सहर पस्ने अनुमति नभएका 'कुष्ठरोगी'
म्यारिन ग्रोसपिच पहिलोपटक नेपाल टेक्दै थिइन् सन् १९७४ मा । उनी मनमा अनेक कल्पना बोकेर जर्मनीबाट नेपाल आउँदै थिइन् । कल्पनामा बारम्बार आउनेमध्ये थिए, पुष्कर लिम्बू । पुष्कर उनले स्पोन्सर गरेका बालक थिए । कुष्ठरोगले थलिएका बाआमाका सन्तान ! कुष्ठरोग 'अघिल्लो जन्मको कुकर्मको फल' मानिन्थ्यो । म्यारिन आएको बेला काठमाडौंमै कुष्ठरोगीको बिगबिगी थियो ।
बाआमा कुष्ठरोगी भएकै कारण पुष्करले पढाइलेखाइबाट टाढिनु परेको थियो । उनलाई आनन्दकुटी स्कुल पठाइयो । बाआमा कुष्ठरोगी भएकाले स्कुलले भर्ना लिन मानेन । त्यही घटनाले म्यारिनको हृदय नराम्ररी निचोरियो । उनी चाहन्थिन् पुष्करले राम्रो शिक्षा पाओस् । तर, त्यो नेपालमा त्यस बेला सम्भव देखिनन् । पुष्करको अध्ययन रोकिने देखेपछि उनलाई जर्मनी लैजाने चाहना जाग्यो ।
जति बेला उनले प्रिन्सेस शान्ति (राजा महेन्द्रकी छोरी) लाई भेटिन् । उनी 'लेप्रोसी रिलिफ एसोसिएसन'की प्रमुख थिइन् । प्रिन्सेस शान्तिले नै पुष्करको सम्पूर्ण कागजात मिलाइदिएपछि उनी जर्मनी जान तयार भए । अध्ययन सकाएर ठूलो भएपछि पुष्कर नेपाल आए तर उनी यहाँ बस्न मानेनन्, किनकि त्यो समाजले कुष्ठरोगीको सन्तानका रूपमा उनलाई चित्रण गर्न छोडेन ।
पुष्करका बाआमाको हालत खराब थियो । उनीहरूलाई खोकनामा राखिएको थियो, लेप्रोसी सेन्टरमा । पुष्करका बाआमासँगै करिब आठ सय अन्य कुष्ठरोगी त्यहाँ थिए । उनीहरूलाई खाना, औषधि उपलब्ध गराइन्थ्यो तर आदर, सम्मान र मानवअधिकार थिएन । उनीहरूलाई सहर पस्न अनुमति थिएन । समाजको नजरमा उनीहरू 'पापी' थिए । त्यसैले त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको थियो । यही घटनाले कुष्ठरोगीका लागि काम गर्न अभिप्रेरित गर्यो म्यारिनलाई ।
मेरो सिक्ने क्रम जारी छ । मैले यो पनि सिकेकी छु, समाजका धेरै प्रतिभावान् घृणित भइरहेका छन् । -म्यारिन
त्यसको फलस्वरूप खुल्यो शान्ति सेवा गृह । म्यारिनले खुसीको भाव देखाउँदै कथा सुनाइन् । कुष्ठरोगीको सेवामा लागेर समाजबाट तिरस्कृत, अपहेलित कुष्ठरोगीका लागि सहारा दिन सन् १९९२ मा 'शान्ति सेवा गृह' सञ्चालनमा ल्याएको उनले बताइन् ।
'त्यो बेलाको समाजले कुष्ठरोग 'ब्याक्टेरियल इन्फेक्सन' हो भन्ने बुझेन', यसो भनिरहँदा उनको हातमा धागोकाँटा चलिरहेको थियो, मोजा बुन्न तल्लीन थिइन् उनी । काम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन् उनी । ७३ वर्षीया म्यारिनको सक्रियताले त्यही पुष्टि गर्छ । ती दिनका सम्झना पल्टाउँदै उनले भनिन्, 'मेडिकल सुपरभिजनको अभावमा रोगीहरू झनै ग्रसित बन्दै गए । उनीहरूलाई पर्याप्त केयर थिएन । कुष्ठरोग विकराल बन्दै गयो, हातखुट्टाका औंला गुमाए धेरैले ।' उनको अनुभवमा जब कुष्ठरोगीहरूको स्किनमा इन्फेक्सन हुन्छ, स्किन एकदमै खस्रो (रफ) हुन थाल्छ । मोइस्चर र तेल उत्पादन गर्न सक्दैन छालाले । त्यही कारण ब्याक्टेरिया फैलिन्छ र अंगहरू बिग्रिन्छन् । 'यो सबै उपचार नभएर भएको हो, पापले गरेको होइन', उनले भनिन् ।
के धनीहरूलाई कुष्ठरोग लागेको छ त ? म्यारिनको प्रश्न थियो । किनकि उनले हुनेखाने परिवारमा कुष्ठरोगीहरू भेटिनन् । जो संक्रमित थिए उनीहरू गरिब थिए । जसले राम्रो खाना पाउँदैनथे, उपचार पाउँदैनथे्, फलतः रोगसँग लड्ने क्षमता पनि हुँदैनथ्यो र कुष्ठरोगले पनि उसैलाई च्याप्थ्यो । त्यस्ता धनी र गरिब सबैलाई एक ठाउँमा देख्ने सपना छ, म्यारिनको । भनिन्, 'जसरी मार्टिन लुथरकिङले 'सेता र काला' बच्चाहरूलाई एकै ठाउँमा देख्ने सपना देखे, म पनि कुष्ठरोग लागेको र स्वस्थ बालबालिकालाई एकै ठाउँमा देख्न चाहन्छु । म निम्नस्तरदेखि उच्च स्तरका बालबालिकालाई एकै ठाउँमा आएको हेर्न चाहन्छु ।'
उनले भनिन्, 'अपांग हुनु भगवान्ले दिएको सजाय हैन, दुर्भाग्यवश जोकसैलाई पनि यस्तो हुनसक्छ । रोगले कुनै पनि वर्ग, समुदाय, लिंग छुट्याउँदैन । म सग्लो छु भनेर घमण्ड गर्नु हुँदैन । असग्लाहरूलाई होस्टेमा हैंसे दिनु नै धर्म हो ।' सैयौं रोगीलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण कार्य हो । त्यसो हुँदाहुँदै पनि उनी कहिल्यै योजनाबद्ध रूपमा अगाडि बढ्न चाहन्नन् । किनकि उनी भन्छिन्, 'त्यो योजना सफल भएन भने निराश भइन्छ, मलाई निराश बन्नु छैन ।'
२५ वर्षे यात्रामा म्यारिनको संस्था निकै झाँगिएको छ । उनले बिरुवाझैँ संस्था बढ्दै गइरहेको बताइन् । उनको हकमा 'तँ चिता म पुर्याउँछु' भन्ने उखान ठ्याक्क लागू भएको छ । किनकि पशुपतिका सातजना कुष्ठरोगी ल्याएर सुरु गरिएको संस्थामा हाल चार सय परिवारले आ श्रय लिइरहेका छन् । करिब आठ सय यही सेल्टरमा छन् । राजकुमारी शान्तिको योगदानको कदर गर्दै उनैको नाममा सुरु गरिएको रहेछ 'शान्ति सेवा गृह' । जर्मनीको अर्थ मन्त्रालयले म्यारिनको जन्मदिनको उपहारस्वरूप यो जग्गा उपलब्ध गराएको हो । जर्मनीको प्रसिद्ध कमेडियन सेलिब्रेटी हेप क्याटलिंगले पनि उनलाई सहयोग गरेका थिए ।
संस्था सुरु गरे पनि सुरुका दिनमा काम गर्न निकै व्यवधान झेल्नु परेको उनको अनुभव छ । समाजमा भेदभाव व्याप्त थियो । एकताका उनी बच्चा लिएर जुत्ता किन्न जाँदा पसलमा जुत्ता लगाउन नदिएको घटना सम्झिइन् । 'त्यो बेला खुट्टामा प्लास्टिक लगाएर जुत्ता प्रयोग गर भन्यो पसलेले', म्यारिनले सम्झिइन्, 'जुत्ताको पैसा दिऊँला भन्दा पनि मानेन पसलेले ।' के रोग लागेकाहरूलाई सपिङ गर्ने र मन परेको कुरा किन्ने स्वतन्त्रता हुन्न र ? म्यारिनले गम्भीर बन्दै प्रश्न गरिन्।
उनीहरूको लालनपालनका लागि मासिक पैंतालीस लाख खर्च जुटाउनु चानचुने कुरा होइन् । तर म्यारिनले आफ्नो कामका बारेमा स्पष्ट लेखेर एकैपटक पाँच, छ हजार संस्थामा सर्कुलर लेटर पठाउने गरेकी छन् । मेहनत गरेर लेखेको कथा पढेपछि कति स्वैच्छिक रूपमा सहयोग गर्न आउँछन् । उनको काममा ७९ वर्षीया श्रीमान्ले पनि साथ दिँदै आएका छन् । छोरा 'शान्ति'मा टेक्निकल डाइरेक्टरका रूपमा काम गरिरहेका छन् । उनी फिजियोथेरापिस्ट पनि हुन् । शान्तिमा भएका बिरामीहरूको उपचार गर्छन् उनी । शान्तिमा सम्पूर्ण रेखदेख गर्छन् । म्यारिनले भनिन्, 'छोरोलाई वर्किङ भिसा दिइएको छ तर यति लामो समयदेखि समाजसेवामा लागेकी म्यारिनसँग पर्यटक भिसामात्रै छ । उनी भन्दै थिइन्, 'तपाईंको सरकारले मलाई काम गर्ने अनुमति दिएको छैन।'
कुष्ठरोगीहरूको पुनस्र्थापनामात्रै होइन, उनीहरूलाई आत्मसम्मानित वातावरण तय गर्नु पनि शान्तिको उद्देश्य हो । यसका लागि म्यारिनले रोगीहरूलाई विभिन्न काममा अल्झाएकी छन् । कोही ढाका बुनिरहेका हुन्छन्, कोही कपडा सिलाइरहेका, कोही चाँदीका गरगहना बनाउन व्यस्त देखिन्छन्, कोही ब्याग, कार्ड, ब्लांकेट, कपडा बनाइरहन्छन् । आपूmले खाने तरकारी आफैं फलाएका छन् । आ श्रय लिइरहेका बालबालिकाका लागि लत्ताकपडा यहीँ बन्छ। पुराना सामान रिसाइकल गरेर नयाँ बनाउन सिकाएकी छन् । पुराना पत्रिकाबाट ब्रिकेट बनाउनेदेखि गरगहना बनाउनेसम्मका सीप उनीहरूले जानेका छन् । भन्छिन्, 'अरूमा मात्रै भर पर्नुहुन्न ।'
शान्तिले आफ्नै क्लिनिक पनि सञ्चालन गरेको छ, त्यहाँ वार्डहरू पनि छन् । संसारको उत्कृष्ट शैक्षिक पद्धति 'वालडोर्फ'मा बालबालिकाले अध्ययन गर्न पाएका छन् । यो पद्धतिलाई मन्टेश्वरीभन्दा गुणस्तरीय मानिन्छ । जसले छोराछोरी विद्यालय पठाउन सक्दैनन्, यहाँ ल्याउँछन् । उनीहरूका लागि होस्टेलको व्यवस्थासमेत गरिएको छ । बालबालिकालाई हेरचाहको व्यवस्था पनि गरिएको छ । किन्डरगार्टेनदेखि ७ कक्षासम्म सञ्चालित छ यो विद्यालय ।
भूगर्भशास्त्र (जियोलोजी) र अंग्रेजी साहित्य अध्ययन गरेकी म्यारिन साहित्य र दर्शनमा पनि उत्तिकै चाख राख्छिन् । सयौंका लागि मार्गदर्शक बनेकी म्यारिन जीवनलाई अनुभव र सिकाइको संगम मान्छिन् । भन्छिन्, 'मेरो सिक्ने क्रम जारी छ । मैले यो पनि सिकेकी छु, समाजका धेरै प्रतिभावान् घृणित भइरहेका छन् ।'
'शान्ति'मा पश्चिमा र पूर्वीय संस्कृतिको सम्मि श्रण विकास भइरहेको, वृद्धा र युवा एकै ठाउँमा काम गरेको र फरक मुलुकका संस्कृतिको संयोजन बनाउन चाहेको उनले बताइन् । उनको अर्को उद्देश्य भेदभावमुक्त समाज निर्माण हो । उनको बुझाइमा रोग लागेको आधारमा कसैलाई भेदभाव गर्न हुन्न । सबैले सम्मानजनक रूपमा बाँच्न पाउनु मानवअधिकारको एउटा अभिन्न अंग हो ।