फेरि योगी नरहरिनाथ
योगी नरहरिनाथबारे गत दुई शनिबारका अंकमा लेखिएका सामग्री पढ्दा थप केही कुरा लेख्न पंक्तिकारले आवश्यक ठानेको छ । योगी नरहरिनाथको पूर्व चोला क्षेत्री परिवारको भए पनि उनी नाथ परम्पराका विख्यात योगी थिए । कालीकोटको लालुगाउँको एउटा सामान्य बालकमा सामुद्रिक शास्त्रीय गुण देखेर जुम्ला चन्दननाथका महन्त क्षीप्रानाथले उनलाई दीक्षा दिई आफ्नै आ श्रममा राखी उच्च अध्ययनका लागि भारतका विभिन्न ठाउँमा जाने बाटो प्रशस्त गरिदिएका थिए । भारतमा अध्ययन गर्दा उनी विभिन्न शास्त्र, विद्या र विधामा पारंगत मात्र भएनन् हठयोगमा सिद्धि प्राप्त पनि भए ।
औपचारिक रूपमा शास्त्री, वेदालंकार मात्र भए पनि उनी उद्भट विद्वान थिए र उनीसँग सोझो बहस गर्न सक्ने सामथ्र्य ठूला विद्वान भनिनेहरूमा पनि थिएन भनिन्छ । पृथ्वी मल्लको दुल्लु कीर्तिस्तम्बको पूर्ण पाठ गर्न सक्ने योगी मात्रै हुन् । जिसेफ टुचीले अन्तिम दुई हरफको मेसो पाउन सकेको थिएन । उनले कहाँ पढे कहिले पढे तर यस क्षेत्रका सम्पूर्ण लिपिको ज्ञान त्यत्तिकै थियो । कर्णाली प्रदेशका तिब्बती लिपी मिश्रित अभिलेखको अरूले भेउ पाउने सामथ्र्य नै थिएन ।
सम्पूर्ण पूर्वीय साहित्य, लिपि, इतिहास, भूगोल, खनिज, वनस्पति, आयुर्वेद, योग, दर्शन, समाज आदिमा आधिकारिक ज्ञान राख्ने एउटै व्यक्ति सम्भवतः योगी नै थिए । उनी के थिए, के थिए कसैलाई थाहै छैन । डा.जगमान गुरुङले भनेझै नाथ परम्परामा मच्छिन्द्रनाथ, गोरखनाथ, रतननाथ, भगवन्तनाथ पछि नरहरिनाथ नै थिए । यस पंक्तिमा उनको सन्दर्भमा चन्दननाथलाई पनि जोड्दा अतिसयोक्ति हुने छैन । धेरै मानिस उनलाई गोरखनाथको अवतार नै मान्दछन् । भारतमा शंकराचार्य, करपात्री, महेश योगीलगायत विद्धत मण्डलीले योगीलाई गरेका सम्मान र आदरबारे प्रत्यक्ष देख्नेहरूले पंक्तिकारलाई सुनाएका प्रसंग पनि छन् ।
योगी नयाँ शिक्षा प्रणालीका घोरविरोधी थिए । यो नेपालसापेक्ष हुनै सक्दैन भन्ने उनको अडान थियो । त्यसबेला नयाँ शिक्षाको प्रारुप तयार पार्ने तीनजना व्यक्ति दृश्यमा थिए । तिनलाई उनले इसाई, मुसाई, कसाई भन्थे । तिनको जातीय र धार्मिक पृष्ठभूमि पनि त्यस्तै थियो । आखिर नयाँ शिक्षाको गति पनि योगीले भनेझैं भयो । उनले क्याम्पसलाई घ्याम्पस, डिनलाई हीन भन्दै हिँडेका थिए एक पटक । उनकै प्रयासले नेपालमा र अझ दाङमा संस्कृत विश्वविद्यालय खुल्यो । त्यसको केन्द्रीय कार्यालय बेलझुन्डीमा छ । त्यहाँ पहिले डिन कार्यालय थियो ।
सरकारी नीति, पदाधिकारी चयन, शिक्षण प्रणाली आदिको भविष्यप्रतिको अवस्थाबारे उनी चिन्तित थिए । त्यतिबेलै उनले यो बेलझुन्डी कागझुन्डीमा परिणत हुन्छ भनेका थिए । अहिले करिब करिब अवस्था त्यस्तै छ । त्यही बेलझुन्डीमा एकजना डिनलाई उनले गुरु तपाईंंलाई बाह्रखरी आउँछ कि आउँदैन भनी सोधेर धेरैका सामु लज्जित बनाएको प्रसंग एकपटक दाङमा चर्चामा थियो । एकपटक योगीबारे कुरा गर्दा पं.गंंगाधर शास्त्रीले योगीको धेरै विरोध गरे । उनी आर्य समाजी हुन्, मूर्ति पूजक होइनन् आदि आदि भनेर । अन्त्यमा उनले तर योगी अद्भूत र विलक्षण थिए भनि पंक्तिकारलाई सुनाएका थिए ।
योगीलाई नजिकबाट हेर्ने अवसर पंक्तिकारलाई २०४५ सालमा दाङको चौघेरामा प्राप्त भएको थियो । त्यहाँ उनले कोटीहोम आयोजना गरेका थिए । पंक्तिकार तीन दिनसम्म त्यहीं बसेर सबै हेर्ने अवसरमा थियो । त्यहाँ काठमाडौंबाट प्रधानमन्त्री मरिचमान सिंह, प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू माधव घिमिरे, धर्मराज थापालगायत त्यही स्तरका अरू पनि धेरै थिए । योगीले प्रधानमन्त्रीलाई देशमा बढेको भ्रष्टाचार, कमिशनतन्त्र यही हवनमा स्वाहा भन्नुहोस् भनी मञ्चबाटै आदेश दिएका थिए । त्यति मात्र होइन प्राज्ञहरूको खानपिनबारे सचेत योगीले होटलको बसाई आदिको कारणले धर्मराज थापालगायतलाई केही विसञ्चो भएको निहुँमा सबै प्राज्ञहरूलाई मञ्चबाट हकारेर के खाने, के नखाने, कति खाने, कसरी खाने आदि कुरा भन्दै उनीहरूलाई जाऔं कि बसौं भन्ने गराएका थिए ।
पछि माधव घिमिरेले स्पष्टीकरण र योगीको योग्यता, क्षमता र विद्वताबारे महत्ववपूर्ण सम्भाषण गरेका थिए । त्यहाँ दिनभरि योगी मञ्च अथवा माइकमै हुन्थे । साँझ, बिहान र राती अबेरसम्म एउटै आसनमा टुक्रुक्क बसेर दायाँ खुट्टालाई केही खुम्च्याएर लेखेको लेख्यै हुने अरूलाई पनि लेखाइरहने । त्यस बीचमा केहीले वंशावली, केहीले इतिहास, केहीले आयुर्वेद, केहीले शास्त्रीय मान्यता आदि तमाम प्रश्न सोधिरहने, उनी चाहिँ टाउको नउठाएर पूर्ववत् आसनमा सबैको उत्तर पनि दिइरहने, आफूले लेखिरहने, अरूलाई डिक्टेट गरिरहने गरिरहे । उनले कहिले खान्थे, कहिले सुत्थे, कतिखेर शौच गर्थे पत्तै हुँदैनथ्यो ।
उनलाई भनी ल्याइएका खानेकुरा सबैलाई बाँडी दिने, आफूले नखाने । कसैले पैसा दिन्थे तर पैसा आफूले नछोएर अरूलाई राख्न भन्थे । उनको गोजी र पैसाको बीच कुनै सम्बन्ध छैन भन्थे मान्छेहरू । उनको बोलीमा सिंहनाद थियो त्यही कोटीहोममा १३३ जना पण्डितमध्ये गायत्री मन्त्र शुद्ध उच्चारण गर्न नसकेर १२३ जना पण्डितलाई उनले फेल गराएका थिए । यसरी असफल हुनेमा आचार्य, शास्त्री धेरै थिए ।
नेपालको हिमाली क्षेत्रमा यति पाइन्छ भनी चर्चामा ल्याउने काम योगीले नै गरे । यससम्बन्धी एउटा पुस्तिका नै प्रकाशित छ । यहाँका इतिहासकारहरु काठमाडौं र वरपर मात्र केन्द्रित रहे । काठमाडौं नै नेपाल हो भन्ने मानसिकता यहाँ रह्यो । उनीहरू यहाँ रहेका अभिलेख, मुन्सीखाना, कौशितोषाखाना, अभिलेखालय, केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय आदिमा सीमित रहे । यहींका ठूला इतिहासकारले पनि उत्खनन् गर्न नसकेका केही सामग्री पनि योगीले प्रकाशमा ल्याएका छन् । यसको दृष्टान्त पृथ्वीनारायण्को दिव्योपदेश हो । धार्मिक वंशावली, धार्मिक क्षेत्रमा यही उपत्यकाभित्र पनि योगी बराबरी काम गरेको कोही भेटिँदैन । अरूको इतिहास आधार द्वितीयक स्रोत पद्धति थियो भने योगीको प्राथमिक ।
योगीद्वारा दाङमा आयोजित कोटीहोममा काठमाडौंबाट प्रधानमन्त्री मरिचमान सिंह, प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू माधव घिमिरे, धर्मराज थापालगायत त्यही स्तरका अरू पनि धेरै थिए । योगीले प्रधानमन्त्रीलाई देशमा बढेको भ्रष्टाचार, कमिशनतन्त्र यही हवनमा स्वाहा भन्नुहोस् भनी मञ्चबाटै आदेश दिएका थिए ।
यसको उदाहरण रारातालको चौडाइ, लम्बाइ र गहिराइ मापन थियो । उनले डोरीको माध्यमबाट यसको चौडाइ र लम्बाइ एकिन गरे भने गहिराइ मापन बाँस जोडेर गरेका थिए । यसका तमाम उदाहरण छन् । योगीले नेपाल चिनेका, जानेका थिए । काठमाडौं मात्र नेपाल होइन भन्ने उनको मान्यता थियो । देशको समग्र भूगोल, इतिहास, जाति, समाज, वनस्पति, नदी, खनिज, पर्वत शृंखला, पर्वत श्रेणी, जमिन आदिको सूक्ष्म अध्ययन गर्ने पैदल यात्री, अनुसन्धानकर्ता, योगी नै थिए । उनी नपुगेको ठाउँ सायद कम थियो । मेची महाकाली, हिमाल तराई सबैलाई चिनेका, सबैले चिनेका उनी मात्र थिए ।
उनले जति संकलन, प्रकाशित गर्ने व्यक्ति अर्को जन्मिएन । यसबारे अभिनन्दन ग्रन्थ (२०५४) र स्मारिकामा (२०७२) चर्चा भएको छ । ओलाङचुङगोलादेखि टिंकर व्यासगर्खासम्म, मानसरोवरदेखि मुक्तिनाथ, लुम्बिनी, जनकपुरसम्म, शासकवर्गदेखि राउटे, कुसुन्डासम्म, लामादेखि झाँक्रीसम्म, वोनदेखि आधुनिक मतसम्म देवस्थलदेखि मसानघाटसम्म, धिमाल, राजवंशीदेखि सौका र राना थारूसम्म उनको समान उपस्थिति थियो । यसरी योगीसँग कसैको तुलना हुन सक्दैन ।
फेरि पनि काठमाडौं र त्यस वरपरको अध्ययन मात्र नेपालको अध्ययन होइन । योगीले नेपालमा जिम्मावाल, पटवारी, तालुकदार, उमरा, चौधरी, मुखिया, जेठाबुढा, घाटबुढा, रजौटा, जैशी, पण्डित, कोट, मौला, थुम, दाही, गढी, गौडा, देउराली, घाट, थुम्का, किल्ला, देवस्थल, भग्नावशेष, वस्ती, समाज, खोलानाला आदि ठाउँ, व्यक्ति, तिनका सन्तान आदिका घरघर गएर सामग्री संकलन र प्रकाशित गर्ने काम गरे । उपत्यका बाहिरको बारे अहिले जे लेखिएका छन उनैलाई आधार बनाएर लेखिएका छन् । यस अर्थमा योगी अतुलनीय हुन् ।
योगीको सम्बन्धमा हालसम्म बाहिर नआएको एउटा घटना सान्दर्भिक भएकोले यहाँ उल्लेख गर्नु आवश्यक छ । राजा र नयाँ शिक्षाको विरोधको कारणले जेल र यातनापछि योगी भारततिर पलायन भए । करिब २०३५ सालतिर उनी दिल्लीको मोतीनगरमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने अभियानमा थिए । उनको काम मोतीनगरमा र बसाई तुग्लगावादको शिव मन्दिरमा थियो । एकदिन छलफलको क्रममा मोतीनगरमा रात पर्यो । उनका साथमा मित्रनाथ योगी भन्ने एकजना कन्फट्टा योगी पनि थिए, उनी नेपाली थिए । साँझमा साधन पनि नभएको र तुग्लगावाद पुग्न समय लाग्ने भएकोले मित्रनाथले मोतीनगरमै बस्न धेरै आग्रह गर्दा पनि योगीले शिव मन्दिरमै जाने अठोट गरे ।
उनी हिँड्न थाले मित्रनाथ पनि पछिपछि लागे । मित्रनाथले अझै अनुनय विनय गर्न छोडेका थिएनन् । हिँड्न थालेका योगीले उनलाई ‘आँख बन्द करो' भनेर ठूलो स्वरमा गर्जेपछि मित्रनाथले त्यसै गरे । केही सेकेन्डमै आँखा खोल्दा दुवैजना शिव मन्दिरमा पुगिसकेका थिए । यो अपत्यारिलो घटना भए पनि मित्रनाथ यसका साक्षी हुन् । यस घटनाबारे दाङ चौघेराका एकजना योगीले पंक्तिकारलाई बताएका हुन् । हाल उनी चौघेरामै छन् । पद्मप्रसाद भट्टराईले भने जस्तै कुनै मन्त्रको सिद्धि गरेको होला, गंगाधर शास्त्रीले भनेझै अद्भूत र विलक्षण, पृथ्वीराजमार्ग नबन्दै पुस २७ गते बिहान गोरखाबाट हिँडेर दिउँसो काठमाडौं खरिको बोटमा पृथ्वी जयन्ती मनाउन आइपुग्ने, ४८ घन्टा नपुग्दै २०१७ सालमा गोरखा काण्डपछि त्यहाँबाट जुम्ला पुग्ने, योगी हिँड्दैनन् उड्छन् भन्ने पश्चिम नेपालमा गाउँलेको भनाइ सायद हठयोगबाट सिद्धि प्राप्त खेचरी मुद्रा नै थियो ।
—ओली त्रिवि नेपाली, इतिहास, संस्कृति र पुरातत्व विभागमा आवद्ध छन् ।