‘ढलले बगाएको घटनाको छानबिन गर
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले राजधानीमा अव्यवस्थित ढलका कारण बगेर एक बालिकाको ज्यान गएको तथा अर्की घाइते भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन आयोगले गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ।
विकास निर्माणसँग सम्बन्धित निकायहरूबीच समन्वय अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, प्रभावकारी अनुगमन अभावबाट यस्ता घटना हुने गरे पनि सम्बन्धित निकायले चासो नलिने गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्ता घटना दोहोरिन नदिनेतर्फ तत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारलाई आयोगले आग्रह गरेको छ।