मिलनविन्दु भागबन्डा

मिलनविन्दु भागबन्डा

 

पछिल्लोपटक विवेकशील र साझा पार्टी एक भए । एकीकरणपछि खबर आयो- दुवै पार्टीका प्रमुख नेताको सामूहिक नेतृत्वमा एकीकृत पार्टी सञ्चालन हुने भयो रे । सुन्दा गज्जब लाग्छ, पूर्व पार्टीका दुवै अध्यक्षहरूले संयोजन समितिमा सहसंयोजकको जिम्मेवारी पाएछन् । अब संयोजकको जिम्मेवारी खाली हो कि भागबन्डा नमिलेका कुराको पोकापुन्तुराले नै त्यो रिक्त संयोजकको भूमिका निर्वाह गर्ने हो ।

tikaramअथवा यो संयोजन समिति नभएर सहसंयोजन समिति हो ? यसको परिणाम आगामी दिनमा देखिएला । तर यति भन्नचाहिँ कसैसँग सल्लाह लिइरहनुपर्दैन कि मिलनविन्दुको प्रमुख आधारचाहिँ भागबन्डा नै भएछ । हिजो साझा र विवेकशीलमध्ये कुन पार्टीको कुन सिद्धान्तचाहिँ एकअर्कामा फरक भएका कारण तिनीहरू छुट्टाछुट्टै भए र अहिले कुनकुन सैद्धान्तिक धरातल एक भएका कारण यी पार्टी मिलेका हुन् भन्नेमा कुनै बहस सुनिएन । नयाँ पार्टी बनाउँदा संयोजन समितिमा निवर्तमान पार्टीबाट कति-कति जनाले प्रतिनिधित्व गर्ने भन्नेमा मात्र एकीकरण केन्द्रित भयो ।

नेपाली राजनीतिमा वैकल्पिक भनेर आफूलाई दाबी गर्ने र पछिल्लोपटक केही प्रतिशत जनताले आशा पनि गरेका पार्टीको त भागबन्डा राजनीतिमा यो हालत छ भने पुरातन भनिएका अरूको के कुरा गर्नु ? राजनीतिक मैदानमा विगत केही दशकदेखि आपसी एकता, समझदारी, विश्वास, समर्थन, विरोधका सबै कुरा भागबन्डाको मियोमा घुमेका छन् । देशको विकास र राजनीतिक निकासका कुरा त त्यो धेरै परको भो । जुन कुनै नेताको सोचाइमा सानो अंश पनि छैन ।

भागबन्डाको राजनीतिले प्र श्रय पाएपछि त्यस्ता भागबन्डावालाबाट जनताले सुशासनको के आशा गर्ने ? जनताले कस्तो न्यायको अपेक्षा र अनुभूति गर्ने?

विगत लामो समयदेखि देशमा राजनीतिक निकासको लागि मधेस समस्या अत्यन्त पेचिलो बनेको छ । तर मधेसकेन्द्रित दलहरू भने मधेसकै मुद्दामा विभाजित छन् । पछिल्लो समय ६ वटा मधेसकेन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी त बनाए, तर नेतृत्व ६ जना अध्यक्षको हुने भयो । राजपाको नेतृत्व संरचना देख्दा धेरैलाई हासीमजाकको विषय पनि बन्ला, तर गहिरिएर सोच्दा हसीमजाकभन्दा पनि मधेसी नेताहरूको सोचाइको स्तर देख्दा दया लागेर आउँछ । पार्टी एउटै अध्यक्ष ६ जना ।

एकता त गर्ने तर अध्यक्षभन्दा तल कोही झर्न नचाहेपछि अध्यक्ष मण्डलमा गएर बल्ल कुरा टुंगियो । राजपा एक हुनुअगाडिका ६ पार्टीका अध्यक्ष कुनैले पनि एकीकृत पार्टीमा अध्यक्ष नछोडेपछि अब उपाध्यक्षहरूले पनि उपाध्यक्ष छोड्ने छैनन् अनि उपाध्यक्ष मण्डल पो हुने हो कि ? महामन्त्रीहरूले नछोड्लान् महामन्त्रीमण्डल, प्रवक्ताहरूले नछोड्लान् प्रवक्तामण्डल । यस्ता आफ्नै स्वार्थका मण्डल नै मण्डल भएपछि अनि मधेसका मुद्दाचाहिँ कताको मण्डलले सम्बोधन गर्ने हो ? समस्या समाधान हुनुको सट्टा समस्या झन्झन् बढ्दै गएपछि समस्या मण्डल नै पो बनाउने हो कि ?

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकताको कुरा चलेको धेरै भयो । तर एकीकरण हुन सकेको छैन । नमिल्नुको कारण अरू कुनै सैद्धान्तिक कुरा नभएर भागबन्डा नै हो । सबै कुरा एकैछिनमा मिल्छ, तर भागबन्डा मिलाउन धौधौ पर्छ । वार्ताका क्रममा पर्दाभित्र भागबन्डा मिल्दैन, तर बाहिर आएर भने अर्कै भ्रम छरिन्छ ।

अधिकांश वार्तापछि भनिन्छ- पुनः वार्ता गर्ने गरी आजको वार्ता सकियो । वार्ताको सार यही हो ।
शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी पटकपटक फुट्यो । फुट्नुको अरू कुनै कारण थिएन, मात्र भागबन्डा नमिल्नु थियो । फुटेका चिरामध्ये केही चिरा आएर फेरि एमाओवादीमा गाभिए । एमाओवादी नाम परिवर्तन गरेर माओवादी केन्द्र बन्यो । यहाँ पनि स्पष्ट थियो, एकीकरण हुने प्रमुख आधार भनेको भागबन्डा नै थियो । जतिवटा चिरा एक भए, ती सबै चिराबाट एकएकजनाको दरले एउटा मण्डल बनाइयो र त्यो मण्डललाई शब्दका प्वाँख भरेर नयाँ नाम दिइयो ।

अनि पूर्व सबै पार्टीका भएभरका कार्यकर्ता जो नेता बन्न रहर गर्थे, तिनीहरू सबैलाई राखेर केन्द्रीय समिति बनाइयो । यतिखेर त माओवादी केन्द्रभित्र कतिसम्म भन्न थालिएको छ भने ती केन्द्रीय सदस्यहरू जम्मा गरेर बैठक गर्ने त कुरै छोडौं, एकले अर्कोलाई चिन्ने कुरा पनि धेरै परको भयो । खास केन्द्रीय समिति कतिजनाको हो भन्ने कुरा स्वयं प्रमुख नेताहरूलाई नै थाहा छैन । कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान परिवर्तन गरी कहीं नभएको जात्रा माओवादीमा भन्नुपर्ने स्थिति आयो ।

पार्टी एकता हुँदा भागबन्डा मिलाउनकै लागि राप्रपाले कुनै समय दुई अध्यक्षको अभ्यास पनि गर्‍यो । आलोपालो अध्यक्षको अभ्यास पनि राप्रपाभित्र भइसक्यो । त्यसो त राप्रपा अरू कुरामा पुरातनवादी भए पनि फुट्न र जुट्नमा अग्रगामी छ । उसले नै नेपाली राजनीतिमा अध्यक्षपछि सहअध्यक्ष राखेर एउटै पार्टीमा दुई अध्यक्ष पनि हुनसक्ने अभ्यास सुरु गरेको थियो । अहिलेसम्म त्यो रोगले उसलाई छोडेको छैन । राप्रपा फुट्ने कुरा होस् वा जुट्ने कुरा, दुवैमा मिलनविन्दु भागबन्डा नै हुने गरेको छ।

अरू त अरू पछिल्लो समय देउवा सरकारमा सामेल हुनेनहुने कुरामा पनि उही भागबन्डा नमिलेर राप्रपा सामेल नभएको देखियो । भागबन्डा मिले सिद्धान्त पनि तिलाञ्जली दिन सकिने भन्ने कुरा राप्रपाले पछिल्लो समय संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिले प्रस्ट पारिदियो । राप्रपाले सरकारमा गएर संविधान संशोधनलाई समर्थन गर्ने भनेको थियो । त्यो सरकारमा जाने सर्तमा थियो । तर मन्त्रिमण्डल विस्तार गर्दा राप्रपा सरकारमा नपरेपछि राप्रपाले संविधान संशोधनमै समर्थन नगर्ने भयो । जब कि संविधान संशोधन र सरकारमा सहभागिता फरक-फरक विषय हुन् ।

समकालीन राजनीतिमा मूलधारका भनिएका पार्टी नेपाली कांग्रेस र एमाले पनि भागबन्डाको राजनीतिबाट ग्रस्त छन् । तर तिनीहरूले जनतालाई भागबन्डा राजनीति लोकतान्त्रिक पार्टीभित्रको लोकतान्त्रिक प्रतिस्पर्धा भनेर झुक्याइरहेका छन् । तर कुन लोकतान्त्रिक अभ्यास हो र कुन भागबन्डाको राजनीति हो भन्ने नागरिकलाई राम्ररी थाहा छ । अब जनता त्यति नबुझ्ने छैनन् ।

भ्रमको खेतीले कोही झुक्किनेवाला छैन । बागमतीमा धेरै पानी बगिसक्यो । हिजोका दिनमा कांग्रेस एमाले पार्टी फुट्दा हुन् वा पछि तिनीहरू जुट्दा हुन् अथवा अहिले पार्टीभित्रका वादविवाद र प्रतिवाद किन नहुन्, अन्ततः सबै भागबन्डामा गएर टुंगिन्छन् । पर्दा अगाडि देश र जनताका लागि अरू पार्टीको वा आफ्नो पार्टीभित्रको अर्को गुटको विरोध गरेको भन्ने भ्रम छर्ने र पर्दापछाडि भने कालेकाले मिलेर खाऊँ भाले भन्ने ठाउँमा पुगेर उही भागबन्डामा टुंगिने राजनीति मूलधारका दलहरूले समेत गरिरहेका छन् ।

राजदूत, संवैधानिक अंग, संस्थान, विकास समितिहरूमा हुने राजनीतिक नियुक्तिहरू त सबै भागबन्डामा टुंगिने नै भए । अहिले त कर्मचारीको सरुवाबढुवासमेत भागबन्डामा टुंगिने गरेको छ । भागबन्डाको राजनीतिले प्र श्रय पाएपछि त्यस्ता भागबन्डावालाबाट जनताले सुशासनको के आशा गर्ने ? जनताले कस्तो न्यायको अपेक्षा र अनुभूति गर्ने ? न्यायको मन्दिर भनिएको अदालतका न्यायाधीश नियुक्तिमा समेत भागबन्डा खोज्ने दलहरूले अब न्यायमा पनि भागबन्डा खोज्न के बेर ? तेरो पक्षका यतिजनालाई न्याय दिने यतिजनालाई अन्याय गर्ने, मेरो पक्षको यतिजनालाई न्याय गर्ने र यतिजनालाई अन्याय गर्नेमा सहमति गर्ने भनेर राजनीतिक दलले न्याय र अन्याय भागबन्डा गर्ने र त्यहीअनुसार न्यायाधीशलाई फैसला गर्न दबाब दिने बेला आउन पनि बेर छैन । न्यायाधीश नियुक्ति भागबन्डा गर्नेले न्याय भागबन्डा गर्नु कुनै नौलो विषय होइन ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.