‘एक्लै लड्न सकिन्न'

‘एक्लै लड्न सकिन्न'

काठमाडौं : नेपाल मेडिकल एसोसिएसन (एनएमए)का पूर्वपदाधिकारी र सदस्यले एक्लै लड्न सम्भव नभएको भन्दै डा.गोविन्द केसीलाई आफूहरूसँग मिलेर अघि बढ्न आग्रह गरेका छन् । जीवन जोखिममा पार्दै अनशन गर्ने शैली त्यागेर केसीलाई बृहत् बहसमा भाग लिन उनीहरूको सुझाव छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि एनएमएले आवाज उठाउँदै आए पनि केसी एक्लै अघि बढ्न खोज्दा झन् समस्या भएको उनीहरूको तर्क छ । यद्यपि, उनीहरूले अहिले केसीको जीवनरक्षा महत्ववपूर्ण विषय भएको बताएका छन् ।

डा. केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको प्रतिवेदन र आफ्ना सुझाव समेटेर चिकित्सा शिक्षासम्बन्धी विधेयक आउनुुपर्ने मुख्य मागसहित केसीले थालेको ११औं पटकको अनशनले शनिबार १३औं दिन पूरा गरेको छ । शनिबार एनएमएको आह्वानमा बसेको बैठकमा सहभागीले केसीको जीवनरक्षासँगै अनुकूल ऐन निर्माणका लागि मध्यमार्गी बाटो अपनाउनुपर्ने धारणा व्यक्त गरे ।

एनएमएले केसीका माग पूरा गराउन आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको बैठकका सहभागी पक्ष र विपक्षमा उभिएका थिए । अन्ततः केसीले विधेयकमाथिको छलफलमा भाग लिनुपर्ने र आफ्नो जीवनरक्षाका लागि अनशन तोड्नुपर्ने निष्कर्षमा उनीहरू पुगेका हुन् । बैठकमा सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक र निजी मेडिकल कलेजका सञ्चालक उपस्थित थिए ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले माथेमा प्रतिवेदन र केसीका सुझावमाथि आफू शतप्रतिशत सहमत हुन नसक्ने बताए । यसअघि केसीको समर्थन गर्दै आएका उनले माथेमा प्रतिवेदनका कतिपय सुझावमाथि बृहत् छलफल आवश्यक रहेको उल्लेख गर्दै माग पूरा गराउने जिम्मेवारी एनएमएलाई दिनुपर्ने उनले बताए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले विधेयकमाथिको छलफलको नेतृत्व एनएमएले नै गर्नुपर्ने र बारम्बार केसी अनशन बस्नु नपर्ने गरी काम हुनुपर्ने धारणा व्यक्त गरे ।वीर अस्पतालको नाक, कान घाँटी विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले निजी क्षेत्रलाई निषेध गरेर ऐन ल्याउन नहुने बताए । नेपालगन्ज मेडिकल कलेजका डा. भोजराज जोशीले केसीका माग पूरा गर्न सरोकारवालालाई प्रक्रियामा संलग्न हुन नदिनु विडम्बना भएको बताए।

केसीले विधेयकमाथिको छलफलमा भाग लिनुपर्ने र आफ्नो जीवनरक्षाका लागि अनशन तोड्नुपर्ने एनएमए बैठकको निष्कर्ष ।

एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने ऐन बनाउँदा निजी क्षेत्रलाई बेवास्ता गर्न नमिल्ने स्पष्ट पार्दै केसीको भावनामा पनि ठेस पुर्‍याउन नहुने धारणा व्यक्त गरे । महाराजगन्ज मेडिकल कलेज, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष डा. मिलन गैरेले विधेयक पारित गर्न एनएमएले साथ दिनुपर्ने उल्लेख गर्दै केसीको जीवनरक्षा गर्नुपर्ने अवस्था पनि रहेको औंल्याए ।

‘बन्द-हडतालको बाटो नरौजौं'

बैठकमा सहभागीले माग पूरा गराउनका लागि अस्पतालको सेवासमेत ठप्प पार्ने कार्यमा नलाग्न एनएमएमलाई सुझाव दिएका छन् । बन्द-हडतालले नागरिक अधिकार कुण्ठित हुने भएकाले त्यसो नगर्न संस्थाकै सदस्यले सुझाव दिएका हुन् । डा. दीपक महराले अत्यावश्यक सेवा दिने संस्थामा अनशन नबस्न आग्रह गरे पनि केसी पटक-पटक अनशन बस्ने गरेको उल्लेख गर्दै उनको मञ्जुरीबिना समर्थक चिकित्सकले अस्पतालको सेवा प्रभावित पार्ने गरेको टिप्पणी गरे । यद्यपि, उनको जीवनरक्षाका लागि अनशनको तीन दिनमै आफूले चिकित्सकको टोली गठन गरेको उनको भनाइ थियो ।

‘केसी नै गुमराहमा'

बैठकमा सहभागीले केसीले संस्थाभन्दा व्यक्तिको मात्र कुरा सुन्ने गरेको आरोप लगाउँदै उनीहरूकै उक्साहटमा अनशन बस्ने गरेको पनि बताए । डा.केदारनरसिंह केसीले उनलाई साथीले नै फसाएको दाबी गरे । ‘डा. गोविन्दको जीवनरक्षामा हामी एक हुनै पर्छ । तर, उहाँ पनि सबै चिकित्सकको हितमा उभिनुको विकल्प छैन', उनले भने, ‘उहाँलाई आईओएमका केही चिकित्सकले गुमराहमा राख्दै एनएमएलाई बाइपास गरेर अनशनमा बसाउन बाध्य बनाइरहेका छन् । त्यसबाट उहाँ मुक्त हुनुपर्छ ।'

उनले नवौंपटकको अनशनका बेला सरकारसँग वार्ता गर्न खोज्दा समर्थकले आफूहरूलाई पन्छाएको सुनाए । उनले सँगै रहेका केसीका समर्थक डा. वाईपी सिंहलाई देखाउँदै भने, ‘प्रधानमन्त्रीलाई च्याप्प समातेर वार्ता आजै गर्नुपर्छ भन्दै म मान्छे लिएर गएँ तर उहाँहरूले हामीलाई बाइपास गर्नुभयो । हामीले विधेयकमाथि छलफल होस् भन्ने चाहेको हो ताकि पछि कसैलाई अप्ठ्यारो नपरोस् ।' यद्यपि, उनले निजी मेडिकल शिक्षामा पनि चर्को शुल्क असुल्नेदेखि अनेकौं विकृति देखिएको दाबी गर्दै सञ्चालकहरू गम्भीर नबनेको आरोप लगाए ।

निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल कलेजका अध्यक्ष डा. सुरेश कनौडियाले केसीको माग पूरा गराउनका लागि आफूहरूलाई मर्का पर्ने गरी अघि बढे एनएमए फुट्न सक्ने चेतावनी दिए । चिकित्सा शिक्षा विधेयक पारित होस् भन्ने चाहेको तर माथेमा कार्यदल र केसीका सुझाव शतप्रतिशत लागू हुने गरी आए मान्य नहुने उनको भनाइ थियो ।

चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेले चिकित्सा शिक्षाको गुणस्तर कायम गर्नका लागि विधेयक आवश्यक परेको बताए । ‘हाम्रो पनि चाहना छ कि नेपालको मेडिकल एजुकेसनमा गुणस्तर कायम होस्', उनले भने, ‘तर, जसले गल्ती गर्छ उसलाई समातेर राज्यले कारबाही गर्न नसक्ने अनि राम्रो गर्नेहरूको पनि बदनाम गर्ने काम भइरहेको छ । अब केसीले अनशन होइन, विधेयक पारित गराउन हामीसँगको छलफलमा उत्रिनुपर्‍यो । अनशन बसेर हाम्रो बदनाम गर्ने र आफू चर्चामा आउने काम बन्द गर्नुपर्‍यो ।'

‘बन्दुक उठाउनुपर्‍यो ? '

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झाले भने माथेमा प्रतिवेदनले दिएको सुझाव नै विधेयकमा आउनुपर्ने भन्दै केसी लडिरहेको बताए । ‘उहाँले व्यक्तिगत रूपमा कुनै माग राख्नुभएको छैन । माथेमा प्रतिवेदनकै सुझाव कार्यान्वयन हुनुपर्छ भन्नेमा उहाँको जोड हो', उनले भने, ‘उहाँले शान्तिपूर्ण तरिकाले अनशन गरिरहनुभएको छ । के बन्दुक उठाएपछि मात्रै माग पूरा हुने हो त यो देशमा ? '

समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की

अनशनरत डा. गोविन्द केसीका समर्थकले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट बानेश्वर चोकसम्म पुगेको केसीका समर्थकको र्‍यालीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, चलचित्र अभिनेता राजेश हमाल, नायिका केकी अधिकारीदेखि चिकित्सक, नागरिक समाजका प्रतिनिधि, चिकित्साशास्त्रका विद्यार्थी, आवासीय चिकित्सक सहभागी थिए । उनीहरूले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नगर्ने खेल भइरहेको दाबी गर्दै त्यस्तो कार्य मान्य नहुने भन्दै नारा लगाएका थिए । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आह्वान गरेको र्‍यालीमा पूर्वप्रधानन्यायाधीश कार्कीले केसीको लडाइँमा सबैले साथ दिनुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.