मित्रलाई वैरी बनाउने नीति

मित्रलाई वैरी बनाउने नीति

'यो निर्वाचनले जातीय र क्षेत्रवादमा आधारित एकल पहिचानको राजनीतिलाई मृत्युदण्ड दिएको छ । वैदेशिक निकायहरू तथा दूतावासको सहयोग र उक्साहट तथा केही बौद्धिक मर्सिनरीहरूको प्रोपोगन्डाबाट निर्देशित उग्र जातीय तथा क्षेत्रीय राजनीति जनादेशबाट अस्वीकृत हुनु शुभसंकेत हो ।' (युवराज घिमिरे अन्नपूर्ण, शुक्रबार २३ असार २०७४)

kamal-koirala_1यस वर्ष भएको पहिलो र दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको यो विश्लेषणको निष्कर्ष सही लाग्छ । चार महिनाअघि २८ फागुन २०७४ मा सगरमाथा टेलिभिजनका जीवराम भण्डारीसँग एसटीभी च्याटमा मैले भनेको थिएँ कि यो तथाकथित मधेसवाद एउटा उफारिएको कुरो हो । यो उब्जिएको होइन, उब्जाइएको हो । यसको संगठन भारतीय गुप्तचर एजेन्सी रअ, भारतीय दूतावास, काठमाडौं, वीरगन्ज कन्सुलेट जनरल अफिस भारतीय विदेश मन्त्रालयका एक खण्ड हुन् । यो प्रत्यक्ष प्रसारणमा धेरैले हेरे र थप युट्युबमा पनि ११७२१ जनाले पछि हेरेछन् । त्यसको तीन÷चार महिनापछि नेपालमा स्थानीय निकाय दोस्रो चरणको निर्वाचन भयो ।

अब कैयौंलाई परिसकेको छ र पर्दैछ कि यो तथाकथित मधेसवाद १०÷११ वर्षजति विदेशी गुप्त लगानी र मलजल हाले पनि आज नेपालमा बढ्न, विकसित हुन र हुर्कन सकेन । झन्झन् सुक्दै गयो । तमलोपा, सद्भावना र केही मधेसकेन्द्रित नेताका दलहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा लड्ने हिम्मत जुटाउन सकेनन् ।

स्थानीय निर्वाचनमा लडेका र परिणाम घोषित ६ सय १७ मध्ये नयाँ शक्ति संघीय समाजवादी फोरमले पहिलो र दोस्रो चरणको निर्वाचन गरी जम्मा १० स्थान प्राप्त गरेको अवस्था छ । फोरम लोकतान्त्रिकले ६ स्थान प्राप्त गरेको छ । आफूलाई मधेसकेन्द्रित भन्ने ६ वटा दलका नेताहरूले मिलेर राजपा बनाएका छन् । तर अहिले दल दर्ता गरे पनि चुनावमा भाग लिने हिम्मत जुटाउने हुन् कि होइनन्, त्यो हेर्नै बाँकी छ । बरु उल्टो दुई चरणको निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको माओवादी केन्द्रसमेत अब तेस्रो चरणको निर्वाचन एउटा-एउटा बहानामा नगर्ने दाउ झिक्न थालेको देखिन्छ । संविधान संशोधन हाल सम्भव देखिँदैन भनी नेपाली कांग्रेस र प्रचण्डले भने पनि उपप्रधानमन्त्री कृष्णबहादुर महरा संविधान संशोधन नभई तेस्रो चरणका चुनाव नहुने कुरा सार्वजनिक रूपमा बोल्दैछन् ।

राष्ट्रिय स्वाधीनता, अखण्डता र प्रजातन्त्र नेपाली जनताका सर्वोधिक प्रिय कुरा हुन्, जसले यसमध्ये एउटा पनि छोड्छ भने त्यो नेपाली जनताको प्रिय हुन सक्दैन ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले तथाकथित मधेसवादी नेताहरूलाई चुनाव लड्न भनेको कुरा नेपाली अखबारहरूमा आएको छ । जबसम्म भारत सरकारले छिमेकी देशहरूसँग सम्बन्ध सुधारे गर्दैनन्, छिमेकका जनतामा सद्भावना उत्पन्न गर्न सक्दैनन् र छिमेकको दलदलमा खुट्टा भासिएर अरू देशसँग प्रतिस्पर्धामा जति प्रगति गरे पनि दौडबाजी गर्न असमर्थन नै रहिरहन्छ । भारतीय बुद्धिजीवी र पूर्व कूटनीतिज्ञहरूले समेत यो कुरो तीन÷चार वर्षदेखि भन्न र लेख्न थालिसकेका छन् ।

भारतको आन्तरिक भोटको संकीर्ण र झूटो राजनीतिको चुनावी चक्करमा र कहिलेकाहीं विदेशी सामरिक पार्टनर ठानिएका बलिया देशको सल्लाहमा भारतले छिमेकमा अदूरदर्शी मात्र होइन, आत्मघाती नीति लिएका उदाहरणहरू पाइन्छ । सबैभन्दा ज्वलन्त उदाहरण छ श्रीलंका, कोलकत्ताआधारित भारतीय पत्रकार सिमासेन गुप्ताका लेखहरू भारतीय र विदेशी दैनिकहरूमा प्रकाशित भइरहेका हुन्छन् । उनले लेखेकी थिइन्- सोभियत रूससँग बीसबर्से सैनिक गठबन्धन गरेकी इन्दिरा गान्धीलाई जब श्रीलंका सरकारले श्रीलंकाका बन्दरगाहहरूमा अमेरिकी समुद्री सेनाका पोतहरूलाई वि श्राम गर्न व्यवस्था गर्न लागेको थियो । सोभियत रूसले इन्दिरा गान्धीलाई गुप्ता सल्लाह दियो कि यस्तो हुन गयो भने भारतको सामरिक र सुरक्षामा धेरै प्रतिकूलता आउनेछ । त्यसैले श्रीलंकाको त्यस भूभागमा अशान्तिपूर्ण विद्रोह उचाल्नुपर्छ । जसले गर्दा अमेरिकी युद्धपोतहरूले त्यहाँ वि श्राम गर्ने विचार परित्याग गरून् ।

भारतीय गुप्तचर एजेन्सीहरूले केके गरे, तमिलनाडु सरकार र यसका एजेन्सीहरूले कति-कति धनराशि सालाना लगानी गरे, त्यो केहीपछि मात्र हामी र संसारलाई थाहा हुँदै गयो । तर नेपालीले पनि प्रत्यक्ष के देख्यौं भने इन्दिरा गान्धी प्रधानमन्त्री र सोभियत रूससँग बीसबर्से सैनिक गठबन्धनमा रहेका बखत २३ जुलाई १९८३ मा सुरु भएको लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) को पृथकतावादी सशस्त्र कारबाहीहरू जोडतोडले सुरु भयो र लगभग २६ वर्ष (२५ वर्ष नौ महिना, तीन हप्ता र चार दिनपछि) १८ मई २००९ मा प्रभाकरण मारिएपछि समाप्त भयो ।

खालिस्तान स्वतन्त्र देश बनाउने विद्रोह पन्जाबमा भएपछि र इन्दिरा गान्धीले ३० हजार भारतीयहरू मारिँदा र दमन गर्दा उनका शिख बडीगार्डहरूद्वारा मारिएपछि उनका छोरा राजीव गान्धीको सम्पूर्ण कार्यकालमा लिट्टेको श्रीलंकामा अलग स्वतन्त्र देश बनाउने विद्रोह चलिराख्यो । भ्रष्टाचारको ठूलो बोफोर्स काण्डपछि राजीव गान्धीले चुनाव हारे र त्यसपछि प्रधानमन्त्री भएका भिपी सिंहले इन्डियन पिस किपिङ फोर्स भनी श्रीलंकामा गएको भारतीय सेना फिर्ता गरे । तर 'रअ' आईभी तमिलनाडु सरकार र त्यसका गुप्तचर एजेन्सीहरूले श्रीलंकामा ठूलो धनराशि लगानी गर्न छोडेनन् ।

तमिलनाडुका कैयौं ठाउँ तमिल इलमका सैनिक शिविरहरू चलि नै राखे र श्रीलंकामा अनसिभिल वार चलि नै राख्यो । यो अनसिभिल वार शब्द मैले भारतका ठूला काउन्टर इन्सरजेन्सी विशेषज्ञ र लेखक वेद मारवाहको अन सिभिल वार भन्ने पुस्तकबाट सापट लिएको हुँ । मोटो अर्थमा सिभिल वार गृहयुद्धलाई भन्छन् । तर नयाँ शब्द अनसिभिल वारको अर्थ व्याख्या नगरी अति संक्षिप्तमा भन्दा त्यस्तो गृहयुद्ध जसलाई विदेशी शक्तिले साथ दिएको वा अति गुप्तरूपले उचालेको हुन्छलाई भन्छन् ।

अनसिभिल वारको २६ वर्षमा श्रीलंकाका राष्ट्रपति प्रेमदासा, भारतका प्रधानमन्त्री राजीव गान्धी, श्रीलंकाका समयसमयका क्याबिनेट मन्त्रीहरू ललित अतुलाथ, जयराम फर्नान्डोपुलले समेत नौजना मारिए । साथै २६ केन्द्रीय सांसदहरू र प्रान्तीय र स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू सयौं मारिए । श्रीलंकाका सेनाका २३३२७ र विद्रोही लिट्टेका सर्वोच्च कमान्डर भिलुपिल्ले प्रभाकरणलगायत २७ हजार मारिए र ११६४४ पक्राउ परे । राजीव गान्धीले पठाएको भारतीय सेना उच्च बिन्दुमा एक लाखसम्म पुगेकामध्ये एक हजार २ सयभन्दा बढी मारिए ।

युद्धको लागि श्रीलंकाले भारी मूल्यमा हतियार किन्नुपर्दा लिएको ऋण र ठूलो रगत बगाएपछि अन्त्यमा श्रीलंकाको सेना, जनता र सरकारको जित भयो । श्रीलंकालाई हतियार बेचिरहेको अमेरिकाले पनि पछि हतियार बेच्न र दिन ठ्याम्मै रोकिदियो । श्रीलंकाको सरकार र सेनासामु चीनसँग सैनिक सामग्री किन्नु र लिनुको विकल्प रहेन । पहिले अमेरिका र अरू देशहरूसँग लिएको ऋणको बोझ त छँदै थियो, अब देशको विखण्डन र विभाजन रोक्न चीनसँग पनि ऋण लिने बाध्यता भयो । विदेशी ऋणहरूका कारण श्रीलंका झन्डै दिवालिया हुने वा टाट पल्टिने ठाउँमा पुगिसकेको थियो । चीनले आठ अर्ब अमेरिकी डलर युद्ध लड्न र अन्य निर्माणको लागि दियो । ऋण तिर्न नसकेर टाट पल्टिने किनारामा उभिएको श्रीलंकाले ऋण तिर्न हमबनटोटा समुद्री बदरगाह चीनलाई एक कम सय (९९) वर्षको लागि लिजमा दियो ।

अब भारतको स्थिति आफूले नै उचालेको श्रीलंकाको गृहयुद्धको कारण अमेरिकाका युद्धपोतहरू त त्यहाँ पुगेनन् तर झन्डै सय वर्षलाई चीनका व्यापारिक जहाजहरू त्यहाँ जाने, बस्ने र वि श्राम गर्ने स्थलमा परिणत भयो । ठूलो भुइँचालोले जनता थिलोथिलो भएको नेपालका जनतामाथि त्यस्तो दुःखकष्टमा समेत अमानवीय पीडा थप्ने काम गर्दै आएको भारतले पाँच÷छ महिना अघोषित नाकाबन्दी गर्दा त्यसताका प्रधानमन्त्री रहेका केपी ओलीले भारतले नाकाबन्दी नखोली म भारत जान्न भनेपछि भारतले अघोषित नाकाबन्दी खुसुक्क अन्त्य गरेको पनि हामीले देख्यौं । चीनसँग वैकल्पिक समुद्री बन्दरगाहहरू नेपालको वैदेशिक आयातनिर्यातको लागि गर्नैपर्ने बाध्यता पनि आइपरेको थियो । केपी शर्मा ओलीले चीनसँग गरेका व्यापार, पारवहन र अन्य सम्झौताहरूका कारण नेकपा एमाले राष्ट्र र जनताका हितमा काम गर्न अझै समर्थ छ भन्ने विश्वास एकपटक फेरि लामो अन्तरालपछि कायम भयो ।

राष्ट्रिय स्वाधीनता, अखण्डता र प्रजातन्त्र नेपाली जनताका सर्वोधिक प्रिय कुरा हुन्, जसले यसमध्ये एउटा पनि छोड्छ भने त्यो नेपाली जनताको प्रिय हुन सक्दैन । भारतको बन्दोबस्तबमोजिम पहिलो पालो प्रचण्ड प्रधानमन्त्री र त्यसपछि शेरबहादुर देउवाको पालो बाँधियो । तर प्रधानमन्त्री भएपछि प्रचण्डले जेजस्ता काम गरे, त्यसलाई नेपालका कैयौं पत्रकार र बुद्धिजीवीहरूले 'लम्पसारवादको नामकरण गरे । एकातिर मौकामा केपी शर्मा ओलीको प्रखर राष्ट्रवादी प्रचार र अर्कोतिर प्रचण्ड र शेरबहादुर देउवाको लम्पसारवादको प्रदर्शनले पनि यसपटक स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेलाई अनकूलता प्राप्त भयो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.