प्रेमगीतले ५१ दिनमा कमाएको ‘प्रेमगीत-२’ले एक्कैदिनमा कमायो !
काठमाडौं : आक्रमक प्रचारसँगै रिलिज भएको ‘प्रेमगीत २’ले सुखद् व्यापार सुरु गरेको छ। शुक्रबार देश भरका ८० पर्दामा एकसाथ रिलिज भएको ‘प्रेमगीत २’ ले ‘प्रेमगीत’ले ५१ दिनमा गरेको व्यापार एक्कै दिनमा गरेको निर्माता सन्तोष सेनले जानकारी दिए।
रामशरण पाठकले निर्देशन गरेको प्रेमगीत २ मा प्रेम र द्वन्द्वलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। चलचित्रले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्वन्द्वलाई देखाएको छ। आँसुसेन फिल्मसले निर्माण गरेको चलचित्रमा नेपाल, म्यानमार र थाइल्यान्डका रोमाञ्चक दृश्य देख्न पाइन्छ।
चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी र अभिनेता सेन राजधानीका अधिकांश हलमा आफैँ पुगेर दर्शसँग प्रतिक्रिया लिइरहेका छन्। निर्माता सेनका अनुसार कुमारी, गोपिकृष्णलगायत विभिन्न हलमा पुगेर दर्शकसँगै बसेर अभिनेता र अभिनेत्रीले चलचित्र हेरेका छन्।
चलचित्रले सफल सुरुवात गरेको भन्दै निर्माता सेन फेसबुकमा खुशी साट्दै लेख्छन् :
हिजोसम्म मनमा डर थियो। राम्रो मिहिनत गरेर फिल्म बाउँदा सोचे जस्तो सफलता प्राप्त गरेका थिएनौँ। तर, जुन सपना देखेका थियौँ त्यो आज वास्तविकतामा बदलिएको छ। म आम दर्शकका लागि चलचित्र निर्माण गर्छु दर्शकले १० मा ९ दिनुहुन्छ वा १० नै दिनुहुन्छ भने त्यो भन्दा खुशीको कुरा के हुनसक्छ र ?
वास्तविक हिट भन्ने कस्तो हुने रहेछ जुन मैले चाख्न पाएको नरहेछु। जुन आज पाएको छु। प्रेमगीतले ५१ दिनसम्म गरेको व्यापार प्रेमगीत २ ले एक दिनमा गरेको छ। धेरै सङ्घर्स ठूलाठूला पाहाड चिडेर निस्केको छु।
यो सफलताले अझै ठूलो जिम्मेवारी थपिएको छ । सबैलाई खुशी बनाउन सक्दिन तर इमान्दारितापूर्वक मेरा दर्शकलाई खुशी पार्न रगत पसिना बगाएर लागि पर्नेछु। मेरो सम्पूर्ण ६०० जना टिम् जसले प्रेमगीत २ आफ्नो सम्झेर लाग्नु भयो मनदेखि धेरै धेरै आभार। अनी मेरो टिमलाई जस्ले जस्ले खिल्लीको पात्र बनाउनु भयो सबैलाई माया मनबाटै। सम्पूर्ण आफ्नै उद्योग सम्झेर हामीलाई साथ मिडियाका साथीलाई मन देखि धन्यवाद। यसरी साथ दिनुभयो भने उद्योग धेरैमाथि जानेछ। सबैलाई एक गरौ एउटै परिवार हो।