हट्ने होइन डटी लड्ने..
हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ।
कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ।
राष्ट्रियताले भरिएको यो गीतले धेरै सन्देश दिन खोजेको छ। वास्तवमा भन्ने हो भने संसारका जति पनि सफल व्यक्ति छन् तिनीहरु आफ्नो लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि जस्तो सुकै समस्यासँग पनि नहटिकन डटेर लडेकाले सफल भएको पाइन्छ। चाहे ती व्यापारी हुन, चाहे राजनीति व्यक्तिहरु हुन्, चाहे अरु कुनै व्यक्तिहरु नै हुन् आफ्नो लक्ष्य तथा उदेश्यसँग नहटिकन डटेर लड्ने व्यक्तिहरु नै आज सफल व्यक्तिहरुको सूचीमा छन्।
मानिसहरु आफ्नो जीवनबाट राम्रा नराम्रा धेरै कुराहरु सिकेका हुन्छन् तर, नराम्रा र नकरात्मक कुराहरु चाँडै सिक्ने गर्छन्। मानिसहरुलाई थाहा छ कि, परिश्रमको फल मिठो हुन्छ, असफल भयो भने हार मान्नु हुन्न भनेर। तै पनि समाजमा प्रशस्त व्यक्तिहरु भेटिन्छन् जसले १–२ पटक परीक्षामा फेल भएर स्कूल, कलेज छोडेको, केही समय व्यापारमा कमी आएर व्यापार छाडेको वा हरेश खाए। डिप्रेसनमा गएको, केही समय जागिरको खोजीमा भौतारिएर जागिर नपाएको कारणले दिक्क भएका, एकपटक कुनै व्यापार घाटामा गयो भनेर व्यापार भन्ने बित्तिकै तर्सिने आदि व्यक्तिहरु भेटिन्छन्।
सन् १९४३ मा अमेरिकामा जन्मेका डब्लु। मिट्चेल २८ वर्षको उमेर हुँदा राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किएर गम्भीर दुर्घटना परे। मोटरसाइकलको पेट्रोल ट्याङ्की चुहिएर आगलागी हुँदा उनको शरीरको ६५ प्रतिशत भाग पहिचान नहुने गरी जल्यो। जलेका शरीरभरिका छालाको सर्जरीपछि उनी बाँच्न त सफल भए तर हातका सम्पूर्ण औंलाहरु गुमाउनुपर्यो।
दुर्घटनाको ६ महिनापछि मिट्चेल एउटा नयाँ जीवन लिएर घर फर्किए। फर्किएपछि उनले जीवनलाई नयाँ तरिकाबाट सुरु गर्ने निर्णयमा पुगे र साथीसँग मिलेर व्यापार सुरु गरे। व्यापारमा उनले राम्रो सफलता प्राप्त गरे। तर, उनी त्यतिकैमा चुप लागेर बसेनन्।
आफ्नो खुबी राजनीतिमा देखाउने उद्देश्य राखेर राजनीतिमा होमिए र सन् १९७७ मा ३३ वर्षको उमेरमा आफ्नो सहर क्रेस्टेड बुटको मेयरसमेत भए। हातका कुनै औंला नभएको भएता पनि उनको दृढ इच्छा शक्तिले गर्दा पाइलट बन्न समेत सफल भए।
मिट्चेलको जिन्दगी राम्रोसँग बितिराखेको थियो यतिकैमा, उनले फेरि दोस्रो भयानक दुर्घटना बेहोर्नु प¥यो। उनी आफैले उडाई राखेको एउटा सानो जहाज ल्यान्ड गर्ने बेलामा दुर्घटना भयो। उनका ढाडका करङहरु १२ ठाउँमा भाँच्चिए र कहिल्यै पनि हिँड्डुल गर्न नसक्ने गरी प्यारालाइसिस भए र ह्विल चेयरको साहरा लिनुपर्ने भए।
मिट्चेल दोस्रो दुर्घटनापछि पनि त्यत्तिकै चुप बसेनन्। निको भएपछि उनी संसारभरका व्यक्तिहरुलाई जिन्दगीको बारेमा सिकाउँदै हिँडे र अहिले उनी संसारकै एक उत्कृष्ट मोटिभेसन स्पिकरको रुपमा आफूलाई चिनाउन सफल भएका छन्। प्यारालाइसिस भएर पनि अहिले उनि साहसिक खेल राफ्टिङ, स्काई ड्राइभसमेत गर्छन्। यति मात्रै होइन उनले विभिन्न पुस्तकसमेत लेखेका छन्। उनी भन्छन्, ‘दुर्घटनाभन्दा पहिला मैले १० हजार चिजहरु गर्न सक्थें होला, अहिले दुर्घटना भएपछि ९ हजार चिजहरु गर्न सक्दिन होला। तर, अहिले मैले गर्न नसक्ने ९ हजार चिजहरुमा ध्यान दिनुभन्दा गर्न सक्ने १ हजार चिजहरुमा ध्यान दिएको छु।’
मिट्चेलले चाहेको भए मैले कोसिस गरेको हो तर, भाग्यले साथ नदिएकाले मेरो के लाग्छ भनेर बस्न सक्थे। र समाजले पनि उनलाई सजिलै सहानुभूति दिन्थ्यो। उनले चाहेको भए, दुर्घटना पर्दा बिमाबाट आएको रकम ५ लाख डलर बैंकमा राखेर ब्याजले गुजारा चलाउन सक्थे। त्यतिले गुजारा नचल्ने अवस्था आए मागेर गुजारा चलाउन सक्थे होला।
व्यापारमा करोडौं कमाएँ भनेर मख्ख परेर बस्न सक्थे होला। मेयरसम्म भइयो अब यस्तो अपांग भएपछि अवकास जिन्दगी बिताउँछु भनेर पनि निर्णय लिन सक्थे होला। तर उनले सधैं नै सक्रिय जिन्दगी बिताउने निर्णय गरे र भनें, मेरो जिन्दगी यतिका लागि मात्रै होइन, जिन्दगीमा एउटा बाटो बन्द हुन्छ त अर्को बाटो पत्ता लगाउनुपर्छ र प्यारालाइसिस् भएपछि पनि सक्रिय हुने क्षेत्र मोटिभेसन स्पिकर बन्ने निर्णय गरे। हट्ने होइन डटी लड्ने उनको बानीले गर्दा आज उनी अपांग शरीर भएर पनि सपांग व्यक्तिले गर्न नसकेका कार्यहरु गरेर संसारभर शिर ठाडो गरेर लाखौं व्यक्तिहरुलाई प्रेरणा दिँदै आएका छन्। मेट्चेलले भने झैं जुन कुरा हामीले गर्न सक्दैनौं त्यसमा चिन्तित भएर बस्नुभन्दा सम्भव भएका क्षेत्रमा कटिबद्ध भएर लाग्नुपर्छ।
सन् १९९१ मा बनेको बलिउड फिल्म हन्ड्रेड डेजमा एउटा गीत छ ‘गब्बर सिङ ये केहेकर गया, जो डरगया वो मरगया’ यो गीतको शाब्दिक अर्थ पनि हट्ने होइन डटी लड्नेसँग लगभग मिल्न जान्छ। जो डराउँछ ऊ मर्छ भन्नुको मतलब डराउने मानिसले प्रगति गर्दैन हो। मानिसको जीवनको अस्तित्व त्यतिबेलासम्म मात्र नै छ जबसम्म ऊ डटेर लड्छ त्यही भएर हामी मानिसलाई संसारको सर्वश्रेष्ठ प्राणी मानिएको छ।
समस्यासँग डराएर भाग्ने मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्नू ठुलो भूल हो वा जिउँदो लास हुनु हो। यहाँ डर भन्नाले समस्यासँग डराउने भन्ने बुझ्नुपर्छ। विशेष गरी मानिसलाई असफल हुन्छु कि भन्ने डर र एकपटक भोगेको असफलताले निम्त्याएको त्रास र आफ्नो क्षमता माथिको अविश्वास आदिले गर्दा कुनै पनि कार्यमा पछि हट्न खोज्दछ।
माउन्टेन ड्युको विज्ञापनमा सलमान खानले भन्छन् ‘डरके आगे जित है’ अर्थात सफलता समस्या पछाडि छ। समस्यालाई पार गर्न सकिएन भने सफलता हाँसिल गर्न सकिँदैन। भगवानले यो संसारको सृष्टि यस्तो तरिकाले गरेका छन् कि, हामीले राम्राराम्रा कुराहरु प्राप्त गर्न खोज्नुपर्छ, तपस्या गर्नुपर्छ।
त्यसैले नै सुनचाँदी, हीरा, मोती जस्ता अमूल्य वस्तुहरु जहाँतहिँ पाइँदैन। यिनीहरुलाई खोज्नुपर्छ, शुद्धीकरण गर्नुपर्छ र यसका लागि धेरै मेहनत गर्नुपर्छ। भगवानले मानिसलाई सर्वश्रष्ठ प्राणि त बनाईदिए तर आफू सर्वश्रेष्ठ हुने नहुने निर्णय गर्नको लागि मानिस आफैलाई नै छाडिदिए र भनिदिए कि, जुन मानिस समस्यासंग डटेर लड्छ त्यो नै
सर्वश्रेष्ठ हुन्छ, जिवनमा सफलता हांसिल गर्छ र आफ्नो जिन्दगी सार्थक बनाउँछ। जसरी अमला खाँदा सुरुसुरुमा अमिलो हुन्छ, र बिस्तारै चुस्दै गएपछि त्यही अमिलो अमला पनि गुलियो हुँदै जान्छ, त्यसरी नै मानिसलाई सुरुमा कुनै समस्यासँग लड्नुपर्दा अप्ठेरो वा असहज लागेता पनि पछि त्यही असहज परिस्थिति पनि उसलाई सहज लाग्न थाल्छ। पहिला त्यही मन नलाग्ने कार्य पनि राम्रो लाग्न थाल्छ। समस्या भनेको अमला जस्तै हो। अमला अमिलो हुन्छ भनेर खान मन नगर्नेहरु त्यसको गुलियोको स्वाद चाख्न बाट चुक्छन्। त्यसैगरी समस्यासँग डराएर भाग्नेहरु समस्यासँग जुधेर प्राप्त हुने सफलताको स्वाद चाख्न बाट चुक्छन्।
सन् २००१ मा निखिल उप्रेतीको पहिलो चलचित्र पिंजडा रिलिज भएको थियो। निखिल त्यस चलचित्रमा सहनायकको रुपमा आएका थिए। तर उत्त mफिल्म रिलिज भएपछि उनी एकाएक चर्चित भए। उनले चलचित्रमा सात तल्ला घरबाट हाम्फाली एउटा साहासिक, निडर र आशालाग्दा एक्सन नायकको रुपमा आफूलाई परिचय गरेको कारणले उनी चलचित्रका मुख्य नायक सुरेश मरहठ्ठा (हाल नाम बदलेर रेश मरहठ्ठा भएका) भन्दा चर्चित भए र अहिले उनी नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भएका छन्। उनलाई सुपरस्टार बनाउन उनको हिम्मत र साहसले ठूलो भूमिका खेलेको थियो। उनले त्यतिबेला त्यो काम गरेर देखाए, जुन बेला अन्य नायकहरुले त्यो गर्ने हिम्मत गर्थेनन्। त्यतिबेला सायद निखिलले बुझेका थिए कि, हट्ने होइन, डटी लड्नुपर्छ।
हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ भन्ने गीतले भने झै हामी नेपालीहरु विभिन्न समस्यासँग डटेर लड्ने बानी बसाल्यौं भने हाम्रो प्रगति पनि हुन्छ र साथै यस राष्ट्रिय गीतको पनि सम्मान हुन्छ। डटेर समस्याको सामना गरौं, जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ र अवसर पनि छ। हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ। सफलता प्राप्त गर्न डटेर लडौं। डटेर लडौं।।
–लेखक ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन्।