मासिँदै बागमती सभ्यता
कुनै बेला पानी पिउन योग्य स्वच्छ बागमती नदी यति बेला समस्याको सञ्जालमा छ । नदीमात्र होइन, हिन्दु सभ्यताको इतिहास जोडिएको राजधानीको बीच भागबाट बग्ने बागमती सभ्यता बोकेको यो नदीमा करोडौंको योजना र कार्यक्रम सञ्चालन भए । तर समस्या घट्नुको सट्टा बढ्दै गएको छ । झन्डै तीन करोड नेपाली र हिन्दुको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदी÷सभ्यताको उद्गम स्थल शिवपुरी जलाधार क्षेत्रको बाग्द्वार सफा भए पनि राजधानीको बढ्दो जनसंख्या, अस्वस्थकर एवं अनियन्त्रित सहरीकरण र अव्यवस्थित ढल एवं फोहोरमैलाले नदी÷सभ्यता झन्डै तीन दशकयता प्रदूषित छ ।
पछिल्ला वर्षमा नदीको बहाव घट्दै गएको छ । जलमार्ग साँघुरिँदै र गहिरिँदै गएको छ । अतिक्रमण बढेको छ । नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै जानु र सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै जानु पनि बागमती नदीको समस्या हो । नेपालभित्र दुई सय र काठमाडौं उपत्यकाभित्र ४४ किलोमिटर लम्बाइको नदी किनारको भूमिको दुरुपयोग भएको छ । जलजन्य जैविक विविधता सखाप भएका छन् । नदीको कुल जलाधार क्षेत्र तीन हजार सात सय ५० वर्गकिलोमिटर छ । २०६६ सालमा मन्त्रिपरिषद्को साउन २७ गतेको निर्णयमा स्वीकृत पाँचवर्षे ‘बागमती एक्सन प्लान' कार्यान्वयनमा आयो । बागमती बचाउ अभियान पनि चल्यो । तर, समस्या ज्यूँका त्यूँ रहे । पाँचवर्षे एक्सन प्लानको मिति सकिएको तीन वर्ष भयो । बागमती जस्ताको त्यस्तै छ ।
बागमती सभ्यता बचाउन र यसको समग्र विकासका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो । लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो । यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाएर काम गर्दै आएको छ ।
समितिका सदस्यसचिव ज्योतिकुमार श्रेष्ठ भने अधिकारसम्पन्न भनेर नामकरण गरिए पनि कानुनी अधिकार पर्याप्त नहुँदा लक्ष्यअनुरूपको काम गर्न नसकिएको बताउँछन् । सुकुमवासी बस्तीहरूका कारण नदी अतिक्रमण भएको छ, नदी आसपासका क्षेत्रहरू विभिन्न किसिमले अतिक्रमित भएकाले नदीको सीमांकन गर्न कठिन भएको उनको बुझाइ छ । श्रेष्ठले नदी प्रदूषण भएकाले एकैपटक त्यसलाई घटाउने उपायको खोजी गर्न सहरी विकासका सचिव र मन्त्रीलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘ढल सम्पन्न गर्न र सम्पन्न भएका ढल तथा सडक सञ्चालन गर्न, मर्मत तथा सम्भार गर्न पनि समितिलाई चुनौती छ । प्राविधिक जनशक्तिमा कमी छ । धेरै निकाय संलग्न हुने भएकाले समन्वयमा जटिलता छ ।'
अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाएर २०६७ सालमै बागमती नदीको पानीमा प्रदूषण भएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । अदालतको संयुक्त इजलासले २०७० फागुन ११ गते बागमती नदीको पानीमा रहेको प्रदूषण हटाउने र सफाइ कायम राख्न आदेश दिएको र चारचार महिनामा एकीकृत प्रगति प्रतिवेदन चौमासिक रूपमा पेस गर्ने गराउने व्यवस्था गर्नु भनी महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतका विपक्षीलाई आदेश दिएको थियो ।
बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सीधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती अहिले प्रदूषित बनेको हो । पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा सञ्चालित ‘बागमती सफाइ महाअभियान' अहिले पनि प्रत्येक शनिबार सञ्चालनमा छ । महाअभियानले बामगती विगतको तुलनामा आधाभन्दा बढी प्रदूषणमुक्त भएको छ ।
समितिले २०६६ सालमै अघि बढाएको बागमती सभ्यता एकीकृत विकास समिति ऐनको प्रस्ताव अघि सारे पनि अझै यसले पूर्णता पाउन सकेको छैन । ऐनको अभावमा बागमती नदीसँगै सभ्यताका लागि गर्नुपर्ने कामहरूमा बाधाव्यवधान भइरहेको छ । एउटा ऐन नौ÷नौ वर्ष अड्किनुले थप समस्या भएको छ ।
बागमती नदीसँगै जोडिएको सभ्यताबारे देशका नागरिकदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म अनभिज्ञ छैनन् । बागमती सफाइ महाअभियान एक सय ५० सातामा प्रवेश गर्ने क्रममा गुहेश्वरीमा ‘बागमती महोत्सव' उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदेखि मृत्युसम्म सम्बन्ध राख्ने बागमतीसँग भावनात्मक सम्बन्ध गाँसिएको र भावी सन्ततीलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै हस्तान्तरण गर्नु परेकाले नदीलाई स्वच्छ राख्नुपर्ने बताएकी थिइन् ।
९४ वर्षमा संसारबाट बिदा भएका हुतरामले जीवनभर बागमती बचाउ अभियानलाई निरन्तरता दिएका थिए । बागमती सभ्यताले पुनः यस्तै दर्जनौं हुतराम खोजिरहेको छ ।
उनले पनि उच्च सांस्कृतिक, धार्मिक र सभ्यताको धरोहर बागमती नदीको अस्तित्व संकटमा परेकाले जीवन्त बनाउन सबैलाई आग्रह गरेकी थिइन् । बागमती सभ्यता बुझ्ने जोकोहीलाई पीडाको विषय बनेको छ नदीको दुर्दशा । चुनौती सबैलाई छ, विगतमा पुर्खाले सुम्पिएकै स्वच्छ र हराभरा बागमतीलाई उसकै स्वरूपमा फर्काउने । चुनौती भोगिरहेका हाम्रै अदूरदर्शी क्रियाकलापले धरहराजस्तै उचाइ बोकेको बागमतीमा राजधानीको ढल मिसाइँदा बागमती ढलमतीमा परिणत भएको यथार्थ कसैबाट छुपेको छैन ।
पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले तत्कालीन समयमा बागमती सभ्यता संरक्षण गर्नु अपरिहार्य काम भएको भन्दै निरीक्षण गर्दा यससँग जोडिएका सबै समस्या निराकरण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको प्रतिबद्धता शब्दमै सीमित भयो । अर्कोतिर बजेटको अभावमा संरक्षण र विकास गर्न नसकेको भन्दै छट्पटिएको समितिले आफ्नै सम्पत्ति पनि चलाउन पाएको छैन । सरकारले आर्थिक वर्ष २०६५÷६६ को बजेट वक्तव्यबाट काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा हुने रजिस्ट्रेसनबापत उठ्ने रकमको ०.०५ प्रतिशत रकम बागमती सभ्यता एकीकृत विकासका लागि उपलब्ध गराउने निर्णय पनि अझै कार्यान्वयन हुन सकेको छैन । यसअघि अर्बौं रकम उठाइसकेको मालपोतले एक अर्ब ९३ करोड दिने भने पनि अझै प्राप्त हुन सकेको छैन ।
बजेट के कति छ वा छैन, सचिव, मन्त्री हुँदै राष्ट्रपतिले के बोल्छन् अनि कति गर्छन्, यी कुराका अर्थ पनि एकातिर होलान् तर समस्या छन् भनेर बागमतीको अलौकिक सभ्यतामा आँच आउन दिनु हुँदैन । नदी र नदीले चर्चेको जग्गामै सरकार स्पष्ट छैन । नदीको पानी हिँड्ने बाटो कति ? जति छ त्यो पर्याप्त त छँदैछैन । वैज्ञानिक तर्कमा हालको तीन गुणा बढी हुनुपर्छ भन्ने छ । नदीको दायाँबायाँ २० मिटर भनिएको छ तर हाल पाँच मिटर पनि छैन । नदी किनारमा दर्जनौं संघसंस्थालाई क्षेत्र छुट्याएर दिइएको हरियाली आकर्षक बगैंचा बनाउने कामले पनि पूर्णता पाएको छैन । भएका काम पनि प्रतिबद्धताअनुरूप देखिँदैनन् । जे जति बने, बनाइए तिनको उचित संरक्षण नहुँदा नदीले गर्व गर्न पाएको छैन ।
नदी अतिक्रमित गर्ने थुप्रै सुकुम्बासी बस्तीलाई सरकारले सम्बोधन गर्न सकेको छैन । अरू त अरू सिंहदरबारले पनि ढललाई पूर्ण र दिगो व्यवस्थित गर्न सकेको छैन । बागमतीमा आसपासमा रहेका दर्जनौं ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विवक सम्पदामा ध्यान पुर्याउन सरकार असमर्थ भइरहेको छ । सभ्यतासँग जोडिएका मूर्त एवं अमूर्त सम्पदाको जोहोमा कसैको ध्यान पुग्न सकिरहेको छैन । नदी प्रणाली प्रदूषणमुक्त गरेर संरक्षण र संवद्र्धन गरी समग्र उपत्यकाकै वातावरणीय स्वच्छता, पवित्रता र सुन्दरता कायम गर्न पुनः बागमती बचाउ अभियन्ता हुतराम वैद्यको खाँचो महसुस भइरहेको छ ।
९४ वर्षमा संसारबाट बिदा भएका हुतरामले जीवनभर बागमती बचाउ अभियानलाई निरन्तरता दिएका थिए । बागमती सभ्यताले पुनः यस्तै दर्जनौं हुतराम खोजिरहेको छ । सँगै ‘होस्टेमा हैंसे' गर्न अर्थात् बागमती बचाउन र यसको बाल्यपन फर्काउन स्थानीय बासिन्दा र राजनेताको प्रतिबद्धता अनिवार्य देखिन्छ ।