सतरंग खेलमा हारिरहेको नेपाल

सतरंग खेलमा हारिरहेको नेपाल

 

नेपालजस्तो जटिल भू-राजनीतिक परिस्थिति भएको देशमा अनेकथरीका राजनीतिक तरंगहरूले राष्ट्रका गतिविधिलाई तरंगित पारिरहनु नौलो होइन । इमानदार देशभक्त व्यक्ति सरकारमा हुने हो भने यस्ता चुनौती सहजै व्यवस्थापन गर्न सकिन्छ । तर सन् १८१६ पछाडिका २०१७ सम्मका यी दुई सय वर्ष नेपालमा 'सतरंग' को त्यस्तो खेल निरन्तर चलिरह्यो, जसमा देशभित्रकै राष्ट्रघातीको सहयोगमा विदेशी÷उपनिवेशवादी तथा साम्राज्यवादीको सहयोगमा देशभक्त नेपालीहरू पराजित भइरहे र अहिले पनि पराजय भइरहेका छन् ।

Yubaraj-sangraulaa_4यस भूराजनीतिभित्रको क्यान्सरलाई जबसम्म पराजित गर्न सकिँदैन तबसम्म राजनीतिक स्वच्छता, आर्थिक समृद्धि र स्नेहपूर्ण सामाजिक सद्भावजस्ता नेपालीका सपना पूरा हुन सक्दैनन् । तर किन देशभक्त नेपाली जनता 'सतरंग' को यस खेलमा सधैं हार्न विवश छन् ? विगतमा नेपाली वामपन्थी राजनीतिले वर्ग विश्लेषणको माध्यमद्वारा यस प्रश्नको उत्तर खोज्ने प्रयास गर्‍यो । तर असफल भयो, किनकि त्यसले 'माक्र्सवाद' लाई यान्त्रिक ढंगले प्रयोग गर्‍यो । उसले नेपाली समाजका संरचनात्मक प्रवृत्तिहरूलाई राम्रोसँग विश्लेषण गर्न सकेन । उसका विश्लेषणहरू 'अनुमान' मा आधारित हुन पुगे।

सामाजिक र आर्थिक धरातलमा अन्तर्निहित ती शक्तिहरूलाई वैज्ञानिक ढंगले बुझ्ने 'वस्तुगत÷प्रयोगात्मक' अनुसन्धान गर्ने जाँगर नेपाली वामपन्थी आन्दोलनले कहिल्यै गरेन । त्यसैले उसले एउटा अस्वाभाविक सिद्धान्त ग्रहण गर्‍यो, त्यो हो 'खान पाउने सबै खान नपाउने सबैका वर्गशत्रु हुन् ।' अब यस सम्बन्धमा छलफलको आवश्यकता नै परेन । यी त्रुटिहरूपछाडिको सत्ता भोक 'वास्तवमा नेपाली वामपन्थी आन्दोलन' को मुख्य प्रेरकतत्व (मोटिभेसनल ड्राइभ) रहेछ ।

नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त ग्रहण गर्‍यो, तर कहिल्यै प्रयोग गरेन । २०४६ सालबाट त त्यसले नवउदारवादी नीति ग्रहण गर्‍यो । उसले व्यापारी पोस्यो, जनता होइन ।
विश्वको इतिहास अध्ययन गर्दा दक्षिणपन्थी शक्ति जो चरित्र र व्यवहार दुवैमा प्रतिक्रियावादी हुन्छ, उसले कहिल्यै परिवर्तनको नेतृत्व गर्दैन । परिवर्तनको नेतृत्व गर्ने 'सक्रियतावाद' को पक्षपोषण गर्ने शक्तिलाई राजनीतिक दर्शनमा 'वामपन्थी' भनिएको हो । त्यसैकारण वामपन्थीहरूले 'राज्यसत्ता' लाई समाज परिवर्तनको लागि प्रयोग गर्ने राजनीति कार्यक्रमहरूलाई 'आन्दोलनका रणनीतिको रूपमा' प्रस्तुत गर्दछन् ।

नेपालमा वामपन्थीहरूको ठूलो असफलता यही विन्दुमा लुकेको छ । राजनीतिक आन्दोलनको नेतृत्व नेताले गर्ने भए पनि समाजको विश्लेषण गर्ने जिम्मेवारी त बौद्धिकहरूकै हो । तर नेपालको राजनीतिमा 'नेतृत्व र बौद्धिकता' दुवै नेताका विशेषता वा काम मानिए । परिणाम के भयो भने 'नेतृत्व र बौद्धिकता' को बीचमा ठूलो खाडल सिर्जना मात्र भएन यी दुई थरीको प्रतिनिधित्व गर्नेहरूका बीचमा प्रतिस्पर्धा मात्र होइन, एक किसिमको वैमनस्य कायम भयो ।

'देशको प्रधानमन्त्री सार्कको अध्यक्षको हैसियतले होइन' औपचारिकताको लागि भारत भ्रमण गर्दा सतरंगको खेलमा नेपालको झन् ठूलो पराजय सुनिश्चित छ । त्यसैले के अब सतरंगको खेलबाट देशलाई बाहिर ल्याई 'निर्माण' को मिसन बोक्ने बेला भएन र ?

नेपाली राजनीतिको सबैभन्दा ठूलो दुर्भाग्यको कारण पनि यही हो । 'बौद्धिक' लाई राजनीतिक नेतृत्वले दुत्कार्दै बाहिर फ्याँकेपछि त्यसलाई 'विदेशीले उपयोग गर्‍यो ।' उपयोग मात्रै गरेन, बौद्धिकताको ठूलो संख्यालाई नेपालकै हितविरुद्ध प्रयोग गर्‍यो । उनीहरूलाई नेपालविरोधी नीति निर्माणमा प्रयोग गर्‍यो र अन्तर्राष्ट्रिय संस्था वा गैरसरकारी संस्थाहरूको माध्यमबाट उनीहरूलाई नेपालकै हितविरोधी कार्य गर्ने 'वारेस' को रूपमा प्रस्तुत गर्‍यो ।

यसरी राजनीतिक सत्ता सञ्चालनमा सरिक नेतृत्वको राजनीतिका अतिरिक्त अर्थतन्त्र, पूर्वाधार संरचना, शिक्षा, कानुन र न्याय एवं प्राकृतिक स्रोत परिचालन र सञ्चालन सबै विषयमा आफैंलाई विज्ञ ठान्ने, सुनेका आधारमा गफ हाँक्ने र सबै कुरा आफैंले कुनै अनुसन्धान र जाँचपड्तालबिना अनुमानका आधारमा नीति तय गर्ने प्रवृत्तिले नेपालको बौद्धिक शक्ति पलायन भयो, निरास भयो, र सदाबहार राज्यविरोधी बन्न पुग्यो । पुराणमा नरिवललाई फेटा लगाई 'गणेश' को प्रतिमा बनाएजस्तै बौद्धिक र विज्ञहरूले गर्ने काममा 'कथित बौद्धिक र विज्ञहरूले गर्ने काममा बिचौलिया वा चापलुस' हरूले अधीन जमाए ।

यही परिदृश्यबाट कसरी नेपालले 'सतरंग' को खेल बनेको राजनीतिमा विदेशीहरूसँग हार्‍यो भन्ने प्रश्नका तीनवटा उत्तरहरू भेटिन्छन् । (१) राजनीतिक नेतृत्वले विज्ञहरूलाई 'कार्यकर्ता' बनाई उसको विज्ञता प्रयोग गर्न वञ्चित गर्दा, ज्ञानको विशिष्टता र विज्ञता भएका राष्ट्रको लागि काम गर्नुपर्ने मानिसहरू विदेशीका खेताला बन्न बाध्य बनाइए । यो राष्ट्रको लागि ठूलो क्षति थियो । (२) ज्ञानमा विशिष्टता वा विज्ञता भएका मानिसहरूलाई राजनीतिक नेतृत्वले ढोकाभित्र प्रवेश गर्न रोके र उनीहरूले गर्ने काम गर्न आफ्ना कार्यकर्तालाई विज्ञ बनाए ।

परिणामस्वरूप 'नेताको वरिपरि लाग्ने चाप्लुस' हरूको एउटा जमात तयार भयो । यस्तै मानिस आयोगमा नियुक्त भए, मन्त्री बनाइए, न्यायाधीश बनाइए, राजदूत बनाइए, विशेषज्ञ सल्लाहकार बनाइए । यस्ता मानिसको लागि अनुसन्धान र अध्ययन सधैं घिन लाग्ने कुरा हुन्छ । त्यसैले सत्यको खोजी उनीहरू गर्दैनन्, उनीहरू त भयंकर षड्यन्त्रमा संलग्न हुन्छन् । विदेशीको लागि चलखेलको योजना लागू गर्न यिनै मानिस सबैभन्दा सजिला हुन्छन् । छोराछोरीलाई 'पीआर' मिलाइदिएमा वा विदेशमा पढ्न छात्रवृत्ति दिएमा यिनीहरू राष्ट्रका सबै नीति वा सूचना बेच्न तयार हुन्छन् ।

यस्ता मानिस देशमा सत्ता प्रयोग गर्छन्, विदेशमा छोराछोरीका पाहुना भएर आराम गर्छन् । (३) नेता र दलहरू अन्तर्राष्ट्रिय संस्थाबाट व्यापक प्रभावित र परिचालन भएका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आफ्ना नातेदारलाई जागिर खुवाउँछन् । उनीहरूका सल्लाहमा काम गर्छन् । यतिमात्रै होइन, यस्ता संस्थाहरूबाट आर्थिक लाभ पनि लिन्छन् । यसरी विदेशीहरू नेपालका नीति निर्माण गर्न सक्षम हुन्छन् । खासगरी स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, न्यायपालिका र महिला तथा बालबालिका मन्त्रालयका नीतिहरू त यिनै अन्तर्राष्ट्रिय संस्थाहरूले निर्माण गर्छन् । सुनिन्छ, यी निकायमा लगभग १९० अर्बका प्रोजेक्टहरू छन् ।

यसरी हेर्दा स्पष्ट हुन्छ- नेपालमा विदेशीहरूले राजनीतिक 'सतरंग' को खेल जित्नुमा राजनीतिक दलहरू नै सबैभन्दा बढी दोषी छन् । त्यसैले नेपाली जनताको 'सरोकार' विदेशीले के गर्दैछन् भन्नेमा भन्दा पनि नेपालका राजनीतिक दलहरू के गर्दैछन् भन्ने कुराप्रति केन्द्रित हुनुपर्छ । अब दोस्रो चरणको 'सतरंग' खेलमा त अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमा 'राजनीतिक' दलहरू नै खोल्नेछन् । हिजो राजनीतिक दलहरूले गरिबको भावनामाथि खेले । अब बन्ने यस्ता पार्टीले पश्चिमी शिक्षा र सभ्यताबाट दीक्षित भएका 'युवा' को भावनामाथि खेल्नेछन् ।

के ल्यायो नेपालमा 'सतरंग' खेलको पराजयले ? यसमा पनि छलफल गर्नुपर्छ । परिणाम गम्भीर छन् । सबैभन्दा ठूलो दुस्परिणाम हो 'राज्ययन्त्रभित्र र राजनीतिमा रहेको भ्रष्टाचार ।' भ्याट र आयकर, अन्तशुल्क र भन्सारमा मात्र वर्षमा एक खर्ब जति भ्रष्टाचार हुन्छ भन्ने चूडामणि प्रकरणबाट स्पष्ट भइसकेको छ । धेरैले भने- यत्रो मुद्दा लाग्दा पनि उनी किन हाँसिरहेका छन् ।
किनकि यस काण्डमा थुप्रै अर्थमन्त्रीहरू र सचिवहरू संलग्न छन् । भ्रष्टाचारको यो प्रकरण बाहिर ल्याएर मुद्दा फासफुस पारी विगतमा गरेको भ्रष्टाचारलाई नियमित गर्नु' यस प्रकरणको मुख्य उद्देश्य थियो । यो क्षणिक÷आंशिक नाटक मात्र थियो । नेपालको कुल उत्पादनमा प्रत्यक्ष करको योगदान करिब सात÷आठ प्रतिशत मात्र छ । त्योभन्दा ज्यादा त गरिब जनताले तिरेको 'शुल्क' छ । कुनै त्यस्तो सेवा नेपालमा छैन, जो शुल्कविना प्राप्त हुन्छ । मर्न पनि शुल्क तिर्नुपर्छ र जन्मिन पनि शुल्क तिर्नुपर्छ । शुल्क सामन्ती व्यवस्थाको विशेषता हो ।

त्यसैले नेपालमा सामन्ती प्रचलन यथावत् छन् । नेपालमा बाँच्न पनि कर लगाइएको छ, जस्तै- दुईमुरी कोदो फल्ने एक रोपनी जग्गा भएको गरिब किसानले पनि मालपोत तिर्नुपर्छ । सबैभन्दा तल्लो तहको कर्मचारी 'सहायक' ले तलबाट करकट्टा गर्नुपर्छ । यति मात्रै होइन, नेपालका प्रत्येक निकायमा भ्रष्टाचार व्यापक छ । भ्रष्टाचार तीन किसिमका छन् । एकाथरी घुस खाएर भ्रष्टाचार गर्छन् । अर्को भ्रष्टाचार राज्यकोषको लुट हो । ४० प्रतिशत ठेक्काको रकम बाँडफाँट हुने गरेको देखिन्छ।

एउटै काम प्रत्येक वर्ष दोहोर्‍याएर, सुरुको ४० प्रतिशतलाई ६० प्रतिशतसम्म पुर्‍याइएका घटना पनि भेटिन्छ । ठूलाठूला ठेक्कामा 'भेरिएसन' को ठूलाठूला रकम माग गरी 'मध्यस्थतामा पठाउने' र त्यसमा मिलापत्र गरी प्राप्त रकम 'मन्त्री र ठेकेदार' ले बाँड्ने गरेका घटना पनि देखिए । तेस्रो भ्रष्टाचार हो राज्यको सम्पत्ति मासेर कमाउने । प्रत्येक साल नयाँ गाडी खरिद गर्ने, पुराना फ्याँक्ने गरिन्छ । अहिले करिब २० अर्बबराबरका गाडीहरू सरकारी कार्यालयपरिसरमा फ्याँकिएका छन् ।

यसरी राज्य भ्रष्टाचारको क्यान्सरबाट ग्रसित छ । २०४६ सालपछि भ्रष्टाचार जीवन पद्धति बनेको छ । जनयुद्धले दिएको उपहार हो यो । विदेशी चलखेल र भ्रष्टाचार 'दम्पती' जस्ता हुँदा रहेछन् । अतः 'सतरंग' को खेलमा नेताहरू भ्रष्टाचारबाट आकर्षित हुँदा रहेछन् र विदेशीसँग हार्दा रहेछन् ।

'सतरंग' को खेलको पराजयले ल्याएको दोस्रो क्यान्सर हो 'तस्करी' । तीन किसिमका तस्करीहरू अहिले व्यापक छन् । पहिलो हो सुन तस्कारी । यसमा राजनीति अभिन्न रूपमा गाँसिएको छ । राजनीतिक दलभित्र तस्करहरू पालितपोषित छन् । लागूपदार्थको तस्करीमा मूलतः व्यापारीहरू संलग्न छन् । अहिले अर्को डरलाग्दो तस्करी हो, मानव तस्करी । गल्फमा मात्रै १० हजारको हाराहारीमा देह व्यापारको लागि भारतको बाटो हुँदै नेपाली महिला लगिएका छन् । केन्या, तान्जानिया, युगान्डा, श्रीलंका, कोरिया, जर्मनी, ब्राजिल र अमेरिकाका यौन बजारमा महिलाको तस्करी भएको छ । यो संख्या ३० हजारको हाराहारीमा भएको र एक खर्बभन्दा ठूलो अवैध रकम यसमा संलग्न भएको अनुमान गरिन्छ । यस तस्करीप्रति राजनीतिक दलहरूको कुनै सरोकार छैन ।

शिक्षामा गुणस्तरको ह्रास गर्नु 'सतरंग' खेलेको अर्को परिणाम हो । नेपालको शिक्षा निरन्तर गुणस्तरहीन बनाइँदैछ । यसको लक्ष्य भ्रमित पारिएको छ । चिकित्सा र इन्जिनियरिङ शिक्षाको व्यापारीकरण गरिएको छ । यी शिक्षाहरूलाई राष्ट्रियकरण गर्ने माग कसैको छैन । प्रत्येक वर्ष ५० अर्बको हाराहारीमा नेपाली आर्जन बिदेसिँदैछ र नेपाली शिक्षाको नीतिनिर्माणमा विदेशीको मुख्य भूमिका छ ।

सतरंग खेलको अर्को परिणाम हो, 'बहुराष्ट्रियता' को खेती । यो 'विकासे तरकारी र विकासे बोका पाल्ने' आयातित विकासजस्तै विदेशबाट आयातीत छ । अमेरिकामा पाँच सयभन्दा बढी जातिका मानिस छन्, त्यहाँ बहुराष्ट्रियता नचाहिने । भारतमा एक हजार जाति होलान् 'बहुर्राष्ट्रियता नचाहिने' । भारतमा दार्जिलिङका मानिसले प्रान्तीय प्रशासनको सुविधासम्म नपाउने । काश्मीर र दार्जिलिङमा अमानवीय दमन मानव अधिकारको उल्लंघन नहुने । तर नेपालमा बहुराष्ट्रियताको मागलाई पश्चिमी देशका संस्थाहरूले लगानी गर्ने । अनि केही मानिसहरू बहुराष्ट्रियताको गीत लेख्ने । त्यो अत्याचार र हस्तक्षेप नभएर के हो ?

सतरंगको खेलमा खेलाडीले कुटिल हुन सक्षम हुनुपर्छ । उसले विपक्षीलाई 'आफ्नो चालप्रति' भ्रमित बनाउन सक्नुपर्छ । आफूले राम्रो चाल चल्नुभन्दा विपक्षीलाई गलत चाल चल्न प्रेरित गर्नु र त्यही चालले जित सुनिश्चित गर्ने विश्वास निर्माण गर्नु यस खेलको विशेषता हो । त्यसैले होला नेपालमा वर्तमान सत्ताधारीहरू नेपाली जनताको विकासभन्दा 'संविधान' को संशोधन र भारत भक्तिलाई सफलताको कडी देखिरहेका छन् । यही विश्वासले प्रधानमन्त्रीलाई भारत भ्रमणप्रति प्रेरित गरिरहेको छ र प्रचण्डलाई फेरि 'मधेस एक प्रदेशको ज्वरो' आएको छ । भारत र चीनको बीचमा गम्भीर 'कूटनीतिक' विवादहरू देखिएको अवस्था हो अहिले । भारत भुटानसँगको सम्बन्धमा 'स्ट्याटस को' चाहन्छ र चीनले बनाएको बाटोसँग भुटानलाई जोडिन रोक्न चाहन्छ । यो विवाद भारत र चीनको सीमा विवादको विषय होइन ।

यो विषय 'भारत' को दक्षिण एसियाको शास्त्रीय कूटनीति र चिनियाँ कूटनीतिबीचको विषय हो । यस्तो अवस्थामा 'देशको प्रधानमन्त्री सार्कको अध्यक्षको हैसियतले होइन' औपचारिकताको लागि भारत भ्रमण गर्दा सतरंगको खेलमा नेपालको झन् ठूलो पराजय सुनिश्चित छ । त्यसैले के अब सतरंगको खेलबाट देशलाई बाहिर ल्याई 'निर्माण' को मिसन बोक्ने बेला भएन र ? भारतमा 'अवध' नामको एउटा राज्य थियो त्यसलाई बेलायती उपनिवेशमा गाभ्न 'गोरा' सरकार हातहतियार र गोलीगठ्ठा ओसार्दै थियो । 'अवध' का राजा दिनरात सतरंग खेलिरहन्थे । नेपालमा पनि 'सतरंग' को खेल क्यान्सरजस्तै भएको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.