नेपाली जुटाउने किन र कसरी ?
दोस्रो विश्वयुद्धपछि जब जापानीहरूले आर्थिक उन्नति गरे, त्यहाँका मानिसहरू हुलका हुल भ्रमणमा निस्कन थाले । त्यो बेला संसारका जुन कुनामा पनि हवाई दुर्घटना हुन्थ्यो । त्यसमा कुनै न कुनै जापानी हुने गर्दथे । त्यसको माने जापानीहरू नपुग्ने र नपुगेको ठाउँ कतै थिएन । आज नेपालीहरूको अवस्था पनि त्यस्तै छ । संसारको जुन कुनामा गए पनि नेपाली भेट्न सकिन्छ ।
यसबाट नेपाली कवि कालीप्रसाद रिजालको मनोकामना पूरा भएको छ र यो तथ्यले उहाँलाई आनन्द लाग्ने नै भयो । किनभने उहाँले एउटा गीतमा जहाँ गए पनि नेपाली भेटियोस् भनेर कामना गर्नुभएको छ । हुन त जापानीहरू जताततै पुग्नु र नेपालीहरू पुग्नुमा एउटा ठूलो फरक छ । जापानीहरू धनी भएर घुम्न निस्कन्छन् भने नेपालीहरू पैसा कमाउन जान्छन् । जति दुःख पाए पनि मेहनत गरेर कमाउन थाल्छन् ।
यसबाट दुईवटा कुरा प्रस्ट हुन्छ । एउटा, नेपालमा रोजगार नभएर या नपाएर देश बाहिर हिँड्छन् । दोस्रो, मेहनत र पसिना बगाउन तयार हुन्छन् । नेपालमा जस्तो राजनीतिक व्यवस्था आएको छ या भनूँ अव्यवस्था भएको छ, त्यसले लाखौं युवायुवतीलाई रोजगार दिने सपनामा पनि नचिताए हुन्छ । प्रत्येक वर्ष श्रम बजारमा चारदेखि पाँच लाख नेपाली युवायुवती ओइरिन्छन् । अझ शेर र देउवाजस्तो प्रधानमन्त्री हुने देशमा कसैले यस्तो आशा गर्नु पनि मूर्खता हुन्छ । नेपालीहरूले कस्ता प्रधानमन्त्री पाएका छन् भन्ने हालैको बीबीसीको साझा सवालको उदाहरणले पनि देखाइसकेको छ । अहिलेको अव्यवस्थित व्यवस्थाबाट नेता, दल र राज्यका विभिन्न अंगमा विद्यमान मानिसहरू मात्र लाभान्वित हुने देखिएको छ । करिब ३० अर्ब रुपैयाँ खर्च गरेर ल्याएको संविधान न फेद न टुप्पाको छ ।
नेपाल बाहिर बसेका नेपालीभाषीहरू नेपालको नागरिक नभए पनि नेपाली नै कहलाउँछन् । त्यसैले उनीहरूका पिरमर्कालाई नेपाल र अन्य मुलुकमा बसेका नेपालीहरूले आत्मसात गर्नुपर्दछ ।
संविधानले ल्याउनुपर्ने एउटा सुसंगठित व्यवस्था हो । तर हाम्रो संविधानले राणाकालमा जस्तै ३/४ नेताहरूको सहमतिको नाउँमा हुकुमी शासन ल्याएको छ । राज्यका अंग-प्रत्यंगमा भरिएका मानिसहरूलाई सुविधा पुर्याउन कसैले र केहीले पनि रोक्दैन । तर जब जनताले पाउने सुबिधा र सहुलियतको कुरा आउँछ तब एउटा पुर्जीले रोकिन्छ । यसको पुष्टि काठमाडौंको मेयरको भनाइबाट भएको छ । उनले भनेका छन्- मन्त्रालय र न्यायपालिकाले कामै गर्न दिन्न ।
व्यवस्था र विधि त फेरिँदै गर्छ । फेरिरहेको पनि छ । नयाँ संविधान, नयाँ व्यवस्था र नयाँ अनुहारहरू पनि फेरिने नै छन् । तर हाम्रो मुख्य चिन्ता नेपाल र नेपालीको स्थायी पहिचान, अस्तित्व र महत्वको संरक्षणको हो । नेपालै नरहे कहाँबाट नेपाली रहुँला भन्ने आशंका र चिन्ता काल्पनिक होइन । यो वास्तविक नै हो । त्यसैले त राष्ट्रपतिदेखि तल्लो अधिकारीले राष्ट्रिय अस्तित्व, एकता र स्वतन्त्रता नै खतरामा परेको कुरा गर्छन् ।
नेपाललाई बलियो र लायक बनाउने भनेको नेपालीलाई बलियो र लायक बनाउनु नै हो । नेपालका नेपालीलाई मात्र बलियो र लायक बनाउने कुरा गफ मात्र सिद्ध भयो । किनभने एक से एक नेता र शासक आए अनेक सपना देखाएर तर आफ्नो सपना आफ्नै लागि पूरा गर्नुसिवाय अरू केही गरेनन् । अहिले त विदेशीको आड र भरोसामा चलिरहेको सरकार र सत्ताधारीहरूले देश र जनतालाई एउटा जीर्ण अवस्थामा पुर्याउने कामसिवाय अरू केही गरेका छैनन् । नेपालका नेपालीहरूको बलले मात्र नेपालको स्वतन्त्रता बाँचेको होइन । यसमा बाहिर बसेका नेपालीहरूको पनि ठूलो देन छ । एउटा छिमेकीले निल्न खोज्दा अर्को छिमेकीले सहन्न भन्ने विश्वासले पनि हाम्रो स्वतन्त्रता संरक्षित रहेको छ । विदेशीको आडभरोसामा बाँचिरहेका अग्रणीहरूले मौका पाए पहिल्यै देश बेचिसक्थे ।
नेपालको जनसंख्या दुई करोड ८८ लाख पुगेको तथ्यांक बाहिर आएको छ । संसारको सात अर्बभन्दा बढी जनसंख्याको तुलनामा ठूलो होइन । तर नेपालको अस्तित्व र नेपालीहरूको बहादुरीले संसारमा एउटा विशिष्ट स्थान दिएको छ । त्यसमा पनि यसको भौगोलिक अवस्थितिले यसलाई संसारका आँखामा एक आकर्षक देश बनाएको छ । नेपाल आज जति पर्यटनको लागि प्रख्यात छ भारत र चीनको बीचमा परेकोले संसारको दृष्टिमा उति नै सामरिक महत्वको ठाउँ मानिएको छ । नेपालको अस्तित्व भूगोल र इतिहासले मात्र बचाउँदैन ।
यसलाई अक्षुण्ण राख्न यहाँका नेपालीहरू नै लाग्नुपर्छ । तर सवाल उठ्छ- के नेपाल र नेपालीहरूको जिम्मेवारी लिएका व्यक्तिहरूले सो काम गर्दैछन् ? जवाफ सजिलो छ । गरिरहेका छैनन् । त्यस्तो बेलामा नेपाली जनताको कर्तव्य के हुन आउँछ ? यसको उत्तर पनि सजिलै छ । संगठित र एकताबद्ध हुने र देशको संरक्षणमा जुट्ने । सवाल फेरि उठ्छ कसरी ?
यसको समाधान भने उति सजिलो छैन । किनभने नेपालमा आएको राजनीतिक परिवर्तन र त्यसले ल्याएको व्यवस्थाअन्तर्गत विभिन्न दलहरूमा बाँडिएका छन् तर संगठित देखिन्छन् । आफ्नो असन्तुष्टि र मतभिन्नता हुँदाहुँदै पनि धेरै कार्यकर्ता ती संगठनमा बाँधिएर बसेका छन् । यसको विकल्प जनताले नपाएकाले उनीहरूलाई नै आफ्नो मत दिएको तथ्य हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देखिएको छ । जनतालाई यो अवस्थाबाट बाहिर निस्कने बाटो दिनु र देखाउनु आवश्यक छ ।
अब राजनीतिक सिद्धान्तको आधारमा नयाँ बाटो बनाउन खोज्नु मूर्खता हो । किनभने आफूले घोषणा गरेको यस्तो सिद्धान्तमा कुनै पनि दल अड्न सकेको छैन । हुन पनि कसरी अडियोस् ? संसारका एक से एक सिद्धान्तवादी देशहरू नै अड्न सकिरहेका छैनन् । पुराना सिद्धान्तहरू सेलाउँदै गइरहेका छन् । यसकारण आजको सिद्धान्त भनेको आफ्नो देशको गुण र स्रोत बुझेर त्यसैको बलमा देशको विकास गर्नु हो । हावादारी कुरा गरेर जनतालाई धोका दिनु होइन । इमानदारी र दक्षता भएकाले मात्र मुलुकलाई अगाडि बढाउन सक्छ र विकास गर्न सक्छ । हाम्रो देशमा यसको ठीक उल्टा भएकाले देश अधोगतिमा गएको हो ।
नेपालको संरक्षण र विकास नेपालको परिवेशमा मात्र हेरेर हुँदैन । यसको लागि संसारको परिवेश पनि हेर्नुपर्छ । त्यही परिवेश नेपालीको लागि अनुकूल भएकाले संसारका कुनाकाप्चासम्म फैलिएर गएका छन् । वास्तवमा नेपालबाहिर गएका नेपालीहरूको जिम्मेवारी अरू बढेर गएको छ । उनीहरूले आफ्नो कर्मथलोको लागि मात्र गरेर पुग्दैन, आफ्नो जन्म थलोको लागि पनि केही नगरी हुँदैन । चिनियाँ आप्रवासीहरूले चीनको र भारतका आप्रवासीहरूले भारतको विकासमा सहयोग र सहभागिता जनाएका हुन् । त्यसैगरी नेपाली आप्रवासीहरूले पनि यो उदाहरण अपनाउनुपर्दछ । नेपालको आन्तरिक स्थिति बिग्रेको र यसको प्रतिकूल असर उनीहरूमा पनि पर्ने हुनाले नेपालको संरक्षण र विकासमा उनीहरूको सहयोग र सहभागिता अपरिहार्य भएको छ ।
आखिर नेपालीहरू को हुन् ? नेपालमा बसोवास गरिरहेका बहुभाषी सबै नेपाली हुन् । नेपाली भाषा नबुझ्ने र नबोल्ने पनि नेपाली नै हुन् । नेपाल बाहिर बसेका नेपालीभाषीहरू नेपालको नागरिक नभए पनि नेपाली नै कहलाउँछन् । दाजिलिङ र भारतका अन्य भागमा बसोवास गरेका नेपालीभाषीहरू पनि सांस्कृतिक नाताले नेपालसित जोडिएका छन् । त्यसैले उनीहरूका पिरमर्कालाई नेपाल र अन्य मुलुकमा बसेका नेपालीहरूले आत्मसात गर्नुपर्दछ । नेपालको तराई र हिमालमा बसेका नेपालीहरूले नेपाली भाषा बुझ्न र बोल्न सक्दैनन् ।
तर त्यसले उनीहरू नेपाली हुनमा कुनै कठिनाइ छैन । विश्वभर फैलिएर बसेका नेपालसित कुनै न कुनै प्रकारको नाता भएका सबैलाई नेपालीको नाउँमा एउटै गाँठोमा गाँस्नुपर्दछ । फिजीजस्तो कतिपय यस्ता देशहरू छन्, जहाँका बासिन्दा नेपाली मूलका हुन् तर नेपाली भाषा बोल्दैनन् । विकसित देशहरूमा बसोवास गरेका नेपाली मूलका आप्रवासीहरूका सन्तानहरूले नेपाली भाषा बोल्दैनन् । तर उनीहरू नेपाली संस्कृतिसित जोडिएका छन् । उनीहरूलाई पनि नेपालीकै सगोलमा राख्नुपर्दछ । जति छिटो यी सबै नेपालीलाई एकै गाँठोमा जुटाउन सकिन्छ र नेपालमा रुचि बढाउन सकिन्छ उति छिटो यो देश र जनताको कल्याण हुनेछ ।