निर्वाचन र पार्टीगत गुटको प्रभाव
नयाँ संविधान जारी भएपछि त्यसको कार्यान्वयनस्वरूप नयाँ बनेको स्थानीय संरचनाअनुसार सात प्रदेशमध्ये ६ वटामा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ । विभिन्न आशंकाका बीच मतदाता र राजनीतिक दलको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न भयो । त्यस्तै सरकार र निर्वाचन आयोगको तयारी तथा व्यवस्थापन पनि सामान्य कमजोरी हुँदाहुँदै पनि सफल नै रह्यो । यो निर्वाचनले समाज, राष्ट्र र नागरिकका बीचमा एउटा अन्तरसंवाद गर्ने अवसर प्राप्त भएको छ । साथै सामाजिक मनोविज्ञानभित्र एउटा तरंग पैदा गरेको छ । लामो समयपछिको यो तरंगले तय गर्ने बाटो भने भविष्यमा प्रमाणित हुनेछ । तर लामो समयपछि जनताले आफ्ना प्रतिनिधि छान्न पाएका छन्, यो उपलब्धिपूर्ण छ ।
दोस्रो चरणको स्थानीय निर्वाचनमा बाँकेको कोहलपुरमा एमालेका उम्मेदवार विजयी भए । जुन कांग्रेसका शुभचिन्तकको लागि अप्रत्यासित लाग्यो र यसको कारणमा पार्टीभित्रकै अन्तर्घातलाई प्रमुख ठानियो । आफ्नो पार्टीकै उम्मेदवारलाई हराएको भन्दै कांग्रेसका युवा नेता युवराज पौडेलमाथि अन्तर्घातको आरोप लगाई कालोमोसो दलियो । यो हालै भएका घटनाका रूपमा एउटा उदाहरण मात्रै हो । चुनावमा अन्य पार्टीमा पनि यस्तो गुटबन्दी र अन्तर्घातका कारण चुनाव हारेको भनेर भन्ने गरेका थुप्रै घटनाहरू हाम्रोसामु छन् ।
पार्टीभित्रका गुटबन्दीका स्वरूप, यसका मनोभावना कतिसम्म गहिरो र आपराधिक छन् भन्ने बुझ्न गाह्रो छैन । गुटबन्दी राजनीतिमा अपराधीकरण बन्न सक्ने संकेत पनि देखिएको छ । यस्तो मनोदशा र अवस्था नेपालका सबै पार्टीमा छ । त्यसको स्वरूप र अवस्था मात्र फरक हुन सक्छ ।
एउटा व्यक्ति पार्टीमा सक्रिय भएको आधारमा वा आफूले उक्त अवसर नपाएकै कारण अर्को पार्टीको उम्मेदवारलाई मतदान गर्नु वा अरू मतदातालाई पनि सोहीअनुसार प्रभावित पार्ने गरेको पाइन्छ । मतदान व्यक्तिगत विचार वा अधिकारभित्र पर्ने भए पनि दलीय व्यवस्था र पार्टीमा सक्रिय कार्यकर्ताले नै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई अस्वीकार गर्नु राजनीतिक संस्कारभन्दा बाहिरको कुरा हो ।
यस्तो अभ्यासले नेपालका राजनीतिक दलहरूले आफ्नो पार्टीभित्र कार्यकर्तालाई कसरी प्रशिक्षित गरेको छ वा पार्टी सञ्चालन विधि के हो भन्नेमा नै सबै विषय निर्भर गर्दछ । नेपालका पार्टीहरू यसमा खासै गम्भीर भएको आभास भने पाइँदैन ।
नेपालको राजनीतिक वृत्तभित्र केही समययता छरपष्ट रूपमै पार्टीभित्र गुट, उपगुट, सहगुट, महागुट, सन्दर्भ समूह र स्वार्थ समूह निर्माण गर्ने प्रवृत्ति हावी भएको छ । यो राजनीतिक कार्यशैलीको रूपमा पार्टीभित्र स्थापित मान्यताजस्तै देखिन थालको छ । यसको प्रभाव समाजका अन्य संघसंस्था, क्लब, समुदाय, मञ्च, समूहहरूमा पनि प्रत्यक्ष रूपमा यो प्रवृत्ति देखिएकै छ, जसले समाजलाई विभाजित गरेको छ । नेपाली समाजको सद्भाव, एकता, विश्वासजस्ता बलिया आधारहरू भत्किँदैछन् । यो सबैले अनुभूति गरेको एउटा सत्य हो । कतिपय नेता तथा कार्यकर्ता गुटको बैठकबिना पूर्ण बैठकमा सहभागी बन्ने हिम्मतसमेत राख्दैनन् । गुटको धङधङीले सही/गलतसमेत छुट्ट्याउन नसक्ने अन्धो बन्दैछन् ।
राजनीतिशास्त्रले कुनै पनि मुद्दा वा विचारमाथि लबिङ गर्नुलाई न्यायसंगत मान्छ किनकि नयाँ-नयाँ राजनीतिक मुद्दाहरूको बहस, यसका नयाँ आयाम, विविध दृष्टिकोणमाथि तर्कवितर्क र त्यसको पक्ष वा विपक्षमा लबिङ गर्नु आवश्यक हुन्छ । यसो गरिएन भने पार्टीभित्र मुद्दा, विचार र सिद्धान्तविहीन अवस्था नआउला भन्न सकिँदैन । जीवन्त राजनीतिक प्रणालीभित्र लबिङको प्रक्रिया स्वाभाविक होला तर यो जब विचार, मुद्दा र सिद्धान्तभन्दा बाहिर गएर गलत, नियतवश, लबिङको नाममा विचारविहीन गुटउपगुट, स्वार्थसमूह, सन्दर्भ समूह निर्माण गरेर व्यक्तिका कुण्ठा व्यक्त गर्ने समूह र कुत्सित चाहना पूरा गर्ने थलोको रूपमा विकास हुनुले पार्टीहरू ‘कुण्ठा' बोकेको समूहमा रूपान्तरण हुँदैछ, जसले गर्ने क्रियाकलाप पनि कुण्ठित नै हुने गर्दछ ।
रमाइलो त के रहेछ भने नेपालका एउटा पार्टीभित्रको गुटउपगुटलाई पनि सामान्य मान्न सकिएला, तर एउटा पार्टीको एउटा गुट र अर्को पार्टीको अर्को गुटबीचको र त्यसले पार्टीका निर्णय प्रक्रियादेखि निर्वाचनमा टिकट, जिताउने-हराउनेसम्मको खेल हुनु अझ रोचक छ । पार्टीका नेतादेखि कार्यकर्तासम्म अहिले आफ्नो पार्टीसँग कम निकट अर्को पार्टीको गुटसँग ज्यादा सामीप्य छ । यसको अर्थ नेता, कार्यकर्ताहरूले अन्य समूहसँग निकट सम्बन्ध राख्नु हुँदैन भन्ने कदापि होइन । राजनीतिक उद्देश्य प्राप्तिको लागि फरक पार्टीसँगको कार्यगत एकताले धेरै परिवर्तनका काम गर्न सकिन्छ । तर गुटगत प्रवृत्ति एउटै पार्टीभित्र मात्र सीमित रहेन भन्ने विषयलाई मात्र उजागर गर्न खोजिएको हो ।
स्थानीय निर्वाचनमा पनि आन्तरिक गुटगत गतिविधिले कुनै पनि पार्टीलाई अछूतो राख्न सकेन । टिकट व्यवस्थापनदेखि जितहारसम्मको सम्पूर्ण प्रक्रियामा गुटगत गतिविधि बलवान् देखियो । अन्तरघातको कारणले एउटै पार्टीभित्रबाट पनि हराउने प्रवृत्ति देखियो । ‘राजनीति, प्रेम र युद्धमा सबै जायज हुन्छन्' भन्ने त सुनिएकै हो तर पनि यस खालको प्रवृत्ति पार्टी, त्यसको व्यवस्थापन, सुशासन र राजनीतिक उद्देश्यमा प्रभाव सकारात्मक नहुन सक्छ, जुन हाम्रा अगाडि राजनीतिक पार्टीहरूमा स्पष्ट देखिएकै छ ।
पार्टीभित्रका गुटबन्दीका स्वरूप, यसका मनोभावना कतिसम्म गहिरो र आपराधिक छन् भन्ने बुझ्न गाह्रो छैन । गुटबन्दी राजनीतिमा अपराधीकरण बन्न सक्ने संकेत पनि देखिएको छ । यस्तो मनोदशा र अवस्था नेपालका सबै पार्टीमा छ ।
लोकतन्त्रमा पार्टीको संस्थागत विकास, त्यसभित्रको सुशासन महत्ववपूर्ण मानिन्छ । लाखौं नेता, कार्यकर्ताको मनोविज्ञानलाई व्यवस्थापन गर्नु चानचुने होइन । यसमा विशेष क्षमताको आवश्यकता पर्दछ । यहाँ मनोभावनाको, इच्छाशक्तिको, आकांक्षाको, त्याग र समर्पणको, विचार र संघर्षको व्यवस्थापन गर्ने कला र कुशलताको खाँचो पर्दछ । अझ भन्ने हो भने समयानुकूल, परिस्थितिजन्य जनभावनाको प्रतिनिधित्वसहितको निर्णय क्षमता यसको अर्को व्यवस्थापकीय क्षमता हो।
करिब १० वर्षयता नेपालमा पार्टीको अवस्था, चरित्र र व्यवस्थापन भिन्नरूपमा अघि बढेको छ । निर्वाचनमा जितहार एउटा पक्ष हो, तर अन्तरपार्टी व्यवस्थापन कस्तो छ यो फरक अध्ययनको विषय हो । तर एकअर्कासँग अन्योन्याश्रित सम्बन्ध भने रहेको छ । दोस्रो चरणको निर्वाचनको दौरान पंक्तिकारलाई पनि केही निर्वाचन क्षेत्र, उम्मेदवार, पार्टी, मतदातासँग साक्षात्कार हुने अवसर मिल्यो । त्यसबेला पार्टीको चुनाव चिन्ह लिएर उठेको भए पनि पार्टीगतभन्दा व्यक्तिगत व्यवस्थापनमा बढी कार्यकर्ता खटेको देखियो । जहाँ पार्टीका काम, गतिविधि, नेतृत्व राजनीतिक रूपले सक्षम छ, त्यहाँको परिस्थिति फरक देखिन्छ तर जहाँ पार्टी गतिविधिहरू, राजनीतिक गतिविधि स्खलित भएका छन्, त्यहाँ निर्वाचन व्यवस्थापन, खर्चको व्यवस्थापनलगायत सबै व्यक्तिगत रूपमा गरेको आभास हुन्थ्यो । व्यक्ति, गुट र उम्मेदवारको अगाडि पार्टी निरिह रूपमा भूमिकाविहीन बनेको छ ।
समाज जसरी व्यक्तिवादतर्फ अघि बढ्दै छ, त्यसको प्रभाव पार्टीभित्र पनि देखिएको छ । यद्यपि पार्टीका उद्देश्य र यसले स्थापना गर्न चाहेको प्रक्रिया भने सामूहिकता हो भन्नेमा कुनै शंका छैन । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई हुर्काउने नाममा स्वतन्त्रता र स्वच्छन्दतातर्फ सबै सोच विकसित हुनु सम्पूर्ण राजनीतिक मान्यता अराजकतातर्फ उन्मुख बन्ने त होइन ? सामूहिक निर्णय, नेतृत्व र भावनामा ह्रास आउनु कुनै दृष्टिकोणबाट पनि राम्रो मान्न सकिँदैन ।नेपालका ठूला राजनीतिक दलहरूको सांगठनिक सिद्धान्त हेर्ने हो भने नेपाली कांग्रेसले प्रजातान्त्रिक पद्धतिलाई आफ्नो सांगठनिक सिद्धान्त मानेको देखिन्छ ।
एमालेले लेनिनवादी संगठनात्मक सिद्धान्तमा दाबी गर्दछ । नेकपा माओवादी क्रान्तिकारितासहितको लेनिनवादी संगठन नै मान्छ । कम्युनिस्टको संगठनात्मक प्रणाली जनवादी केन्द्रीयता भनिए पनि छलफलपश्चात् भएका निणर्यहरू सबैले मान्नुपर्छ भन्ने नै मुख्य अन्तरवस्तु हो । कांग्रेसको प्रजातान्त्रिक प्रक्रिया पनि सारमा छलफलपश्चात् अल्पमत/बहुमतको आधारमा निर्णय र निर्णयलाई सबैले मान्ने परिकल्पना नै हौ । तैपनि यी सबै सिद्धान्तहरूले काम नगरेको अवस्था देखिन्छ । त्यसैले पुनः एकपटक यी मान्यतालाई पार्टीभित्र स्थापित गर्न नसक्दा नियतवश सिर्जना गरिने गुटबन्दीलाई सहयोगी हुन सक्छ । सबै पार्टीहरूले आफ्नो पद्धति र प्रक्रियालाई पुनर्विचार गर्नुपर्ने समय आएको छ ।
यो निर्वाचनबाट पार्टीभित्र आफ्नो आन्तरिक यथार्थ अवस्था जान्ने, बुभ्ने र विश्लेषण गर्ने अवसर पनि मिलेको छ । निर्वाचन परिणामपश्चात् पार्टीलाई कसरी व्यवस्थापन गर्लान् नेताहरूले ? पार्टीभित्रको गुटउपगुटको समीकरण कसरी विकसित होला ? पार्टीहरूले निर्वाचनमा देखाएका गुटबन्दीलाई कसरी विश्लेषण गर्लान् र फरक पार्टीलाई जिताउन लाग्ने नेता-कार्यकर्तालाई पार्टीहरूले कारबाही गर्लान् कि नगर्लान् ? यी सबै अनुत्तरित प्रश्नहरू लिएर नेपाली राजनीति अझै रोचक बनेको छ ।