चार वर्षमा १३५ बालबालिका हराए
बुटवल : रूपन्देहीबाट बालबालिका गायब हुने संख्या डरलाग्दो किसिमले बढ्दै गएको छ । पछिल्लो चार वर्षमा एक सय ३५ बालबालिका हराएका छन् । भारतसँगको खुला सीमाका कारण बालबालिका बेचबिखन हुने गरेको आशंका गरिएको छ । रूपन्देहीको कालीदह नाका हँदै बालबालिका भारत प्रवेश गर्ने गरेको पाइएको छ । केही महिनाअघि यही नाका हँदै भारत प्रवेश गर्दै गरेका डेढ दर्जन बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चार वर्षमा दुई सय ५८ बालबालिका हराएको उजुरी दर्ता भएका छन् । तीमध्ये एक सय २३ जना विभिन्न हालतमा फेला परेका थिए । मजदुरीका लागि भारत पस्नेको संख्या धेरै भेटिएको महिला सेल इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मण विकले बताए । ‘रोजगारीका लागि घर छाड्नेहरू धेरै छन्’, उनले भने ।
हराएका बालबालिकामध्ये ६८ बालिका र ६७ बालक छन् । गत वर्षमात्रै १२ जना बालक र २१ जना बालिका हराएका छन् । हराएका बालक निकै कम भेटिने गरेका छन् । नेपालबाट हराएका बालबालिका जुरी कारखाना (कपडामा बुट्टा भर्ने काम) र घरेलु कामदारका रूपमा भारतमा काम गर्दै आएको अवस्थामा भेटिएको माइती नेपाल रूपन्देहीकी अध्यक्ष प्रभा खनालले बताइन् । ‘हामीले रेस्क्यु गरेका बालबालिकाले कारखानामा काम गरेको पाएका छौं’, उनले भनिन्, ‘दलालहरूले राम्रो पैसा पाइने लोभमा बालबालिकालाई कारखाना र घरेलु कामदारका रूपमा भारत पुर्याउने गरेका छन्।’
रूपन्देहीमा भारतसँग जोडिएका मुख्य १६ नाका छन् । सानाठूला नाका दर्जनौं छन् । यी नाकाबाट दलालले बालबालिकालाई भारत पुर्याउँछन् ।
भारतका जुरी कारखानाहरूले बालबालिकाका आँखाको दृष्टि राम्रो हुने भएकाले उनीहरूलाई प्राथमिकता दिएर राख्ने गरेका छन् । रूपन्देहीमा भारतसँग जोडिएका मुख्य १६ नाका छन् । सानाठूला नाका दर्जनौं छन् । ती नाका हँदै दलालले बालबालिकालाई भारत पुर्याउने गरेका छन् ।
उद्धारमा परेकाहरूले कुन नाकाबाट प्रवेश गरेको समेत पत्तो पाउँदैनन् । उनीहरूलाई नसालु पदार्थ खुवाएर प्रायः राति र बिहान उज्यालो नहँदै नाकाबाट भारत लैजाने गरिएको खनालले बताइन् ।
अन्य जिल्लाबाट हराइरहेकाहरू पनि रूपन्देहीको सीमाक्षेत्रमा भेटिने गरेकाले यो मानव तस्करको मुख्य नाका बन्दै गएको छ । बेपत्ता हुने बालबालिका रूपन्देहीका मात्रै नभई डोल्पादेखि काठमाडौंसम्मका छन् । बालबालिकाको तुलनामा महिलाको ‘तस्करी’ निकै उच्च छ । जिल्ला प्रहरी रूपन्देहीमा चार वर्षमा चार सय ६१ महिला हराएको उजुरी दर्ता भए पनि त्यसको तीन गुणासम्म महिला वैदेशिक रोजगारीको नाममा भारतमा हराउने गरेका छन् ।
माइती नेपालले मात्रै गएको वर्ष तीन सय ८२ जनालाई फिर्ता ल्याएको थियो । केही दिन अघिमात्रै विदेश जान भन्दै हिँडेका पाँचजना महिलालाई उद्धार गरिएको छ । राहादानीसमेत नभएका उनीहरूलाई कुन नाकाबाट भारत प्रवेश गरेको भन्नेसमेत पत्तो छैन । ‘दुबई, कतारमा रोजगारीका लागि जाने भन्दै भारत प्रवेश गरिसकेकालाई उद्धार गरेका थियौं, पासपोर्ट नै नभएकाहरू कसरी विदेश जानु ? ’, खनालले भनिन् ।
महिलाहरूलाई भारतमै घरेलु कामदारका साथै यौनजन्य क्रियाकलापमा लगाउने गरिएको छ । पश्चिमदेखि पूर्वी नेपालका महिला तथा बालबालिका रूपन्देही सीमा हँदै भारत प्रवेश गर्ने गरेका छन् । रूपन्देहीलाई मानव तस्करीका लागि दलालहरूले प्रयोग गरिरहेको तथ्यांकले पुष्टि गरेको छ ।
बालबालिका र महिला हराउनुलाई प्रशासन संवेदनशील किसिमले लिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । ‘हामीले कडा निगरानी गरिरहेका छौं’, उनले भने, ‘धेरै नाका भएकाले सबै स्थानमा प्रशासनको दृष्टि नपुगेको हुन सक्छ ।’
हराएकाको सूचीमा रहेका बालबालिका र महिला प्रायः गरिब परिवारका छन् । परिवारका सदस्यले नै पैसा कमाओस् भन्ने अपेक्षा राखेकै कारण दलालहरूलाई सजिलो हुने गरेको माइती नेपालकी अध्यक्ष खनालको भनाइ छ । ‘परिवारका सदस्यमा अझै चेतना आउन सकेन, पैसाको लोभमा महिला र बालबालिकाको जीवन नै दर्दनाक बनेको छ’, उनले भनिन् ।