स्थानीय तह नेतृत्वका चुनौतीहरू

स्थानीय तह नेतृत्वका चुनौतीहरू

पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय निर्वाचनको क्रममा ६१७ मध्ये भरतपुर महानगरबाहेक ६१६ स्थानीय तहले जननिर्वाचित नेतृत्व पाएको छ । प्रदेश नं २ मा तेस्रो चरणमा आगामी असोज २ गते निर्वाचन हुने भनिएको छ । एकात्मक, सामन्ती, राजतन्त्रात्मक र बहुदलीय शासन प्रणालीबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेको छ ।

Krishna-Pdकरिब ६ दशकपछि आमूल रूपमा पुनर्संरचना भएको स्थानीय तह जो मुलुकमा आमूल रूपमै बदलिएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको शासन प्रणालीअन्तर्गत संवैधानिक रूपमा नै विशेषाधिकारसहितको स्थानीय सरकारमा रूपान्तरण भएको छ । राष्ट्र र लोकतान्त्रिक गणतन्त्रको अनुभूति गराउने स्वायत्त निकायको रूपमा बनेको स्थानीय तहमार्फत राजधानी र सदरमुकामका धेरै अधिकार जनताको घरदैलोमा पुगेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रहेका राज्यका तीनवटा तहमध्ये प्राथमिक र महत्वपूर्ण रहेको स्थानीय तहमा बीस वर्षपछि हुँदै गरेको स्थानीय निर्वाचनमा जनताको व्यापक सहभागिता देखिएको छ । यो निर्वाचनमा २०३७ यता जन्मिएका युवापंक्तिले पहिलोपटक मतदान गरेका छन् । मध्यअसारको वर्षात् र खेतीपातीको समय हुँदाहुँदै पनि ७३ प्रतिशत मतदाता आफ्ना घरदैलोका जनप्रतिनिधि छान्न संलग्न भएका छन् । स्थानीय निर्वाचनको सफलताले नयाँ संविधान र संघीय शासन प्रणालीको जनअनुमोदन भएको छ ।

नागरिकहरू विद्यमान राजनीतिक संक्रमणकालको अन्त्य गरेर आर्थिक समृद्धि र सामाजिक न्यायको नयाँ युगमा प्रवेश गर्न चाहन्छन् भन्ने उद्घोष गरेको छ । वर्तमान शासन प्रणालीमा स्थानीय तह शक्तिशाली र अधिकारसम्पन्न निकायको रूपमा स्थापित छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार एकसाथ स्थानीय तहले प्रयोग गर्दैछ । अहिलेको स्थानीय तह हिजोको जस्तो केन्द्रनियन्त्रित निकाय होइनन् । प्रदेश र केन्द्रमा भन्दा बढी स्थानीय तहमा विशिष्ट खालको स्वायत्तता र अधिकार छ ।

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र नेतृत्वलाई जिम्मेवार बनाउने कुरामा राज्य, राजनीतिक दलहरू र सरोकारवालाहरू गम्भीर हुनैपर्छ ।

स्थानीय तहले आफ्नो कार्यक्रम, बजेट, स्रोत व्यवस्थापन र कानुन निर्माण कार्यहरू गर्नेछन् । संविधानले विभिन्न धारा र अनुसूचीमा स्थानीय तह र निर्वाचित प्रमुख, उपप्रमुख र सभाको अधिकार र जिम्मेवारी तोकेको छ । स्थानीय तहका प्रतिनिधिहरू संसद्, सरकार र न्यायालयको जिम्मेवारी एकसाथ सम्हाल्दैछन् । स्थानीय तहका प्रमुखले एकसाथ स्थानीय सरकारको प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्दैछन् । न्यायिकलगायतका कतिपय अधिकार उपप्रमुखलाई दिइएको भए पनि त्यहाँ हल नहुँदा वा जिम्मेवारीको हिसाबले प्रमुखको क्षेत्राधिकारभित्रै स्वतः पर्नेछ । सार्वभौम नागरिक समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा स्थानीय तह र जननिर्वाचित प्रतिनिधिहरूले प्रत्यक्ष भूमिका खेल्न सक्नेछन्।

एकात्मक शासन प्रणालीबाट संघीय शासन प्रणालीमा प्रवेश गरिरहँदा सबैभन्दा पहिला स्थानीय तहको निर्वाचन भएको छ । प्रदेश नं २ को स्थानीय निर्वाचनलगत्तै प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यसूची निर्वाचन आयोगले प्रस्ताव गरिसकेको छ । पन्ध्र वर्षदेखि कर्मचारीको नेतृत्वमा रहेको स्थानीय निकायबाट नागरिकले सुशासन, विकास र सामाजिक न्यायको पर्याप्त अनुभूति गर्न सकेनन् । यो निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरू आआफ्नै महत्वाकांक्षी घोषणापत्र लिएर मतदाताहरूबीच पुगेका थिए ।

अघिल्लो र पछिल्लो स्थानीय निर्वाचनबीचमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको छ । दलहरूको घोषणापत्र हेर्दा काठमाडौं महानगरदेखि दुरदराजमा रहेका गांउपालिकाको विकास, समृद्धि र न्यायको लागि प्रस्तुत खाकाहरू पूरा गर्ने सन्दर्भ नै निर्वाचित जनप्रतिनिधिहरूका लागि चुनौतीपूर्ण हुनेछन् । अब भाषणमा होइन, व्यवहारमा आफ्ना प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिहरू अग्रसर हुनुपर्नेछ । विगतभन्दा फरक हुनु बाध्यात्मक चुनौती हुनेछन, यसर्थ कि चारपाँच वर्ष बित्न समय लाग्ने छैन । प्रतिबद्धताबमोजिम कार्यान्वयन प्रगति लिएर जनताबीच जानुपर्ने भएकाले जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्नेछ । मुलुकले अपेक्षा गरेको समाजवादोन्मुख समृद्धिमार्र्फत मुलुकलाई विकसित बनाउने कार्यभार आधारभूत तहबाट सुनिश्चित गर्नु उनीहरूको जिम्मेवारी हो ।

स्थानीय तह र निर्वाचित जनप्रतिनिधिबाट आम नागरिकको यति धेरै चाहना छन् कि तिनलाई सम्बोधन गर्नु र चित्त बुझाउनु फलामको च्युरा चपाउनुसरह हुनेछ । विकास, सुरक्षा र रोजगार नै आम नागरिकका प्राथमिक अपेक्षा हुन् । आम नागरिकका अपेक्षा बढी छन्, सँगसँगै त्यसका लागि सहकार्य र योगदानको प्रतिबद्धता पनि छ । तिनलाई पूरा गर्ने मार्ग पहिल्याउनु र आम नागरिकको भूमिकालाई सन्तुलित बनाउनु जनप्रतिनिधिहरूका लागि चुनौती छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू आइसकेपछि विभिन्न खालका अन्तरविरोधहरू सुरु भइसकेका छन् ।

संविधानको भावनाबमोजिम स्थानीय तहको सञ्चालन र व्यवस्थापनको लागि आवश्यक कानुनहरू बनिसकेका छैनन् । निर्वाचनको प्रतिबद्धता र विजयको उत्साह र वेगसहित आएका जनप्रतिनिधिहरूले कानुनको अभावमा काम गर्ने परिस्थिति बन्न सकेको छैन । जनप्रतिनिधिहरू विद्यमान कानुन र स्रोतको अवस्थाबारे पूर्ण जानकार नभईकन लोकप्रिय निर्णयहरू गर्न उद्यत् देखिएका उदाहरण पनि छन् ।

कतिपय जनप्रतिनिधिहरूको जिम्मेवारीभन्दा पनि आफूले पाउने सेवासुविधाका सन्दर्भमा चिन्तित देखिन थालेका छन् । उनीहरूमध्ये कतिपयले ठूलो धनराशि खर्च गरेर पनि निर्वाचन लडेका र जितेका छन् । पूर्णकालीन रूपमा काम गरिरहँदा उनीहरूको जीविका पनि सोचनीय विषय बन्नु स्वाभाविक छ । प्रस्तावित सुविधाहरू जुन आकर्षक थिए, जसले जनप्रतिनिधि हुने आसक्ति बढेको पाइयो । जनप्रतिनिधिहरूको सुविधाको सन्दर्भमा विरोधाभास देखिएको छ । स्थानीय जनप्रतिनिधिको सुविधा प्रदेशसभाले कानुन बनाएर तोक्ने हाल प्रदेशसभा नभएको र बन्नको लागि केही महिना लाग्ने अवस्थाले अन्योल उत्पन्न गरेको छ । यद्यपि अन्तरिम व्यवस्था गर्ने र आन्तरिक स्रोतका आधारमा व्यवस्था गर्न सकिने भनिए पनि आफ्नै सुविधाको अलोकप्रिय निर्णय गर्न पक्कै तयार हुने छैनन् ।

स्थानीय तहमा अधिकार, संरचना र कर्मचारीहरूको व्यवस्था यति धेरै गरिएको छ कि जसको व्यवस्थापन गर्न चुनौतीपूर्ण छ । सदरमुकाममा जिल्लास्थित कार्यालयहरूले गर्ने शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, मालपोत, नापी, भूमिसुधारका सेवाहरू स्थानीय तहमै आउनेछन् । सेवा मात्रै होइन, कर्मचारीहरू पनि स्थानीय तहमै समायोजन हुनुपर्ने हुन्छ । एक तथ्यांकअनुसार स्थानीय तहको सञ्चालन र व्यवस्थापनको लागि ६० हजारभन्दा बढी कर्मचारीको आवश्यकता छ । प्रशासनिकका अलावा प्राविधिक जनशक्ति र संरचना व्यवस्थित गर्न निकै कठिन छ । निजामती सेवामा विभिन्न कार्यालयमा रहेका कर्मचारी र प्राविधिक जनशक्ति स्थानीय तहमा जान इच्छुक देखिएको छैन ।

त्यस्तै संरचना खडा गर्न पनि त्यत्तिकै कठिन देखिएको छ । यस्तो अवस्थामा समस्त कामको व्यवस्थापन गर्न र जनताका अपेक्षा पूरा गर्न जननिर्वाचित प्रतिनिधिहरूलाई कठिन छ । गत सोमबार देशैभर स्थानीय तहलाई सभा गर्न र बजेट तथा कार्यक्रम तय गर्न कार्यसूची तय भएको थियो । कतिपय स्थानीय तहमा संरचना र अनुभवको कमीको कारण पूरा हुन सकेन । स्थानीय तहलाई अधिकार दिने कुरामा केन्द्रमा रहेका कर्मचारी र संयन्त्रहरू त्यति धेरै सकारात्मक देखिएका छैनन् ।

संविधानतः प्राप्त अधिकारलाई कानुनद्वारा व्यवस्थापन गर्ने कार्यमा विभिन्न समस्या देखिएका छन् । त्यस्तै स्थानीय तहलाई स्रोत दिने सवालमा पनि संकुचन देखिएको छ । जनताको घरदैलोमा संविधानतः प्रक्षेपित अधिकार सिंहदरबार र सदरमुकामतिरै फर्कने खतरा देखिँदैछ । केन्द्रमा रहेका उच्च प्रशासकहरू र स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूबीच अन्तरविरोध सुरु भइसकेको छ । प्रशासकहरू जनप्रतिनिधिमाथि स्वच्छन्दताको आरोप लगाउँदैछन् भने जनप्रतिनिधिहरू आफ्नो काममा कानुनी र संरचनागत समस्या हल गर्ने तत्परता नदेखाएकोमा चिन्तित हुन थालेका छन् ।

अधिकार जति स्थानीय तहमा जान्छ, त्यति नै नागरिक सन्तुष्ट हुनेछन् । नागरिकको सन्तुष्टि नै शासन व्यवस्था र प्रणालीको प्रभावकारिताको आधार हुनेछ । स्रोतहरूलाई स्थानीयकरण र अभिवृद्धि गर्ने र विकास एवं समृद्धिका कामलाई प्राथमिकतासहित अघि बढाउने कार्यमा ध्यान पुग्नुपर्छ । स्थानीय तहमा भौतिक पूर्वाधार विकासका अलावा रोजगार, उत्पादन र व्यवसायमार्फत समुदायको जीवनस्तरमा परिवर्तनसमेत प्राथमिकतामा पर्नुपर्छ । त्यसैले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र नेतृत्वलाई जिम्मेवार बनाउने कुरामा राज्य, राजनीतिक दलहरू र सरोकारवालाहरू गम्भीर हुनुपर्ने देखिन्छ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.