प्याब्सनले सुरु गर्‍यो लिटिल आइडलको खोजी

 प्याब्सनले सुरु गर्‍यो लिटिल आइडलको खोजी

काठमाडौं (अन्नपूर्ण): प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गरेको मिस लिटिल आइडल २०१७ को खोजी सुरु भएको छ।

आयोजकले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी सम्बन्धित विद्यालय, अभिभावक एवं विद्यार्थीलाई आवेदन फारामका लागि आह्वान गरेको हो। प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका आठदेखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरा प्रभावकारी भएकाले मिस लिटिल आइडललाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए।

'प्रतियोगितामा एक्सन इन्टरटेनमेन्टको अनुभव र शिक्षा क्षेत्रमा क्रियाशील प्याब्सन काठमाडौंको सहकार्यबाट यो प्रतियोगिता प्रतिभावान् बालिकाका लागि साँच्चिकै राम्रो प्लेटफर्म बनेको छ', अध्यक्ष श्रेष्ठले भने। सन् २००९ देखि वार्षिक रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग गत वर्षदेखि प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो।

रोजिन शाक्यको कोरियोग्राफीमा हुने प्रतियोगिताका शीर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको छात्रवृत्ति, फस्ट रनरअप एवं सेकेन्ड रनरअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं मिस लिटिल आइडल २०१७ की संयोजक रीता राई (दाहाल)ले प्रतियोगिता उपलब्धिमूलक एवं सहभागीमा सकारात्मक परिवर्तन देखिएकाले निरन्तरता दिइएको बताउनुभयो।

'अहिलेका विद्यार्थी किताबमा मात्र सीमित भएर हुँदैन। कोर्समा नभएका तर समयअनुसार आवश्यक क्षमता अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आवश्यक छ', संयोजक राईले भनिन्।

बालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भूमिका निर्वाह, गुणस्तरीय अध्ययन एवं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगिताले प्रेरित गर्ने आयोजकको भनाइ छ।

मिस लिटिल आइडलको यो आठौं संस्करण हो। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भदौ १० गते नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.