तीजमा ‘माइती मेला...'
काठमाडौं : ‘उसले उसको कुरा काट्यो
उसले उसको कुरा काट्यो
मुख र कान भेट भो कि'
गायक यमन श्रेष्ठले शनिबार दिउँसो ‘तीतो यथार्थ' बोकेको गीत सुनाए । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरमा आयोजना गरेको ‘माइती मेला तीज दर' कार्यक्रममा उनको प्रस्तुति रोचक बन्यो । गायिका जुनु रिजालको अनुरोधमा यमनले गाएको गीतले दर्शक- श्रोतालाई बेस्सरी हँसायो ।
मान्छेको तीतो यथार्थ बताएर अन्तिममा गीतले ‘कुरा काट्न छोडेर प्रशंसा गर्न थालौं' भन्ने सन्देश दिएको थियो । तीजका अवसरमा आयोजित कार्यक्रम भएकाले उनले श्रीमती माइत गएपछि श्रीमान्ले अनुभव गरेको दुःख समेटेको गीत सुनाए । ‘खाइराछु एक्लै आज लौकाको तरकारी काँचै' बोलको गीतमा अभिनेत्री लक्ष्मी गिरीले कम्मर मर्काई मर्काई नाचिन् ।
गीतमा भान्छाको काम गर्न नजान्दा दुःख पाएपछि पुरुषले काम सिक्ने प्रतिज्ञा गरेको विषय समेटिएको छ । सन्देशमूलक हास्य गीत प्रस्तुत गर्ने यमनको शैली घतलाग्दो थियो । यमनले बुवा कलाकार मदनकृष्ण श्रेष्ठको बिँडो थामेका छन् । बुवाको आवाजको स्वाद उनको आवाजमा पनि आउँछ ।
कार्यक्रममा चलचित्र ‘छक्कापन्जा २'को ‘नाइलनको साडीमा' बोलको गीतमा अभिनेत्री तथा चलचित्र निर्देशक दीपा श्री निरौला, अभिनेत्रीहरू स्वस्तिमा खड्का, केकी अधिकारी, कुञ्जना घिमिरे र लक्ष्मीले कम्मर मर्काए । यो गीत शुक्रबारमात्र सार्वजनिक भएको हो ।
रानी रङको सारीमा सजिएर आएकी समाजसेवी आरजु देउवाले कामको हतारले सिँगारिन पनि नभ्याएको गुनासो पोख्दै भए पनि तीजको रमाइलोमा नाच्न भने छोडिनन् । गायिका तथा राजनीतिकर्मी कोमल वली र पूर्व मिस नेपाल उषा खड्गी कार्यक्रमका आकर्षण थिए ।
मेलामा आदर्श जोडीका रूपमा गायक उदय सोताङ र गायिका मनिला सोताङलाई सम्मान गरिएको थियो । सोही अवसरमा ब्युटिसियन कमला श्रेष्ठ र अभिनेत्री केकी अधिकारी पनि सम्मानित भए । कार्यक्रममा नमुना नेपाल निर्माणार्थ धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । हेयर स्टाइल, पहिरन, शृंगारमा उत्कृष्ट हुने महिलालाई पुरस्कृतसमेत गरियो । कार्यक्रम र संस्थाका बारेमा सचिव कृति भट्टराईले जानकारी दिएकी थिइन् ।
तीजको रमाइलोसँगै तीजको सामान्य किनमेलका लागि छेवैमा पोतेको स्टल पनि राखिएको थियो । ‘हामी नेपाल' संस्थाले भूकम्पमा खुट्टा गुमाएका महिलालाई पोते बुन्ने तालिम दिएर त्यसको बजार प्रवद्र्धन गरिरहेको थियो । एक सयदेखि आठ सय रुपैयाँसम्मका पोते र क्रिस्टलबाट बनेका माला बिक्रीमा थिए ।