राज्यले एम्बुस थापेको सहर

राज्यले एम्बुस थापेको सहर

राजधानीमा ढलमा बगेकी बालिकाको निधन भएको खबरले मन हल्लाइरहेको छ । शासकहरूले जीवन कति मूल्यहीन बनाइदिएका छन् !विश्वको विकासक्रमसँगै स्वतः स्फूर्त आउने विकासका अवधारणाबाहेक यहाँका शासकहरू आफैंले केही गरेका छैनन् । राज्यकोषबाट अर्बौं रुपैयाँ झारा टार्न खर्च गरिएको छ । कस्ता नेताहरू नजन्मिएको देशमा जन्मिएछौं हामी । बीसौं वर्षदेखि विकासको कुनै यस्तो परियोजना छैन, जसमा गर्व गर्न सकियोस् । केही थालिएका योजनाहरू पनि अपूरा-अधुरा छन् ।

manoj_dahalराजधानीमा बाटाहरू चौडा पारिए तर अधिकांश बाटाहरू योजनामुताबिक होइन, हचुवामा चौडा पारिएका छन् । त्यसको मोटाइ, गुणस्तर र मापदण्डको कसैलाई कुनै परवाह छैन । सडक विभागका कर्मचारी र इन्जिनियरहरू पछिल्ला वर्षहरूमा सबैभन्दा मालामाल भएका छन् ।शासकहरू असंवेदनशील भएको राज्यमा जीवनको कुनै मूल्य हुँदैन । मानव चोला कति विशिष्ट छ भन्ने यहाँका शासकहरूको दिमागमा घुस्दैन । प्रधानमन्त्री, सचिव, मेयर वा शाखा अधिकृत बन्नु नै सफलताको परिचायक हो यहाँ ।

जसरी संविधान बन्नु वा गणतन्त्रको घोषणा हुनुलाई नै प्राप्ति वा गन्तव्य ठानिरहेका छौं हामी । चिल्लो गाडीमा सयर गर्नु, एउटा आलिशान बंगलामा बस्नु र तल्लो निकायलाई केही निर्देशन दिनु- अधिकारप्राप्त व्यक्तिको जम्मा काम नै यत्ति हो भन्दा फरक पर्दैन ।

राज्यमा विकास निर्माणको लागि कुनै संयन्त्र छैन । भएका संयन्त्रहरू पनि भुत्ते, अपांग र गैरजिम्मेवार छन् । बजेट सिध्याउनेभन्दा कुनै अर्को दाउ देखिँदैन । राज्यकोष लुट्नेबाहेक अर्को कुनै ध्याउन्न देखिँदैन । सुख, सुविधा र सम्पत्तिको चाहना देखिन्छ, शासकहरूका हरेक व्यवहारमा । हो, योचाहिँ शासक हुनलायक छ भनेर आशा गर्ने एउटै अनुहार सम्झन सकिन्न । तैपनि हामी गणतन्त्रको माला जपिरहेछौं । यहाँ गणतन्त्र छ, अरू केही पनि छैन ।

शासकहरूले काठमाडौंलाई कस्तो बस्नै नसकिने सहर बनाए । मोनोरेल र स्मार्ट सिटीको कुरा सुन्दा लाजले पानीपानी हुन्छु । शौच गरेर पानी बगाउन मिल्ने केही शौचालयको निर्माण गरिदिए धन्य हुने थियौँ । राजधानी सहरमा शौचालयहरूसम्म छैनन् । तैपनि नेतागणहरू, नवनिर्वाचित जनप्रतिनिधिहरू ठूलाठूला सपना बाँडिरहेका छन् । सपनाहरू मात्र छन् यहाँ, सपनाहरूबारे सुन्दासुन्दा वाक्क भइसकेका छौं । योजनाको कार्यान्वयन पक्ष साह्रै कमजोर छ ।

योग्यताको न्यूनतम मापदण्ड काम गर्नु हो भने योग्यहरू साह्रै कम छन् शासनमा । भएका योग्यहरू गफ गर्न मात्र योग्य छन् । शासकहरू निर्देशनमाथि निर्देशन दिइरहेका छन् । प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन । मन्त्रीले सचिवलाई निर्देशन । सचिवले सहसचिवलाई निर्देशन । सहसचिवले आफूभन्दा तल्लो निकायलाई निर्देशन । मानौं राज्य निर्देशन दिने एउटा अखडा मात्र हो ।

राजधानीको ढलमा बगेर बालिकाको निधन भएको खबरले आम मन हल्लाइरहेको छ । शासकहरूले जीवन कति मूल्यहीन बनाइदिएका छन् !

सहरको एकैछिन भ्रमण गर्ने हो भने मन भाँडिएर आउँछ । सबैतिर लाग्छ, सरकारले सहरभरि एम्बुस बिछ्याएको छ । घरबाट बाहिर निस्कँदा बडो होसपूर्वक निस्किनुपर्छ । कहाँ चिप्लिइने हो, कहाँ लडिने हो, कहाँ बंगारा फुस्किने हुन्, कहाँ खसिने हो, कुनै टुंगो हुँदैन ।

काठमाडौंमा उकुसमुकुस हुन्छ । चारभञ्ज्याङ काट्नेबित्तिकै फोक्सोमा प्राणवायु भरिएर ज्यानमा अर्कै फूर्ति आउँछ । बाँदरको हातमा नरिवल भन्ने उखान काठमाडौंका शासकहरूलाई नै हेरेर बनाएजस्तो लाग्छ । धुलो, धुवाँ र फोहोर देख्दा लाग्छ- मानौं सिंगो काठमाडौं नै फोहोर फाल्ने एउटा डस्टबिन हो ।

सामाखुसीको नालीमा चिप्लिएर खसेकी सत्याको भिडियो पटकपटक हेरें । कोमल जीवन कति खतरामा बाँचिरहेको छ यो सहरमा । बालबालिका जमिनमा आकाशका ताराहरू हुन् । तर असंवेदनशील र बहिरा शासकहरूलाई यो भन्नु पनि बेकार छ । व्यवस्था भन्ने कुनै चीज कतै छैन । शासकहरू योजना बाँड्नमै व्यस्त छन् । उनीहरूलाई त्योबाहेक अरू केही आउँदैन ।

कहाँ जाँदैछौं हामी ? कहाँ जाँदै छ यो सहर ? सम्झेरै उकुसमुकुस हुन्छ । भ्वाङहरू छन् जताततै । कुन भ्वाङमा कुन बेला जीवनको बलि चढ्ने हो, कुनै ठेगान छैन ।अहिले नयाँ जनप्रतिनिधि चुनिएर आएका छन् । शेरबहादुर देउवा भर्खरै चौथोपटक मुलुकको कार्यकारी नियुक्त भएका छन् । उनीहरूले चाहे केही गर्न सक्छन् । रछ्यानै-रछ्यानको यो एम्बुसरूपी सहरलाई साँच्चैको सहर बनाउन सक्छन् । प्रधानमन्त्री देउवाले सचिवहरूलाई निर्देशन दिनेबित्तिकै खाल्टाहरू पुरिन थालेका छन् । स्रोतको कुनै कमी छैन । ससाना योजना र त्यसको कार्यान्वयन मात्र चाहिएको छ । काम गर्नुपर्छ भन्ने चेत मात्र शासनमा बसेकाहरूलाई आइदिए काठमाडौं एक वर्षमै पुरानै स्वरूपमा फर्कन सक्छ । :

काठमाडौंलाई संसारकै उत्कृष्ट सहर बनाउन सकिन्छ, तर शासकहरूले यसलाई संसारकै निकृष्ट सहर बनाइरहेका छन् । सडकमा बेपरबाहसँग चलेका गाडी, माइक्रोबस, मोटरसाइकल हेर्दा मनमा गहिरो उदासी आउँछ । कहाँ दौडिरहेको छ यो सहर ?
कहाँ भागिरहेका छौं हामी ?

वर्षौंदेखि बनिरहेका सडकहरू अधकल्चा छन् । धुलो यसरी उडिरहेको छ, फोक्सो जोगाउन धौधौ भएको छ । गाडीहरू यसरी दौडिन्छन्, मानौं मृत्युको बाटो हिँडिरहेका हुन् । मृत्युको स्रोत अव्यवस्था हो । नकारात्मकता नै मृत्युको द्वार । यस अर्थमा सारा काठमाडौं नै अकाल मृत्युको बाटो दौडिरहेको छ ।

केही दिनअघि खुला हावामा सास फेर्न साँखुतर्फ गएको थिएँ । तीनकुनेदेखि साँखु नपुगुन्जेल बाटो अस्तव्यस्त छ । धुलोले गाडी नै भरिन्छ । चिनिनसक्नु हुन्छन् यात्रीहरू । वर्षौंदेखि बनिरहेका बाटोहरू किन टुंगिदैनन् ? खनिएका खाल्टाहरू र खोलिएका भ्वाङहरू किन वर्षौंसम्म टालिँदैनन् ? अनुगमनको निकाय खै कहाँ छ ? काठमाडौं देख्दा लाग्छ, यहाँ कुनै राज्यको अस्तित्व छैन । कुनै निकाय छैन, जसले समस्याहरूको सम्बोधन गरोस् । कुनै निकाय छैन, जसले कहाँ के काम भइरहेको छ वा छैन भनेर अनुगमन गरोस् । कुनै चिज, कुनै ठाउँ व्यवस्थित छैन यो सहरमा । नदी देखेर लाजले पानीपानी हुन्छु । बाटो देखेर शर्मले भरिन्छु । धुलो, धुवाँ देखेर डिप्रेसन हुन्छ ।

केही दिनअघि दिल्लीबाट काठमाडौं आउँदै गर्दा जहाजमा पहिलोपटक नेपाल आउँदै गरेकी अफगानी युवतीले सोधिन्, 'काठमाडौंमा खोला छ ? 'मलाई कुनै जवाफ सुझेन । छ भनौं कि छैन भनौं । छ भनौं भने सबै खोलाहरू रछ्यान मिल्काउने ठाउँ बनेका छन् । छैनन् भनौं भने सातवटा ऐतिहासिक नदी/खोला भएको सहर हो, हाम्रो राजधानी ।मैले भनें, 'छ तर, एकदमै फोहोर । ती रछ्यान मिल्काउने ठाउँ बनेका छन् ।' यसो भन्दा मेरो अनुहारमा लाजको रेखा दौडिरहेको थियो, खै, उनले देखिन् कि देखिनन् ।हिजो मात्र पशुपतितिर हिँड्दै थिएँ । फोहोरको एम्बुसजस्तो ठाउँमा टेकेर बाटो पार भएँ । हिलोले जुत्ता भारी भयो । ढलमा ज्यान गुमाएकी बालिकाको अबोध अनुहार अचानक हृदयमा प्रकट भयो । कतै यो वा यस्तै एम्बुसहरूमा परेर म वा अर्को कोही भोलिको अखबारमा छापिने हो कि !

सामाखुसीको नालीमा डुबेकी बालिकाको भिडियो फेरि दोहोर्‍याएर हेरें । उनले 'मम्मी, मम्मी' भनेको चिच्याएको दृश्यले जीवनको मूल्य बोध हुन्छ । एउटा जीवनको लागि प्रकृति र समाजले कत्ति धेरै योगदान गरेको हुन्छ ! तर राज्यको आँखामा त्यसको कौडीजस्तो मूल्य देख्दा म निरिह हुन्छु ।धन्य, पशुपतिनाथको कृपा हो वा ती बालिकाको जीजीविषाले, उनी बाँचिन् । विनिताले ज्यान गुमाइन्, सत्या बाँचिन् । शेरबहादुर देउवा वा विद्यासुन्दर शाक्यले त्यो भिडियो हेरे कि हेरेनन् ? त्यो भिडियो हेर्दा उनीहरूका आँखा रसाए वा रसाएनन् ? समाजलाई डोर्‍याउने भूमिकामा रहेका यी र यस्ता पात्रहरूले कहिले बुझ्लान् जीवनको मूल्य ?

राजधानीको ढलमा बगेर बालिकाको निधन भएको खबरले आम मन हल्लाइरहेको छ । शासकहरूले जीवन कति मूल्यहीन बनाइदिएका छन् ! के राज्यको काम सहरमा नागरिकहरूका लागि एम्बुस मात्र थाप्ने हो ?



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.