गोविन्द केसी ११औं पटक अनसनमा(फोटो फिचर)
काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं प्रा.डा. गोविन्द केसीले ११औं अनसन सुरु गरेका छन्।
सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै डा.केसीले सोमबार अस्पतामा पत्रकार सम्मेलन गरेर ११ औ पटक अनसन सुरु गरेको घोषणा गरेका हुन्।
सम्झौता कार्यान्वयनका लागि ३१ असारको अल्टिमेटम दिए पनि सरकारले माग पूरा नगरेकाले अनशन बस्न बाध्य भएको डा. केसीको भनाइ छ।डा. केसीले सरकार र राजनीतिक दलले पटक सहमति उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसद्बाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै अनसन सुरु बसेका हुन्।
उनका अनुसार मेडिकल माफियाहरुले मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा अनियमितता गरेर लुट मच्चाइरहेको र त्यसले तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भइरहेको छ। त्रिवि पदाधिकारीले विगतका सम्झौताबमोजिम आइओएमलाई थप स्वायत्तता दिनुको सट्टा अधिकारहरू खोसेको उनको आरोप छ।
यता, अस्पतालमा अनशन बस्न मिल्दैन डा. केसीले आफूसँग भएको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै ११ औं अनशनको घोषणा गरिरहेका बेला अस्पतालमा अनशन बसे चिकित्सा सेवा र शैक्षिक कार्यक्रम प्रभावित हुने भन्दै आईओएमका प्राध्यापकले असन्तुष्टि जनाएका छन्।
तस्बिरहरु: उमा विष्ट
डा.केसीका मागहरु यस्तो छ
- माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने
- डीनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने
- विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन अधिकार आईओएमलाई
- सरकार र अदालतको आदेश नटेर्ने मेडिकल कलेजको सम्बन्धन खारेज
- मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने
- पोस्टग्य्राजुएट (पीजी) को शुल्क २२ लाख कायम गर्नुपर्ने
- आईओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने