'गुटबन्दी अन्त्य नभए पार्टी धराप'
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताउनुभएको छ । स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोख्नुभयो ।
शीर्ष नेताहरूबाटै गुटबन्दी चलाइएको संकेत गर्दै दाहालले व्यक्तिपिच्छे गुटबन्दी चलाउने नै भए घोषित रूपमै चलाउन चुनौती दिनुभयो । 'पार्टीभित्र गुटबन्दी छैन भनियो तर अझै जीवितै रहेछ । किन लुकिछिपी चलाउनुहुन्छ, गुट नै चलाउने हो भने घोषित रूपमै चलाउनुहोस्,' दाहालको भनाइ उद्धृत गदै सचिवालयका एक सदस्यले भन्नुभयो, 'पार्टी बनाउने सोच नै नबनाई भत्काउने हो भने घोषित गुटबन्दी गरे भइहाल्छ ।'
आफ्नै नेताहरूप्रति चर्काे असन्तुष्टि पोख्नुभएका दाहालले नेताहरू असामाजिक भएको टिप्पणी गर्नुभयो । कांग्रेस-एमालेका नेता दलालै भए पनि, ठेकेदार नै भए पनि समाजमा अन्तरघुलन हुन सकेको तर माओवादी जनताबीच भिज्नै नसकेकाले निर्वाचन हार्नुपरेको दाहालको भनाइ थियो ।
'मान्छे मर्दा मलामी नजाने, विवाह, व्रतबन्धमा सहभागी नहुने, जनताको सुख-दुःखमा कहिल्यै साथमा नहुने हामी माओवादी नेता असाध्यै असामाजिक भएका छौं,' दाहालले नेताहरूप्रति प्रश्न गर्दै भन्नुभयो, 'असामाजिक मान्छे रहेको पार्टीलाई जनताले किन मत दिएर जिताउने ? ' जनताको बीचमा पार्टी नभिजेकै कारण जनताले माओवादीलाई मत नदिएको दाहालको निष्कर्ष थियो ।
दाहालले माओवादी निर्वाचन हार्नुको कारण बैठकमा सुनाउँदै त्यसमा नेताहरूलाई गम्भीर समीक्षा गर्न आग्रह गर्नुभयो । उहाँले एजेन्डा, नेतृत्व, विकासलगायत सबै माओवादीकै भए पनि जनताले भोट किन दिएनन् भनेर खोजी गर्नुपर्ने बताउनुभयो । पार्टी विभिन्न तहमा विभाजन हँदा सहिद, बेपत्ता परिवार र शुभचिन्तक निरास हुनु, पार्टी एकता गरेर क्रान्तिकारी तागत पैदा गरे पनि 'प्रतिक्रियावादी' हरूको भण्डाफोर गर्न नसक्नु, विभाजित शक्तिले आफू जित्नभन्दा माओवादीलाई हराउन भूमिका खेल्नु, जनतामा कांग्रेस-एमालेभन्दा पृथक् शक्ति माओवादी हो भनी आभास गराउन नसक्नु र बाह्य शक्तिकेन्द्रको चलखेललाई रोक्न र बुझ्न नसक्नुजस्ता कारणले चुनावमा हार्नुपरेको दाहालले बैठकमा बताउनुभएको थियो ।
दाहालले अहिले पनि प्रदेश र केन्द्रको चुनाव नगराउने र संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै नेताहरूलाई चनाखो हुन आग्रह गर्नुभयो । उहाँले समानुपातिक समावेशीता हटाउन र संसद्को संख्या ठूलो बनाउन दिन नहुने पनि बताउनुभयो । त्यस्ता षड्यन्त्र देखिए पार्टी फरक ढंगले आन्दोलनमा जानुपर्ने उहाँको भनाइ थियो । 'चुनाव सार्ने र संविधान संशोधन कार्यान्वयनमा षड्यन्त्र भयो भने कांग्रेससँगै माओवादी सती जान सक्दैन,' दाहालले थप्नुभयो, 'यस्तो बेला सरकार छाडेर भए पनि एजेन्डाको रक्षाका लागि लाग्नुपर्छ ।'
झन्डै ४५ मिनेट बैठकलाई सम्बोधन गरेपछि सातवटै प्रदेशका इन्चार्ज÷संयोजकहरूले प्रदेशको रिपोर्टिङ गर्नुभएको थियो । उहाँहरूले कतिपय स्थानीय तहको चुनावी तालमेलमा पार्टी प्रयोग मात्र भएको भन्दै तालमेल प्रभावकारी हुन नसक्नुमा नेतृत्वको कमजोरी भएको बताउनुभएको थियो ।
प्रदेश १, ३ र ४ नम्बरका इन्चार्जहरूले तालमेल कामयावी हुन नसकेको र पार्टी तालमेलमा प्रयोग मात्र भएको बताउनुभएको थियो । हितमान शाक्य, देव गुरुङ, वर्षमान पुन, शक्ति बस्नेत, लेखराज भट्ट, मातृका यादवले पनि सोमबारको बैठकमा रिपोर्टिङ गर्नुभएको नेत्री उर्मिला अर्यालले जानकारी दिनुभयो। मंगलबारबाट बैठकमा जिल्ला इन्चार्जहरूले धारणा व्यक्त गर्ने कार्यक्रम छ ।