अस्पतालमा चार चिकित्सक,दुई विरामी
अधिकांश स्थानमा विरामीको अनुपातमा चिकित्सक नभएको, चिकित्सक नहुँदा विरामीले सास्ती खेप्नु परेको खबर दैनिक जसो संचारमाध्यमहरुमा आउने गरेको छ । दाङको एक अस्पतालमा चिकित्सक त छन् तर विरामी छैनन । हो, दरबन्दी अनुसारको चिकित्सक नहुँदा विरामीले सास्ती खेप्नु परीरहेका थुप्रै अस्पताल छन तर दाङको बेलभुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पतालमा चिकित्सकहरु विरामी कुरेर बस्ने गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय,आयुर्वेद वहिरंग विभागमा जब हामी प्रवेश गरयौ, यस्तै अवस्था पायौ ।
अस्पतालको नाम लेखाउने ठाँउ खाली अनि सुनसान । त्यसको छेवैंमा रहेको आकस्मिक उपचार कक्ष, एकजना चिकित्सक केही लेखपढ गर्दै थिए,त्यहाँ उपचार गराउने कोही थिएनन् ।
त्यसपछि हामी कायचिकित्सा कक्षमा प्रवेश गर्यौ, त्यहाँ न विरामी थिए न त अरु कोही । त्यस लगत्तै अस्पतालको प्याथोलोजि ल्यावमा हेर्दा एक जना महिला ल्याव ईन्चार्ज थिईन । उनले गर्ने काम केही थिएन ।
ल्यावको अगाडी रहेको सामान्य चिकित्सा कक्षमा पनि हामीले कसैलाई देखेनौ । अस्पतालको कोठा नं. ५ मा रहेको स्त्री–प्रसुती तथा वालरोग कक्षमा एक महिलासहित तीन जना भेटिए ।
त्यहाँ विरामी जाँच गरिदै रहेछ भन्ने सोच्यौ, तर हाम्रो अनुमान गलत ठहरियो । यहाँ रहेका तिनै जना अस्पतालमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु रहेछन ।
यो अस्पतालमा विरामी आँउदैनन ? भन्ने हाम्रो प्रश्नमा उनीहरुको सहज जवाफ थियो, “आउँछन, कहिले काँही २÷४ जना ।’
दैनिक रुपमा विरामी नआएपनि औसतमा दैनिक दुई जना विरामी उपचारका लागि आउने गरेको डा. प्रविण कुमार झाँ वताउँछन् । विरामी आए पनि नआएपनि दैनिक यस अस्पतालमा चार जना चिकित्सक र एक जना ल्याव असिस्टेण्ट विरामी कुरेर बस्ने गरेको उनले वताए ।
करिब पाँच महिनादेखि संचालनमा रहेको यो अस्पतालमा विरामी नआएपछि अस्पताल हाता भित्र खोलिएका फार्मेसी पनि बन्द भैसकेको छ भने फार्मेसी रहेको स्थानमा मोटरसाईकल पार्किङ गर्ने ठाँउ बनाईएको छ ।
त्यसो त यो अस्पताल नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रिय आयुर्वेद विद्यापिठले संचालन गरेको शिक्षण अस्पताल हो । विद्यापिठमा अध्ययनरत चिकित्सकको प्रयोगात्मक कक्षासंगै स्थानीयलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले यहाँ अस्पताल सञ्चालन गरिएको हो । शिक्षण अस्पतालको लागि सुविधा सम्पन्न १०८ कोठाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो समय आयुर्वेदमा सर्वसाधारणको आकर्षण बढेको र औषधीका लागि जडिबुटी स्थानीय स्तर मै पाईने भएकाले अस्पतालले गति लिनेमा विद्यापिठका प्राचार्य प्राध्यापक डाक्टर श्याममणि अधिकारी विश्वस्त छन् ।
ओपिडिको लागि आवश्यक सवै पूर्वाधार र दक्ष जनशक्ति अझै नभईसकेकोले प्रचार प्रसार समेत नगरेको विरामीको संख्या कम भएको प्राचार्य अधिकारीको भनाई छ ।
विद्यापिठका विद्यार्थीहरुको प्रयोगात्मक कक्षाको लागि शिक्षण अस्पताल खोलिएको भएपनि यहाँका विद्यार्थीहरु शिक्षण सिकाईका लागि दाङकै राप्ती उपक्षेत्रीय अस्पताल, घोराही र राप्ती अञ्ंचल अस्पताल तुलसीपुरसंग सम्झौता गरेको छ । तर विद्यार्थीहरु घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल जाने गरेका छन् ।
शिक्षण अस्पताल रहेको दाङको वेलझुण्डीबाट करिब तीन किलोमिटरको दुरीमा मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल रहनु र सर्वसाधारणको लागि अपायक स्थानमा अस्पताल संञ्चालन गरिनुले यहाँ विरामीको चाप कम भएको हुन सक्ने अनुमान गरिएको छ ।