कांग्रेस-कांग्रेसबीच पानी बाराबारको स्थिति किन ?
प्रिय साथीहरू
तपाईंहरूसँग करिब चार दशकअघि मेरो विछोड भएको थियो ०३४ साल कात्तिक २४ गते । ०१७ साल पुस १ गतेको शाही 'कू' पछि पार्टी सभापति एवं प्रधानममन्त्री विश्वेश्वरप्रसाद कोइराला गिरफ्तार हुनुभए पनि भारत निर्वासित कांग्रेसी नेता तथा कार्यकर्ताहरूको भेलाले मलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको थियो । मेरै नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र प्रतिरोध आन्दोलन भयो । १९६२ को भारत-चीन युद्धका कारण आन्दोलन स्थगन गर्नुपर्यो ।
२०३४ को कात्तिक तेस्रो साता अमेरिकाबाट औषधोपचार गरेर फर्कनुभएका पार्टी सभापति बीपी कोइरालालाई कांग्रेसको नासो सुम्पिएको थिएँ । त्यसको दुईचार दिनपछि नै मेरो निधन भयो ।मैले अत्यन्त अवित भएर यो पत्र लेख्दैछु । मसमेत धेरै साथीहरूको अथक् प्रयास र सहादत अनि जेल यातना र आठ वर्षसम्मको पीडादायी निर्वासनबाट सिञ्चित कांग्रेस संगठनात्मक रूपले कमजोर, वैचारिक रूपले स्खलित नैतिक रूपले विचलित किन भइरहेको छ ? आफ्ना पूर्वजहरूको गौरवशाली इतिहासमा उभिएको आजको कांग्रेस अरूको वैशाखीमा बाँच्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? गम्भीर समीक्षा गर्न अबेर गर्नु हुँदैन । सिद्धान्त र आदर्शका लागि मैले कांग्रेसका निमित्त के गरिनँ ? सबै साथीहरूसमक्ष केही चर्चा गर्नु सामायिक हुनेछ भन्ने ठान्छु ।
सुनको चम्चा र चाँदीको थालमा खाने राणा परिवारमा मेरो जन्म भएको हो । राणा प्रधानमन्त्री भीमशमशेरको नाति हिरण्यशमशेरको एकलौटी छोरा हुँ म । ऐसआराम, वैभव, श्रीसम्पत्ति सबै कुरा थिए मसँग । मलाई लाग्यो, मुलुकलाई एकतन्त्रीय निरंकुश राणाशासनबाट मुक्त गराई प्रजातन्त्र स्थापनाको लागि २००५ सालमा मेरै प्रयासले नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भयो । ००३ सालमा बीपी कोइरालाको नेतृत्वमा स्थापित नेपाल राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एकीकरण गरी ००६ सालमा कांग्रेसको स्थापना भयो ।
सत्ता आउँछ, सत्ता जान्छ । तर पार्टी निरन्तर रहनुपर्छ । प्रजातन्त्रको मियो, राष्ट्रिय-अन्तर्राष्ट्रिय जगत्ले समेत पत्याएको कांग्रेस किन ओरालो लाग्दैछ ? कांग्रेसको साँवा, ब्याज सत्ताको लागि अहिल्यै खाइसक्ने कि भोलिको पुस्ताको लागि मार्गप्रशस्त गर्ने ।
००७ सालको सशस्त्र क्रान्तिको लागि आवश्यक हातहतियारको बन्दोबस्ती र क्रान्तिको लागि आवश्यक पर्ने करोडौं रुपैयाँ भाइ महावीर शमशेर र म भएर व्यवस्था गर्यौं । क्रान्ति सफल भयो । नेपालमा प्रजातन्त्र स्थापना भयो । ००७ साल फागुन ७ गते श्री ५ त्रिभुवनबाट संविधानसभाबाट निर्मित संविधानअनुसार संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्था कायम गरिने घोषणा भयो । राणा-कांग्रेसको संयुक्त सरकारको अर्थमन्त्रीको हैसियतले टुँडिखेलमा तीन करोड रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेर जनताप्रति जवाफदेहिताको सुरुआत गरें ।
एकपछि अर्को सरकार गठन विघटनको शृंखला सुरु भयो । ०१४ सालको भद्र अवज्ञा आन्दोलनको कारणले ०१५ सालमा मेरै नेतृत्वमा गठित सर्वदलीय सरकारले पहिलोचोटि संसद्को लागि आम निर्वाचन सम्पन्न गर्यो । एक सय नौ निर्वाचन क्षेत्रमध्ये ७४ सिट नेपाली कांग्रेसको पक्षमा गयो । राजा महेन्द्र र भारत मेरो पक्षमा हुँदाहुँदै पनि मैले आफ्ना नेता बीपी कोइरालाको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरें र आफू उपप्रधान र अर्थमन्त्री बनें । वीरगन्ज महाधिवेशन (२०१२ साल) मा गणेशमान सिंहसँगको प्रतिस्पर्धामा सभापति निर्वाचित भएपछि नेपाली कांग्रेस समाजवादी पार्टीको रूपमा स्थापित भएको हो । म अर्थमन्त्री हुँदा बिर्ता र राज्य रजौटा उन्मूलन, जंगल राष्ट्रियकरण भएको हो।
जबकि मेरो आफ्नो हजारौं बिघा जमिन थियो पर्सा र बारामा । निर्वाचित सरकारविरुद्ध ०१७ सालको सैनिक 'कू' को दुई दिनअगाडि म कामविशेषले कलकत्ता गएको थिएँ । सायद राजालाई लाग्यो होला, सुवर्णशमशेरले उनलाई साथ दिनेछन् । त्यही भएर होला, उनले मलाई बाहिर जान स्वीकृति दिए । तर मेरो राजनीति सत्ताको लागि नभई निष्ठा र आदर्शको लागि थियो । पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र प्रतिरोध आन्दोलन गर्नुको विकल्प थिएन । आठ वर्ष भारतमा निर्वाचित कांग्रेसजनलाई बचाएर राख्नुपर्ने अभिभारा ममाथि थियो । त्यसनिम्ति कलकत्तास्थित कनक बिल्डिङ मैले बेच्नुपर्यो ।
कांग्रेस भएवापत नै वीरगन्ज र कलैया नगरपालिकाभित्रका हजारौं बिघा जमिन अधिग्रहण गरियो । बालुवाटारस्थित करिब एक हजार रोपनी मेरो जमिन सरकारले जफत गर्यो, जहाँ अहिले नेपाल राष्ट्रबैंक, प्रधानमन्त्रीनिवास र प्रधानन्यायाधीश निवास बनेको छ ।
मैले यो प्रसंग उठानुको कारण के हो भने, पदभन्दा सिद्धान्त ठूलो हो । अर्को कुरा, मुलुकले मलाई के दिन्छ भन्दा पनि आफूले मुलुकलाई के दिन सकिन्छ, त्यो महत्वपूर्ण हो । आज म मर्माहत भएको छु, आजको कांग्रेस सत्ताको लागि आफ्नो सैद्धान्तिक निष्ठासँग सौदाबाजी गर्दैछ ? वर्तमानमा आफ्नो आजको नेतृत्व किन संवेदनहीन बन्न पुगेको छ ? गम्भीर प्रश्न खडा भएको छ ।
कांग्रेसलाई जीवन्तता दिन युवा विद्यार्थीको सहभागिता आवश्यक छ । यस विषयमा बीपी र मेरो बीचमा गम्भीर छलफलपछि हामी के निष्कर्षमा पुग्यौं भने जेलबाट रिहा भएपछि बीपी भारत निर्वासनमा हुनुभएकाले तरुण दल बीपीले हेर्ने र भारत निर्वासनबाट मुलुक भित्रिएकाले विद्यार्थीहरूको क्षेत्र मैले हेर्ने । विद्यार्थी भन्नासाथ मुलुकभित्रका विश्वविद्यालय र कलेजमा अध्ययनरत पुस्तालाई कांग्रेसको मातृ संस्थाका रूपमा परिचालन गर्नुपर्ने थियो । यो अभिभारा ममाथि थियो । स्वतन्त्र विद्यार्थी युनियनको माग राखेर ०१७ सालदेखि नै प्रजातन्त्रवादी विद्यार्थीहरू आन्दोलनरत थिए ।
हजारौं संख्यामा गिरफ्तारी दिएका नेताहरू थिए । ०२६ को त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियन प्रजातन्त्रवादी समूहले विजय गर्यो । त्यतिखेर त्रिविबाट सम्बन्ध प्राप्त ६५ वटा कलेजहरू थिए । तत्कालीन विद्यार्थी नेताहरूसँगको परामर्शपछि त्रिवि विद्यार्थी युनियनको आयोजनामा प्रजातन्त्रवादी विद्यार्थीहरूको २०२७ वैशाख ६ देखि ९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय भयो । सम्मेलन तयारी समितिमा त्रिवि युनियनमा अध्यक्ष देवेन्द्रलाल नेपाली, महामन्त्री अर्जुननरसिंह केसी, विपिन कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शिवबहादुर खड्का, दमननाथ ढुंगाना, मार्सल जुलुम शाक्य, वसन्त गुरुङ, चिरञ्जीवी वाग्ले, जवाहर जोशी सम्मिलित थिए । सवा नौ वर्ष बन्दी जीवनबाट रिहा हुनुभएका कृष्णप्रसाद भट्टराईले सो सम्मेलनको स्वयम्भुस्थित एउटा पाटीमा उद्घाटन गर्नुभयो ।
सभापतिमा विपिन कोइराला र मार्सल जुलुम शाक्यबीचको प्रतिस्पर्धामा कोइराला विजयी हुनुभयो । विद्यार्थी नेताहरूलई धरकपड सुरु भयो । राजकाजको मुद्दा लगाइयो । तीन महिनासम्म आन्दोलन भयो । सर्वोच्च अदालतको ०२७ असार १४ र २५ गतेको फैसलाबाट नेपाल विद्यार्थी संघ एउटा वैधानिक संस्था स्थापित भयो । यो सम्मेलन र आन्दोलनको लागि आर्थिक व्यय भार मैले नै बोकेको थिएँ । कार्यालय सञ्चालनको लागि मासिक तीन सय रुपैयाँ र मुखपत्र 'संक्रान्ति' निकाल्नको लागि सभापति विपिन कोइराला र प्रधानसम्पादक रामचन्द्र पौडेललाई ६ हजार रुपैयाँको व्यवस्था पनि मैले गरेको थिएँ । यी सब कुरा मैले यसनिम्ति उद्धृत गर्नुपरेको हो कि त्यही नेविसंघका नेताहरूको काँधमाथि कांग्रेस नेतृत्वको जिम्मेवारी आएको छ । पुरानो पुस्ताको अन्त्य भइसकेको छ ।
आज कांग्रेस नेविसंघमय भएको छ । कुन आदर्श र लक्षको लागि नेविसंघ गठन भयो ? त्यसप्रति तपाईंहरूलाई सचेत गराउनुपर्ने मेरो नैतिक दायित्व हो । हाम्रो समयमा पनि पार्टीमा गुटउपगुट थिए । तर बीपी, म, गणेशमानजी र सूर्यप्रसाद उपाध्याय मिलेर व्यवस्थापन गथ्र्यौं । पार्टीमा सामूहिक छलफल गथ्र्यौं । एकले अर्काको अस्तित्व स्विकाथ्र्यौं । एकअर्काप्रति सम्मान भाव थियो । एक ढिक्का थियो, त्यसैले त नै सबल थियो । कांग्रेसका अगाडि अन्य दल वाम पुड्का थिए । आज कांग्रेस कांग्रेसका बीच किन पानी बाराबारको स्थिति उत्पन्न भयो ? विपक्षी दलहरूसँग सत्ता साझेदार हुन सक्ने, कहिले एमालेसँग कहिले माओवादीसँग । तर आफ्नै पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्ने ? सत्ता आउँछ, सत्ता जान्छ । तर पार्टी निरन्तर रहनुपर्छ ।
प्रजातन्त्रको मियो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्ले समेत पत्याएको कांग्रेस किन ओरालो लाग्दैछ ? कांग्रेसको साँवा, ब्याज सत्ताको लागि अहिले नै खाइसक्ने कि भोलिको पुस्ताको लागि मार्गप्रशस्त गर्ने । यो छनोट तपाईंहरूका हातमा छ ?
तपाईंहरूको
सुवर्णशमशेर (स्वर्गपुरीबाट)