काठ-टाउकेपन

काठ-टाउकेपन

 

काठ-टाउकेपन (वुडन हेडेडनेस) शब्द मैले बारबरा टुकम्यानको 'द मार्च अफ फोली' (मूर्खताको मार्च) ट्रायदेखि भियतनामसम्मका उदाहरणका साथ लेखिएको पुस्तकबाट लिएको हुँ । विश्व इतिहासको राम्रो अध्ययन गरेकी बारबराले पुस्तकमा लेखेकी छन्- कहिलेकाहीं शक्तिशाली शासकहरू आफ्नै गल्तीले र त्यो गल्ती परित्याग नगरी त्यसैमा अडिग रहने काठ-टाउकेपनले गर्दा हार बेहोर्न पुगेका देखिन्छन् ।ग्रिक माइथोलजीमा ट्राय देशको किल्ला यति बलियो बनेको थियो भने कसैले पनि आक्रमण गरेर त्यो फोडेर कब्जा गर्न सक्दैनथ्यो ।

kamal-koirala_2हेलेन अफ ट्राय त्यस प्राचीन ग्रिक कथाअनुसार त्यस समय संसारकै सबैभन्दा सुन्दर नारी थिइन् । विवाह गर्नुपहिले पनि उनी एकपटक अपहृत भएकी थिइन् । तर विवाहपछि उनी स्पार्टाका राजा मेनेलाउसकी पत्नी भइन् । विवाह भइसकेपछि छद्मभेषमा स्पार्टा आएका ट्रायका राजकुमार पेरिससँग भागेर उनकै देश गइन् । उनलाई मार्न वा पक्राउ गरेर फेरि आफ्नो देश फर्काउन मेनेलाउसले ट्राय देशमाथि आक्रमण गरे । तर दस वर्ष प्रयास गर्दा पनि किल्ला फोड्न र प्रवेश गर्न नसकेपछि मेनेलाउसको सेनाले धूर्ततापूर्ण र कुटिल चाल चाल्यो । उनीहरूले हल्ला चलाए कि जतिसुकै गरे पनि ट्रायको किल्ला फोर्न नसकिने बोध भयो, अब हामी आफ्नै देश फर्कन्छौं ।


हाम्रो सेना आफ्ना युद्धपोतहरूमा चढेर आफ्नो देश फर्कन्छ । तर हामीले बनाएको ठूलो काठको घोडा निहत्था र अस्त्रशस्त्रविहीन सैनिकहरूले ट्रायको किल्लामा उपहार छोडेर जानेछन् । विश्वासघातको ट्रोजन घोडा एक दिन बिहान ग्रिकका सैनिकहरू युद्धपोतमा चढेर आफ्नो देशतर्फ लागे । ट्रायका शासक र त्यहाँका किल्लानिवासीलाई यो विश्वास भयो कि ग्रिक सैनिकहरू साँच्चै आक्रमणका योजना त्यागेर फर्के ।
साँझ पर्नलाग्दा ट्रायको किल्लाका शासकले कुनै पनि हतियार नलिएको ग्रिक सैनिकहरूले किल्लाको फाटकसम्म पुर्यापएको विशाल कोठाजत्रै ठूलो पेट भएको अग्लो घोडा भित्याउन फलामे कपाट भएको फाटक खोले ।

आज भारत स्वतन्त्र भएको ७० वर्षपछि त्यसै त गोर्खाल्यान्डका लागि आन्दोलन छँदै थियो, अब ममता बेनर्जीले बंगाली भाषाको अनिवार्यता लादेर त्यस गोर्खाल्यान्ड आन्दोलनको आगोमा पेट्रोल खन्याइदिएकी छन् ।

वास्तवमा के थियो भने त्यो विशाल काठको घोडाको कोठाजत्रो पेटभित्र कैयन् सैनिक हतियारहरूका साथ थिए । फाटक खुल्नासाथ उत्रेर लडाइँ गर्न थाले र फाटक बन्द गर्न दिएनन्् । बिहान र दिउँसो फर्केको विश्वास पारेका ग्रिकका युद्धपोतहरू पनि साँझ केही अँध्यारोमा परबाट नदेखिने भएपछि ट्रायको किनारमा पुगिसकेका थिए । फाटक खुलेपछि उनीहरू पनि दौडँदै हतियारहरूका साथ किल्लातर्फ दौडेर पुगे ।

ट्रायको कुनै शत्रुले फोड्न र पस्न नसक्ने किल्ला स्वयं त्यसकै शासकहरूले शत्रुको लागि आफैं खोलिदिए । ट्रायको हार भयो । हेलेनको कथा भन्छ, जब मेनेलाउसले आफ्नो विश्वासघाती पत्नी हेलेनलाई मार्न तरबार उझाए, त्यसबखत उनी सर्वांग भइन् । संसारकी सबैभन्दा सुन्दर नारीलाई निर्वस्त्र देख्नासाथ मेनेलाउसको हातबाट उठाइएको तरबार भुइँमा खस्यो । हेलेनलाई ग्रिक सैनिकहरूले आफ्नो पानीजहाजमा लगे र आफ्नो देश फर्के । त्यसपछि विश्वासघातको ट्रोजन घोडा विश्वका सैनिक र युद्धकलाको इतिहासमा चलाखी र धूर्ततापूर्ण रणनीति भन्न थालियो, जसमा स्वयं धेरै बलियो स्थितिमा रहेको पक्षले आफ्नो साह्रै बलियो किल्लालाई शत्रुको लागि आफैंले खोलिदिन्छ ।

आजभन्दा ३३ वर्षअघि सन् १९८४ मा प्रकाशित 'द मार्च अफ फोली' मा देशका बलिया शासकहरूले युद्ध हार्न पुगेका कैयन् उदाहरण छन् । सबै उदाहरण यो सानो लेखमा अटाउँदैन । त्यसैले अन्तिम उदाहरण यस समय विश्वको सबैभन्दा शक्तिशाली रहेको अमेरिकाको आफूभन्दा सैनिक र सामरिक रूपले धेरै कमजोर भियतनामसँग हारेको विषयलाई संक्षिप्तमा चर्चा गर्नु यहाँनेर सान्दर्भिक हुनेछ । विश्वको त्यस समयको सबैभन्दा ठूलो महाशक्तिले के बुझेन भने देशको स्वतन्त्रताको भावना कति धेरै बलियो हुन्छ भने त्यो देशका सम्पूर्ण जनताको चाहनालाई वर्तमान अन्तर्राष्ट्रिय र अरू क्याम्पहरू पनि रहेको वातावरण भएको समयमा परास्त गर्न गाह्रै पर्छ ।

वास्तवमा यो भियतनाम युद्धलाई कतिजना अमेरिकी पत्रकार र लेखकहरूले तत्कालीन अमेरिकी रक्षामन्त्री कोलिन पावेलको मूर्खता भनेका छन् । रेन्ड कर्पोरेसन अमेरिकाको व्यापक अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने बृहत् साधन सम्पन्न संस्था हो । अमेरिकी रक्षा मन्त्रालयले रेन्ड कर्पोरेसनसँग भियतनाम युद्धबारे परमर्श र विश्लेषण गर्न लगायो । रेन्ड कर्पोरेसनले भियतनामका सबै पक्षहरूको सूक्ष्म अध्ययन गरी के निष्कर्ष निकाल्यो भने 'अमेरिकाले भियतनाम युद्ध जित्न सक्दैन ।'
डेनियल एल्सवर्ग रेन्ड कर्पोरेसनका ठूलो रकम ज्यालामा राखिएका उच्च सैनिक विश्लेषकमध्ये एक थिए ।

उनीसँग अति गोप्य राखिएको रेन्ड कर्पोरेसनको भियतनाम युद्धको अध्ययन र जित्न नसकिने निष्कर्षको हजारौं पाना लामो अनुसन्धानको प्रतिलिपि थियो । अमेरिकन आर्मी एयरफोर्स, कोस्टगार्ड, म्यारिन र सबै अंग गरी ५८ हजार तीन सय १८ मृत र तीन लाख घाइते भएको देखेर डेनियल एल्सवर्गको मनमा साह्रै खिन्न र ग्लानीपूर्ण भावनाहरू आउन थाले । युद्धको विरोध गर्ने अमेरिकीहरू हरेक दिनजसो पक्राउ पर्दै थिए । उनले पनि मनमा संकल्प गरे, म यो जित्न नसकिने युद्धको झन् प्रभावकारी रूपले विरोध गर्न सक्छु र पक्राउ परे पनि पर्छु । उनले न्युयोर्क टाइम्सलाई सन् १९७१ को जुनमा ती कागज छाप्न दिए । न्युयोर्क टाइम्सले फ्रन्ट पेजमा महत्वका साथ छाप्न थाल्यो । अमेरिकाभरि हंगामा भयो, हार्ने युद्धमा सरकारले अमेरिकीहरूको ज्यान फाल्दैछ ।

राष्ट्रपति निक्सन प्रशासनले डेनियल एल्सवर्ग र उनका सहयोगीमाथि राष्ट्रघात ऐन १९१७ अन्तर्गत गोप्य कागज प्रकट गरेको आरोपमा मुद्दा खडा गर्योु । न्युयोर्क टाइम्सले पनि सरकारले प्रकाशन रोक्न भनेको कुरा मानेन । अब सरकार अदालतमा पुग्यो । किनभने अमेरिकाको कुनै कानुनले पूर्व प्रकाशन रोक्न पाउँदैनन् । न्युयोर्कको उच्च अदालतले देशलाई ठूलो नोक्सान हुन्छ, मित्र राष्ट्रहरूसँगको सैनिक गठबन्धनहरू टुट्छ भनेर तर्क गरेपछि न्युयोर्कको उच्च अदालतले मुद्दाका कागजहरू अध्ययन नगरुन्जेल प्रकाशन रोक्न न्युयोर्क टाइम्सलाई आदेश गर्यो । तर १८ जुन १९७१ मा नै डेनियल एल्सवर्गले ती कागजहरू वासिङ्टन पोस्ट्लाई दिए ।

अब फेरि अमेरिकी सरकार वासिङ्टन उच्च अदालतसमक्ष प्रकाशन रोकिदिने निवेदन लिएर गयो । तर वासिङ्टनको उच्च अदालतले त्यसरी प्रकाशन रोक्नुलाई वाक् र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार हनन हुन जाने हुँदा रोक्न मानेन । अब सुप्रिम कोर्टमा कुरा पुग्यो । सुप्रिम कोर्टले अमेरिकी संविधानको प्रथम संशोधनले वाक् र अभिव्यक्तिको स्वतन्त्रतालाई कम गर्न नपाइने हुँदा यो प्रकाशन रोक्ने न्युयोर्क उच्च अदालतको आदेश बदर र वासिङ्टन उच्च अदालतको प्रकाशन नरोक्ने फैसला सदर गर्योो । हामी र संसारले के देख्यौं भने भियतनामका जनतासँग हारेर महाशक्तिवान् देश अमेरिकाको सरकार र सैनिकहरू एक दिन आफ्नै देश फर्के । शासकहरूको काठ-टाउकेपनले अनाहकमा ५८ हजार अमेरिकी सैनिक मरे र तीन लाख घाइते भए ।

दार्जिलिङमा दुई सय वर्षपछि बंगाली भाषा अनिवार्य गर्ने मुख्यमन्त्री ममता बेनर्जीको यही जुन २०१७ को काठ-टाउकेपन पनि मलाई त्यस्तै लाग्छ । दार्जिलिङ जिल्लाका कालिम्पोङ, खर्साङ, मिरिकलगायत समस्त क्षेत्रका स्कुलहरूमा बंगाली भाषा अनिवार्य गरिने भयो । दार्जिलिङ ब्रिटिस शासनअघि सिक्किम र केही समय नेपालमा गाभिएको भूभाग थियो । पछि यो सिक्किमको भूभाग ब्रिटिश इन्डिया कम्पनीले टिबी सेनिटोरियम, ब्रिटिस र भारतीय अफिसरका सन्तानहरू पढ्न अंग्रेजी स्कुलहरू खोलेपछि पनि त्यहाँ दुई सय वर्ष पहिलेदेखि अहिलेसम्म बंगली पढ्न अनिवार्य थिएन ।

दार्जिलिङ जिल्लाका उत्तरपूर्वी भारत र बंगालका प्रसिद्ध अंग्रेजी स्कुलहरू सेन्ट पाउल्स सेन्ट जोसेफ, माउन्ट हरमन इत्यादि सय वर्षभन्दा पुराना अंग्रेजी माध्यमका र सरकारी स्कुलहरूमा बंगाली कहिल्यै अनिवार्य थिएन । भानु जयन्तीको छुट्टी दार्जिलिङका सबै स्कुलहरूको लिस्टमा थियो । आज भारत स्वतन्त्र भएको ७० वर्षपछि त्यसै त गोर्खाल्यान्डका लागि आन्दोलन छँदै थियो, अब ममता बेनर्जीले बंगाली भाषाको अनिवार्यता लादेर त्यस गोर्खाल्यान्ड आन्दोलनको आगोमा पेट्रोल खन्याइदिएकी छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.