राष्ट्र भूगोल हो कि जातीयता

राष्ट्र भूगोल हो कि जातीयता

 

माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकपछि दुईतीन कुरा टड्कारो रूपमा बाहिर आउन थाले । त्यसमध्ये महत्वपूर्ण कुरा हुन्- मधेस एक प्रदेश, दोस्रो बहुराष्ट्रियतामा उभिएको राष्ट्रवाद, तेस्रो संसदीय व्यवस्थाको साटो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र यस्तै केही अरू मसिना विषयहरू पनि । मूल प्रश्न बहुराष्ट्रियता र मधेस एक प्रदेश एउटै विषय हुन् या पृथक त्यसको खोजी गरिएको भने देखिएन ।

man-mohan-bhattarai_1अहिलेसम्म आम नेपालीले बुझेको कुरो मधेस भन्नाले चुरेदेखि दक्षिणको भूखण्डलाई देखाउँछ, तर त्यसभित्र जातीय राष्ट्रवाद या बहुराष्ट्रियता भन्ने कुरो अटाउन भने सक्दैन । पहाड र मधेसलाई बेग्लाबेग्लै स्वायत्तता दिने खालको प्रवृत्तिको उत्पत्ति मात्रै देखिन्छ । संविधान संशोधनको माग गर्नेहरूले पनि बहुराष्ट्रियताको विषय छोडिसकेका छन् । मधेस भन्नाले भूगोलको एउटा खण्ड होइन, सामान्यतः कोसीदेखि नारायणबीचको भारतसित जोडिएको नेपाल हो भन्ने अर्थमा आम नागरिकले बुझ्दै आएका हुन् ।

यही विषयलाई उठाएर संविधान संशोधनको पक्ष र विपक्षमा नेपालका राजनीतिक दलहरू बाँडिएका छन् । वर्तमान संसद्को प्रतिपक्षमा रहेको एमालेलगायतका केही कम्युनिस्ट दलहरू मधेस राष्ट्रवाद भन्नाले मधेसको समस्या मात्र नभएर दक्षिणको छिमेकीको एजेन्डा हो भनेर थाकेका छैनन् । सँगसँगै प्रमुख प्रतिपक्षी एमाले मधेसका जायज मागका पक्षमा संविधान संशोधनको विषय अड्काएर राख्नुको साटो यसलाई टुंगै लगाउने सोचमा देखिन्छ । तर खाडल पुरिनुको साटो नयाँ सोचले त्यसलाई अझ फराकिलो बनाउन खोजेजस्तो देखिन्छ ।

संयोग मात्र पनि हुन सक्छ, चीनसित जोड्ने किमाथांका अब छिट्टै यातायातको विकासले जोडिँदैछ । त्यसैगरी दोस्रो विन्दु हुन सक्छ, मुस्ताङ र चीनसित जोडिएको माथिल्लो क्षेत्र कोराला छिट्टै जोडिने अवस्थामा छ । यसै पनि रसुवाको केरुङ र हाम्राबीचमा व्यापारिक केन्द्रको रूपमा विकसित भइसकेको छ । भुटान, चीनबीचको सीमा क्षेत्रमा एक प्रकृतिको तनाव देखिन थालेको छ भने भारत पाकिस्तानबीचको तनाव खासगरी कास्मिरी क्षेत्रमा प्रशस्त देखिन्छ ।

आउँदो निर्वाचनलाई लाभहानिको रूपमा विश्लेषण गर्ने राजनीतिबाट नेता एवं राजनीतिक दलहरू मुक्त हुनुपर्ने आजको आवश्यकता हो । बहुराष्ट्रियता या दुई राष्ट्रियता (पहाड-मधेस) लाई यसरी छुट्ट्याएर हेर्नु राष्ट्रिय अस्मिता र अस्तित्वको लागि गम्भीर संकट निम्त्याउने आधार हुन सक्छन् ।

चीनको नेपाल हुँदै भारत प्रवेश गर्ने यातायात सञ्जाललगायतको अफगानिस्तान इरान हुँदै युरोपसम्म पुग्ने योजनामा ऊ आफू अघि बढेको देखिन्छ । सधैं कुनै न कुनै किसिमले राजनीतिक अस्थिरता झेल्नुपरेको नेपालमा फेरि माओवादी केन्द्रका यी प्रस्तावले अस्थिरताको बीउ रोप्ने त होइन भन्ने भय नेपालीमाझ हुनु स्वाभाविक हो । छिमेकी परिवेशमा देखिएका घटनापरिघटना र मधेस एक प्रदेश बहुराष्ट्रियता र वर्तमान संविधानकै विरुद्धमा संविधान कार्यान्वयन हुनुअघि नै उभिएको माओवादी केन्द्रलाई कसरी लिने ? यो संविधान निर्माण गर्दा माओवादी केन्द्रले पनि संसदीय व्यवस्था स्वीकार गरेकै हो । अझ त्यसभन्दा अगाडि जाने हो भने शान्ति प्रक्रियापछि माओवादी केन्द्रले संसदीय व्यवस्था स्वीकार गरेरै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग गरेकै मान्नुपर्छ । तर अहिले आएर यी तीन बखेडाले माओवादीको चारित्रिक सैद्धान्तिक, नीतिगत एवं वैचारिक धरातल फेरि कोट्याउनुपर्ने आवश्यकता निर्माण गर्दछ ।

२०४७ को संविधानले केही विषय सम्बोधन गर्न सकेन । त्यसको पाँच वर्षभित्रमै सशस्त्र विद्रोहमा उत्रिएको माओवादी आफू क्रियाशील हुँदै बनेको संसदीय संविधानको विपक्षमा कसरी उभिन पुग्यो (? ) यो खोजको विषय हो । यसको पछाडि कुनै शक्ति छ या माओवादी स्वयं वैचारिक विचलनमा छ या ऊ लाभहानिको हिसाब गरेर राजनीति गर्दैछ ? जसभित्र सैद्धान्तिक आधार भेटिँदैन, नीतिगत स्पष्टता देखिँदैन । नेतृत्व आफैं अल्मलिएको अवस्था जोसुकैले देख्न सक्छ ।

दुई ठूला शक्ति उत्तर र दक्षिणका हाम्रा छिमेकी असजिलो सम्बन्धमा रहेको जोकोहीले पनि देख्न र बुझ्न सक्ने अहिलेको यथार्थ हो । नेपाल यसमा उत्ताउलो भएर आफ्नो विदेश नीतिलाई सञ्चालन गर्न सक्ने अवस्थामा छैन । यी दुईको दाँजोमा राजनीति होस् या कूटनीति दुवैमा नेपालले धेरै ठूलो अर्थ राख्न सक्दैन । अन्तर्राष्ट्रिय मञ्चमा नेपाल आफ्नो उपस्थिति देखाउन सधैं लालायित छ । त्यो हाम्रोजस्तो चेपुवामा रहेको नेपालको लागि अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न आवश्यक पनि छ । तर यो भन्नुको अर्थ उनीहरूका बीचमा भएको मधुर या कटु सम्बन्धमा नेपालले खेल्न सक्ने भूमिका भनेको न्यून मात्र होइन, तटस्थता नै बरु उसको विदेश नीतिको आधार हुनुपर्छ । नेपालको राजनीतिक वृत्तमा अहिले संविधान कार्यान्वयनभन्दा तत्काल अरू विषयमा टाउको दुखाउनुपर्ने आवश्यकता भने छैन ।

अन्तर्राष्ट्रिय मानवअधिकार आयोगमा नेपालको जाने प्रयत्नलाई सहयोग गर्नका लागि विश्व सम्प्रदायका हरेक ध्रुवहरूसित (यदि छन् भने) नेपालले मत माग्नैपर्ने हुन्छ । अरू किसिमको दुईपक्षीय या बहुपक्षीय समस्यामा अल्झिने स्थिति अहिले नेपालको छैन । तर यसैबेला किन बहुराष्ट्रियता संघीयता (त्यो पनि एक अर्थको) लाई बोक्ने अहिले समय नै होइन । वर्तमान माओवादी केन्द्र र संविधान बन्दाको एकीकृत नेकपा माओवादीमा खासै ठूलो अन्तर छैन । यस्तै संविधान बनाउँ भनेर उसले जनमत मागेकै हो । झन्डैझन्डै त्यस्तै संविधान बनेको पनि हो, तर संविधानको लिखोटसित नै विमति राख्ने खालका माओवादी केन्द्रका अहिलेका यी अभिव्यक्ति नेपालका लागि त्यति सुमधुर हुन्छजस्तो देखिँदैन ।

यदि त्यसै हो भने नेपालीको पृथक अस्तित्वमा बच्ने÷बाँच्ने चाहना कति उचित हो कति अनुचित, त्यो बुझ्न सक्ने नेपालीको संख्या अहिले धेरै ठूलो भइसकेको छ । यस अवस्थामा विश्वको राजनीतिक रंगमञ्चमा नेपालीले गर्नुपर्ने कुरो के हो, त्यो नेपालकै राजनीतिक दलहरूले गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ । संविधान संशोधनको प्रस्तावमा केही स्वीकृति केही अस्वीकृति देखाउने दलसम्म पनि प्रचण्डद्वारा बोलाइएका (हुन् वा होइनन् थाहा छैन) बहुराष्ट्रियता, मधेस एक प्रदेश र उनी स्वयंले भनेका प्रत्यक्ष निर्वाचित कार्यकारी यी सबै कुरालाई एक ठाउँमा राख्ने हो भने उनको संगत बाबुराम भट्टराईसँग हुनुपर्ने ।

त्यसो नभएर यी कुनै कुरो नमान्ने सरकारको साझेदारी गरिरहेका प्रचण्डको सोचको तार्किकतालाई कसरी बुझ्ने ? त्यसो त बेलाबखत सिंगो माओवादी पंक्तिलाई लाग्ने गर्छ- यो देशभित्रबाट उब्जिएको आन्दोलन नभई कतैबाट लादिएको आन्दोलन हो, त्यही प्रकाशमा सबै कुरा हेर्ने हो भने भारतमा देखेको संकट अन्तर्राष्ट्रिय जगत्मा र भुटानलाई साक्षी राख्ने हो भने नेपाललाई के फेरि अस्थिर बनाउन खोज्नु नै कसैको प्रयत्न हो ?

स्थिरता र संविधानको कार्यान्वयन जस्ता शब्द प्रयोग गर्न नथाकेको माओवादी केन्द्रभित्र यो नयाँ बीज कसरी र किन रोपियो यो गम्भीर खोजको विषय हो । तर सबैले यही गाम्भीर्य देखाएको राजनीति केटाकेटीको खेल होइन, न त राजनीति सिंगो राष्ट्रलाई दाउमा राखेर खेलिने जुवा नै हो । आउँदो निर्वाचनलाई लाभहानिको रूपमा विश्लेषण गर्ने राजनीतिबाट नेता एवं राजनीतिक दलहरू मुक्त हुनुपर्ने आजको आवश्यकता हो । बहुराष्ट्रियता या दुई राष्ट्रियता (पहाड-मधेस) लाई यसरी छुट्ट्याएर हेर्नु राष्ट्रिय अस्मिता र अस्तित्वको लागि गम्भीर संकट निम्त्याउने आधार हुन सक्छन् ।

अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य नियाल्ने हो भने नेपालले नाजुक घडीमा आफूलाई उभ्याउनुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता हो । तर प्रमुख दल भनिएकाले नै गल्ती त्रुटि गर्दै जाने हो भने राष्ट्र कसले समाल्ने भन्ने प्रश्न उठ्न सक्छ । सामान्यतः हामी सधैंजस्तो एउटा कठिन परिस्थितिबाट गुज्रिँदै आएका छौं । नेपालको लागि यी केही कुरा नयाँ होइनन् । नेपालले जहिले पनि आफ्नो अस्तित्व रक्षाको लागि एक प्रकृतिको सन्तुलित राज्यव्यवस्था र त्यसैगरी विदेश नीति बनाउँदै आएको हो । भोट भनौं या हिजोको चिनियाँ सम्राट् या बेलायती शासक, त्यसभन्दा पनि अगाडि जाने हो भने मुगल पन्जाब यी सबैसित कहिले युद्ध कहिले प्रेमको सम्बन्ध गाँसेकै हो । यी सबै राष्ट्रिय हितमै भएका हुन् । यी सम्बन्धले नेपालको राष्ट्रियतालाई कहिल्यै कमजोर गरेनन्, बरु बलियो नै बनाइराखे ।

अहिलेका दिनमा कताकता हाम्रो कूटनीति पनि चुकेको जस्तो, राजनीति पनि हराएको जस्तो र नेतृत्व पनि बिलाएजस्तो अवस्था मुलुकले बेहोर्नुपरेको छ । केही विषय गम्भीर रूपले छिमेकीसित बहसका साथै समझदारीसम्मको अभिवृद्धि गर्न सके नेपालले धेरै चिन्ता लिनुपर्दैन । तर नेतृत्वले केही खुला बहसलाई कतिसम्म स्वीकार गर्दछ, कति गर्दैन भन्ने कुरो पनि राम्ररी हेक्का राख्नुपर्छ ।

इतिहासको अत्यन्त कठिन मोडमा उभिएको नेपाललाई एकजुट बनाएर अघि बढ्न प्रमुख राजनीतिक शक्तिहरू र आम जनमानसको सोच र चिन्तन आत्मसात गर्दै जान सकियो भने यी विषयले केही अर्थ राख्छन्, अन्यथा मुलुकको भविष्य अन्धकारतिर घचेटिएको जस्तो पंक्तिकार अनुभव गर्दछ । तर लेख्नु एउटा कुरा हो, सुन्नेले सुनिदिए र पढ्नेले पढिदिए यी विषयले अर्थ राख्लान्, होइन भने मुलुकको यो अवस्थासम्म आइपुग्दा संवेदनशीलता नेतृत्वबाट हरायो भने नेपाल एउटा भयंकर दुर्घटनामा पर्न सक्छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.