कलाकारितामा धैर्यता चाहिन्छ :देविका केसी

कलाकारितामा धैर्यता चाहिन्छ :देविका केसी

नेपाली नारीको महान् चाड तीजलाई लक्षित गरेर सांगीतिक बजारमा एकपछि अर्को गीत आउने क्रम बढेको छ । यस्तैमा लोकगायिका देविका केसी गुरुङले पनि ‘नैना र रेशम', ‘पारिको संगीले'जस्ता नयाँ तीज गीत बजारमा ल्याएकी छन् । नेपाली लोक पारामा तामाझ प्रस्तुत हुने गायिका देविकाले करिब दुई दर्जन एल्बम र दुई सयभन्दा बढी फुटकर गीतमा स्वर दिइसकेकी छन् । गायिका देविकासँग अन्नपूर्णका लागि शिवराज योगीले गरेको संवाद :

 आफूलाई को भनेर चिनाउन चाहनुहुन्छ ?
म लोकदोहोरी गायिका नै भनेर चिनिन चाहन्छु, हुन त म सबै खाले गीत गाउने कोसिस गर्छु, कहिलेकाहीँ मोडलिङ पनि गरेकी छु ।

कति पढ्नुभएको छ ?
संस्कृतबाट मास्टर्स गर्दैछु ।

 सानो हुँदा के बन्छु जस्तो लाग्थ्यो ?
म सानैदेखि पढाइबाहेक गीत गाउने, गजल लेख्ने गथेँ । म गायिका नभएको भए शिक्षिका पक्कै हुन्थेँ । किनकि त्यसमा पनि मेरो रुचि थियो ।

कलाकारितामा लाग्ने प्रेरणाबारे भनिदिनुस् न ?
केही बन्छु भन्दा पनि केही बन्ने लक्षण पहिले नै देखिँदो रहेछ, जब म बुझ्ने भएँ तबदेखि आफैं मादल बजाएर गाउने, नाच्ने गर्थें । यो कला ममा थियो । त्यो कलाले मूर्त रूप भने कलेज पढ्न थालेपछि पायो । मेरो प्रेरणाको स्रोत नै मेरो बाबा हुनुहुन्थ्यो ।

कलाकारिता नै रोज्नुपर्ने कारण ?
म भित्रको थोरबहुत कलाले नै मलाई यस क्षेत्रमा लाग्ने उत्साह मिलेको हो । धेरैसँग क्षमता हुँदा पनि आफ्नो खुबी देखाउने स्थान नपाएर त्यसै बसेको पाइन्छ । यस अर्थमा म भाग्यमानी पनि हुँ । जति बेला म यो क्षेत्रमा संघर्ष गर्दै थिएँ त्यति बेला लोकसंगीतले फराकिलो बजार बनाइसकेको थियो । धेरै सिक्ने, यही क्षेत्रमा लागेर बाँच्ने र राजधानीमा बसेर पढ्न सक्ने भएँ ।

 कलाकार हुँदाका फाइदा बेफाइदा के हुन् ?
देशको गीत गाएर नेपाली जनमानसमा चिनारी दिन सजिलो हुँदो रहेछ । म अहिले यही क्षेत्रमा लागेर देशविदेश घुमेर, गीत गाएर निर्धक्क बाँचेकी छु । बेफाइदा खासै देख्दिनँ । तर, बिनासंघर्ष र लगनशीलता छैन भने यो क्षेत्रमा टिक्न र बाँच्न गाह्रो छ । सानातिना नराम्रा पक्ष त सबै क्षेत्रमा हुन्छन् नै ।

आजसम्म कति गीत गाउन भ्याउनुभयो ?
दुई दर्जनजति एल्बम नै निकालेँ । मेरो आवाजमा रेकर्ड गीतको संख्या त दुई सयभन्दा बढी पुगिसके ।

 तपाईंको विधा कुन हो ?
मेरो विधा लोक नै हो ।

 कलाकार बनेर जीविका चलाउन सकिन्छ त ?
आजसम्म त जीविका चलेकै छ । भविष्य के होला भन्न सक्दिनँ, किनकि अहिले गायकगायिकाको आयस्रोत नै स्टेज प्रोेग्राम मात्र बन्न पुगेको छ । तैपनि मेरो लक्ष्य यही क्षेत्रमा भविष्य खोज्ने हो ।

 नेपालको कलाकारिता कुन यात्रामा छ जस्तो लाग्छ ?
पहिला जस्तो सीमित बाटो र गोरेटोमा मात्र अब नेपाली कलाकारिता छैन । धेरै फराकिलो र फड्को मारिसकेको अवस्थामा नेपाली कलाकारिता छ । नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्दै भड्किलो पाराबाट जोगिन भने आवश्यक छ ।

गायिका आफैं मोडलिङ गर्ने चलन बढेको छ नि ? तपाईं पनि गर्नुहुन्छ ?
हल्का डान्स गर्छु । त्यसैले मोडलिङ पनि गरेको छु । केही आफ्ना र केही साथीभाइको गीतमा गरेकी छु ।

 के चाहिँदो रहेछ कलाकार बन्न ?
पहिला आफूमा कला, क्षमता र लगनशीलता चाहियो । यस क्षेत्रमा लागिसकेपछि धैर्यको निकै खाँचो छ ।

 जिन्दगी के हो जस्तो लाग्छ ?
जिन्दगी सुन्दर फूल हो; सर्छ, झाँगिन्छ, फुल्छ, ओइलिन्छ, झर्छ । संघर्ष, सुख, दुःख हाँसो, रोदनको सम्मि श्रण हो सायद जिन्दगी ।

 प्रेम के हो जस्तो लाग्छ ?
प्रेम हरेक किसिमको हुन्छ, माया प्रेमबिना हरेक कुरा असफल छन्, एकअर्काको प्रेमबिना सृष्टि अधुरो रहला । जस्तो कि मेरी आमाको प्रेमबिना म हुर्किन सक्दिनथेँ...।

 प्रेममा पर्नुभयो कि भएन ?
प्रेममा खासै परिएन भन्दा हुन्छ । सानैदेखि आफूले नै आफ्ना लागि खट्नु पर्‍यो । परिवारको जिम्मेवारीबोध गर्नु परेकाले म बढी करिअरमै केन्द्रित हुनु पर्‍यो।

 प्रेम र सेक्सको सम्बन्धबारे के भन्नुहुन्छ ?
सेक्स नारी पुरुषबीचको अगाध सम्बन्ध हो कि ! जसबिना सृष्टि रोकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.