पनामा पेपर्स फेरि चर्चामा !
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पनामा पेपर्स काण्डमा फैसला सुनाएपछि, फेरि एकपल्ट पनामा पेपर्स काण्ड चर्चामा आएको छ । पनामा पेपर्स विभिन्न मुलुकमा नेता, उद्योगपति, व्यापारी र भ्रष्टाचार गर्ने सरकारी अधिकारीले आफ्नो देशमा गैरकानुनी रूपमा कमाएको रकम विदेशी बैंकमा राखेर लगानी गर्ने र त्यसको कमाइ ल्याउने र बैंकमार्फत आफ्नो देशमा भित्र्याउने प्रयास गर्नेहरूको क्रममा अनुसन्धानमा रहेको अन्तर्राष्ट्रिय पत्रकारहरूको एक संस्थाले यी सूचनाहरू प्रकाशमा ल्याएपछि पनामा पेपर्स चर्चामा आएको हो ।
जर्मनीका दुई पत्रकार जोन डोइ र वास्टियन ओबरमेयरले त्यहाँको समाचारपत्र सिडवेचे जेइतुङमा पहिलोपटक त्यस्ता व्यक्तिको नाम प्रकाशमा ल्याएपछि विश्वका धेरै मुलुकमा आतंक नै फैलिएको थियो । त्यसबेला अनुसन्धानमा संलग्न ती पत्रकारले हाम्रो जीवन खतरामा हुन सक्छ भनेर आफ्नो नामसमेत बताउन चाहेनन् । त्यसले यो अरू रहस्यमय भयो । मे ६ मा पत्रकारद्वयले दिएको आफ्नो वक्तव्यमा विश्वमा जहाँ अन्याय र अत्याचार बढेको छ, त्यसको कारण आयमा देखिने असमानता हो भनेका छन् । डोईले कहिल्यै सरकार या गुप्तचर संस्थामा काम गरेका छैनन् ।
उनको एउटै इच्छा भनेको यसबाट त्यस्ता भ्रष्टाचार र गैरकानुनी रूपमा कमाइएको रकमविरुद्ध मुद्दा चलाउन सहयोग गर्नु नै हो । जर्मन 'जेइतून' ले जब यी तथ्यांक पनामा पेपर्सबाटै आएका हुन् भन्ने निश्चित गरेपछि अन्तर्राष्ट्रिय अनुसन्धान पत्रकारहरूको संघले यी सूचनालाई आफ्नो वेबसाइटमा राख्यो।
अनुसन्धानका क्रममा ८० देशका सञ्चारमाध्यमले ती संकलित तथ्यांक विश्लेषण गरेपछि सन् २०१६ को अप्रिलमा पहिलोपटक तिनको विवरण प्रकाशित गरियो । १५० वटा यस्ता दस्ताबेज बाहिर आएपछि यो आयोजनाले पत्रकारितामा तथ्यांकको प्रयोग, संयुक्त र सामूहिक सहयोगको दिशामा ठूलो फड्को मारेको थियो ।
यस्ता दस्तावेजलाई पनामा पेपर्सको नामाकरण गरिँदा पनामा सरकारले ठूलो विरोध गरेको थियो । केही सञ्चारमाध्यमले आफ्नो सूचना गर्दा मोस्याक फेनसको पेपर्सका नामले पनि प्रकाशमा ल्याएका थिए ।यसरी चुहिएर आएका फाइलका सूचनाका आधारमा थुप्रै देशका राजा, प्रधानमन्त्री, राष्ट्रपतिका परिवारको कर छलीमा संलग्नता देखियो ।
विदेशमा त त्यत्रा ठूला र नाम कहलिएका व्यक्तित्वसमेत भ्रष्टाचारमा संलग्न छन् भने हामी त गरिब देश नेपालका मान्छेले गर्न नपाउने ? भन्ने प्रोत्साहनकै कारण भ्रष्टाचार बढेको हो कि ?
तीमध्ये चीनका नेता सी जिनपिङ, मलेसियाका प्रधानमन्त्रीका छोरा नाजीव राजाक, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका छोराछोरी, अजरवैजानका राष्ट्रपति इहाम एलियेमका छोराछोरी, दक्षिण अफ्रिकाका राष्ट्रपतिका नाति, मोरोका राजाका निजी सचिव, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानका छोरा कोजो अन्नान, बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरका छोरा मार्क थ्याचर, मेक्सिकोका राष्ट्रपतिका मनपर्ने एक ठेकेदार, स्पेनका राजा हवाँ कार्लोसका परिवार पनामा पेपर्स काण्डमा मुछिएको पाइएको छ ।
यस्तै अरू ४० राष्ट्रका सरकारका तल्लो तहका अधिकृत तथा तिनका परिवारहरू पनि छन् ।
यी सबै मुद्रा निर्मलीकरण, कर छली जस्ता काण्डमा प्रत्यक्ष मुछिएका छन् । अस्ट्रेलिया सरकारले पनामा पेपर्समा उल्लेख भएका दुईवटा बैंकको लेखा परीक्षण गर्ने उल्लेख गरेको छ । फ्रान्सका राष्ट्रपति होलान्डेको कर छलीको बारेमा उनीमाथि मुद्दा चलाइने र कारबाहीसम्म गरिने भएको छ ।
यसैगरी पनामा पेपर्समा चुहिएका सूचनाका अनुसार फ्रान्सका मेरिना लिपे(राजनीतिज्ञ) जर्जियाका भूतपूर्व प्रधानमन्त्री विद्जीना, आइसल्यान्डका प्रधानमन्त्री सिकमन्दर, डेभियो जस्ता व्यक्ति पनि गैरकानुनी काम गर्नेहरूको सूचीमा परेका छन् । इटालीमा पनामा पेपर्सका आधारमा त्यहाँका आठ सयजना माथि अनुसन्धान भइरहेको छ । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो वुर्लोसकोनी माल्टा, नर्वे, पोर्चुगल, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, स्पेनका उद्योगमन्त्री, युक्रेनका राष्ट्रपतिजस्ता व्यक्ति पनि भ्रष्टाचारमा तानिएका छन् ।
बेलायतको विपक्षी दलका सांसदले त्यहाँका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनमाथि उनका परिवारको करसम्बन्धी आरोपको बारेमा स्वतन्त्र अनुसन्धानको माग गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री सरिफमाथि १९८० देखि नै विभिन्न भ्रष्टाचारमा संलग्न रहेको आरोप थियो, पनामा पेपर्समा अरू सूचना पाएपछि सन् १९९० को मध्यतिर संघीय अनुसन्धान गरिनुपर्ने कुरा पनि उठेको हो ।
मोस्याक फोनसेको दस्तावेजमा प्रभानमन्त्री सरिफ र उनका भाइ पन्जाबका मुख्यमन्त्री सेवाज सरिफ कुनैको पनि नाम उल्लेख छैन । तर उनीहरूको भाइका साला तथा नवाजका छोराछोरीको विदेशमा रहेका कम्पनीहरूमा उनीहरूको संलग्नता उल्लेख छ । नवाजकी छोरी मारयम नवाज र उनको भाइको विदेशी कम्पनी नेस्कोल लि, नेल्सन होलिडङ लि तथा यस्तै अन्य धेरै कम्पनीसितको सम्बन्ध पनि जानकारीमा आएको छ । यी कम्पनीले लन्डनमा जग्गामा लगानी गरेका छन् ।
पनामा पेपर्सका अनुसार यसको लागि सन् २००६-२००७ मा १३ करोड ८० लाख डलरको ऋण लिइएको थियो । नवाजका छोराछोरीले यो रकम साउदी अरेबियामा भएका आफ्ना कम्पनीको बिक्रीबाट प्राप्त गरेको बताउँछन् । तर यी कुनैको आम्दानी पारिवारिक सम्पत्तिको विवरणमा उल्लेख छैन । यी कम्पनी सम्पत्ति लुकाउन वा मुद्रा निर्मलीकरण गरी करबाट बच्ने प्रयत्नस्वरूप खोलिएका हुन् भन्ने अनुमान गरिएको छ । नवाजका परिवारका अन्य सदस्य पनि यसमा संलग्न थिए ।
पाकिस्तान सरकारको विषयमा अनुसन्धानको लागि एउटा आयोग नै गठन गरिएको थियो । यी सबै घटनालाई आधार बनाएर पाकिस्तानको सर्वोच्च अदालतले सन् २०१७ को जुलाई २८ मा नवाज सरिफ प्रधानमन्त्रीको पदमा बसिरहन अयोग्य ठहर गर्यो । आइसल्यान्डका पूर्व प्रधानमन्त्री सिग्मुन्दुर डाभियो, आइसल्यान्डमा सन् २००८ का बैंकहरू नचल्ने अवस्थामा पुगेपछि बैंकिङ प्रणालीमा रहेको भ्रष्टाचार निर्मूल गर्ने प्रण गरेका थिए । जब उनी कुर्सीमा फर्के, उनले विन्ट्रोज कम्पनीमा उनको ५० प्रतिशत सेयर लुकाए । पछि उनले आफ्नो र परिवारको सेयर बिक्री गरे । यिनै कारणले २०१६ को अप्रिल ५ मा उनले पनि पद छोड्नुपर्यो ।
हामै्र छिमेकी भारतमा सिने कलाकार अमिताभ बच्चन र उनकी बुहारी ऐश्वर्या, अर्का कलाकार अजय देवगणको नाम पनामा पेपर्समा देखिएको छ । बच्चनले कुनै विदेशी कम्पनीसित आफ्नो संलग्नताको खण्डन गरे भने ऐश्वर्याले यस्ता रिपोर्टको विश्वसनीयतामाथि नै शंका उठाइन् ।पनामा पेपर्समा नाउँ उल्लेख भएका भारतीय नेताहरूमा पश्चिम बंगालका शिशिर बाजोरिया, पूर्व दिल्ली लोकसत्ता पार्टीका अनुराग केजरीवाल छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यी सबै विषयमा छानविन गर्न प्रत्यक्ष कर विभाग, विदेशी कर विभाग र कर अनुसन्धान डिभिजनका प्रतिनिधिसहित आर्थिक इन्टेलिजेन्स युनिट र रिजर्भ बैंकका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने बताएका छन् । यसरी पनामा पेपर्सका दस्तावेज हेर्दा विश्वका धेरैजसो सरकार प्रमुखलगायत राजनीतिज्ञ, कलाकार आदिमा कमाएको पैसा लुकाउने एउटा प्रवृत्ति देखिएको छ । खाडी मुलुकहरूमा पनि यो प्रवृत्ति छ । यसरी लुकाउनुपर्ने पैसा भ्रष्टाचारबाटै आउने हो ।
जिम्बाबेका रवर्ट मुगावे, साउदी अरबियाका राजा सलमान, कतारका पूर्व प्रधानमन्त्री जावर अल थानीदेखि लिएर विश्वका धेरै राष्ट्रमा भ्रष्टाचारको लामै सिलसिला रहेछ भन्ने पनामा पेपर्स र विदेशी कम्पनीको संलग्नतामा देखिन्छ । यसरी हेर्दा नेपाललगायत सबै देशमा भ्रष्टाचार र सरकारबाट कर छलेर पैसा कमाउने अनि आनन्दको जीवनयापन गर्ने प्रवृत्ति बढिरहेको छ ।
कतै हाम्रै देश नेपालमा पनि त्यसकै सिको गरेर ठूलाठूला नेता, मन्त्री, सांसद सरकारी कर्मचारी तथा उद्योगपति र व्यापारीहरूले पनि भ्रष्टाचारबाट प्राप्त भएको रकम लुकाएको संलग्न भएकै उत्पन्न हुनु अस्वाभाविक पनि होइन । विदेशमा त त्यत्रा ठूला र नाम कहलिएका व्यक्तित्वसमेत भ्रष्टाचारमा संलग्न छन् भने हामी त गरिब देश नेपालका मान्छेले गर्न नपाउने ? भन्ने प्रोत्साहनकै कारण भ्रष्टाचार बढेको हो कि ?
हालैका कर आयोगका अध्यक्ष चूडामणि शर्मा, आयल निगमले खोलामा सस्तो जग्गा किनेर भ्रष्टाचार गरेको, बूढीगण्डकी आयोजनामा ठूला पार्टीका नेताको सहमतिमा भ्रष्टाचार भएको गन्धले यही प्रवृत्ति देखाउँदैन र ? आयल निगमका महाप्रबन्धक गोपाल खड्काले यसअघि पनि भ्रष्टाचार गरेका प्रसंग धेरैपटक आए । तर तिनलाई कसैले कारबाही नगरेको देख्ता यिनलाई ठूला नेताको आशीर्वाद नै हो भन्ने जनमत पनि पाउन थालिएको छ । यो त अति नै भएन र ? खोलाछेउमा जग्गा सस्तोमा किन्ने र त्यसैको बढी बिल बनाएर खाने ? एउटा प्रश्न सबै नेपालीको मनमा छ, त्यो के हो भने नेपालको सरकार र सम्बन्धित संस्थाहरू भ्रष्टाचारमा किन यति सहिष्णु भएका हुन् ! किन कसैलाई कारबाही हुँदैन ?
तर पनामा पेपर्समा नदेखिए पनि 'अफसोर लिक डाटाबेस' तिर जाने हो भने १९ जना नेपालीको नाम पाइन्छ । यीमध्ये सातजनाको नाम पनामा पेपर्समा पनि पाइन्छ । तिनमा राजनीतिज्ञहरूको नाम छैन तर ठूला उद्योगका घरानाका नाम चलेका थुप्रै व्यक्तिका नाम छापिएको छ ।
अहिलेको बेलै कसैगरी पदमा पुग्ने र पुगेपछि जति सकिन्छ, उठाउने बेलै हो भन्ने मानसिकताले काम गरेको हुन सक्छ । नत्र नेपालजस्तो सानो र गरिब मुलुकमा पनि घुसको रकम अर्ब नाघ्ने कसरी हुन्थ्यो ? राजधानीका सडकका खाल्डा पुर्न १५ दिनको म्याद दिने प्रधानमन्त्रीलाई काठमाडौंका मेयरले बर्खा रोकिए छि मात्र काम हुन्छ भनेको सुन्दा यो देशको कहालीलाग्दो स्थिति देखिँदैन र ? के हाम्रो भ्रष्टाचार दुरुपयोग निवारण आयोगले कुनै अनुसन्धानका पाइलो उठाउला ? विश्वास छैन जनतालाई ।