भरतपुर फैसला : न्यायका नौ सिङ !

भरतपुर फैसला : न्यायका नौ सिङ !

 

भनिन्छ- न्यायका नौ सिङ हुन्छन् । सिङको हिसाबले बाह्रसिङे मृगका बढी सिङ हुन्छन् । कानुनका नौ र मृगका बाह्र सिङमा भिन्नता धेरै नै हुन्छ । मृगका सबै सिङ देखिन्छन् । त्यसैले बाह्र सिङेलाई बैठक कोठा वा मुख्य मोहडामै राखेर घरको शोभा बढाइन्छ । तर न्यायका नौ सिङ कहींंकतै देखिँदैन । न्यायमूर्तिले कुन सिङ समातेर न्याय दिन्छन्, बुझ्न सरल छैन । न्याय कुन सिङको आधारमा बाँचेको हुन्छ, त्यसको भेउ पाउन गाह्रो छ ।

krishna-murari-bhandari_9त्यसैले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को निर्वाचन पुनः गराउन सर्वोच्च अदालतको संयुक्त इजलासका दुईजना न्यायाधीश ओमप्रकाश मि श्र र पुरुषोत्तम भण्डारीले गरेको निर्णयबारे समाज पूरै विभाजित बनेको छ । फैसलाको प्रमुख प्रतिपक्ष एमालेले आलोचना गर्दै भनेको छ- यो फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको छ । यो दुर्भाग्यपूर्ण छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरेको छ ।सत्तापक्ष कांग्रेस र माओवादीले सर्वोच्च अदालतको फैसलालाई सन्तुलित र जनमतको कदर गर्ने उच्चकोटीको फैसला भनेर प्रशंसा गरेको छ।

न्यायका नौ सिङ

कानुनका एक प्राध्यापकले भने, सतहमा आएका कुरा सुनेर सबै कुरा थाहा पाउन सकिँदैन । भित्री खेल के भएको थियो, त्यसको पनि जानकारी हुनुपर्छ । उनले थपे, त्यसैले अहिले न्यायका नौ सिङका कुरा बिर्सनोस् किनभने चार आयामलाई सम्झिएर न्याय दिए पनि यहाँ काफी हुने देखिन्छ ।

ती के हुन्, उनी भन्दै गए-पहिलो, कानुनका रकमी कुरा देखाएर आफूले इच्छाएको फैसला गर्ने । दोस्रो हो, के गर्दा न्याय पर्छ त्यसमा सचेत बनेर फैसला गर्ने । तेस्रो, सामाजिक/सांस्कृतिक पक्षलाई हेरेर स्वयम्भूका दुई आँखाले हेरेर न्याय दिने र चौथो हो, राजनीतिक आयामबाट जे गर्दा ठीक हुन्छ त्यही गर्ने ।

तर उनैले भने, हिजोआज यी चार आयाममा पनि पहिलो र चौथो आधार टेकेर सर्वोच्च अदालतसम्मले फैसला गर्ने गरिरहेका छन् । कुन न्यायाधीशले कति फैसला कुन आधारमा टेकेर गरे, त्यो उनीहरूले नै बताउने कुरा हो । किनभने त्यसका साक्षी उनीहरू स्वयं हुन्छन् ।

गत जेठ २० गते निर्वाचन आयोगले भरतपुर महानगरको १९ नं वडामा गर्ने भनेको पुनः मतदानको निर्णय उत्प्रेषण रिटको आधारमा बदर गरी मतगणना कार्यलाई निरन्तरता दिएर परमादेशको आदेश जारी गर्न÷नगर्न देशका घाग वकिलहरूले बहस गरेको मुद्दामा न्यायाधीशद्वयले रिट नै खारेज गरिदिए।

अब चितवनको चुनाव जित्न देशभरका गुन्डागर्दी, किनबेच र जालझेललगायतका ज्ञात-अज्ञात उपायहरूको भरपूर दुरुपयोग हुनेछ । त्यसबाट उत्पन्न अवस्थाबारे कसले जवाफ दिने र जिम्मेवारी बोक्ने ?

मुद्दामा रिट निवेदक गुन्जमान बिकको पक्षबाट देशकै वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले र रेणु दाहालको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता महादेव साहले गरेका थिए । जेठ २२ गते सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई समेत यही बेन्चले निष्क्रिय बनाइदियो।

लम्बेतान बहस र निसु

त्यसपछि सर्वोच्च अदालतमा मुद्दाबारे लम्बेतान बहस भए । अदालतले च्यातिएका ९० थान मतपत्र इजलासमा प्रस्तुत गर्न पनि लगायो । वादी-प्रतिवादीको तर्फका वकिलहरूको बहस सकिएपछि अदालतले कहिले के त कहिले निसु (निर्णय सुनाउने) भनेर मुद्दाको फैसला पन्छाइरह्यो । ढिलासुस्तीले फैसला हुन रोकिइरह्यो । अन्ततः साउन १५ गते न्यायाधीश ओमप्रकाश मि श्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले न्याय होइन, कानुनको हवाला दिँदै निर्वाचन आयोगको पुनः निर्वाचन गराउने निर्णयलाई ठीक ठहर गर्दै रिट नै खारेज गरिदियो । भएको के थियो ?

सबैलाई अवगत नै छ, पहिलो चरणको निर्वाचनअन्तर्गत भएको भरतपुर महानगरपालिका मतगणना सकिन लागिसकेको थियो । मतगणनामा कांग्रेस र माओवादीकी साझा उम्मेदवार प्रचण्डपुत्रीलाई एमालेका उम्मेदवार देवी ज्ञवालीले उछिनिरहेका थिए ।

तर वडा नं १९ को मत गनिरहेको ठाउँमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले आफ्नो उम्मेदवारको हार निश्चित देखेपछि अकस्मात मतगणना भइरहेका मतपत्र नै मुठ्याउँदै च्यात्न थाले । उनीहरू मतपत्र च्यातेर पुनः मतदान गराउने योजनाबद्ध षड्यन्त्रका मतियार थिए ।पुनः मतगणना भयो भने चुनाव जित्ने सम्भावना रहन्छ भन्ने नै उनीहरूको रणनीतिक योजना थियो र अहिले अदालतले पनि त्यसैलाई कारण बताएर निर्णय गरेको छ ।

यसले देशभरका ७४४ स्थानीय निकायमध्ये २६३ नगरपालिका (६ महानगर, ११ उपमहानगर र २४६ नगरपालिका) को एउटा वडाको निर्वाचनले राष्ट्रिय महत्व पाइरहेको छ । यो राष्ट्रिय साचो र देशभरका सञ्चारमाध्यमले महत्व दिएर चर्चा गर्नुका धेरै कारणमध्ये प्रमुख कारण त्यहाँ उम्मेदवार बनेकी प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल उम्मेदवार हुनुलाई मानेका छन् ।

नयाँ प्रयोगप्रति चासो

सर्वशक्तिमान प्रचण्डपुत्रीभन्दा पनि महत्वपूर्ण चासोको विषय थियो, इतिहासमा एकअर्कालाई सधैं प्रमुख शत्रुको रूपमा व्यवहार गरेका माओवादी र नेपाली कांग्रेसले संयुक्त भएर सरकार मात्र चलाएपछि, चुनावसँगसँगै लड्ने सुरुआत गरेका थिए । कांग्रेसका सभापति शेरबहादुरको आदेशमा (कांग्रेस) जित्ने मजबुत ठाउँमा माओवादी उम्मेदवारलाई समर्थन गर्न कांग्रेसी सदस्य र मतदातालाई बाध्य पारिएको थियो ।

यसविरुद्ध कांग्रेसभित्र ठूलो विद्रोहसमेत भएको थियो र कांग्रेसका मतदाताले पार्टी नेतृत्वको आदेशको अवहेलना गर्दै माओवादी उम्मेदवारलाई मत नदिने बताइरहेका थिए ।तेस्रो कारण, देशको पहिलो र तेस्रो पार्टीको धु्रवीकरणले सत्ता मात्र चलाउन थालेको थिएन भावी चुनाव पनि मिलेर लड्ने साझा केन्द्रीय रणनीति बनेको थियो । यसो नगर्दा एमालेले सबैतिर जित्ने अड्कल कांग्रेस-माओवादीको थियो । यसो गर्दा पनि स्थानीय चुनावमा उनीहरूले एमालेलाई टक्कर दिन सकिरहेका थिएनन् । एमालेको लहर नै आइरहेको थियो ।

चितवनमा पनि एमाले उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्नै लागेका थिए । यसले राष्ट्रिय राजनीतिमा भीषण तरंग पैदा गरिरहेको थियो । मुख्य नगरपालिकाहरू एमालेले जितिसकेकाले उनीहरू आत्तिइरहेका थिए ।

मतपत्र च्यात्ने नै 'हिरो'

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपाने कांग्रेस र माओवादीबीच हिरो बनेका छन्, राष्ट्रिय राजनीतिले अवलम्बन गरिरहेको मार्गबारे गम्भीर चिन्तन गर्ने एक प्राध्यापकले व्यंग्यात्मक तरिकाले चितवन चुनावबारे आफ्नो निचोड सुनाए । उनी अगाडि भन्दै गए, ती हिरोहरूकै कारण एमालेले जितिसकेको चुनाव अब उल्टिने अवस्थामा पुगेको छ ।यसको जस कसैलाई जान्छ भने ती दुई बहादुर 'द्रोण शिवाकोटी र मधु न्यौपाने' मै जान्छ ! यो सफलताको हकदार यो जगत्मा उनीहरू नै हुन् ।

तिनको आँट चिनेका रणनीतिबाजले मतपत्र च्यातेर कानुनको आड लिँदै अगाडि बढ्न सकिन्छ भन्ने निष्कर्ष निकालिसकेका थिए । त्यसैले मेरो विचारमा अप्रत्यक्ष रूपमा रणनीतिबाज पनि यसका हकदार मानिनुपर्छ । दृश्यमा प्रत्यक्ष रूपमा नदेखिने रणनीतिबाजले कति धुत्र्याईं र चलाखीसाथ एमालेलाई हराउँदै चुनाव जित्न सकिन्छ भनेर योजना बुने होलान् ?

अचुक योजनाकार

यस्तो अचुक योजना बनाउने रणनीतिबाजको सोचले नै मुलुकमा विल्कुलै नयाँ परिस्थितिको सिर्जना भयो र एकोहोरो रूपमा अगाडि बढिरहेको एमालेमा पूर्णविराम नलगाए पनि कमा भने पक्कै लगाएको छ । अब यो तरिका बाँकी रहेका चुनावी मतगणनामा खुलारूपमा प्रयोगमा आउने निश्चित छ ।
कांग्रेस-माओवादी गठबन्धनबाट निस्किएको यो नयाँ तरिका नयाँ प्रतिपादित सिद्धान्त पनि हो । त्यसैले सकेको ठाउँमा एमालेले पनि यो सिद्धान्तलाई प्रयोग गर्न सक्छ, तर यसका प्रवर्तक त माओवादी र कांग्रेसी नै भएकाले यसको कपिराइट भने उनीहरूकै नाउँमा दर्ता हुनुपर्छ भन्ने हामीलाई लागिराखेको छ ! यसलाई स्विकार्न एमालेले पनि कतै कुनै कन्जुस्याईं नगरोस् ।

उनले भने, मतपत्र च्यात्नेहरू मतगणनास्थलबाटै पक्राउ त परे । यो वैधानिक लडाइँको रणनीतिक योजना बनाउने योजनाकार भिडन्तमा सामेल नभएकाले पक्राउ पर्ने त कुरै भएन । तर न तिनको खोजी भयो न त पहिचान गर्ने इच्छा नै कसैले जाहेर गर्‍यो ! वास्तवमा यस्ता प्रतिभाको त अभिनन्दन नै गरिनुपर्छ ! देशको नभए पनि यी सत्तासीन पार्टीका खजाना हुन् ।

मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेविरुद्ध मुद्दा चलाइए पनि त्यसले केही लछारपाटो नलगाउने पक्का थियो । किनभने बुर्जुवा व्यवस्था, त्यसको कानुन र संसदीय व्यवस्थाको विरासत बोक्ने कांग्रेस पार्टीको नेतृत्व मतपत्र च्यात्ने रणनीतिबाजकै पक्षमा थियो ।

सत्ता त मिलेमतोको छँदैछ । त्यसैले तत्कालै उनीहरू धरौटी राखेर रिहा भएका हुन् ! उनले थपे, धरौटी राखेर उनीहरू किन रिहा भए भनेदेखि यहाँ न्याय पनि पैसा खर्चेपछि पाइने कुरा न हो । पैसा भएन भने त वकिल पनि राख्न सकिँदैन । वारिस राख्न पनि पैसा नै खर्च गर्नुपर्छ ।
त्यसैले च्यातिएको मत गन्ने कि पुनः मतदान गराउने फैसला हुनुअघि नै शिवाकोटी र न्यौपानेले पैसा राखेर अदालतबाट स्वतन्त्रता पाए, थुनामुक्त हुन्।

रोल मोडेललाई सगुन

अदालतबाट रिहा हुनु पहिल्यै रातारात मतपत्र च्यात्नेहरू चितवनमा मात्र होइन, देशभरका कांग्रेस-माओवादीका रोल मोडेल बनेको कसले मनन गरेको छैन ? ती प्राध्यापकले भने, त्यसपछि त फूलमाला र सगुनको हकदार मात्रै बनेका छैनन्, उनीहरू एमालेलाई तह लगाउने बहादुर भनेर वीर कहलाइन थालिएका छन् !

सर्वोच्चको फैसलाले यिनैलाई बल थपिदिएको छ । यसैबाट पुष्टि हुन्छ, मतपत्र च्यात्ने रणनीति कति विधिसम्मत, जबर्जस्त र दूरगामी महत्व राख्ने रहेछ !चितवनमा देश खाएर शेष बनेका अर्का राजनीतिज्ञले भने, फैसला यति धेरै कानुन मथेर, विवेक लगाएर र देश, काल र परिस्थिति मध्यनजर गरेर गरिएको छ कि गुन्डागर्दी दण्डित गरेको कहींकतै देखिँदैन, उल्टै अदालतको फैसलाले गुन्डागर्दी गर्नेहरूलाई दीपावली गरेर स्वागत गर्दै खुसीयाली मनाउने अवसर सिर्जना गरिदिएको छ ! यसलाई न्याय क्षेत्रले भर्खरै मारेको ठूलो फटको भन्दा फरक पर्दैन किनभने अदालतले नयाँ नेतृत्व जो पाएको छ ।

यो मुद्दाको बहसमा सामेल नभएका सर्वोच्च अदालतका एक अधिवक्ताले भने, त्यसैले सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मि श्र र पुरुषोत्तम भण्डारीले साउन १५ गते आइतबार गरेको फैसलाले मुठीभर न्यायप्रेमी मानिसलाई मात्र आक्रामक बनाएको हो । ती नाथेहरूमा प्रतिशोध र प्रतिरोध चुलिएर के हुन्छ ? तिनले दिने मत न हो, जो च्यातिन्छ र च्यातिएपछि पुनः मतदान गर्ने लोकतान्त्रिक मूल्यमान्यतालाई बढावा दिन अदालत कदापि पछि हट्ने छैन ।

बोल्ने अधिकार पाएका जनता बोल्दाबोल्दै मरेको उदाहरण दिने पूर्व सांसद परि थापाले भने झैं मतदान गर्दागर्दै मतदान गर्नेहरू पनि एक दिन थाक्ने नै छन् । त्यसपछि उसको मतदान त्यही मत च्यात्नेले गरेर लोकतन्त्रको सम्मान गरिदिने सकारात्मक सोच अभिवृद्धि हुने सम्भावना आउँदा दिनमा अत्यधिक देखिँदै छैन त !

मुठभेडको सम्भावना

फैसलापछि विवाद साम्य हुनुपर्ने हो, तर सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाले विवाद झन् चुल्याएको विश्लेषण अर्का प्राध्यापकको छ । राजनीतिक आरोप-प्रत्यारोप चुलिन थालेको छ । यसले देशलाई अझ विवादको भुमरीमा पुर्‍याउने अड्कलबाजी बढाएको छ ।
यसको कारण देखाउँदै उनले भविष्यवाणी नै गरे, अब चितवनको चुनाव जित्न देशभरका गुन्डागर्दी, किनबेच र जालझेललगायतका ज्ञात-अज्ञात उपायहरूको भरपूर दुरुपयोग हुनेछ । त्यसबाट उत्पन्न अवस्थाबारे कसले जवाफ दिने र जिम्मेवारी बोक्ने ? फैसला गर्ने अदालतले कि दीपावली गर्ने सत्ता पक्षले ?




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.