा सीमा कहाँसम्म हो भन्ने कुरा पनि यसमा दिएकाले यो अझै बढी उपयोगी होला जस्तो लाख्छ ।
नेपाली पत्रकारले प्रेस स्वतन्त्रता कत्तिको प्रत्याभूत गरिरहेका छन् जस्तो लाग्छ ?
मेरो अध्ययनको निष्कर्षमा टेकेर भन्नुपर्दा नेपालमा संवैधानिक र कानुनी दृष्टिकोणबाट प्रेस स्वतन्त्रताको व्यवस्था तुलनात्मक रूपमा राम्रो छ । तर त्यसलाई अभ्यासमा हेर्दा जति वातावरण बन्नुपर्ने हो, त्यो बनेको छैन । रेटिङको आधारमा हेर्दा स्वतन्त्र, आंशिक स्वतन्त्र र स्वतन्त्र नभएको गरी तीन विधामा हेर्दा हाम्रो अहिले नेपालको प्रेस स्वतन्त्रता आंशिक स्वतन्त्र वा मध्यम वर्गमा पर्न जान्छ ।
कतिपय सञ्चार माध्यमले प्रेस स्वतन्त्रताको दुरुपयोग गरेको पनि आरोप लाग्ने गर्छ, यिनलाई कसरी व्यवस्थित पार्न सकिएला ?
यसलाई प्रहरी प्रशासन लगाएर वा कुनै अन्य माध्यमबाट नियन्त्रण गर्न सकिन्न । कुनै नियमनकारी निकायलाई बलियो बनाएर सो नियमनको प्रणालीबाट नै नियन्त्रण गर्ने हो । हाम्रो संविधानले जति प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ त्यसले उत्तरदायित्वलाई पनि केही न केही तोकेको छ । प्रेस स्वतन्त्रता भनेको उत्तरदायीविहीन हुँदैन । मैले गरेको अध्ययनमा पनि सामाजिक उत्तरदायित्वको सिद्धान्त जुन हाम्रो पत्रकारितामा छ, त्यसको मापन पनि गर्न खोजिएको छ । त्यसैले हामी उत्तरदायी हुने र स्वनियमनकारी निकायमार्फत त्यसलाई नियमन गरी कमीकमजोरीलाई यही माध्यममार्फत सच्याउने र सुधार गर्नुपर्छ ।