अस्पतालमै बिरामीलाई म्याद नाघेको औषधि

अस्पतालमै बिरामीलाई म्याद नाघेको औषधि

काठमाडौं: सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका एक बालकलाई म्याद सकिएको औषधि चलाएको भेटिएको छ।

झापाका चार वर्षीय आरुस सुवेदीको उपचारक्रममा कलेजको फार्मेसीबाट किनिएको ‘टाक्सिम इन्जिेक्सन २५० एमजी' नामको ‘एन्टिबायोटिक' को म्याद सकिएको भेटिएको हो। नौ दिनअघि भर्ना भएका आरुसलाई जुन १७ मै म्याद सकिएको ‘एन्टिबायोटिक' सातादेखि चलाइरहेको परिवारले आइतबार मात्रै थाहा पाएका थिए।

आरुसका बुबा राजकुमारले चिकित्सकको सुझावअनुसार अस्पतालमा ‘इन्टर्नसिप' गरिरहेका नर्सहरूले उक्त औषधि किनेर ल्याउन लगाएको र नियमित खुवाएको बताए। ‘छोरा गम्भीर अवस्थामा पुगेको थियो, उपचारमा संलग्न चिकित्सकले पनि राम्रै गर्नुभएको हो तर म्याद सकिएको औषधि सात दिनदेखि चलाइएको रहेछ। यो कुरा अस्पतालकै कर्मचारीले हामीलाई बताए,' राजकुमारले अन्नपूर्णसँग भने, ‘अस्पतालबाट बच्चाको उपचारमा यस्तो हेलचेक््रयाइँ हुँदा दुःख लागेको छ। बच्चालाई केही हुने हो कि भन्ने डर पनि छ।'

म्याद सकिएको औषधिबारे गुनासो गर्न जाँदा फार्मेसीका कर्मचारीले उल्टै धम्क्याएर पठाएपछि आरुसका परिवारले स्वास्थ्य मन्त्रालयमा खबर गरेका थिए। त्यसको केहीबेरमै मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ र औषधि व्यवस्था विभागका चार कर्मचारी घटनाको छानबिनका लागि कलेज पुगेका थिए।

फार्मेसी तोडफोड
स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका कर्मचारी, बिरामी पक्ष, अस्पताल प्रशासन र सञ्चारमाध्यमका प्रतिनिधिबीच अस्पताल प्रशासनमा वार्ता चलिरहेका बेला अचानक अपरिचित समूह फार्मेसी तोडफोडमा उत्रिएको छ। ‘नचिनेका मानिसले के भयो दिदी तपाईंलाई भन्दै सोधेका थिए। मैले पनि आफू पीडामा रहेका बेला उनीहरूलाई सबै घटनाक्रम बताएको थिएँ,' आरुसकी आमाले भनिन्, ‘हामीले तोडफोड चाहेका होइनौं, अब यस्तो अरूलाई नपरोस् भनेर आवाज मात्र उठाउन खोजेका हौं।'

चारैतिर सुरक्षागार्डले भरिएको कलेजको फार्मेसी तोडफोड गरेर त्यो समूह फरार भएपछि मात्रै प्रहरी टोली छानबिनका लागि त्यहाँ पुगेको थियो। ‘असुरक्षा भएको' भन्दै परिवारले आरुसलाई थप उपचारका लागि कान्ति बाल अस्पताल लगेका छन् ।

फार्मेसीमा सिल
औषधि व्यवस्था विभागको टोलीले छानबिनक्रममा फार्मेसीमा बिक्रीका लागि राखिएको ‘नोटेन फाइभ एमजी डाइजीपाम' को अर्को औषधिको पनि म्याद सकिएको भेट्टाएको छ।

म्याद सकिएको औषधि बिक्री गरेको, त्यसको गुनासो गर्दा बिरामी पक्षलाई बेवास्ता गरेको, औषधि बिक्री गर्दा ब्याच नम्बर र एक्सपायरी डेट खुल्ने गरी बिरामीलाई रसिद दिने नगरेको, फार्मेसीमा रहेको ‘सफ्टवेयर' पनि नमिलेको पाइएपछि छानबिन टोलीले फोर्मेसी नै सिल गरिदिएको छ। थप अनुसन्धानका लागि उनीहरूले कागजात जम्मा गरेर विभाग लगेका छन्।

अस्पताल निर्देशकले मागे माफी
फार्मेसी सञ्चालकले त्रुटि भएको अस्वीकार गरे पनि कलेजका निर्देशक प्राडा किरणप्रसाद रिजालले म्याद सकिएको औषधि बिरामीमा चलाउनुमा गम्भीर त्रुटि भएको भन्दै बिरामी पक्षसँग माफी मागेका छन्।

‘यो ज्यादै ठूलो घटना हो। यस्तो गल्ती स्वास्थ्यकर्मी, कर्मचारी, चिकित्सक, फार्मेसी वा कुनै पनि व्यक्तिबाट हुनुहुँदैन,' उनले भने, ‘हाम्रो गल्ती भएकाले त्यसको सजाय भोग्न तयार छौं। गल्ती गर्नेलाई हामी पनि सजायको भागी बनाउँछौं।'

उनले फार्मेसी व्यवस्थापनलाई आवश्यक सुधार गर्ने प्रतिबद्धता पनि जनाए। साथै आरुसको अहिलेसम्मको उपचार शुल्क मिनाहा गर्ने र कान्ति बाल अस्पतालमा हुने उपचार खर्चसमेत व्यहोर्ने सहमति बिरामी पक्षसँग भएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.