भुइँमान्छेको आशमा खेल सुन्दरी सिपोरा
चितवन : भलिबल खेलाडी सिपोरा गुरुङ र रमेश बुढाथोकी अभिनीत चलचित्र ‘भुइँमान्छे’ प्रदर्शनको पर्खाइमा छ । भदौ २ गते रिलिज हुने चलचित्र प्रचारका लागि देश दौडाहामा हिँडेको चलचित्र टोली चितवन आइपुगेको हो । चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नायिका सिपोराले चलचित्र भुइँमान्छेले आफ्नो अभिनय यात्रा अगाडि बढाउन बाटो खुलाउने अपेक्षा व्यक्त गरिन् ।
चलचित्र भुइँमान्छे अस्पतालमा शव पोस्मार्टम गर्ने कामदारको मनोविज्ञानमा आधारित छ । सिपोराले चलचित्रमा त्यही कामदारको छिमेकीको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनले कलेजको विद्यार्थी र कराते खेलाडीका रूपमा अभिनय गरेकी छन् । ‘चलचित्रको कथा मन परेकाले अभिनय गरेकी हुँ’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चलचित्र राम्रो बनेको छ । अब यसलाई सफल बनाउने काम दर्शकको हो ।’ नेपालमा केही असल चलचित्र पनि असफल भएको र केही सफल चलचित्र भनिए पनि असल बन्न नसकेको सिपोराले बताइन् ।
शैली इन्टरटेन्मेन्ट एन्ड मुभिज र शैली थिएटरको प्रस्तुति यस चलचित्रमा शव चिर्ने व्यक्तिको मनोविज्ञान, उसको जीवन र उसलाई समाजले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको निर्माता एवं कलाकार रोहिणी भट्टराईले बताए । निरुरूपा राज्यलक्ष्मी थापा र हरि यादव सहायक निर्माता रहेको चलचित्र भुइँमान्छेमा कथा, पटकथा, संवाद र निर्देशन नवराज बुढाथोकीको रहेको छ ।
चलचित्रमा रमेश बुढाथोकीले शव चिर्ने कामदारको भूमिकामा अभिनय गरेका छन् । शवगृहको सेट बनाएर छायांकन गरिएको यस चलचित्रमा विजय चौधरीको कला, अष्ट महर्जनको द्वन्द्व, विदुर पाण्डेको छायांकन, अर्जुन पोखरेल र देवेन्द्र राईको संगीत छ । त्यसैगरी महेश पौड्याल र दयाराम पाण्डेको गीत, गम्भीर राजकर्णिकार र मधुसूदन सञ्जेलको सम्पादन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । ८० लाख रुपैयाँको लागतमा निर्मित यस चलचित्रमा रमेश र सिपोराका साथै सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, शशांक बोहोरा, आर्यन न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, नारायण न्यौपाने, तारा केसी, पुष्कर गुरुङ, नवीन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।