यसरी हुन्छ जलस्रोतको विकास

यसरी हुन्छ जलस्रोतको विकास

यो ब्रह्माण्डमा भएका सृष्टिका पाँच तत्व- पृथ्वी, वायु, अग्नि, आत्मा जस्तै जल (पानी) जीवन धान्नको निम्ति नभइनहुने एउटा प्रमुख तत्व हो । यस्तो बहुमूल्य तत्व पानी वा जलस्रोत नेपालको उत्तरी भागबाट निस्केर दक्षिण भएर बग्दै समुद्रमा मिसिएर जाँदा पनि नेपाल र नेपालीले यसको महत्व बुझ्नै नसकेर हो या बुझ पचाएर हो, हामीले हामीसँगै भएको हाम्रै जलस्रोतको न त महत्व बुझ्न सक्यौं, न यसबाट पाउने आर्थिक समृद्धि र राजनीतिक स्थिरताको फाइदा लिन सक्यौं ।

tulsiमध्यपूर्वका अधिकांश खाडी मुलुकका मरुभूमिले भरिएका देशहरूमा केवल क्रुड आयलको भरमा संसारमै धनाढ्य देशमा गनिएका छन् । क्रुड आयल नभए पनि मानव जातिले जीवन धान्न सक्छ, तर पानीजस्तो जीवन धान्न नभइनहुने जलस्रोतको अधिपति भएर बस्दा पनि नेपाल आर्थिक दृष्टिकोणले नाजुक खान नपाउने, अविकसित र आर्थिक विकासको लागि परनिर्भर भएर अविकसितताको अविकसित राष्ट्र भएर रहेको छ । नेपालमा आर्थिक विकास र समृद्धि दिन सक्ने विभिन्न प्राकृतिक स्रोतहरू छन्, जसमध्ये देशका सुन्दर र अवमूल्य हिमालबाट नदीमा बग्ने पानीको विकासले मात्रै पनि नेपाल संसारकै आर्थिक समृद्धि र सम्पन्न कहलिन सक्छ, तर खोई ?

खुलमखुला देखिएका र जानिएका आर्थिक विकास अवरोधका कारण यस प्रकार छन्-

(१) देशमा राजनीतिक अस्थिरता र नेता साथै प्रशासकहरूको अनैतिक गैरजिम्मेवारी राजनीतिक चरित्र हुनु ।

(२) सधैंभरि परमुखी र परनिर्भरताका आधारमा देशको आर्थिक कारोबार सञ्चालन गर्नु ।

(३) देशको आर्थिक विकास र जलस्रोतसम्बन्धी आधारिलो र राष्ट्रिय हितको दीर्घकालीन नीति नहुनु।

(४) देशका शासक-प्रशासकहरूले जलस्रोतको महत्व बुझेर पनि नबुझ्नु र जानेर पनि नजानेजस्तो गरेर बुझ पचाउनु ।

(५) विदेशी विशेष गरेर दक्षिणी छिमेकी राष्ट्रको नेपालप्रतिको अदूरदर्शी, घातक र स्वार्थी परराष्ट्र नीतिको सिकार बन्नु ।

(६) देशका नेता र प्रशासकले जनताको इच्छा र आर्थिक विकासका साथै समृद्धिको माग नबुझ्नु अनि जानीजानी ओझेलमा राखेर वास्ता नगर्नु ।

(७) यस्तै अनेकौं कारणमध्ये नेपाली जनताले सधैंभरि कति र कहिलेसम्म अदूरदर्शी र भ्रष्टाचारको भाँडो 'असारे विकास' को मार निरन्तर सहिरहनुपर्ने?

यही असार-साउन महिनामा भएको घटना हो, जो नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको घर कम्पाउन्डनजिकै 'असारे विकास' को नमुना खाल्डोमा खसेको गाडीको दृश्य त सामान्यजस्तो हुन लाग्यो । भर्खरकै घटनामध्ये एउटी असहाय बालिकाको 'असारे विकास' कै कारण ढलले बगाएर ज्यान लियो । अर्की बालिका भाग्यवश बाँच्न सफल भइन् । जब २०७४ सालको असार महिना सकिन लाग्यो तब देशको ढुकुटीबाट एक खर्ब रुपैयाँभन्दा बढी विकासको लागि भनेर बाँडियो, फलस्वरूप कतै पुलहरू भत्किए, कतै जानीजानी भएका बाटाहरू खनेर खाल्डा बनाइए । भत्केका पुलहरू बनाइएनन्, तर नभत्केका पुल र बाटाहरू भत्काइए । भर्खरकै समाचार हो, 'दस करोड खर्चेर बनाएको बाटो दस दिनमै भत्कियो ।' मनसुनको सुरुआतसँगै भत्केका पुल भत्किनै रहे, बाटाका खाल्डाहरू भने पानीले छोपिदियो, यी छोपिएका खाल्डामा यात्रु र मोटरसाइकलहरू जाकिए र अरू कति जाकिन्छन् । 'असारे विकास' का नेताहरू भने चिप्लो जिब्रो फड्कार्दै नक्कली आँसु बगाएर जनताका आँखामा छर्किरहन्छन् ।

आर्थिक समृद्धि सम्भव तब हुन्छ जब एउटा इमानदार, उत्तरदायी देशका जनतालाई माया गर्ने 'नेपाली' प्रधानमन्त्री बनाइन्छ, जब एउटा त्यस्तै छवि भएको सर्वोच्चको 'नेपाली' न्यायाधीश बनाइन्छ, जब त्यस्तै छवि भएको 'नेपाली' आईजीपी बनाइन्छ, जब पत्रकारहरू 'नेपाली' पत्रकार बनेर खबर र सम्पादकीय विचारहरू अघि राख्छन्, जब बौद्धिक नागरिक समाज 'नेपाली' भावनाको बौद्धिकता देखाउँछन् ।

भर्खरै बाँडिएको तर फेरि कहिल्यै नदेखिने त्यसै हराउने एक खर्ब रुपैयाँ जलविद्युत्मा लगानी गरेको भए पाँच सय मेगावाट बिजुली निकाल्न पर्याप्त हुन्थ्यो । दुःखको तथ्य के छ भने दरिद्री मानसिकता, भ्रष्ट, विवेकहीन, अनैतिक, अनुत्तरदायी, देशको माया रक्तिभर नभएको, सानो, छुद्र र अल्पबुद्धि भएका देशका नेता र प्रशासकहरूले देश र नेपाली बहादुरलाई दिनदहाडै 'असारे विकास' जस्तैगरी आर्थिक बलात्कार गरिरहँदा पनि जनता मूकदर्शक भएर 'असारे विकास' को रमितामा रमाउँछन् । देशले यस्तो वर्तमान दरिद्री सोच कहिल्यैसम्म भोगिरहन्छ ? यस्तै चाल, योजना र मानसिकता बोकेर नेपालको जलस्रोतको विकास गर्न सम्भव छैन । 'असारे विकास' जस्तै गरेर जलस्रोतको विकास गर्नु घातक हुनेछ ।

अरू कुनै विकासका स्रोतहरू परिचालन नगरे पनि केवल देशमा भएको जलस्रोतको विकासले मात्रै पनि यो देश र सम्पूर्ण जनतालाई आर्थिक विकास र आर्थिक समृद्धिको गन्तव्यमा पुर्‍याउनेछ । देखेका समस्याबाट माथि उठ्दै र यिनीहरूको समाधानस्वरूप देशको जलस्रोत कसरी र किन विकास गर्ने पहिले पनि तल उल्लेख गरेको विकासको मोडेल जुन मैले 'कबवेब मोडेल' को रूपमा प्रकाशित गरिसके पनि वर्तमान परिस्थितिमा यो मोडेलको सारतत्व उत्तिकै सान्दर्भिक ठम्याएर तलको चार्टमार्फत जलस्रोतको विकास कसरी गर्ने भन्ने एउटा साधारण मोडेल प्रस्तुत गरेको छु ।

आलेखमा उल्लेखित चार्टमा जस्तै नेपालमा भएका उपयुक्त नदीहरूमा बाँध (ड्याम) बनाएर त्यो जलाशयको पानी देशको चौतर्फी विकासमा प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि मानिलिऊँ, धनकुटा र धरानको बीचमा रहेको तमर खोलाको मूलघाटमा या यस्तै अरू कुनै ठाउँमा अमेरिकाको हुभर ड्याम जस्तै बाँध बनाएर मूलघाटदेखि ताप्लेजुङ तलको दोभानसम्म लामो पोखरी बनाउन सकिन्छ । यस्तो बनाइएको खण्डमा एउटै जलस्रोतको उपयोगबाट देशमा भएको चौतर्फी मल्टिपर्पोज डेभलपमेन्टको लागि प्रयोग गरेर अधिकतम फाइदा लिँदै देशलाई समृद्धिको बाटोमा लान सकिन्छ ।

चार्टमा देखाएजस्तै पानी जीवन धान्नको लागि अनिवार्य छ । यो जीवन धान्ने तत्वलाई गुणस्तरीय पिउने पानी बनाएर संसारभरि नै निर्यात गर्न सकिन्छ- विशेष गरेर मरुभूमि भएका खाडी मुलुकहरूमा । यसरी नै पानी कृषि सिँचाइ र उद्योगधन्दामा प्रयोग गर्न सकिन्छ । देशमा जमिनमुनिको पानीको प्रयोग बढेपछि जमिनमुनि भएको पानीको सतह घटेर जमिन सुक्खा भएको छ । काठमाडौंका ढुंगेधारा र इनार सुक्नु यसको प्रत्यक्ष उदाहरण हो र यस्ता जमिनमा पानी छिराई पानीको सतह बढाउन जरुरी छ । बाँध बनाइसकेपछि त्यहाँको पानीबाट क्षमताअनुसार बिजुली निकाल्न सकिन्छ । जुन बिजुली भारत, पाकिस्तान, बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ र त्यसको लागि उपयुक्त मैत्रीपूर्ण वातावरण बनाउन जरुरी छ ।

यसरी बनाइएको बाँधमा हिमालबाट आएको चिसोपानीमा हुने स्वादिष्ट माछाको उद्योग बढाउन सकिन्छ । बाँधको जलाशय मूलघाटदेखि दोभानसम्म पुग्न यातायातको साधन बन्नेछ र फलस्वरूप पहाडको मुटु चिरेर बनाइएका बाटाहरूको जरुरत घटी वातावरण बचाउन सहयोग पुग्नेछ । साथै यसले बाढीपहिरो आउन पनि कम गर्नेछ । यो जलाशय यातायातको साधन मात्र नभएर यसले पर्यटन र मनोरञ्जन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यहाँ सोचेका र विवरण गरेका बाँध र यसको उपयोग नेपालका सबै नदीनालामा उपयुक्त छैनन् । तर जहाँ छन्, त्यहाँ दीर्घकालीन सोच राखेर जलस्रोत आर्थिक विकासको लागि गरेमा नेपाल समृद्धिको बाटोमा अवश्य लाग्नेछ ।

यस्ता विकासका फलस्वरूप हाम्रा वृद्धाहरूले वृद्धभत्ताको लागि सधैं रोइकराइ गरिरहनुपर्दैन, देशका जनताले सुकुम्बासी भएर बस्नुपर्दैन । हाम्रा युवायुवतीले रोजगार र रोजीरोटीको खोजीमा अनकन्टार देशमा गएर शरण लिनुपर्दैन । अस्पताल, स्कुल, शैक्षिक निकाय र यातायातका साधनहरूलाई पर्याप्त रूपमा आर्थिक बजेट बढाएर चौतर्फी गुणस्तर बढाउन सकिन्छ । जनता आर्थिक समृद्धिको बाटोमा हिँडिसकेपछि राजनीतिक संघीयताको लडाइँमा झेलिइरहने छैनन् । जलस्रोतको विकास विस्तारका साथै यो देशको क्षेत्रीय निर्भरता वा व्यापारमा वैदेशिक एकाधिकार घटेर जानेछ । हामी जलस्रोतको माध्यमबाट प्रदूषणमुक्त देश बनाउन सफल हुनेछौं ।

प्लास्टिक उद्योग, इँटा उद्योग, गिट्टी बालुवाको उत्खनन आदि घटेर जानेछन् । प्रदूषणमुक्त बिजुलीमा चल्ने यातायातका साधनहरू उपयोग हुनेछन् र पेट्रोल र डिजेलबाट निस्कने कार्बनको मात्रा घट्नेछ । हाम्रा सहरका नदीहरूमा ढलको सट्टा फेरि पानी बग्नेछ । जनताले फोहोरको फाइदा-बेफाइदा बुझेर नगरपालिकाले फोहोरको समस्या व्यवस्थित रूपले समाधान गर्नेछन् । तर यस्तो आर्थिक समृद्धिको अवस्था कसरी ल्याउन सकिन्छ जबकि हामीले सधैंभरि विकासलाई जरुरी वातावरण हुँदाहुँदै पनि प्रतिकूल अवस्थाकै सामना गरिरहनुपरेको छ ।

आर्थिक समृद्धि सम्भव तब हुन्छ जब एउटा इमानदार, उत्तरदायी देशका जनतालाई माया गर्ने 'नेपाली' प्रधानमन्त्री बनाइन्छ, जब एउटा त्यस्तै छवि भएको सर्वोच्चको 'नेपाली' न्यायाधीश बनाइन्छ, जब त्यस्तै छवि भएको 'नेपाली' आईजीपी बनाइन्छ, जब पत्रकारहरू 'नेपाली' पत्रकार बनेर खबर र सम्पादकीय विचारहरू अघि राख्छन्, जब बौद्धिक नागरिक समाज 'नेपाली' भावनाको बौद्धिकता देखाउँछन् र जब जनता आफूले भोट दिएका नेताहरूलाई प्रश्न गरेर उत्तरदायी बनाउने 'नेपाली' बन्छन् तब जलस्रोतको विकास हुन्छ ।

अहिलसम्म नेपाल सरकारले बेकामे, कामै नगरी पासो थापेर बसेका पाँच वर्षभन्दा पुराना जलस्रोतका सम्झौताहरू तत्काल खारेज गर्नु जरुरी छ । त्यस्तै नेपाल सरकारले सजिलै करिब-करिब पाँच खर्बसम्म लगानी गर्न सक्छ । साथै त्यसको लेभरेज गरेर नेपाली जलस्रोतको विकास सुरुआत गरे यो विकासले अरू विकास स्वतः सम्भव बनाउँछ । नेपाललाई एउटा समृद्ध, स्वच्छ, विकसित र सभ्य देश बनाउन सम्भव अवश्य छ यदि यहाँ उल्लेख गरिएका सुझावहरू कार्यान्वयन गरियो भने ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.